साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरागाइँकाे ‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रह लोकार्पण तथा परिचर्चा

प्रा.डा.लेखप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा नेपालका विख्यात भाषाविद्, सशक्त निबन्धकार एवम् प्रखर समालोचक प्रा.डा.माधवप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो

Nepal Telecom ad

काठमाडाैं । पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा युद्धप्रसाद मिश्र प्रतिष्ठानले आयोजना गरेको विशेष समारोहमा अमेरिकामा बसेर नेपाली साहित्यलेखनमा समर्पित रहेकी स्रष्टा नम्रता गुरागाईँको ‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रहको लोकार्पण तथा परिचर्चा गरिनुका साथै शुभकानमा आदान–प्रदान गरियो ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा.लेखप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा नेपालका विख्यात भाषाविद्, सशक्त निबन्धकार एवम् प्रखर समालोचक प्रा.डा.माधवप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्रतिष्ठानका पूर्वअध्यक्षहरू प्रा.डा.जीवेन्द्र देव गिरी, डा.फणीन्द्रराज निरौला र अनिल पौडेल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, समालोचक डा.गीता त्रिपाठी, लेखक नम्रता गुरागाईँ, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, सामाजिक रूपान्तरण अभियन्ता पूर्वमन्त्री केशव बडाल, प्रकाशक केशव पराजुली, माननीय गुरु बराल, साझा प्रकानका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल, डा.रजनी ढकाल, साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल, कवि कृष्ण बाउसे, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव डा.कृष्ण सुवेदी, साहित्यकारहरू धीरेन्द्र प्रेमर्षि, विजयध्वज थापा, डा.नवराज रिजाल, लक्ष्मी गुरागाईँ, नीलकमल सुवेदी, दिनेश थपलिया, प्रेमसागर चापागाईँ, तेजविलास अधिकारी, शेखर अर्याल, प्रा.डा.विश्वनाथ भण्डारी उपस्थित हुनुहुन्थ्यो ।

भव्य उपस्थिति रहेको उक्त विशेष समारोहमा उपस्थित भइदिनुहुने सम्पूर्ण व्यक्तित्वलाई प्रतिष्ठानका उपाध्यक्ष नन्दु उप्रेतीले स्वागत गर्नुका साथै ‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रहको लोकार्पण तथा परिचर्चाका अलावा संस्थागत रूपमै नेपाली मात्रका दसैँ, तिहार, छठ, इदुलफित्रलगायतका चाडबाडका अवसरमा शुभकामना आदानप्रदान गर्ने संस्कृतिको पनि विकास गरौँ भन्ने उद्देश्यका साथ समारोहको आयोजना गरिएको प्रकाश पार्नुभएको थियो । साथै निबन्धकार नम्रता गुरागाईँको सङ्क्षिप्त परिचयसमेत दिनुभएको थियो ।

राष्ट्रगान बजाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो भने कविवर मिश्रको तस्बिरमा प्रमुख अतिथि, अतिथिलगायतले माल्यार्पण, पुष्पार्पण गर्नुभएको थियो । समारोहका प्रमुख अतिथि, अतिथिहरूले संयुक्तरूपमा ‘भूगोलको सपना’ निबन्धसङ्ग्रहको लोकार्पण गर्नुभयो । लोकार्पित कृतिको समीक्षा गर्नुहुँदै डा.गीता त्रिपाठीले बाल्यकालमा सीता नाम रहेकी नम्रता आफ्नो नाम परिवर्तन भएकी लेखक हुन् । सङ्ग्रहका निबन्धहरूमा कोमल अनुभूति पाइन्छ, प्रतिरोधी चेतना पनि नम्र, शिष्ट हुनुका साथै सरल भाषामा विचार अभिव्यक्त गरिएको छ । निबन्धमा भावनाका, विचारका अनुभूतिहरू गहिरा छन् । निबन्ध आत्मपरक, आख्यानात्मक, संस्मरणात्मक रहेका छन् र विद्यालयीय जीवनका चञ्चलता, पतिवियोगको पीडामा परेका हिन्दु नारीहरूको अवस्थाका प्रति प्रश्न उठाइएको, कवि व्यक्तित्वको प्रतिविम्बन निबनधमा परेको, हरेक निबन्धले केही न केही सन्देश दिएका छन्, त्यसैगरी स्वास्थ्यचेतनाको सन्देश पनि पाइन्छ । वैचारिकता सरल र सहज रूपमा अभिव्यक्त भएको पाइन्छ । सङ्घर्षशील नारीले फरक फरक जिम्मेवारी निर्वाह गर्नुपरेको अवस्थाको पनि चित्रण गरिएको छ । भाषा प्रवाहपूर्ण रहेको छ भन्ने धारणा राख्नुभयो ।

