के बदल्ने खोइ ?
बदलिनु नै छ भने मेरो धार्मिक आस्थाले पनि किन अछूत रहनुपरेको छ र ? म हिन्दू होइन भनूँ मेरो टुपीको लमाइ कसैको भन्दा पनि कम छैन । म मठ, मन्दिर, चर्च एवं गुम्बामा पुगैकै छु ।
चूडामणि खनाल :
संसारको अर्को पर्यायवाची शब्द हो ‘जगत्’। ‘सम्यक्’ ‘सरति’ इति ‘संसार’ र ‘गच्छति’ इति ‘जगत्’ भनिन्छ । यी दुवै शब्दहरूको नेपालीमा रूपान्तर गर्दा अर्थ त उही निस्कन्छ ‘बदल्नु’ । ‘‘चल्तीका नाम गाडी है’’ यस भनाइको पनि घुमाइ-फिराइ उही अर्थ निस्कन्छ, बदल्नुु ।
क्रान्ति र प्रतिक्रान्ति शब्दको पनि मूल आशय हो, परिवर्तन । परिवर्तनको पनि नेपाली अर्थ हुन्छ उही- बदल्नु । के त्यसो भए सबै पदार्थको र अझै जीवनको अर्थ उही परिवर्तन हो त ? प्रश्न उठ्छ । हो, सबै कुराको एउटै अर्थ हुन्छ, ‘बदल्नु’ र ‘बदलिनु’ । म आफैँको नाम पनि बदल्नु हो । म शिशु थिएँ, केही समयमा नै बालकमा बदलिएँ, बालकबाट किशोरमा, किशोरबाट युवकमा, युवकबाट प्रौढ र प्रौढबाट वृद्ध हँुदै छु । अब कुनै अनिश्चित दिनमा मेरो जीवन मृत्युमा बदलिन्छ र म लासमा परिणत हुन्छु । यसैले मेरो नाम पनि बदल्नु हो । संसारको नाम बदल्नु हो । सङ्क्रान्तिको भोलि दुई गतेमा बदलिन्छ । दुई, तीन र चार गते हँुदै दिनहरू महिनामा बदलिन्छन्, ऋतुमा बदलिन्छन्, अयनमा बदलिन्छन्, संवत्सरमा बदलिन्छन् । त्यसैले बदलिनु भनेकै संसार हो ।
बदल्नुको यस व्यापकतामा म फेरि भन्छु -नबदलिने के छ र ? म के बदलूँ । पेसा बदलूँ ? बैँसका महत्त्वपूणर् सबै दिन यसैमा बिताएँ, माया लाग्छ । चोला बदलूँ ? भन्छन् आत्मा सधैँ यथावत् रहन्छ र पाञ्चभौतिक तत्त्व पञ्चभूतमा नै समाहित रहन्छ । यसलाई के बदलियो भन्ने र ? विचारै बदलूँ त ? विचारमा पनि बदल्ने र समातिराख्ने कुरा पो के हुन्छन् र खोइ ?
विचार पनि सधैँ एकनासमा नै रहँदो त रहेनछ भन्ने कुराका साक्षी हाम्रा प्रतिष्ठित विद्वानहरू र राजनीतिज्ञहरू नै छन् । हाम्रा योगीराज नरहरि नाथ पनि पहिले पहिले त साम्यवादी नै थिए रे । त्यसमा पनि वैदिक साम्यवादी । “सङ्गच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्” भन्ने साम्यवादी योगीजीको कुटीमा जति छुवाछूत अन्यत्र कहीँ पनि छैन भन्छन् । उनको साम्यवाद कस्तो हो कुन्नि । महान् प्रजातन्त्रवादी नेता राजा महेन्द्रले प्रजातन्त्रकै नाममा बहुदलका सट्टामा निर्दलीयताको प्रयोग गरेर सिङ्गो देशको सार्वभौमिकता आफँैंभित्र सीमित राखे, त्यो कुनचाहिँ प्रजातन्त्र थियो कुन्नि ? कसरी परिभाषा गर्ने र खोइ ?
