साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक सक्षम नागरिक

ज्येष्ठ नागरिकलाई राज्यले कानुन बनाएर बलजफ्ती जा भन्ने होइन, ज्येष्ठ नागरिकले भो अब म सक्तिन भन्ने अवस्थासम्म कुनै न कुनै रूपमा तिनको उपयोग गर्नुपर्छ भन्ने यस बहसको आशय हो ।

Nepal Telecom ad

वासुदेव गुरागाईं

मानिसको उमेर सधैँ एकैनास रहन्न । न कसैले यसलाई छेक्न सक्छ न कुनै हिसाबले रोक्न नै । यसो हुँदा मानिसको उमेर पलपलमा नित्य निरन्तर अगाडि बढिरहन्छ, जसरी समुद्रको पानी आफ्नो हिसाबमा कतै नरोकिईकन, नअलमलिईकन अघि बढिरहेको हुन्छ । उमेरको घडी जति अघि बढ्दै जान्छ उति नै मानिसमा पाकोपनको अभिवृद्धि पनि हुँदै जान्छ । यस किसिमको पाकोपन शारीरिक समृद्धि र बौद्धिक अभिवृद्धि दुवैसँग सम्बन्धित हुन्छ । शारीरिक शक्ति आर्जनका हिसाबले उमेरको पूर्वाद्र्ध जीवन स्वाभाविक रूपमा बढी उर्वर हुन्छ भने उत्तराद्र्ध जीवन यही शारीरिक शक्ति आर्जनका हिसाबले स्वतः अधोगति भनूँ वा क्षयीकरणको अवस्थातिर उन्मुख हुन्छ । मानिसका जीवनको कुन उमेर खण्ड पूर्वाद्र्ध र कुन उमेर खण्ड उत्तराद्र्ध भन्ने बहस पनि यहाँ जिज्ञासाका रूपमा उपस्थित हुन सक्छ, जुन त्यति अस्वाभाविक होइन ।

बहसको यो विषय स्थान, परिवेश, देशीय विकासको अवस्था, खानपान, औषधोपचार सुशान्त वातावरणको उपलब्धता आदिमा निर्भर रहन्छ । यति हुँदाहुँदै पनि सामान्यतः मानिसको उमेरलाई पचासभन्दा अघिको अवस्थालाई पूर्वाद्र्ध र पचासपछिको अवस्थालाई उत्तराद्र्ध भनेर वर्गीकरण गर्ने गरिएको पाइन्छ । नेपालको सन्दर्भमा सरकारी लिखित दस्तावेजलाई हेर्दा भने ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले आफ्नो परिभाषा खण्डमा “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ भनी उल्लेख गरेको पाइन्छ ।

साठी वर्ष उमेर पुग्नेबित्तिकै मानिस अशक्त हुन्छ, कमजोर हुन्छ, केही काम गर्नै सक्तैन भन्ने जुन किसिमको सोच आम मानिसमा विद्यमान छ त्यो सरासर असत्य हो । नेपालकै सन्दर्भका कुरा गर्दा पनि ज्येष्ठ नागरिक भइसकेका व्यक्ति नेपालका उच्च/सर्वोच्च अदालत, जाँचबुझ आयोग, संवैधानिक निकायका पदाधिकारी, प्राध्यापक, राजदूत, राष्ट्रपति, मन्त्री, सांसद् जस्ता राजनीतिक पदाधिकारी, विश्वविद्यालय कर्मचारी आदि भएर काम गरिरहेकै देखिन्छन् । त्यसैले उमेरका हिसाबले कसैलाई सक्षम र कसैलाई असक्षम भनी वर्गीकरण गर्नु सर्वथा अनुपयुक्त र अप्रिय विषय हो । काम सबै एकै किसिमका हुँदैनन् । कोही शारीरिक सक्षमताले सम्पन्न गर्नुपर्ने काम हुन्छन्, कोही बौद्धिक सक्षमताले सम्पन्न गर्ने काम हुन्छन् । शारीरिक सक्षमताले गर्ने सबै काम वृद्धावस्थामा असम्भव होला, तर ऊ बौद्धिक सक्षमताले गर्ने काम अपवाद अवस्थामा बाहेक जीवनको अन्तिम क्षणसम्म पनि सम्पन्न गर्न सक्षम रहन्छ ।

