साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशवासीका नाममा सन्देश

यस्ता दुष्टहरूका विरुद्ध सरकारले कानुनी कारबाही गर्नेछ । हामी दस वर्ष, आठ महिना, दस दिनमा यस देशमा पातिव्रत्य धर्मको पुनः प्रतिष्ठा गर्नेछौँ ।

Nepal Telecom ad

हरिशंकर परसाईं

व्यङ्ग्यानुवाद : रमेश समर्थन

यस्तो हुन सक्छ, परिस्थितिहरूले मलाई बेसरी उफारिदिऊन् र म सत्ताधारी पार्टी तथा सरकारको ठुलो नेता बनूँ । प्रधानमन्त्री पनि बन्न सक्छु । त्यति वेला मैले देशवासीका नाममा सन्देश प्रसारित गर्नुपर्नेछ । अनि मैले आशा अनि विश्वासले भरिएको यस्तो सन्देश प्रसारित गर्नेछु :

मेरा देशवासीहरू,
मैले यहाँहरूलाई ‘देवीहरू’ तथा ‘सज्जनहरू’ भनिनँ । जहिलेदेखि त्यो आइमाई (इन्दिरा गान्धी)ले सङ्कटकाल लगाएर हामीलाई सताएकी छे तहिलेदेखि म कुनै पनि आइमाईलाई ‘देवी’ भन्दिनँ । पहिले म प्रार्थनामा ‘सीताराम’ र ‘राधेश्याम’ भन्थेँ तर अब केवल ‘रामकृष्ण’ भन्छु । मेरो सुझाव त के छ भने तपाईंहरूमा जसको नाम सीताराम छ उहाँले त्यसलाई रामचरन गराउनुहोला ; अनि राधाकृष्ण हुनेहरू अब कृष्णदास बन्नुहोला । यदि तपाईंहरूले छिटै यसो गर्नुभएन भने म गृहमन्त्रीलाई भनेर तपाईंहरूलाई सही बाटोमा लगाउन लगाउने छु ।

तपाईंहरूले हामीमाथि विश्वास गरेर हामीलाई सत्ता सुम्पिनुभयो । तपाईंहरूले यस्तो पहिलोपटक भने गर्नुभएको हैन । पहिले पनि तपाईंहरूले विश्वास गरेर नै सत्ता सुम्पिने गर्नुभएकै हो । त, जसरी पछिल्ला सरकारहरूले तपाईंहरूको विश्वासलाई फलीभूत पारे त्यसै गरी हामी पनि पार्ने नै छौँ । हामी उनीहरूभन्दा कुनै अर्थमा पनि पछि पर्ने छैनौँ ।

देशका अगाडि समस्याहरू धेरै छन् । पछिल्लो सरकारले समस्या मात्र छाडेर गएको छ । आखिर हामी के हौँ र ? हामी पनि त पछिल्लो सरकारले छोडेको समस्या नै त हौँ नि । त, देशको सबैभन्दा ठुलो समस्या भनेको गरिबी हो । हामी दश वर्षमा गरिबी अनि बेरोजगारी समाप्त पार्न चाहन्छौँ । तर तपाईंहरू भन्नुहोला, यो त धेरै छिटो भयो । यो त बिस वर्षमा समाप्त हुनुपर्ने हो । जे होस्, हामी सम्झौता गरौँ — पन्ध्र वर्षमा गरिबी र बेरोजगारी समाप्त पारौँ । तपाईं पनि खुसी र हामी पनि खुसी । तर म यहाँहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु कि तपाईंहरूले जति नै दवाब दिए पनि हामी पन्ध्र वर्षभन्दा एक दिन पनि बढी यो गरिबी र बेरोजगारीलाई चल्न दिनेवाला छैनौँ । यस कुरामा यहाँहरूलाई राम्रो लागे पनि लागोस् र नराम्रो लागे पनि लागोस् ।

दोस्रो समस्या महङ्गीको हो । नाफाखोरी भइरहेको छ भन्ने सरकारलाई थाहा छ । तर यदि मानिसहरूले महङ्गा सामानहरू किन्नै छाडिदिने हो भने यो नाफाखोरी मेट्न सकिन्छ । गहुँ महङ्गो भयो भने नकिन्नुस् । दाल महङ्गो छ भने नकिन्नुस् । जब मानिसहरूले किन्नै छाडिदिन्छन् अनि नाफाखोरले कसलाई बेच्छ ? अनि यो नाफाखोरी आफैँ समाप्त हुनेछ । अब यहाँहरू भन्न सक्नुहुन्छ, नकिन्ने हो भने खाने के त ? म भन्छु के दालरोटीले मात्र पेट भरिने हो ? तपाईंहरू फलफूल र गोरसको सेवन गर्नुस् । फेरि पनि यस विषयमा सरकारले आफ्नो काम त गरि नै हाल्छ । हामीले पाँच वर्ष, तीन महिना, बाह्र दिनमा महङ्गी समाप्त पार्नेछौँ ।

