देवीप्रसाद मिश्रसबै पाका मान्छे
अनेकौँ छन् अर्ती हितकर सबै संज्ञानका छन् निधि । दिने गर्छन् राम्रो मुदु मन गरी सन्मार्ग चुम्ने विधि।। लगाऔँ सेवामा मन निकट भै यस्ता महान् व्यक्तिका । सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ॥

देवीप्रसाद मिश्र :
सबै झेल्दै आफ्ना दुखसुखपला धाक्दै नथाकीकन ।
बढाए हुर्काए अनुचर भुरा सङ्लाे बनाई मन ।।
कलामा विद्यामा अतिशय बला छन् दूरदृष्टान्तका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ॥१।।
हुँदा काया पाकाे मन छ दरिलाे हुन्नन् निराशा कति ।
अझै ठान्छन् राम्रा सबल बनिऊन् आफ्ना सबै सन्तति ।।
सुधाजस्तै बाँड्छन् निकट रहँदा संज्ञान सत्कर्मका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ॥२।।
गरी सेवा राम्रो अब अनुजले आराध्य हाम्रा भनी ।
बढाऔँ श्रद्धाका कुमुदित कला कर्तव्यशाली बनी ।।
सदा मिल्ने गर्छन् अटलसँगमा आदर्श आस्वादका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ॥३।।
हुँदा साराे गाह्रो परिजन बसून् सम्पूर्ण सान्निध्यमा ।
भनी जुट्छन् आफ्ना मृदुल मनले उत्कृष्ट सङ्कल्पमा ।।
उनै, बन्ने गर्छन् भरअभरमा निःस्वार्थ विश्वासका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ॥४ ।।
अनेकौँ छन् अर्ती हितकर सबै संज्ञानका छन् निधि ।
दिने गर्छन् राम्रो मुदु मन गरी सन्मार्ग चुम्ने विधि।।
लगाऔँ सेवामा मन निकट भै यस्ता महान् व्यक्तिका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ॥५ ।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































