साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ककटेल नेपाल

स्वदेशमै पसिना बगाउनुपर्छ, रगत सुकाउनुपर्छ भन्ने विचार नै प्रतिगामी। स्वदेशको माया गर्नुपर्छ भन्ने विचार नै अविवेकी । स्वदेशको माया गर्नुपर्छ भन्ने अवधारणा नै बेठीक र सङ्कीर्ण ।

Nepal Telecom ad

चूडामणि खनाल :

मेरो देश नेपाल छेपारोजस्तो छ, जतिसुकै वेला पनि रङ्ग बदल्ने गर्छ बदल्न सक्छ, त्यसैले यस देशको पहिचान गर्ने गाह्रो, ट्रेडमार्क बुझ्नै साह्रो । पहिले यो मुलुक शान्तिका प्रतीक बुद्धको नामले चिनिन्थ्यो, पछि यसको पहिचान बदलियो र वीरको देश भनियो। जब नेपालीहरू बुद्ध नभईकन वीर भएका होइनन् भन्ने वास्तविकताको ज्ञान भयो अथवा एउटै देश शान्तिको पनि प्रतीक र क्रान्तिको पनि विम्ब हो भन्दा कता कता आफैलाई पनि लाज लाग्यो, काउकुती लाग्यो, अनि मुलुक फरक्क फर्किएर प्रकृतितर्फ उन्मुख भयो, त्यसपछि सगरमाथाको मुलुक भनेर विश्वभर चिनियो । जव चीनले सगरमाथाको उचाइ स्थापित मान्यताभन्दा “तीन मिटर होचो छ” भनेर वखेडा झिक्यो अनि दिक्क भएर नेपालले गम्न थाल्यो अब म कुन पहिचानले विश्वका सामु परिचित हुने है ?

“अजिङ्गरको आहारा दैवले पुऱ्याउँछ” भनेझै भयो । अझ भनूँ नेपालले आफ्नो पहिचान आफ्नै भान्सामा पायो, आँगनमा नै फेला पार्यो । कोही रोजगारका लागि, कोही ज्ञानगुनका लागि, कोही भोकको शमनका लागि, कोही भोगका लागि, कोही रोगको निदानका लागि भनेर नेटो काट्‌ने नेपाली देखेपछि स्वयम् नेपालले भन्यो- ‘यो भरौटेहरूको मुलुक हो, भगौटेहरूको मुलुक हो ।

यसरी अर्को पहिचान थपियो । बुद्धिले त बाँच्न गाह्रो हुने भएपछि नेपालीले बाँच्ने सोझो बाटो लिएको हो बुद्धजीवी हुने । हिजोआज त प्रतिदिन हजारभन्दा बढी युवायुवती बुद्ध हुनाकै लागि उड्छन् रे । मस्तिष्क जति मोटो हुन्छ, उति नै बुद्धजीवी हुन सजिलो हुन्छ भनेर नेपालीले कलमभन्दा ‘कर्द ठूलो र कुचीभन्दा छुरी दरो’ ठान्न थाल्यो । ढाड जति वलियो हुन्छ, काँध जति दरो हुन्छ, उति नै आफ्नो प्रगति हुन्छ भन्ने ठानेर उसले पाठशालालाई उपेक्षा गरेर गौशालाको अपेक्षा गर्यो, अनि गोरु हुन सिक्यो । त्यसैले “बलियो बाङ्गो बाहिर, बूढोखाडो घरतिर हुनपुग्यो । “सोह्र वर्ष पुगेपछि देश नछाड्ने र चालीस वर्ष नपुग्दै नेपाल फिर्ने व्यक्ति नेपाली नै होइन भन्ने देश नेपालमात्र हो भनेर किटानीका साथ गिनिज बुकमा नाम दर्ता भयो। त्यस बेलादेखि नेपालीको अर्को तर वास्तविक पहिचान शुरु भयो ‘नेपाल भनेको बूढाखाडाको देश हो, केटाकेटीहरूको मुलुक हो ।’

जब युवाशक्ति वाहिरियो, देशमा वृद्धवृद्धाहरूको सङ्ख्या बढ्यो, अनि यस मुलुकको संरक्षणका लागि विभिन्न सङ्घसंस्था खुले, एडसंस्था, एड्स संस्था र एजेड संस्था ।