यो तपाईं हामी जो कसैले देखिभोगिआएकै यथार्थ हो । तसर्थ ज्येष्ठ नागरिक सक्षम नागरिक शीर्षकीय यस बहसमा मानिसको पूर्वाद्र्ध जीवनका पक्षमा वकालत हुने छैन । यसैले यसमा सानो अंशमा भए पनि मानिसको उत्तराद्र्ध जीवनका विविध कोण र पक्षमा चर्चा गर्ने प्रयास गरिने छ ।

बलमा सबैभन्दा महत्वपूर्ण बल आत्मबल हो । आत्मबलले सबै बललाई बल प्रदान गर्छ । आत्मबलले सबै बललाई उर्वरता प्रदान गर्छ । आत्मबलले मानसिक तथा शारीरिक दुर्बलतालाई निस्तेज पार्छ । आत्मबलले जोस बढाउँछ, स्फूर्ति बढाउँछ र अग्रगमनको बाटोका फोहर सफा गर्छ । आत्मबलले सफलताको सगर चुम्न संबल प्रदान गर्छ । यी सबै आत्मबलका सकारात्मक पाटा हुन् । यो स्थिति अधिकांश ज्येष्ठ नागरिकमा विद्यमान हुन्छ । किनकि, ज्येष्ठ नागरिकहरूले लामो जीवन कालखण्डका हरेक पल भोगेका हुन्छन् । बुझेका हुन्छन् । कुरो बुझेको मानिस हर किसिमको मूल्याङ्कनमा अब्बल ठहरिन्छन् । हर कुराको विश्लेषणमा पाका ठहरिन्छन् । व्यष्टि र समष्टिका विषयमा जानकार हुन्छन् ।

यसरी व्यक्ति, समाज र राष्ट्र बुझेको मानिस आत्मबलमा कदापि कमजोर हुँदैनन् । आफूमा मात्र उच्च आत्मबल उत्पन्न गर्ने नभई यिनले अरूको आत्मबल बढाउन पनि पर्याप्त मद्दत गर्छन् । कुनै पनि कुरामा अरूलाई बुझाउन सक्ने क्षमता यिनमा विद्यमान हुन्छ । प्राज्ञिक पढाइवाला होऊन् वा प्राज्ञिक प्रमाणपत्रबिहीन होऊन्, यी सबै वृद्धवृद्धा व्यवहारमा पारङ्गत हुन्छन् । पढेर नजानिएको वा नजानिने कुरा यिनले व्यवहारबाट प्राप्त गरेका हुन्छन् । ‘पढेर भन्दा परेर बढी जानिन्छ’ भन्ने उखानलाई चरितार्थ गर्ने क्षमता यिनमा रहन्छ ।

राज्य होस् वा अरू कुनै सरकारी वा व्यक्तिगत पक्ष, पछिल्लो समय यी सबैले समाजका ज्येष्ठ नागरिकलाई अवमूल्यन गर्ने, यिनले केही गर्न सक्तैनन् भन्ने भावयुक्त दृष्टिकोण राख्ने, समाजका लागि यी अनुर्वर मूर्ति हुन् भन्ने भावना पालिएको देखिन्छ । अझ कतिपयले त यस्ता ज्येष्ठ नागरिकलाई भित्री मनमा यी पृथ्वीका भार मात्र हुन् भन्ने पनि सोचिरहेका हुन्छन् । जुन कुरा समाजको अग्रगमनको दिशामा अत्यन्त घातक मानसिकता हो । पछिल्लो समय ज्येष्ठ नागरिकहरूलाई यसरी हेर्ने आँखा भएका स्वयंमा प्रबुद्ध घोषित यस्ता व्यक्तिहरू भोलि आफू पनि यही स्थितिमा पुग्छु, समाजले हामीलाई पनि यसरी नै हेर्छ, यसरी नै हेप्छ, जसरी अहिले हामी यिनलाई हेरिरहेका छौँ, हेपिरहेका छौँ भन्ने बिर्सन्छन् । त्यस्तो मानसिकताले सकारात्मक सोच नै यिनमा पलाउन्न । जुन कुरा ज्येष्ठ नागरिकका हकमा अत्यन्त निन्दनीय विषय हो । अत्यन्त घातक प्रवृत्ति हो ।

