फित्काैली डटकमडा. भट्टराईको विशिष्ट योगदानको चर्चा गर्दै ज्ञानगुनका कुरा विशेषाङ्क लोकार्पित
वरिष्ठ साहित्यकार एवं रचनाका प्रधानसम्पादक रोचक घिमिरे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व प्राडा. सुरेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो।

काठमाडौँ । ज्ञानगुनका कुरा प्रकाशनले आज एक भव्य समारोहको आयोजना गरी ‘ज्ञानगुनका कुरा (डा. गोविन्दराज भट्टराई अङ्क २)’ को लोकार्पण गरेको छ।
वरिष्ठ साहित्यकार एवं रचनाका प्रधानसम्पादक रोचक घिमिरे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व प्राडा. सुरेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो। डा. गोविन्दराज भट्टराईका शिष्यसमेत रहनुभएका उहाँले नै उक्त कार्यक्रमको प्रायोजन गर्नुभएको थियो।
समारोहका केन्द्रिय व्यक्तित्व प्रा.डा. गोविन्दराज भट्टराईले सूत्रधारको भूमिका निर्वाह गरेपछि सुरु भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. तुलसी भट्टराई, प्रा.डा. कुमार कोइराला, डा. शोभा ढुङ्गाना, शरद प्रधान र सुधा भट्टराईले नेपाली साहित्यमा प्रा. डा. गोविन्दराज भट्टराईले पुर्याउनुभएको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो।
प्रमुख अतिथिको गरिमामय आसनबाट बोल्दै रचनाका सम्पादक एवं वरिष्ठ साहित्यकार रोचक घिमिरेले गोविन्दराज भट्टराईको समीक्षा २०३२ सालमा ‘रचना’मा प्रकाशित हुँदाको संस्मरण सुनाउनुभयो भने पूर्वकुलपति के.के. कर्माचार्यले शुभकामना मन्तव्य राख्नुभयो।
प्रा.डा. कुमार कोइरालाले “गोविन्दराज सरजस्ता विशिष्ट साहित्यकारलाई प्राडाको पगरी आवश्यक छैन भन्दै उहाँ साहित्यमा समर्पित मनीषी हुनुहुन्छ भन्नुभयो ।” साथै, नेपाली साहित्यमा नयाँ चेतनाको विस्तारमा उहाँले नेतृत्व गरेको यथार्थमाथि चर्चा गर्दै उहाँ समकालीन नेपाली साहित्यजगत्का एक मुख्य पथप्रदर्शक रहेको प्रष्ट पार्नुभयो।
उक्त अवसरमा लेखक तथा अनुसन्धानकर्ता शरद प्रधानले प्रा.डा. भट्टराईको बहुमुखी प्रतिभाबारे प्रकाश पार्दै भन्नुभयो, “ उहाँ अग्रजलाई सम्मान गर्ने र अनुजलाई स्नेह गर्ने आदर्श पात्र हुनुहुन्छ।” उहाँले प्रा.डा. गोविन्दराज भट्टराईका हालसम्म ८० कृति प्रकाशित भइसकेको जानकारीसमेत दिनुभयो।
समालोचक डा. शोभा ढुङ्गानाले प्रा.डा. गोविन्दराज भट्टराईको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँ नेपाली साहित्यका नवसर्जकका प्रेरणास्रोत रहेको बताउनुभयो।
कार्यक्रमका केन्द्रिय व्यक्तित्वप्रति साहित्यकार प्डा. तुलसी भट्टराई र लेखिका सुधा भट्टराईले शुभकामना मन्तव्य राखेपछि बेलायत निवासी कवि मुकुल दाहालले एक कविता वाचन गर्नुभयो। नेपालीहरू विदेश जान विवश हुनुको कारण नेपाल देश नभई यहाँका शासकको अकुशलता र आफ्नै चाहना भएको भावको उहाँको लालित्यपूर्ण कविता सुनेर श्रोतागण भावविभोर भएको देखिन्थ्यो।
कार्यक्रममा आयोजक ज्ञानगुनका कुरा प्रकाशनका अध्यक्ष शेषराज सिवाकोटीले प्रकाशनको परिचय दिँदै स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रमको बीच–बीचमा ‘ज्ञानगुनका कुरा’को ‘के.के. कर्माचार्य जङ्कू अङ्क’, ‘नयराज पन्त अङ्क’, ‘विज्ञानका कुरा भाग–२०’ र ‘ज्ञानेन्द्र विवश अङ्क’ को विमोचनसमेत भएको उक्त कार्यक्रमको सञ्चालन नवप्रतिभा सुमन पाण्डेले गर्नुभएको थियो।
०००
कृष्ण बाउसेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































