युगल बसेलमेरो भाले किन बास्दैन ?
तँ चिता, म पुर्याउँछु भन्ने ईश्वरले मैले चिताएको पुर्याउँछन् कि पुर्याउँदैनन् कुन्नि, अपेक्षा गरेअनुसार भाले बास्छ कि बास्दैन कुन्नि !

युगल बसेल :
खै, भाले बासेको कारणले उज्यालो हुने होइन भन्ने बुझेर हो कि किन हो कुन्नि अरू भाले देशै थर्काउने गरी बास्दा पनि मेरो भाले गुपचुप गुपचुप जस्तै छ , बास्न लजाइरहेको छ। आफ्नै जातिका भालेपोथीका माझमा सिउर ढल्काउँदै मेरो भाले बासोस्, बासी रहोस् भन्ने मेरो चाहना हो । तर किन हो कुन्नि मेरो चाहना पूरा भइरहेको छैन । जोरीपारीकाले मलाई तेरो भाले बासेन भनेर उल्लाइरहेका छन् जिल्लाइरहेका छन्।
जान्नेलाई छान्ने भनेर दौडधुप गरीगरी भाले छानेकै हो , चुपचाप मागेको मूल्यमा सहिछाप लगाएकै हो तर यो भाले यस्तो ज्याद्रो छ कि बास्नै मान्दैन । त्यसो त यो भाले बास्नै नजानेको भने होइन । उहिले उहिले र्याप तालमा झ्यापझ्याप बासेकै हो । तर पनि जति सुँगुर मोटाउँछ, उति पुठो चाउरिन्छ भनेझैँ गरेर यसले जति जति वैयक्तिक गति उन्नति गर्दै गएको छ उति उति यसको स्वर भाँसिँदै गएको छ । आवश्यकताअनुसार नबासिदिँदा हियामा अलिकता खिया लागेकै छ । त्यसै त्यसै मन संज्ञाशून्यजस्तो भएको महसुस भइरहेको छ।
बुढा भालेहरू कहिले खुमलटारमा, कहिले बुढानीलकण्ठमा र कहिले गुन्डुमा च्याँठ्ठिइ च्याँठ्ठिइ बासिरहेका छन्, कुर्लिरहेका छन्, डोरी जले पनि ऐँठाई जलेको छैन । मेरो तन्नेरी भालेलाइ भने के भएको हो के भएको हो, मैले बुझ्न सकिरहेको छैन ।
बोक्सी लागेर भाले बासेन भनेर झारफुक गराउँ भने पनि यो काम युग अनुकुलको हुने भएन । अहिलेको जमानामा झारफुकतिर कसरी लाग्नु ? दक्षिण दिशा वा उत्तर दिशाका धामीहरूलाई हेराउन कोराउन जाऊँ भने पनि अर्घेलो नै ठहर्ला । अर्घेलो नगर्नु, पुर्खेल्लो नछोड्नु भन्ने संस्कारमा हुर्किएको मान्छे परियो आफू। छन त घुसघुसेले ताल पार्छ, बकबकेले गाल पार्छ भन्ने भनाइ पनि छ । यसैगरी कम बासेर वा भनौ घुसघुसे भएर पनि ताल पारे त हुन्थ्यो । ताल पार्नको साटो गाल नै पार्यो भने त बित्त्यासै पर्ने होला ।
बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नबिक्ने संसारमा बास्न अल्छी गर्नेले के प्रगति गर्ला भन्ने चिन्ताले पनि बेलाबेलामा मलाई पिरोलिरहन्छ । मामुली भाले नभएर कालो सिउर भएको हटालो मटालो कडकनाथ भाले भएर पनि, दामी पखेटा भएर पनि, किन यो बास्नामा पछि परेको छ, कुरो आफैमा अनुसन्धेय छ।
हुन त यो सिउरवाला भाले जाति देउताकै पालादेखिको ज्याद्रो हो रे। उहिले यो सुनचरीको रूपमा स्वर्गमै बस्ने गर्थ्यो रे, देउताका खबर लिएर प्वाँख फडफडाउँदै जताजतै पुग्ने गर्थ्यो रे । आफूलाई अलि बढी नै जान्ने ठान्ने यस प्राणीको खासियत थियो रे । देउताले एकपटक यस सुनचरीलाई मर्त्यलोकमा पुगेर मानिसहरूलाई तीनवटा सन्ध्याकालमा हरेक दिन तीन तीन पटक स्नान र जप गर्नू, एकपटक खानू भन्ने सन्देश सुनाउन पठाएछन् । अलि घामड चरी न ठहर्योा, मानव जातिलाई दिनमा तीनपटक खानू, एकपटक स्नान -जप गर्नू भन्ने खबर सुनाउन पुगेछ । यसरी तोडमोड गरिएको उल्टो सन्देश सुनाउने सुनचरीदेखि देउता औधि रिसाएछन् । अनि सुनचरीलाई धुमचरीको रूपमा मर्त्यलोकमै बस्नुपर्ने र मान्छेकै आहारा बन्नुपर्ने सराप दिएछन् । आज पनि धुमचरीले बिहानपख उहिले उहिले मर्त्यलोकबाट स्वर्ग फर्कने बेला हुँदाको बखत सम्झेर ´कसरी जाम् ? `भन्दै पखेटा फडफडाउने गर्छ भनिन्छ । यो सुनचरीको कहानी मैले मेरा सखेत बराजुबाट सुनेको हुँ ।
सुनचरी भए पनि धुमचरी भए पनि भाले आखिर भाले नै हो । यसले घाँटी तन्काएर बास्दै पखेटा नफटफटाएसम्म हामी नरनारीको जिउ हलुका हुँदैन । अझ आफैले जानेको, आफैंले छानेको भाले नबास्दा त ज्यान त्यसै त्यसै भारी भएर आउँछ नै ।
लौ न कसैलाई थाहा छ भने भनिदिनुपर्यो, कुन जडिबुटी वा घाँसपात वा चारा खुवाउँदा भालेको बासाई खुल्छ र ऊ प्रसन्न चित्तले कुखुरी काँ….. गर्न सक्छ । म आफ्नो घरबारी, सिरीखुरी बेचेर पनि जन्तर मन्तर गर्न साह्रै उत्सुक छु ।
हुन त मान्छेहरू ताक परे तिवारी नत्र गोतामे भनेजस्तै गरेर आआफ्ना भाले फेरिरहन्छन् र इच्छा मुताबिकको भालेको डाँको सुनिरहन्छन्। मेरो इरादा भने यसै कडकनाथ भालेको डाँको र रडाको सुन्ने छ । यस कडकनाथ भालेलाई साटफेर गर्ने मन फिटिक्कै छैन । यही भाले बासोस्, यही भाले नाचोस् र सबैको सन्ताप नासोस् भन्ने इच्छा छ । तर म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भने झैँ गरेर सपनाहरू सबै हुरीले उडाउने हो कि भन्ने जलतरास पनि छ । तँ चिता, म पुर्याउँछु भन्ने ईश्वरले मैले चिताएको पुर्याउँछन् कि पुर्याउँदैनन् कुन्नि, अपेक्षा गरेअनुसार भाले बास्छ कि बास्दैन कुन्नि !
०००
सन्धिखर्क १ तुम्कोट
Subscribe
Login
0 Comments
Oldest








