हरिजन (दलित)का पनि समस्या छन् । यी समस्याको कारण नै यिनीहरूलाई ‘हरिजन’ (दलित) भनिनु हो । हाम्रा विशेषज्ञहरू यिनीहरूका लागि अर्को कुन परिचयात्मक नाम उपयुक्त हुनसक्छ भनेर विचार गर्दै छन् । जब हरिजन नै नभएपछि हरिजनको समस्या पनि रहेन । न बोट हुनेछ र न बाँसुरी बज्नेछ — बोट भन्नाले बाँस भन्न खोजिएको हो । अब नयाँ नाम खोज्न र त्यसलाई फेर्न त समय लागिहाल्छ । अतः हामी यस समस्यालाई सात वर्ष, चार महिना र तेह्र दिनमा समाप्त पार्नेछौँ ।

मानिसहरूको गुनासो तस्करी बढेको भन्ने पनि छ । तर तस्करहरूले त रोटरी क्लबमा नैतिकता विषयमा भाषण गर्दै छन् ! उनीहरू हाम्रै मान्छेका माझमा छन् । मैले तस्करहरूसित कुरा गरेको छु । उनीहरूको स्तर उठेको छ । उनीहरू अब अन्तर्राष्ट्रिय तस्करी छोडेर अन्तर्ग्रही तस्करी गर्ने योजनामा छन् । यसका लागि उनीहरूलाई केही अन्तरिक्ष यान चाहिएका छन् । यस विषयमा हामी अमेरिकासित कुरा गर्दै छौँ । हामी आफै पनि अन्तरिक्ष यान बनाउँदै छौँ । जब तस्करहरूले अन्तरिक्ष यानको सुविधा पाउने छन् अनि उनीहरूले चन्द्रमाबाट युरेनियम ल्याएर अमेरिकालाई बेच्नेछन् । तर त्यति वेलासम्म उनीहरूलाई अभ्यास जारी जाख्न यहीँ तस्करी गरिरहने अनुमति दिइने छ । हामीले आठ वर्ष, तीन महिना, सात दिनमा तस्करी समाप्त पार्नेछौँ भन्ने मलाई पक्का विश्वास छ ।

हाम्रो ध्यान भ्रष्टाचारको समस्यातिर पनि छ । यसलाई समाप्त पार्न हामीले नयाँ र सदाचारी मानिसहरू तयार पार्नेछौँ । हाम्रा वैज्ञानिकहरूले यस्ता औषधि तथा इन्जेक्सनको अनुसन्धान गरेका छन् कि गर्भवतीलाई त्यो दिएपछि जन्मिने बच्चा सदाचारी हुनेछ । हामीले गर्भदेखि नै भ्रष्टाचारको अन्त्य गर्नेछौँ । यो उपाय हामीले तत्काल आरम्भ गर्नेछौँ । यदि औषधि र इन्जेक्सन नक्कली भएनन् भने परिणाम राम्रो होला । अब गर्भकै लागि नौ महिना त चाहियो नै । यसपछि झन्डै बिस एक्काइस वर्षमा मानिस कार्यक्षेत्रमा प्रवेश गर्ने हुँदा यो बिस वर्ष नौ महिनामा समाप्त हुनेछ ।

म त रक्सीमा पनि तत्काल प्रतिबन्ध लगाउन चाहन्छु । तर मन्त्रिमण्डलमा यस विषयमा मतभेद छ । तपाईंलाई थाहा छ कि सरकारको दायित्व संयुक्त हुन्छ । हामीलाई एकले अर्कालाई सम्झाउन पाँच वर्ष लाग्छ । यदि यस अवधिमा पुरै मन्त्रिमण्डल रक्सीविरोधी हुन सक्यो भने तत्काल रक्सीमा प्रतिबन्ध लगाइने छ । तर यदि पिउनेहरूले नै मजस्तालाई पनि मदिराप्रेमी बनाएछन् भने म रक्सीमा प्रतिबन्ध देशको हितमा छैन भनेर यहाँहरूसामु भन्नेछु ।

