साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिरो बन्ने हुटहुटी

छुराको धार भन्दा पनि तिखा डाइरेक्टरका वचनबाणको मारले म त सम्हालिनै सकेनछु र ढनक्कै ढलेछु। दस दिन कोमामा (अचेत अवस्थामा) नबितुन्जेल मेरो होसै खुलेनछ।

Nepal Telecom ad

युगल बसेल :

मान्छे किरोजस्तो भए पनि हिरो बन्ने सपना बुन्नु कुनै अपराध होइन भन्ने मेरो ठहर छ। त्यसैले त मैले काँचो उमेरदेखि नै हिरो बन्ने साँचो रहर मनमा खेलाउन थालेको हुँ। आफू जति नालायक भएपनि उम्दा र लायकको छु भनेर दाबी गर्ने त हाम्रो रगतमै बसेको संस्कार हो नि। त्यसैले हुनर नहुँदा पनि मैले रहर पाल्नु कुनै आश्चर्यको विषय भएन।

मैले पालेको रहर धेरैका लागि पाच्य भने थिएन। त्यसैले मेरा जोरीपारीका मान्छेहरू नानाभाँती कुरा काट्ने गर्थे । अनि बेलाबेलामा म जङ्गिने गर्थेँ – “हेपाइ बन्द गरम् है,म चान्नेचुन्ने रहर होइन , हिरो बन्ने रहर पालेर बसेको मान्छे हुँ।”

एकदिन यसै गरी फुर्ती लाइरहेको बेला बेस्सरी छिप्पिएकी मेरी छिमेकी आमैले बघिनीले झैँ दहाड्दै भनिन् -“इस् बन्छस् हिरो ! मान्छे तर्साउने भुतजस्तो छ , हिरो बन्ने धाक लगाउँछ !” यसो भनेर लोप्पा खुवाइदिँदा खेरी भने मेरो दिलमा तीखै खिल बिझ्न पुगेको थियो । तर पनि बकेर भन्दा गरेर देखाउने भनेर आमैसित धेरै मुख लागिन। आफू हिरो बन्ने चर्चा पनि अलि कम गर्न थालेँ तर हिरो बन्ने अठोट भने अझ दर्बिलो पार्दै लगेँ।

देश खाएर शेष भइ आएका लाहुरे काकाले मेरो मनमा हिरो बन्ने रहर यति बलियोसँग रोपिदिएका थिए कि त्यो बीज उखेलिँदै उखेलिएन। हरघडी हरपला हिरो बन्ने सपना नै मेरो मगजमा दौडिरहन थाल्यो। पण्डितले तिलक लगाईदिँदा होस् वा बाजेको आशीर्वाद थाप्दा होस्, मन्दिर धाउँदा होस् वा दसैँको टीका लाउँदा होस् मैले हिरो बन्न पाऊँ भन्ने आशीर्वाद नै माग्न थालेँ । आशीर्वाद दिनेको के जाने र ! दिल खोलेर मागेभन्दा बढी आशीर्वाद दिए, दिँदै गए। मनको ताईमा फुरौला पाक्दैन भन्ने कुरा उनीहरूले बुझाइदिएनन्।
एकदिन मैले उनै लाहुरे काकासित सोधेँ- “हिरो बन्न कत्तिको गाह्रो छ काका ? ”

उनले दिग्गज अनुभवीले जस्तै गरेर जवाफ दिए- ” हिरोइन बन्न त त्यति गाह्रो होइन, हिरो बन्न त गाह्रै छ बाबु।”
मैले फेरि अर्को प्रश्न गर्दै हिरोइन बन्न सजिलो हुनुको कारण सोधेँ। जवाफमा उनी बोले – “हिरोइन बन्न त हिरोसित बिहे गरे पनि पुगिहाल्यो । सो पनि नभए डाइरेक्टर वा निर्मातासित मतोजतो मिलाएपछि त मामिला सल्टिहाल्यो नि ।”