डा.फणीन्द्रराज निरौलाले समीक्षा गर्नुहुँदै सात समुद्रपारिको यान्त्रिक जीवनबाट फुर्सद निकालेर नेपाली भाषासाहित्यमा नम्रताले योगदान गरेकी छन् । ‘परिवेश र म’ कवितासङ्ग्रह २०५५, ‘मन भए तिमीसँग’ कवितासङ्ग्रह २०६५ प्रकाशित गरिसकेकी र गीतसमेत रेकर्ड गराइसकेकी लेखकको यो तेस्रो कृति हो । यस सङ्ग्रहमा २६ ओटा निबन्ध रहेका छन् र १९७ पृष्ठमा संरचित रहेको छ । लेखकले आफ्नो भूमिकामै ‘समुद्रपारि र वारिका बाडुली, सुखदुःखका कथा अनि भिन्न संस्कृतिका अनौठा कथाहरूको प्रभावस्वरूप सङ्ग्रह जन्मिएको’ उल्लेख गरेकी छिन् । हाम्रो र अमेरिकाको परिवेशको तुलना र त्यही तुलनाबाट महाज्ञान प्राप्त भएको, मनोविज्ञान फरक परेको, स्वाभिमानमा नै चोट पुगेको भोगाइजन्य अनुभूति पनि निबन्धमा पाइन्छ ।

आफ्नो बाल्यकाल, पढेको प्राथमिक विद्यालय नै समृद्ध मुलुकभन्दा प्रिय लागेको, आफ्नो छोराले दुध चुसिरहेको गाईको बाच्छोको बाबु को हो त भनेर प्रश्न गर्दा अवाक हुनुपरेको, राजदरवारको विगत र वर्तमान अवस्थाको तुलना गरिएको, कतिपय निबन्धमा रहस्यमय यथार्थको अभिव्यक्तिसमेत भएको देखिन्छ । आमाको स्मृतिमा लेखिएको लामो निबन्धमा आमाका प्रतिको अथाह श्रद्धा व्यक्त भएको छ । जीवनभोगाइका अनेक उतारचढाबहरू निबन्धमा उल्लेख भएका छन् । आमाले भन्नुभएका गहिरा ज्ञानका कुराहरू आफ्नै जीवनले भोगेपछि भित्रैसम्म गढेका अभिव्यक्ति, अमेरिकामा डेरा सार्दाका पीडा र सार्ने खर्चभन्दा सामान जतिमा बिक्छ त्यत्तिमा बेचेर सरेकै ठाउँमा नयाँ किन्दा किफायती पर्नेजस्ता व्यवहारिक भोगाइका कुरा पनि आएका छन् ।

निबन्धमा नाशाको सन्दर्भ, खेलकुदका सन्दर्भ, रोबोटको सन्दर्भ, अमेरिकामा पशुलाई गरिने विशेष माया, आफ्नै छोराछोरीहरू अध्ययनका लागि गुँड छाडेर अन्यत्र जाँदाका पीडामय सन्दर्भ, स्वदेशका पारिवारिक पीडा आदिलाई अत्यन्त सूक्ष्मरूपमा तिथिमितिसमेत उल्लेख गरेर यहाँ अभिव्यक्त गरिएको छ । घटनाको वर्णन मात्र होइन मानवीय संवेदना, जीवनदर्शन, यथार्थ भोगाइ सुन्दर ढङ्गले उल्लेख गरिएको छ । स्वदेशका भोगाइ स्मृति र माटोसँग जोडिएका छन् । निबन्धहरू विवरण्णात्मक, आख्यानात्मक, नियात्राका स्वरूपमा आएका छन् । साधारण विषयभित्र असाधारण क्षमता रहेको हुन्छ र निबन्धले बहुआयामिक दृष्टि पनि राख्दछ, विचार र भावनाको स्वतन्त्र चिन्तन पनि हो निबन्ध । संरचनात्मक एकता क्रमबद्धरूमा आउनुपर्ने र पाठकलाई सोच्न बाध्य पार्ने सामथ्र्य निबन्धले राख्नुका साथै विचारभित्र मानवजीवनसँग सम्बन्धित यथार्थको प्रकटीकरण पनि निबन्धले गर्नुपर्दछ । धेरै कुरा निबन्धमा आएका छन् र पुगनपुग पक्षमा लेखनको निरन्तारताका माध्यमबाट ध्यान जाओस्, ऊर्जाको सदुपयोग भइरहोस्, हार्दिक बधाइ छ भन्नुभयो ।

समारोहमा कविवर युद्धप्रसाद मिश्रको कविता उहाँकै नातिले गाउनुभएको थियो भने दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले लेखक नम्रता गुरागाईँलाई कृतिका निम्ति बधाइ दिनुभयो र आसन्न नेपाली चाडबाडको शुभकामना दिनुभयो ।

