टीका आत्रेययी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
आराधना समयकाे नवचित्र काेर्ने सम्भावना समयकाे नवमार्ग रच्ने यी स्तम्भ हुन् धवल हुन् युगबाेध धाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

टीका आत्रेय :
झर्दै गए शिशिरका दलझैँ उमेर
घट्दै छ आयु अब जीवन छैन धेर
सन्ताननिम्ति सब दु:ख पिए तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
बाेकेर भार शिरमा जगकाे भलाइ
गाेडेर आचरणका बिरुवा जगाई
सुम्पे सनातन कुरा नवकृष्ण राम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
हुन् शब्द अक्षर र हुन् इतिहास जम्मै
संस्कार धर्म सबका अभियान जम्मै
निर्माण वा पथप्रदर्शक जे छ नाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
विज्ञान ज्ञान र कला यिनले खिपेका
यी शास्त्र दर्शन सबै यिनले कुँदेका
छन् पूज्य देवसरिका करुणा निदान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
आराधना समयकाे नवचित्र काेर्ने
सम्भावना समयकाे नवमार्ग रच्ने
यी स्तम्भ हुन् धवल हुन् युगबाेध धाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।
०००
Subscribe
Login
0 Comments
Oldest






