क्षमता नदारत, शरीर कृषतर, तर जिगरभित्र रहर प्रखर हुँदाको अवस्थामा मेरो मनभित्रको अन्तरद्वन्द द्वन्दात्मक भौतिकवाद जस्तो कहलिएको शास्त्रले पनि नापिनसक्नुको थियो । तैपनि नायक बनेर खलनायकको रामधुलाइ गर्ने जोस मेरो नसानसामा रगतसँगै बगिरहेको थियो। नायिकालाई टपक्क टिपेर चपक्क अँगाल्दै फूलका थुङ्गाजस्तै गरेर बुरुक्क उचाल्न मन त्यसै त्यसै सकसकाइरहेको हुन्थ्यो, उकुसमुकुस र व्यग्र भइरहेको हुन्थ्यो । राम्री हिरोइनजतिलाई इशारै इशारामा नचाउने मेरो आकांक्षा सायद एउटा बहुलठ्ठीपन नै थियो। त्यस इरादाको आधा मात्रै मात्राको विद्यालाई मनमा खेलाउन सकेको भए आज मेरो अर्कै गतिउन्नति हुन्थ्यो तर हिरो बन्ने रहरले गर्दा मेरो यस्तो दुर्गति भइदियो !

तर पनि औकात शेष नै नरहँदा समेत हरेस खान हुन्न भन्ने सन्देशको रटना मनमा चलि नै रह्यो।हिरो बन्ने रहर झन् पछि झन् जब्बर हुँदै गएपछि आफ्नो गाउँठाउँ छोडेर सहरतिर सुइँकुच्चा ठोकियो। बल्ल पो आफ्नो रहर आकाशको फल आँखा तरी मरजस्तो रहेछ भन्ने सुद्धि पलायो । सुकेनासले थला पर्ला जस्तो दाउरे शरीर , चाउरे अनुहार भएको र अभिनय क्षमता नास्ती रहेको मजस्ता बबुराको नायकत्वको क्षेत्रमा के दाल गल्थ्यो र ! बाख्रा गोठालो बनेको र खेतबारी खनेको सीप फिल्मी दुनियाँमा काम लाग्नेवाला थिएन ।

तैपनि मर्नै परे पनि खुट्टै तन्काएर मर्ने भनेर कहिले यो निर्माता त कहिले त्यो निर्माताकहाँ र कहिले कुन डाइरेक्टरकहाँ त कहिले कुन डाइरेक्टरकहाँ धाएको धायै गर्न थालेँ । भगवानको दर्शन पाउन सजिलो होला तर तिनीहरूको दर्शन पाउन सजिलो रहेनछ। भोलि भेटौँला ,भोलि भेटौँला भन्दाभन्दै मेरा ३६६ वटा भोलि उनीहरूले भाका किस्ता बोलीबोली सजिलैसँग खाइदिए तर भोलि भेटिँदै भेटिएन । ३६७औँ दिनमा निर्माताले भारी कृपा गरेर मलाई थोरै समय दिए र म हिरो बन्ने रहरको मनग्गे धनी मनुवामाथि दृष्टिपात गरे। मैले पनि हिम्मतका साथ उनका चिप्रे आँखासँग मेरा तेजिला आँखा जुधाएँ ,के बिराएँ ?

मैले बिराए पनि नबिराए पनि निर्माताले बम्किन भने बिराएनन् र कुर्लिहाले – “ठुला मान्छेसित आँखा झुकाएर कुरा गर्नुपर्छ भनेर तिम्रा बाउआमाले तिमीलाई सिकाएनन् ? मसित आँखा जुधाएर कुरा गर्ने तिम्रो यत्रो हिम्मत ?”

मेरो पनि पारा तातिहाल्यो अनि ओठे जवाफ फर्काइदिइहालेँ- “सिकाएनन् हजुर ,बाबुआमाले त घमण्डी मान्छेकहाँ मद्दत पाउँछु कि भनेर कहिल्यै नधाउनू भनेर पनि सिकाएनन् ?” यति भनिसकेपछि सनक चढेका निर्देशकको अर्को दमदार दनक आइलाग्ने हो कि भनेर म बर्सीका बुटा सहजै नाघ्ने तोडका साथ त्यहाँबाट तिरोधान भइहालेँ ।

