सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुक्लीको चमत्कार

तपाईंले अलिकति चुक्लीको चिल्लो घस्नुहोस् त, साहित्यका नाममा स पनि लेखिरहनु पर्दैन, वरिष्ठ साहित्यकारका रूपमा अभिनन्दन गर्दै तपाईंका पाउमा नगद पुरस्कारको बिटो खुत्रुक्क खस्छ ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

मान्छेलाई साँच्चिकै मान्छे बनाउने सजिलो र सरल उपाय भनेको चुकुल हो । छेस्किनी र छिर्के चुकुलकै पर्याय हुन् । आफू सर्वश्रेष्ठ हुनका लागि अर्कोलाई सर्वनिकृष्ट बनाउनु जरुरी छ । यो सार्वभौम सत्य हो- एउटाको सर्वनासी अवसानपछि त्यसैको चिहानमाथि अर्कोको सभ्यता मौलाउँछ । चुकुल त्यही सभ्यताको निसानी हो, कमानी हो । कसैको व्यक्तित्व विकासका निम्ति होस् या कसैको व्यक्तित्व विनासका निम्ति, चुकुल सर्वाधिक उपयोगी औजार सावित भएको छ ।

चुक्ली चुकुलकै बहुप्रचलित रूप हो । सम्झनोस् चुकुल अहिले तपाईंको तनतनमा छ, मनमनमा छ । चुक्ली बिना तपाईंको जीवन एकै निमेष पनि चल्नेवाला छैन । कुरो तपाईंको मात्रै होइन, तपाईंले अँठ्याएको राजनीति अहिले चुक्लीमा अडेको छ । चुकुल खुस्कियो कि बाहिर पनि ह्वाङ्गै भित्र पनि ह्वाङ्गै । चुक्लीको चुकुल ठोकेकै भरमा कैयौँ गोबरगणेशहरू राजनीतिक खेलका नम्बर वान खेलाडीमा दरिएका छन् । राज्य हाँक्ने ‘महान् कार्य’मा सुर्रिएका छन् । एउटा लण्ठ र शठबुद्धिको पटमूर्खलाई पनि चुक्लीले महाविद्वान् मनिषिमा अवतरित गराइदिन्छ, गराउँदै आएको छ । तर चुक्लीको चक्कु चलाएन वा चलाउन जानेन भने विद्वत्शिरोमणि पनि धर्तीको नालायक मूर्ख प्रमाणित हुनुपर्दछ, भइरहेको छ ।

म धेरै कुरामा असफल भएको छु । मेरा परिश्रमी पाखुराले यत्रोबिधि पौरख गर्दा पनि सफलताको चुरो नभेट्नु अनौठोलाग्दो कुरा हो । यी सारा असफलताहरूको मूलजरो चुक्ली हो भन्ने कुरा म बुद्धुले पनि भर्खरै मात्र थाह पाएँ । यो तŒवज्ञान हुनासाथ चुक्लीको चुकुल हाल्न तम्सिनु स्वाभाविक थियो । थोरै समयमा म चुक्लीकै बलले फिष्टे कार्यकर्ताबाट वरिष्ठ नेता बन्न पुगेको छु । नेपाली माटोमा नेता उमार्न त्याग तपस्या होइन, चुक्लीको चुकुल चाहिन्छ भन्ने कुराको जिउँदो प्रमाण म स्वयम् हुँ ।

कुरो मेरो मात्रै होइन प्रायः सबै नेताले नेताको फेटा गुथ्न यही सजिलो र सरल उपायलाई अबलम्बन गर्दै आएका छन् । आफूलाई उछिन्न खोज्ने कोही देखियो कि उसको विरुद्ध चुकुल ठोक्यो । ऊभित्र पर्‍यो भने आफू बाहिर बसेर उसको विपक्षमा भए-नभएका कथा कथेर छरिदिनुपर्छ यत्रतत्र । विषका विरुवाहरू तुरुन्तै टुसा हालेर उम्रिन थालिहाल्छन् । आफू भित्र परियो भने त झन् सजिलो, भित्रभित्रै काटिदियो उसको व्यक्तित्व र प्रतिष्ठाका आँकुराहरूलाई फेरि कहिल्यै नपलाउने गरी । बबुरो ऊ कसै गरी उठ्न सक्दैन सात जुनीसम्म ।

