टीका आत्रेयवृद्धपीडा
बिमारी चाैताराे बरपिपलकाे स्पर्श नहुँदा बिमारी छन् बाटा युवक बटुवा देश नहुँदा बुढ्याैलीले छाेप्याे कि त जिउँनुकाे तेल सकियाे भयाे निभ्ने बेला प्रकृति सुखकाे जीवनदियाे ।

टीका आत्रेय :
लडायाे थर्कायाे कति क्षण पछार्याे सफरले
जुटायाे छुट्यायाे कटुरस पिलायाे सफरले
कतै लड्दै उठ्दै क्षितिजतिरकाे वास पुगियाे
भयाे झर्ने बेला अब शिशिरकाे पात बनियाे
छुटे यात्राबाटै कति कति पुराना पन छुटे
छुटे पात्राेबाटै अमर भनिने जीवन छुटे
जलेकाे बिस्तारै अलिअलि गरी जीवन चिता
यही हाे यस्तै हाे क्षणिक विपना जीवन कथा
थिए खाेला खाेल्सा रनवन उज्याला चहकिला
थिए बाँझो चिर्ने अथक बलका जाेश भरिला
सुके छाला मासी रहर पनि सुक्दै झरिसक्याे
सुकेका आँखामा पलपल तुसाराे परिसक्याे
उसै रित्ताे रित्तो गगन धमिलो देह धमिलाे
छ रित्तो धर्ती याे मन पनि भएकाे छ धमिलाे
त्यसै रित्तो रित्तो समय धमिलाे अर्थ धमिलाे
भनाैँ मेरो सारा सुख सयल नै लाग्छ धमिलाे
बिमारी चाैताराे बरपिपलकाे स्पर्श नहुँदा
बिमारी छन् बाटा युवक बटुवा देश नहुँदा
बुढ्याैलीले छाेप्याे कि त जिउँनुकाे तेल सकियाे
भयाे निभ्ने बेला प्रकृति सुखकाे जीवनदियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest







