विदेशको कमाइबाट पठाइने रकमलाई रेमिटेन्स भनिन्छ, स्वदेशमा भित्रिएको रेमिटेन्सबाट उठेको रकमबाट बजेट बनाउन पाइयो । राष्ट्रका लागि ठूलै एड भो, राष्ट्रलाई खुदो पर्यो। एडभन्दा ठूलो भएर एड्स निस्क्यो । यस एड्सको कुनै भूगोल हुँदैन । यो त हावाजस्तो छ, जसको कुनै साँध सीमा छैन । फरक के छ भने रेमिट्यान्स केवल बाहिरी मुलुकबाट मात्र पठाइन्छ, तर एड्स भन्ने रोग स्वदेशबाट, विदेशबाट, शहरबाट, गाउँबाट, कोठाबाट, कुनाबाट, खुलाबाट, गोप्यबाट, जहाँजहाँसुकैबाट, जताततैबाट फैलिन्छ । अर्थात् एड्सको उत्पादन गर्न स्वदेशका आमा पनि सक्षम हन्छन्, विदेशका बावु पनि सक्षम छन्, त्यसैले यिनीहरूको सङ्ख्या गन्ने नै हो भने हम्मे हम्मे पर्छ। यस एड्सको नियन्त्रणका लागि पनि ठूलै एडको आवश्यकता पर्दो रहेछ, जसको प्राप्तिका लागि पनि दहै कदम चाल्नुपर्ने रहेछ, त्यो काम पनि थालिएकै छ। यस एड्सभन्दा पनि ठूलो रूपको अर्को संस्था पनि छ, जसलाई एजेड भनिन्छ, त्यसको चर्चापरिचर्चा गर्नु पनि नितान्त खाँचो भएको छ, सान्दर्भिक भएको छ ।

एजेड संस्था भनेको बूढाबूढीहरूको संस्था हो । बूढाबूढीहरू अनुभवका धनी भए तापनि उमेरकै कारणले चलनचल्तीमा चाहिने आर्थिक हिसाबले चाहिं गरीब नै हुँदा रहेछन् । उनीहरूको सुरक्षाका लागि पनि धन नै चाहिने रहेछ । धन भनेको वस्तु पनि अनौठाको हुँदो रहेछ । अध्यात्मवादीका दृष्टिमा भगवान् सर्वव्यापी भएजस्तै, विभु भएजस्तै धनको गति पनि अपरम्पारको हुँदो रहेछ । एउटा गतिलो संयोग के रहेभगवान् उति टाढा, धन पनि जति कमायो उति अपुगका हंदा रहेछन् । साँच्चे भन्ने हो भने सम्पूर्ण जगत् धे धनमय रहेछ संसारका सबै वस्तु धन रहेछन । केवल चिन्न सक्नुपर्ने रहेछ । एकातिर सम्पूर्ण जगत् नै धनमय छ भने अर्कोतिर त्यही धन दाखको कारक पनि मान्नपर्छ किनभने अधिकांश झगडाको कारण पनि यही धन बनेको छ । धन कमाउन पनि दुःख अनि जोगाउन पनि दुःख । यो दुःखकर धन कमाउन एजेडहरूका लागि निकै गारो हुँदो रहेछ । त्यसै कारणले यो एजेड संस्था खुलेको हो ।

एजेड भनेको वृद्धवृद्धाहरूको नै अर्को नाम हो । यिनै वृद्धहरूका लागि वृद्धाश्रमहरू खुलेका हुन्छन् । यी वृद्धाश्रमहरू प्रायजसो मरणघाटकै नजिकमा बनाइएका हुन्छन्, किनभने मलामी हुन सक्ने धेरै नेपालीहरू विदेशिएका छन् अनि मलामी हुन शिशुहरू अशक्त र नारीहरू अनिच्छुक हुने भएकाले बूढाबूढीहरू वस्ने आश्रम र मर्ने घाट नजिक नजिकैमा बनाइएका हुन्छन् । मृतकहरूको अन्तिम सस्कारकै लागि नदी किनारमा वस्ती बढाइएको हो ।

वृद्धवृद्धालाई पाल्न र देशको डाँडाकांडा खन्न भनेर युवाजगत् स्वदेशमै वस्ने हो भने श्रमशक्तिको चरम दुरुपयोग हुने भयो, भएन र ? स्वदेशको दोहन त जहिले गरे पनि हुन्छ, तर विदेशको कमाइ भने गरिहाल्नुपर्छ । मौका छोप्नुपर्छ । सधैं कोरिया खुल्छ भन्ने ग्यारेण्टी के छ ? अमेरिकाले सधैं डि.भी. को कार्यक्रम राख्छ भनेर कसले ठोकुवा गर्ने ? कतार, दुबई, साउदी अरव, मलेसियालाई सधैं भरिया चाहिन्छ भन्न पनि सकिन्न नि । भारतका लागि त दरबान पनि पनि निकै धेरै भइसके रे। नेपालीहरूका लागि सबैभन्दा बौद्धिक स्थल मानिने स्यानडाका र अष्ट्रेलियाका ल्याबहरूमा सधैं कामदारको खाँचो नपर्न पनि सक्छ नि ।

मौकामा बुद्धि पुऱ्याउन सक्नुपर्छ । अनुत्पादक बूढाबूढीहरूको लालनपालनका लागि स्वदेशमै बस्नुपर्छ भन्ने सोच नै गलत । स्वदेशमै पसिना बगाउनुपर्छ, रगत सुकाउनुपर्छ भन्ने विचार नै प्रतिगामी। स्वदेशको माया गर्नुपर्छ भन्ने विचार नै अविवेकी । स्वदेशको माया गर्नुपर्छ भन्ने अवधारणा नै बेठीक र सङ्कीर्ण । नेपालको हालको नारा ‘वसुधैव कुटुम्बकम्’ को भएको छ, त्यसैले यो देश ककटेलमय भएको छ ।

०००
पाेखरा-ज (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पावर

पावर

सुरेशकुमार पाण्डे
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
फोन

फोन

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x