चूडामणि छँदासम्म साम्यवादी र ‘सानो दाजु’ भइसकेपछि समाजवादी भएका विश्वेश्वरबाबुले जिताइएको पहेँलो व्यवस्थालाई शिरोपर गरेका थिए । त्यो कुनचाहिँ समाजवाद थियो कुन्नि ? धर्मलाई अफिम भन्ने कुनचाहिँ हुन् कुन्नि ? एक साम्यवादी नेताले पशुपतिमा सुरो चलाएर स्वर्ग प्राप्त गर्ने फलको इच्छाको लागि हवन गरेछन् । साम्यवादी अर्का वरिष्ठ नेताले आफ्नो राजनीतिक लक्ष्य पूरा गर्न कामाक्षीको दर्शन गर्न भारतको तीर्थाटन गरेछन् । यसरी नै कुनै अर्का नेता हिन्दूलाई मोक्ष दिलाउने प्रमुख धार्मिक ग्रन्थ गीतामा चुर्लुम्म डुबेका छन् भन्ने सुनिन्छ ।
त्यस्तै अर्का साम्यवादी नेता आफ्नो राजनीतिको गुरुग्रन्थ नै गीता हो भनेर सार्वजनिक वक्तव्य दिँदै छन् । श्रीमद्भग्वद्गीता धार्मिक ग्रन्थ हो कि राजनीतिक साम्यवादी दर्शन हो के बुझ्ने र खोइ ? राजावादी दलहरूले राजतन्त्रको चिरायुका लागि भनेर बम विस्फोटन गराएछन् र कुनै समयमा आफ्नो राष्ट्रवादी सोच प्रमाणित गर्न कुन्नि कति हो ठूलै रकम डकैती गरेर आफ्नैै अभीष्ट भूमिमा बसेर खूबसँग भोजभतेर गरे रे ? यसरी नै राष्ट्रवादका नाममा कोशीमा, गण्डकीमा, टनकपुरमा र महाकालीमा पनि सन्धि भयो रे, हिजोआज त राष्ट्रवादका नाममा लाखौँलाख विदेशीलाई पनि नागरिकता बाँडिँदै छ रे । उनै नवनागरिक विदेशीले पनि रैथाने स्वदेशी नागरिकसरह नै नेपालको भूउपभोग गर्न पाउने कानुनी व्यवस्था भएको छ रे ।
भनिन्छ, हिजोआज साम्यवादीहरूका लागि सबैभन्दा महान् शत्रु साम्यवादी नेता माओत्सेतुङ्ग नै भएका छन् रे । यी साम्यवादीहरूलाई माओत्सेतुङ्गको नाम सुन्दा एलर्जी हुन्छ रे । आजकलका राजतन्त्रवादीहरू गणतन्त्रवादीमा र गणतन्त्रवादीहरू राजतन्त्रवादीमा साटासाट भएका छन् रे, समाजवादी अर्थनीति र उदारीकरणमा परिवर्तित भइसकेका छन् रे । यी सबै कुरा थाहा पाएपछि म सोच्न बाध्य हुन्छु, विचार तरल हो कि सत्तामोह तरल, कसले उत्तर दिन्छ, र खोइ ? अथवा यी सबै घटना पनि बदल्नुकै नियतिभित्र परेका हुन् कि कसो हो, के बुझ्ने र खोइ ?
हिजोआज हाम्रो देशमा आमूल परिवर्तन भएको छ । हिजो देशमा राजनीतिक व्यवस्था निर्दल थियो, आज बहुदल छ । देशको कायापलट भएको छ क्यारे कुन्नि ? राष्ट्रिय पञ्चायत संसदमा परिणत भयो । अध्यक्ष सभामुखमा बदलिए । गाउँ पञ्चायत गाविसमा र प्रधानपञ्च अध्यक्षमा बदलिए । हिजोआज गाउँ पञ्चायत गाविस र प्रधानपञ्च अध्यक्ष भएका छन् । यसरी नै जिपं जिविसमा र नगरपञ्चायत नगरपालिकामा बदलिए । छाप बदलियो । प्याड बदलियो । बोर्ड बदलियो । छाप, प्याड र साइनबोर्डको पुनर्निर्माण र पुनर्लेखनमा भएको खर्चलाई निरर्थक अपव्यय कसरी भन्ने ? यो पनि शब्दक्रान्ति नै होइन र ?
पञ्च शब्दमाथि ठूलै विजय भएको छ । बदलिने क्रममा शब्दले पो के अछूत रहनुपरेको छ र ? रेडियो नेपालले धुनमा परिवर्तन गर्यो । घिउ डाल्डामा रूपान्तरित भयो । तेलले आफ्नो नाम आयल बनायो । महँगीले भुइँ छोडेर अन्तरिक्षतिर पाइला सार्यो । गरिबहरू आफ्नै गतिमा अवनतिमा लागे । धनीहरू आफ्नै गतिमा उँभो चढे । नेताका चिउँडाहरू एकपछि अर्को गर्दै थपिँदा छन्, मतदाताका गालामा भने खोपिल्टाहरू झन्झन् गहिरिँदा छन् । सारांशमा भन्दा देशमा आमूल परिवर्तन भएको छ । राष्ट्रमा आमूल परिवर्तन भइसक्यो । बदलिनु नै हो, बदलिएको छ । हिजो मोटाएका जुुकाहरू आज सेपतिर र हिजाका सेपका जुकाहरू आज मोटाउनतिरै लागेका छन् । जनताले परिवर्तनको प्रत्यक्ष अनुभव गरेको विषयचाहिँ यही नै हो ।
बदलिने क्रमले विश्वको अन्य भूभाग पनि त अछूत छैन । विश्व पनि बदलिएकै छ । राष्ट्रपति र राजनेताहरू धमाधम राष्ट्रघात र घूसकाण्डमा थुनिएका छन् । शान्तिका पुजारीहरू गोलीका सिकार भएका छन् । यसभन्दा बढी दायित्वबोध कहाँ खोज्ने ? कहिले साम्यवाद, कहिले समाजवाद अनि कहिले पूँजीवादको घोडदौड चढेकै छ । यी वादहरूको पनि जित्ने अनि हार्ने, हार्ने अनि जित्ने क्रम बढेकै छ । विश्व परिवर्तनको नयाँ रूप यसभन्दा पनि बढी हुन्छ र ?