शिक्षाको समस्या पनि छ । वास्तवमा यो समस्या भनेको अङ्कको हो । प्रश्न १०+२+३ हुने कि १०+३+२ हुने भन्ने हो । अर्थात् १० पछि २ हुने कि ३ हुने ? यही हो समस्या । हामीले यस समस्यालाई चार वर्ष, दस महिना, बिस दिनमा सल्ट्याउने छौँ ।

अरू पनि थुप्रै समस्याहरू छन् । मानिसहरू पान खाएर बाटामै थुक्छन् । चौपायाले कहीँ पनि गोब्य्राउँछन् । कुकुरहरू भुक्छन् । सर्पहरूले डस्छन् । गधाहरू कराउँछन् । भैँसीले दुधमा पानी मिसाउँछ । जनावरले खुल्लमखुल्ला मायाँपिरती गाँस्छन् । सुँगुरहरूले फोहर खान्छन् । बाघले मासु नपकाइकन खान्छ ।

हामीले यी सबै कुरा ठिक पारिदिनेछौँ । तर कुनै पनि काम प्रतिशोधको भावनाले गर्ने छैनौँ । यदि हामीले कुकुरको पिसाब गर्ने तरिकामा प्रतिबन्ध लगायौँ भने त्यो कुकुर हामीलाई देखेर भुक्छ त्यसैले त्यो प्रतिबन्ध लागेको हो भन्ने हुने छैन । हामी उसको नैतिक उत्थान गर्न चाहन्छौँ । यी सबै सुधारका लागि पनि पन्ध्र वर्ष, सात महिना, तीन दिन लाग्नेछ ।
हामीले नागरिकहरूको स्वास्थ्यको समस्याको पनि समाधान गर्नेछौँ । हामीले मलेरिया (औलो) र क्यान्सर नामका दुईवटा रोग भगाउनु छ । हाम्रा स्वास्थ्यमन्त्रीले यी दुबै रोग एकै प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्छ भन्ने कुरो पत्ता लगाइसक्नुभएको छ । उहाँले यस्ता लामखुट्टे नष्ट गर्ने औषधि पनि खोजिसक्नुभएको छ । यो औषधि मलेरिया नष्ट पार्न बाहिर छरिने छ भने क्यान्सर नष्ट गर्न मान्छेका पेटमा पनि छरिने छ । यसरी हामीले नौ वर्ष, एक महिना, दस दिनमा मलेरिया तथा क्यान्सरलाई निर्मूल पार्नेछौँ ।

हामीले जनताको नैतिक उत्थान पनि गर्नेछौँ । पछिल्ला शासनकालमा पतिव्रता धर्ममा निकै ह्रास आएको थियो भन्ने हामीले थाहा पाएका छौँ । यस कुरामा सरकार चिन्तित छ । जति वेला म नजरबन्दमा थिएँ त्यति वेला मैले समय बिताउन कैयौँ पटक ‘रामचरित मानस’को पाठ गरेको छु । त्यसमा उत्तम नारीको लक्षण यसरी देखाइएको छ :
उत्तम कर अस बस मन माहीं ।
सपनेहु आन पुरुष जग नाहीं ॥
उत्तम मैं मनभित्र बसेको ।
सपनामा पनि न अन्य पसेको ॥

केही दुष्टहरूले त्यसको उल्टो अर्थ लगाएका छन् । उनीहरू भन्छन् : उत्तम नारीका लागि कुनै पनि पुरुष सपनामा पनि परपुरुष हुँदैन । अर्थात् सबै आफ्नै हुन्छन् । यस्ता दुष्टहरूका विरुद्ध सरकारले कानुनी कारबाही गर्नेछ । हामी दस वर्ष, आठ महिना, दस दिनमा यस देशमा पातिव्रत्य धर्मको पुनः प्रतिष्ठा गर्नेछौँ ।

अब जोडेर भन्नुहोस् त यी समस्याहरू कति वर्षमा सल्टने रहेछन् ! गरिबी र बेरोजगारी समाप्त गर्न १५ वर्ष, महङ्गी ५ वर्ष, ३ महिना १२ दिन — यसरी जोडेर हेर्‍यौँ भने केवल १०१ वर्ष १ महिना र १५ दिनमा नै यी सबै समस्याको समाधान हुने रहेछ ।
जय हिन्द !

०००
(भूतपूर्व प्रधानमन्त्री मोरारजी देसाईको १९७७ मा भएका भाषणहरू अनि सन्देशहरूबाट प्रेरित – लेखक)
(यो लेख परसाई रचनावली– ४को ‘देशवासियों के नाम सन्देश’ शीर्षकबाट अनुवाद गरिएको हो । – अनुवादक)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x