डा. दामाेदर पुडासैनी किशाेरमिशिगन*को नृत्य
मैले भने चराका गति, नाङ्गो हावा र नाङ्गो आकाशलाई लुसुक्क निलेँ घाँटीबाट यतिखेर मेरो निधार पो बनेको छ मिशिगन ।
डा. दामोदर पुडासैनी किशोर :
मलाई देख्ने बित्तिकै
करोडौँ नर्तकीहरू
नाचगान गर्दै किनारतिर आए
र बालुवाको अक्षता बिछ्याएर
आमन्त्रण गरे रमाएर
सेता चराका बथानहरू
कोरसमा मख्ख परिरहेको बेला
ओक र पाइन ट्रिहरू
आफ्नो अनुहार हेर्न
ओर्लिए हामीसंगै मिशिगन लेकमा
बादलका बस्त्रहरूलाई पर पर फ्याँकेर
आकाश ओर्लियो मिशिगन लेकमा
आकाश ओर्लिएपछि
उक्लियो मिशिगन आकाश तिर
यतिखेर मैले छुट्याउन सकेको छैन
आकाश र मिशिगनमा के छ फरक
आकाश र मिशिगन आलिङ्नबध्द बनेको बेला
सम्झिरहेँ मैले तिमीलाई
घामका किरणहरू ओर्लेपछि
हल्लिन थालेकाछन् मिशिगनमा
चाँदीका डल्लाहरू
हावाको वेगमा आएका चराहरू
उचाल्छन् नाङ्गो मिशिगनलाई जुरूक्क
मैले भने चराका गति, नाङ्गो हावा र नाङ्गो आकाशलाई
लुसुक्क निलेँ घाँटीबाट
यतिखेर
मेरो निधार पो बनेको छ मिशिगन ।
======
*मिशिगन ताल – अमेरिकाको तेस्रो ठूलो ताल । ५७, ७५७ बर्ग किलोमीटर क्षेत्रफल ढाकेको । यसको सिमानाले मिचिगन , विस्कन्सिन , इलियोनोय र इण्डियाना समेत चार राज्य छोएको ।
०००
२०८३ आश्विन ७ गते बुधवार
काठमाडौ, नेपाल
हाल – मिनोमोनी फल्स, विस्कन्सिन, अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