बदलिनु हो, बदलिएकै छ । यस बदलिने क्रममा पनि हाम्रै देश अगाडि छ । अझ यस होडबाजीमा पनि देशको राजनीतिले नै माथ गरेको छ । ०३६ साले पहँेंले राजनीतिक नेताहरूको अहिलेको भाषण नीले नेताहरूको भन्दा बढी नै चर्को सुनिन्छ । सूर्यबहादुरले बहुदलका लागि रापंमा नै हङ्गामा मच्चाएका थिए रे । लोकेन्द्रको त कुरै भएन, उनी त जन्मजात प्रजातन्त्रवादी । राजेश्वरको बहुदलीय चिन्तन पनि पुरानै हो । यस परिवर्तनलाई नकार्न सकिँदैन । त्यसैले हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको उपयोग काङ्ग्रेसले गरिरहेको छ । राप्रपालाई काङ्ग्रेसभन्दा बढी प्रजातान्त्रिक पार्टी भएको प्रमाण एमालेका नेताहरूले पनि दिइसकेका छन् । ढिलै भए पनि राप्रपाको मूल्य राजनीतिक दलहरूले चिनेकै छन् । यो चिनाइ पनि बदलिने क्रममा खुसीकै कुरा हो ।
मेरो पनि बदलिने क्रम त जारी नै छ । पञ्चायती कालमा राष्ट्रवादी विद्यार्थीमण्डलमा मेरो नाम अग्रपङ्क्तिमा नै थियो भने अन्तरिम कालमा मेरै नेतृत्वमा नेविसङ्घले र अखिलले नाच्ने गर्थे । नौ महिने एमाले कालमा मेरो प्रगतिवादी विश्लेषणलाई बौद्धिक क्षेत्रमा निकै गम्भीर मानिन्थ्यो । हाल सबै दलहरूमा मेरो सद्भाव बराबरजस्तै छ तापनि सत्तापक्षीय प्रमुख घटकहरूसँग नै मेरो सम्बन्ध अझै नजिक छ र सत्ता परिवर्तनसँगसँगै नै यो सम्बन्ध पनि परिवर्तित भइरहन्छ, अब अर्को आन्दोलनले कुन रूप लिन्छ, त्यसैमा नै मेरो भविष्य पनि निर्भर गर्दछ ।
संसार गतिशील छ । हावाको गतिमा ढल्किन नजान्ने रूखले ढल्नुपर्छ । बाजाको तालमा नाच्न नजान्ने नृत्यकर्मीहरूले अपमानको मुख देख्नुपर्छ । डँुडाको देशमा नखोच्याउने र कानाको देशमा आँखा नचिम्लिनेमध्ये कसको अवनति भएको छैन र ?
बदलिनु नै छ भने मेरो धार्मिक आस्थाले पनि किन अछूत रहनुपरेको छ र ? म हिन्दू होइन भनूँ मेरो टुपीको लमाइ कसैको भन्दा पनि कम छैन । म मठ, मन्दिर, चर्च एवं गुम्बामा पुगैकै छु । धम्मपदका सबै गाथा मलाई कण्ठस्थ नै छ । इद व्रत गर्ने अभ्यास पनि मैले गरेकै छु । पोसाकमा पनि मेरो दृष्टि पुगेकै छ । दोचा, मयलपोस, धोती र कुर्थामा मेरो सौख बराबर नै छ । अनि गाईको स्पर्शन र सुँगुरको दर्शन पनि गरेकै छु । अझै मलाई लाग्छ, मेरो बदलिने क्रम समाप्त भइसकेको छैन, तर पनि उही एउटा प्रश्नले मेरो मगजलाई रन्थन्याएको छ र प्रश्न अनुत्तरित नै छ । के बदल्ने खोइ ? के हालसालै लिङ्ग परिवर्तन संभव छ ?
०००
‘पोखराज’ (२०७७)
Subscribe
Login
0 Comments
Oldest