सास छउन्जेल आस नमार्ने आँट बोकेको ज्याद्रो खालको मनुवा न ठहरेँ । महँगो जुहावरात हिराले त आफ्नो चमकदार जुनी पाउन अनेक धारिला हतियारको चोट सहनुपर्छ , मार खाँदै खाँदै ताछिँदै जानुपर्छ भने बाउन्न घुस्सा त्रिपन्न ठक्कर नखाई हिरो बन्न कहाँ सकिन्छ र भनेर चित्त बुझाएँ । हिम्मत नहारी ढोका उघारी पाऊँ भन्दै म एकजना नामुद चलचित्र निर्देशककहाँ टुपुल्किएँ। उनीकहाँ धाउन थालेको पनि ३६५ दिन पश्चात् थप ४८ घण्टा बितिसकेको थिए। साइत परेकै रहेछ, उनी पनि मसित कुरा गर्न मुखरित भए । मनभरि सँगाली ल्याएको आफ्नो सपनामय नालीबेली उकेलिहाल्नुअघि आफू ठूलो आशा बोकेर त्यहाँ पुगेको कुरा मैले एकै सासमा बताएँ। अन्तरयामीलेझैँ कुरा बुझेको स्वाङ पार्दै उनी फुसफुसाए -“भान्सामा खान्सामाको भ्याकेन्सी पनि छैन र मेरो साततले गौँथली गुँडमा सफाइ कर्मचारीको जागिर पनि खाली छैन,सरी !”

हदैसम्मको हेपाइ र अवहेलना पचाउँदै म बोलेँ – “डाइरेक्टर साब ,भान्से वा कुचेपुछेको ठाउँ खाली नभए पनि हिरोको भ्याकेन्सी त खाली होला नि ? म त्यही खोज्न आएको।”

उनले मङ्गलग्रहबाट आएको एलियन प्राणीलाईझैँ एकटकले घुरेपछि एकछिन मलाई सोधे- “दस लाख रुपैयाँ थाम्न सक्छौ ? ”
म पनि उत्साहित हुँदै बोलेँ – “बाफरे दस लाख ! त्यति धेरै त के, दस सय रुड्का पनि चाहिँदैन, डाइरेक्टर साब ! यो ज्यान मुफतमा चाकरी गर्न तयार छ।”

आशय नबुझेको ठहर गर्दै वरिपरि झुण्ड बनेर झुम्मिएका उनकै खाँटी आउरेबाउरेले मलाई सम्झाए – “तिमीले सुको पनि पाउने होइन, हिरो बन्न छ भने दस लाख रकमको जोहो गर भन्ने मर्जी भएको हो डाइरेक्टर साबबाट।”

आउरेबाउरेको त्यो उद्गार सुन्नासाथ मलाई त पैतालामुनिको जमिन भासिएजस्तो महसुस भयो। हिरो बन्ने सपना एकै छिनमा सिसाझैँ फुटेर चकनाचुर भएजस्तो लाग्यो। चालीस वर्ष अघिको दश लाख यो जमानाको पुग नपुग दुई करोडसरह थियो। मेरो सिरीखुरी सम्पत्ति र जहान परिवारको जिउज्यान दश पटक बेचे पनि त्यति रकमको क्याँटको बिटो बन्दैनथ्यो। तैपनि सुराका पैतालामा काँढाले पनि कोतर्दैन भन्ने उखान सम्झँदै आफूलाई भष्मासुर जस्तै सुरो बनाएर हिम्मतका साथ सोधेँ -” किन हो नि दशदश लाख ? हलिउडमा गएर फिलिम बनाउँदै रकम चिलिम पार्ने हो र ? ”

डाइरेक्टरले ठूलै गर्जनसहित कुरो प्रष्ट पार्दै भने – “सालाखाला पाँच लाख रुपैयाँ त फिल्म बनाउनमै खर्च हुन्छ। तिमीजस्ता तोरीगाँडेलाई हिरो बनाउनु परेपछि पाँच लाख मैले लिनु परेन ? मजत्तिको इज्जत र प्रेस्टिज भएका मान्छेले तिमी जस्ता उँटको अनुहारका तोरीलाई हिरो बनाएको बदनामी मोलेर आफ्नो धाक र नाक सित्तैमा गुमाउनू ?”

छुराको धार भन्दा पनि तिखा डाइरेक्टरका वचनबाणको मारले म त सम्हालिनै सकेनछु र ढनक्कै ढलेछु। दस दिन कोमामा (अचेत अवस्थामा) नबितुन्जेल मेरो होसै खुलेनछ।

०००
कामना मासिकबाट जस्ताकाे तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x