भोलानाथ सुबेदीओल्ड इज गोल्ड
म जैरेले टाउकाको कैलो कपाल कन्याउँदै ध्यान गर्दा गुण भएको वस्तु मात्रै गोल्ड हुने रहेछ । ओल्ड त हाम्रा विगतहरू रहेछन्।
भलादमी भाेला :
तपाईँलाई यो शीर्षक देख्दा अचम्म लाग्ला । नेपालीमा हुनुपर्ने शीर्षक अङ्ग्रेजीमा राखेर यसले भाषाको मानमर्दन ग-यो भन्ने तपाईंको मनमा प-यो होला। मलाई पनि हतपत कहाँ यो शीर्षक राखेर निबन्ध लेख्ने जाँगर आउँथ्यो र । घरमा रहेको सिलबरे डेक्चीलाई मैले झट्टयाउन लाग्दा आमाले ओल्ड इज गोल्ड भनेर प्रशंसा गरेपछि मैले यसको शिरोधार्य गरेको हुँ। आमाले नै फलाक्न थालेपछि मैले त्यसको अनुशरण गर्दा के नै फरक पर्ला र आमाकै लहैलहैमा लागेर मैले पनि लेखिदिए ओल्ड इज गोल्ड।
बाह्र सालमा जन्मेकी आमाले नेपाली वर्णमालाका वर्ण बढार्न नसके पनि अङ्ग्रेजीको तीन शब्दे ओल्ड इज गोल्डले मेरो मस्तिष्कको कसिङ्गर बढारेपछि लेख्न करै लाग्यो छोरोभन्दा आमै ओल्ड इज गोल्ड।
मलाई सोध्नु थियो आमालाई यसको अर्थ थाहा छ कि छैन होला। मेरो भन्दा अघि धेरै भोटा फटाएकी आमालाई यसको अर्थ सोधेर उनको वचनमा बाण हान्न मन लागेन मलाई । उसलाई सोध्न पाएको भए मैले के नै सोध्थेँ होला र । आमा ओल्ड भनेको के ? गलामा गोल्डका गहना लगाउन नपाएकी मेरी आमाले ओल्डको अर्थ के सुनाउँथिन् त्यो पनि गर्भभित्र नै रह्यो ।
अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा पदार्पण भएको यो शब्दले नेपालीहरूको मस्तिष्कमा काउकुती लगाइदियो। त्यसैले नेपाली भाषालाई अँगालो हालेर मुस्कुराइरहेको छ, ओल्ड इज गोल्ड।
कसैले अङ्ग्रेजी वर्णमाला चिनोस् या नचिनोस् त्यसको जिब्रोले ओल्ड इज गोल्डको पाङ्ग्रो गुडाएकै हुन्छ । यसको नेपाली अनुवाद खोज्दै जाँदा पुरानो नै सुन भन्ने अर्थ लाग्दो रहेछ। नेपाली भाषाको उल्था भन्दा त अङ्ग्रेजी भाषामा नै यसको आत्मीयता मौलाएको देखिन्छ दुबो मौलाए झैँ ।
बिसौँ शताब्दीदेखि पश्चिमी समाजमा जरा गाडेको यो शब्दले नेपाली आँगनमा पनि खुट्टो घुमाएर राम्रैसँग जरा गाडेको छ । यो शब्द रसिलो र झरिलो छ। लय र बान्कीको खान्की मिलेको। पुरानो बाजेको पेडा पसल जस्तो। नाम सुन्दै मुख रसाउने । घरै बसाउने ।
आमाले ओल्ड इज गोल्ड भनेपछि मैले सोचे। गोल्ड त घरभित्र सुरक्षित हुन्छ। गोल्ड त संरक्षण गरेर बैंकको लकरमा राखिन्छ । पूजा गरिन्छ । आमाहरू पनि त गोल्ड नै हुन् तर अचेल आमाहरू सुरक्षित हुनका लागि किन वृद्धाश्रम पुगी रहेछन् ।सबै टल्कने वस्तु सुन होइन भनेर विज्ञापन पढेको जमानाको मान्छे म। आमाका लागि पुरानो त उनको बालापन थियो। त्यो गोल्ड हुन नसकेर कहाँ होल्ड भयो उनलाई त्यो पनि थाहा छैन ।
उनको वैश उमेर त्यसैगरी होल्ड भयो। जसरी सम्हाल्न नभ्याउँदै उनको केशले रङ छोडेर बदलियो। उनको अनुहारको पोटिलो छाला मुजा परेर खेतका आली जस्ता भए। उनका पिज्जा खाने दाँतलाई ओल्ड भन्ने कि गोल्ड भन्ने तिनले पनि गिजा छोडेर बिदा भए । आँखामा मोती लागेर त्यसको ज्योति कता बतासियो । यी सबैको केही भेउ पाउन नसकेकी उनले बोलिन् “ओल्ड इज गोल्ड।”
हामीले ओल्ड इज गोल्ड भनेको सिंहदरबारका पर्खालमा किन धुवाँको मुस्लो नाच्यो ? हामीले ओल्ड इज गोल्ड भनेका धर्मले एकअर्कालाई दोषारोपण गरेर किन रगतको होली खेल्नुप-यो। म जैरेले टाउकाको कैलो कपाल कन्याउँदै ध्यान गर्दा गुण भएको वस्तु मात्रै गोल्ड हुने रहेछ । ओल्ड त हाम्रा विगतहरू रहेछन्। हाम्रो संस्कृति, परम्परा, भेषभुषा रहेछ। केशमा परदेशको लेप दलेर भेपको धुवाँ उडाउँदै हिँड्ने पुस्तालाई ओल्ड इज गोल्डको अर्थ के थाहा ।
विचार गरी ल्याउँदा आगो र खरानीमा कुनलाई ओल्ड भन्ने। जन्म ओल्ड हो कि मृत्यु । दिन ओल्ड हो कि रात। यसको अर्थ खोतल्दै जाँदा कहिले नसुल्झिने प्रश्नमा पुगेर मथिङ्गल झन्झनाउने रहेछ। अण्डा पहिले कि चल्ला । वर्षातको पानीलाई ओल्ड भन्ने कि नदीको पानीलाई । यस्ता अनगिन्ती सवालको जवाफ नभेटेपछि मलाई लाग्यो ओल्ड इज गोल्डको किस्सा पृथ्वी लोकमा हामीलाई सताउने आएको हुनुपर्छ ।
मलाई लाग्यो हाम्रा मठ मन्दिर, सङ्ग्रहालय, सार्वजनिक सम्पत्ति सबै ओल्ड इज गोल्ड हुन । हाम्रो धोती र टोपी लुङ्गी र चोली ओल्ड इज गोल्ड हो । जसले सभ्यता बचाउँछ त्यही ओल्ड हो, त्यही गोल्ड हो । मैले सम्झेँ पुर्वजका वचन, व्यवहार इतिहास सबै ओल्ड इज गोल्ड हुन । सिलबरे डेक्चीभन्दा आमा त अनमोल गोल्ड हुन् ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest






