पुस्तक प्रकाशक केशव पराजुलीले पठन संस्कृतिको विकास गर्नुपर्ने र पुस्तकालय स्थापनामा जोड दिनुपर्ने, सरोकारवालाको ध्यान जानुपर्ने धारणासहित शुभकामना दिनुभयो । साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले कविवर मिश्रकै दुई श्लोक कवितावाचन गरी श्रद्धाञ्जली दिँदै आसन्न चाडबाडको शुभकामना दिनुभयो । अनिल पौडेल र प्रा.डा.यादवप्रकाश लामिछानेले पनि लेखकलाई हार्दिक बधाइसहित शुभकामना दिनुभयो । मा.गुरु बरालले कोही देश खरानी बनाएर नवनिर्माणको सपना देख्छन् भने कोही चाहिँ परदेशमा रहेर पनि आफ्नै देश, भाषा, साहित्यको चिन्ताका साथ कृति नै लेखेर सिर्जनाका सुन्दर पूmलसहित योगदान गर्दछन् । यो सत्कर्मका लागि नम्रता गुरागाईँलाई हार्दिक बधाइ छ । हामी अहिले पनि कठिन समयमा छौँ, सबै सबैले आआफ्ना ठाउँबाट यात्रा जारी राखौँ, नीतिगत लडाइँमा हामी पनि रहिरहन्छौँ भन्नुभयो । शान्ता मानवीले जहाँ पुगे पनि आफू जन्मेको माटो र देश नबिर्सिनुभएकोमा लेखकलाई बधाइ छ यो लेखनयात्रा जारी रहोस् भन्दै शुभकामना दिनुभयो ।

प्रा.डा.जीवेन्द्र देव गिरीले युद्धप्रसाद मिश्र निरङ्कुश समयमा पनि आशाको दियो जलाउने कवि भएकाले उहाँको प्रेरणाबाट हामीले पनि वर्तमानमा मडारिएको अप्ठ्यारो परिवेशलाई पाखा लगाउन आआफ्ना ठाउँबाट योगदान गर्नुपर्ने धारणा राख्नुहुँदै लेखकलाई बधाइ दिनुभयो, शुभकामना व्यक्त गर्नुभयो ।

पुस्तकका स्रष्टा नम्रता गुरागाईँले परदेशबाट घर आउनु भनेको परिवार भेट्नु र ऊर्जा थपेर फर्किने प्रचलन हो । म सङ्गहका निबन्धमार्फत तपाईँहरूको मनसम्म पुगिदन कि भन्ने डर मेरो मनमा रहेको छ । निबन्धहरू पढेर प्रतिक्रिया दिन म सबैसँग हार्दिक आग्रह गर्नुहुँदै आजको यो विशेष समारोहका प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण मान्यजन सबैमा हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रमुख अतिथि प्रा.डा.माधवप्रसाद पोखरेलले लोकार्पित निबन्धसङ्ग्रहका निबन्धले नेपाली अस्मिता भूगोलबाहिर पुगे पनि नछुट्ने पुष्टि गरेका छन् । देशबाहिर भोगेको चोट वा जीवनभोगाइ निबन्धमा अभिव्यक्त भएको छ । कृति सार्वजनिक भइसकेपछि पढ्ने सबै पाठक आफू र आफ्ना सम्झना अनुभूत गर्छ । हरेक रचनामा खालि ठाउँ हुन्छ नै, पूर्ण हुनसक्तैन । रचनाकारभन्दा फरक अर्थ लगाउनसक्छ पाठकले । लेखकले भन्दा बढी अर्थ लगाउनसकेन भने त्यस्तो रचना तेस्रो दर्जाको हुन्छ । अर्काले टाढाबाट देखेको सुखभन्दा भोग्नेको पीडा फरक हुन्छ । नेपाली भाषा बोल्दा वा लेख्दा नेपाली मात्र चलाउनुपर्छ भन्ने सचेतता नम्रतामा देखिएकै छ । भाषाविचलन राम्रो कुरा होइन । नेपाली भाषामा प्रकाशित सबै किताबलाई डिजिटाइज गर्नुपर्छ, यत्ति गर्न जम्मा दश करोड रुपैयाँ भए पुग्ला पनि । निबन्ध भनेको पनि एक प्रकारको कविता नै हो । यो कृतिमा पनि कविको प्रभाव राम्रै परेको देखिन्छ । दुई जना समीक्षकले चर्चा गरिसक्नुभएकाले नम्रताको यो ऊर्जा कायम रहिरहोस्, हार्दिक शुभकामना छ भन्नुभयो ।

सभाध्यक्ष प्रा.डा.लेखप्रसाद निरौलाले नम्रता गुरागाईँ राम्रो कवि भएकीले त्यसको प्रभाव स्वतः निबन्धमा हुने नै भयो । विचारको सघनता र स्मृति, छोटा र लामा निबन्धको सिर्जना, विधागत पृथकता, चिन्तन र अनुभूतिको तरलता पनि निबन्धमा भएका कारण विविधता रहेको छ । जीवनभोगाइ अभिव्यक्त भएका कारण निबन्ध पठनीय छन् । यो सिर्जनायात्रा जारी रहोस्, हार्दिक शुभकामना छ । आजको यो विशेष समारोहमा नेपाली चाडबाडका उपलक्ष्यमा संस्थागत शुभकामना आदानप्रदान गर्ने परम्पराको पनि थालनी गरिएको हो । उपस्थित भइदिनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू र सम्पूर्ण महानुभावमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
रमेश पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x