देवीप्रसाद मिश्रबुबाका आमाका अनुभव …
जहाँ हुन्छन् पाका सुमनमनका यी सहचरी, उज्यालो पार्ने छन् सकल घर चन्द्रार्क जसरी यिनैका हातामा नवरस कला सिञ्चित गराैँ बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥
देवीप्रसाद मिश्र :
छ यात्रामा यात्री अनुपम लिई लक्ष्य परकाे
नमिल्दा चाँजाे त्याे असहजपला हुन्छ नरकाे
कसाे गर्ने भन्दै समयसित दिग्भ्रान्त नबनाैँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥१।।
बुबा आमा बाेल्दा गनगन बढी मात्र नबुझाैँ
गरेका छन् हाम्रा हितकर कुरा ओखत बुझाैँ
यिनै हुन् सर्वात्मा भरअभरमा ईश्वर भनाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥२।।
विधाताका दाता सरह गनिने वृद्ध घरका
भराेसा,हुन् खासा दलिन दरिलाझैँ तबरका
कुनै खस्रा हाेलान् वचन मन छन् तुच्छ नभनाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥३।।
लिई आयाैँ हामी नित ,मनुजकाे जन्म भवमा
बढ्याैँ हुर्क्याैँ खेल्दै जनक जननीका नजिकमा
मिल्यो शिक्षादीक्षा मुदित भइयो पूर्ण नभनाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥४।।
जहाँ हुन्छन् पाका सुमनमनका यी सहचरी,
उज्यालो पार्ने छन् सकल घर चन्द्रार्क जसरी
यिनैका हातामा नवरस कला सिञ्चित गराैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥५।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