कतिपय शिक्षण संस्थाहरूमा बल ठूलो कि बुद्धि भन्ने विषयमा व्यापक बहस गराएको यदाकदा हामी सुन्ने गर्छौँ । विद्यार्थी भाइबहिनीहरू आप्‌mनो पाठ्यक्रमको पढाइ पूरा गर्ने क्रममा बल र बुद्धि दुवैका पक्षमा उत्तिकै जोडबलले बहसमा उत्रिरहेका हुन्छन् । तर बलका पक्षमा बहस गर्दै आफ्नो तर्क राख्ने विद्यार्थी पनि बाह्य रूपमा बलको पक्ष लिए पनि भित्री मनले बुद्धिलाई ठूलो देखिरहेका हुन्छन् । मूल्याङ्कनकर्ताहरू पनि विद्यार्थीको वक्तृत्व कला र त्यसको प्रस्तुतिको परीक्षण गरिरहेका हुन्छन् न कि उनीहरूले राखेका विभिन्न तर्कहरूको । बल वा बुद्धि कुन ठूलो भनेर बहस गर्न नै पनि बुद्धि चाहिन्छ । त्यहाँ शारीरिक तौल र मुढे बलको कुनै अर्थ रहँदैन ।

यी कुरा किन पनि यहाँ उठाइयो भने बुद्धिका खानी भनेका ज्येष्ठ नागरिक नै हुन् भन्ने पक्षलाई दरिलो बनाउन यसो भनिएको हो । युवाहरूमा पनि बुद्धि हुन्न, विवेक हुन्न भन्ने यस बहसको निचोड होइन । युवाहरू पनि पछिल्लो प्राज्ञिक पुस्ता हुन् । यिनमा आँट हुन्छ, अक्किल हुन्छ, जोश र जाँगर हुन्छ, नयाँ नयाँ सूत्र जन्माउने क्षमता हुन्छ । अलिकति नहुने भनेको त्यसले पार्ने नकारात्मक प्रभाव र परिणामको आकलनमा न्यूनता । युवाहरूमा विद्यमान यही विविध गुण नै पछिल्लो समय ज्येष्ठ नागरिकको हैसियतमा पुग्दा अझ खारिएर समाजोपयोगी दिशामा प्रयोग हुन सक्छ । त्यो स्थिति हिजो थियो, आज छ र भोलि पनि रहनेछ । यस स्थितिलाई राज्यले जतिखेर पनि आप्‌mना पक्षमा प्रयोग र उपयोग गर्ने वातावरण बनाउनुपर्छ ।

यी सबै कुराको प्रतीकात्मक रूपमा विश्लेषण गर्दा समाजका ज्येष्ठ नागरिकहरू असक्षमको बिल्ला भिर्न उपयुक्त देखिँदैनन् । अपवाद अवस्थामा बाहेक विभिन्न किसिमका रोजगारीबाट पाखा लागेका वृद्धवृद्धा त्यसपछिको समयमा अझ बढी प्रखर भएर समाजमा ठडिएका उदाहरण हाम्रा सामु कति छन् कति ! यसउसले अरू कोही केही होइनन्, वृद्धवृद्धा मात्रै सबैथोक हुन् भन्ने वकालत यहाँ गरिरहिएको छैन । यहाँ त वृद्धवृद्धा पनि सक्षम छन् । यिनको उपयोग पनि राज्यले गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई राज्यले कानुन बनाएर बलजफ्ती जा भन्ने होइन, ज्येष्ठ नागरिकले भो अब म सक्तिन भन्ने अवस्थासम्म कुनै न कुनै रूपमा तिनको उपयोग गर्नुपर्छ भन्ने यस बहसको आशय हो । जसले जे गर्न सक्छ त्यो गराउने हो, सक्तैन भनेर डस्टबिनमा नफालियोस् भन्ने मनसाय हो ।

ज्येष्ठ नागरिकका हकमा पनि यति हुन सक्यो भने राष्ट्र निर्माणमा सबैको योगदान र अपनत्व कुनै न कुनै रूपमा देखिन र ग्रहण हुन सक्छ । सरोकारवाला सबैलाई चेतना भया ।

०००
काठमाडाैं
२०८३/३/५

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Khemraj Upadhyaya
Khemraj Upadhyaya
1 day ago

ज्येष्ठ नागरिक हाम्रो विगतका साक्षी, वर्तमानका मार्गदर्शक र भविष्यका प्रेरणा हुन्। उनीहरूको सम्मान, सुरक्षा र गरिमाको रक्षा गर्नु सभ्य समाजको पहिलो कर्तव्य हो।”

Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x