लक्ष्मी रिजालनयाँ बिहानीको एजेण्डा
मञ्जरीका ओठ मुस्कुराए, तर मनमा एउटा दरो सङ्कल्प थियो । उनले भनिन्, "जब व्यवस्थाले जनताको आँसु पुछ्ने कसम खान्छ, तब कागजका अक्षरहरू क्रान्तिको मन्त्र बन्छन् ।"

लक्ष्मी रिजाल :
”यतिन्जेल कहाँ हुनुहुन्थ्यो हजुर, यो राँको रगतले भिजेको छ कि पसिनाले ?”
आँगनमा पाइला टेक्नासाथ छोरी आर्याको यो प्रश्नले मञ्जरी झस्किइन् । बाहिर वि.सं. २०८२ चैत १५ को त्यो ऐतिहासिक बतास चलिरहेको थियो । मञ्जरीका हातमा केही दस्ताबेज थिए र आँखामा एउटा अनौठो चमक ।
“समयले उत्तर खोजिरहेको थियो आर्या, मैले त केवल शब्द पैंचो लिएर आएकी हुँ ।” मञ्जरीले रहस्यात्मक ढङ्गले भनिन् । उनले भित्र पसेर टेबुलमा मन्त्रिपरिषद्को ‘एक सय कार्यसूची’ को प्रतिलिपि राखिन् । भर्खरै सम्पन्न आम निर्वाचनले देशको तस्बिर बदल्ने सङ्केत दिएको थियो । वर्षौंदेखि सिंहदरबारका भित्तामा थन्किएका फाइलहरू अब डिजिटल ट्रयाकिङमा चढ्दै थिए ।
गाउँका सुकुम्बासी बस्तीदेखि सहरका भ्रष्ट अखडासम्म थर्कमान हुने गरी ‘सम्पत्ति छानबिन समिति’ गठनको खबर डढेलोझैँ फैलिएको थियो । मञ्जरीले आफ्ना पुराना मैला लुगा फेरिन् । उनलाई लाग्यो- अब न त राहदानीका लागि बिचौलिया धाउनुपर्नेछ, न त अस्पतालको शय्या नपाएर कोही विपन्नले छटपटाउनुपर्नेछ । परिवर्तनको यो वेग कुनै मुहान फुटेको खोला जस्तै तीव्र थियो ।
मञ्जरीले भित्ताको क्यालेन्डरमा हेरिन् । जेन्-जी आन्दोलनका ती शहीदहरूको सपना अब शासकीय सुधारका बुँदाहरूमा रूपान्तरण हुँदै थियो । उनले आर्याको काँधमा हात राख्दै भनिन्, “हेर नानी, अब त विद्यालयमा दलका झन्डा होइन, विद्यार्थीको आवाज सुनिनेछ रे !”
छिमेकी काकीले दैलोबाटै सोधिन्, “साँच्चै अब हामीजस्ता गरिबले पनि न्याय पाउँछौँ त मञ्जरी ?”
मञ्जरीका ओठ मुस्कुराए, तर मनमा एउटा दरो सङ्कल्प थियो । उनले भनिन्, “जब व्यवस्थाले जनताको आँसु पुछ्ने कसम खान्छ, तब कागजका अक्षरहरू क्रान्तिको मन्त्र बन्छन् ।”
आर्याले ती दस्ताबेज पल्टाउँदै भनी, “तर आमा, के यी प्रतिबद्धताहरू साँच्चै लागू होलान् त ?”
मञ्जरीले झ्यालबाट देखिने नयाँ घामको झुल्कोतिर औंल्याउँदै भनिन्, “अविश्वासको ऐना फुटाएर हेर आर्या, अब सरकार शासक होइन, सेवक बन्न राजी भएको छ !”
०००
२०८२ चैत १५ गते
Subscribe
Login
0 Comments
Oldest







