ओछ्याउने सुकुलसम्म नभएका हरिकङ्गालहरूलाई ठूल्ठूला बङ्गलाका मालिक बनाउने तिलस्मी औजार नै चुक्लीको चुकुल हो । चुक्लीकै चुकुल हालेर मेरा केही लगौँटिया यारहरू पद र प्रतिष्ठाको धरहरा चढिरहेका छन् । चुक्लीकै चुकुल समातेर तपाईंका केही खोप्पी खेल्दाका दौँतरीहरू राष्ट्रिय ढुकुटीमा फुपूको श्राद्ध गरिरहेका होलान् । भागशान्ति जयनेपाल गर्दा भाग नपुगी भाइफुटा मार्फत् कथम्-कथाचित कुरो सार्वजनिक भई मुद्दा मामिलासम्ममा पुग्यो भने पनि मुद्दाको झमेलाबाट मुक्त हुन चुक्लीकै चुकुलले निकै राम्रो अर्थ प्रदान गर्दछ । यस्तो बेलामा यो नगद पनि चुकुलमा परिणत हुन्छ, जिन्सी पनि चुकुलमा रूपान्तर हुन्छ । सत्य धरोधर्म ² चुक्ली विनाको जीवन अब जीवन रहेन, त्यो त मुर्दा हो । मुर्दा बोल्दैन र उसलाई आगोले पनि पोल्दैन ।

कलम समातेर आफूलाई साहित्यमा ओराल्नेहरूका निम्ति पनि चुक्लीको चुकुल निकै महत्वपूणर् मानिन्छ । चुकुल ठोक्न सक्ने जुनसुकै लठुवा रातारात साहित्यको रथि-महारथि बन्नु कुनै अनौठो हुन्न । तर चुक्लीको चुकुलबाट बाह्र हात पर बसेर साधनामा मात्रै हराउने मूर्ख लेखक कौडीको मूल्यमा धद्धाइरहन्छ । यतातिर अहिले धेरै गुठ-गुठियारहरू भेटिन्छन् र पितृप्रसादको रूपमा पुरस्कारको बुर्की प्रशस्त छरिएको छ । तपाईंले अलिकति चुक्लीको चिल्लो घस्नुहोस् त, साहित्यका नाममा स पनि लेखिरहनु पर्दैन, वरिष्ठ साहित्यकारका रूपमा अभिनन्दन गर्दै तपाईंका पाउमा नगद पुरस्कारको बिटो खुत्रुक्क खस्छ । हदै भए तपाईंले पुरस्कारको रकममा अलिकति कमिसन गुमाए पुगिहाल्छ । लौ भन्नोस् त यो चुक्लीको चमत्कार होइन ?

कर्मचारीको कुरै नगरौँ, साधु-ब्रम्हचारीसमेत अहिले चुक्लीमा रमाउने जमाना हो यो । बौद्धिक खोपडी जतिसुकै रित्तो होस्, बुद्धिको भकारी भरिएको छ भन्ने शैक्षिक योग्यताको प्रमाणपत्र लिन तपाईंले परीक्षा दिनै पर्दैन, परीक्षा दिइहाले पनि उत्तर पुस्तिकामा केही लेख्नै पर्दैन, लेखी हाले पनि त्यो सही हुनै पर्दैन, कपी जाँचकीले तपाईंलाई चाहिए जति नम्बर उपलब्ध गराइदिन्छन् । तपाईंले केवल चुक्लीमा विश्वास गरे पुग्छ ।

तपाईं बेरोजगार हुनुहुन्छ ? हुनुहुन्छ भने चुक्लीको चुकुल ठोक्नुहोस् जागिर नमिल्ने कुरै छैन । जागिरमै हुनुहुन्छ भने वर्षौंदेखि एउटै पदमा हुनुहुन्छ ? त्यसो हो भने मन फुकाएर चुक्लीको चुकुल लाउनुहोस्- तुरुन्तै पदोन्नति हुन्छ । चुक्लीप्रति परम् विश्वास गर्ने चुक्लीवाजहरू इतिहासदेखि वर्तमानसम्म कहिल्यै र केही कुरामा पनि असफल भएका छैनन् । कृष्ण हुन् या क्राइस्ट, मार्क्स हुन् या महात्मा गान्धी, सिकन्दर हुन् वा शुकरात, देवकोटा हुन् या दाँते- चुक्ली बिना कोही अमर भएनन् । अहँ भएका छैनन् । भूजा ज्युनार गरेर चुठ्नदेखि कम्बोर्टमा आची गरेर उठ्नसम्म अब चुक्लीको आवश्यकता पर्ने भयो । यो कम गौरवको कुरा होइन चुक्लीवाजहरूका निम्ति ।

मेरो यो लघु आकारको रचना पनि रचना नभएर चुक्लीको चुकुल वरिपरि रिङ्दै कसैलाई धुर्मुस दिन गरिएको चुक्लीकै सानो रूप हो । यो कुरा मैले चाप्लुसी गरेर भनिरहनु पर्छ र ? भने पनि नभने पनि चुक्ली आखिर चुकुल हो । चुकुलको यो चमत्कार अपरम्पार छैन त ?

०००
रचनाकाल (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x