साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली : सञ्चो बिसञ्चोका कुरा

सुझाव गरिए अनुसारको सूत्र अवलम्बन गर्ने/नगर्ने वा प्रस्तावित बाटो अँगाल्ने/नअँगाल्ने निर्णय भने तपाईंमै निहित हुनेछ, अरूमा होइन । किनकि, यो कुनै करकापको विषय नभएर आत्मीय सुझाव मात्र हो ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

संस्कार आआफ्नो हुन्छ । संस्कार भूगोल अनुसार पनि हुन्छ, जात जाति अनुसार पनि हुन्छ । संस्कार देश अनुसार पनि हुन्छ, भाषा/भेष अनुसार पनि हुन्छ । संस्कार राष्ट्रको पनि हुन्छ, समाजको पनि हुन्छ । व्यक्तिको पनि संस्कार हुन्छ, समूहको पनि संस्कार हुन्छ । संस्कार लैङ्गिक पनि हुन्छ, गैर लैङ्गिक पनि हुन्छ । खोज्दै जाँदा देश महादेश सबैको आआप्‌mनो संस्कार हुन्छ । व्यक्तिका कुरा गर्दा जुन भूगोल र रहनसहनमा ऊ खाइखेली गर्‍यो, बोल्यो, हुर्क्यो, बस्यो, पढ्यो, लेख्यो त्यहीँको संस्कार उसमा विकसित हुँदै जान्छ । थाहै नपाईकन त्यहीँको संस्कार उसमा लपक्क टाँसिन्छ ।

समाजको संस्कार विविध हुन्छन् । ती मध्ये नेपाली समाजमा पछिल्लो समय बढी चर्चामा रहेको एउटा संस्कारका कुरा मात्र यस आलेखमा कोट्ट्याउन खोजिएको छ । चर्चा गर्न खोजिएको छ । त्यो पनि विस्तृत रूपमा नभएर साङ्केतिक रूपमा मात्र । हामी यसलाई आदरको संस्कार पनि भन्न सक्छौँ, मानवीयताको संस्कार पनि भन्न सक्छौँ । त्यो आआफ्नो विश्लेषण हो । आआफ्नो बुझाइ र व्याख्या हो । आआफ्नो बहस हो । यसर्थ, यसमा यो हो नै र यो होइन नै भन्ने अडान राखिरहनु पनि त्यति आवश्यक छैन । यो व्यक्तिको स्वतन्त्रताको विषय हो ।

नेपाली समाजको एउटा संस्कार छ, त्यो हो– जो कोही पनि भेट हुँदा आपसी कुरा उठानका क्रममा समय अनुसार चिया पिउनु भयो ? खाना खानु भयो ? खाजा खानु भयो ? सञ्चै हुनुहुन्छ ? घर परिवार सबैलाई सञ्चै छ नि ? भनी सोधखोज गर्ने । यो एउटा आपसी शिष्टता हो, आदर हो, निरन्तर सम्बन्ध विकासको सेतु हो ? यसले व्यक्ति–व्यक्ति बीचमा आपसी आत्मीयता बढाउँछ । आपसी द्विपक्षीय सम्बन्धलाई कसिलो बनाउँछ । फलानाले सोधेको थियो, ढिस्कानाले सोधेको थियो भन्दा मात्र पनि घर परिवारका मनमा एउटा छुट्टै किसिमको आनन्दको अनुभूति पैदा हुने स्थिति बन्छ ।

यी विविध कुरालाई एकैसाथ नकोट्ट्याएर अहिले यहाँ चर्चा गर्न खोजिएको एउटा सामान्य विषय हो– ‘आपसी सञ्चो बिसञ्चोका कुरा । घर परिवारको सञ्चो बिसञ्चोका कुरा ।’

यस किसिमको चासो बढी वृद्धावस्थाका मानिसको भेटघाटमा हुन्छ । युवा र वृद्धा वा वृ्‌द्धैवृद्धा भेट हुँदा यस्तो चासो बढी व्यक्त गरिन्छ । के छ हालखबर ? भेट नभएको पनि धेरै भयो । सञ्चै हुनुहुन्छ ? फलानालाई के छ ? ढिस्कानालाई के छ ? जस्ता विषयक वार्ताबाट भेटघाटको मङ्गलाचरण हुन्छ । कुराको श्रीगणेश हुन्छ ।

अपवाद अवस्थामा बाहेक वृद्धावस्थाका मानिसको स्वास्थ्यस्थिति बढी चासोको विषय हुन्छ । उमेरले नेटो काट्दै गएपछि वा उमेर ढल्किँदै गएपछि मानिसको स्वास्थ्य स्वाभाविक रूपमा बढी संवेदनशील हुँदै जान्छ । व्यक्तिको उमेर जति–जति उत्तराद्र्धतिर ढल्किँदै जान्छ उसको स्वास्थ्यस्थिति पनि विगतको तुलनामा त्यति–त्यति खस्किँदै जान थाल्छ । यो रोकेर रोकिने विषय होइन । सतर्कता अपनाउने अवस्था हो तर निमिट्यान्न गर्नसक्ने अवस्था होइन । पुरापुर सुरक्षित छु वा हुन्छु भनेर व्यक्तिले चाहना गर्दैमा पूरा हुने विषय होइन । वृद्धावस्थाका मानिसको स्वास्थ्य भनेको टालेको लुगा जस्तो हो । जसरी टालेको लुगा एक ठाउँमा टाल्यो अर्को ठाउँमा चिरिक्क भइहाल्छ । त्यहाँ टाल्यो फेरि अर्को ठाउँमा त्यस्तै भइहाल्छ । पूर्ण रूपमा त्यो नयाँ हुन सक्तैन । जतिसुकै गरे पनि पूर्ण रूपमा पहिलाको अवस्थामा पुग्न सक्तैन । यसरी हेर्दा पहाडमा पहिरो गएजस्तो पनि हो वृद्धवृद्धाको स्वास्थ्य अवस्था । एक ठाउँमा एक वर्ष पहिरो जान्छ, अर्को ठाउँमा अर्को वर्ष पहिरो जान्छ । प्रत्येक वर्ष कहीँ न कहीँ चोइटिएकै हुन्छ । वृद्धवृद्धाको स्वास्थ्य स्थितिको अवस्था पनि त्यस्तै हो । एउटा रोगको उपचार गर्‍यो, अर्को रोग निस्किन्छ । त्यसको उपचार गर्‍यो फेरि अर्को रोग निस्किन्छ ।

यस्तो स्थितिले वृद्धवृद्धालाई टालेको लुगा र पहाडमा पहिरो गए जस्तै एकपछि अर्को गरी सताइरहन्छ । आहा ! आराम छ भनेर पूर्ण रूपमा सन्तुष्ट हुनसक्ने अवस्था कतिखेर पनि उपलब्ध हुँदैन । हुन्छ–हुन्छ भन्दाभन्दै वय सकिन्छ । हुन्छ–हुन्छ भन्दाभन्दै जीवन चक्र समाप्त हुन्छ । व्यक्तिले बढी चिन्ता लिए पनि हुने यही हो, नलिए पनि हुने यही हो । यो मानिसको प्राकृतिक अवस्था हो । मानिस बुढो हुनु भनेको पुरानो हुँदै जानु हो । थाङ्गनो हुँदै जानु हो । नाशको एउटा बाटोतिर उन्मुख हुँदै जानु हो । क्षयीकरणको बाटो तर्फ क्रमशः अघि बढ्नु हो । जुन रुख, बोटबिरुवा, फलफूल, बाटोघाटो, पशुपन्छी, गेडागुडीलगायतका अन्नपात र अरू त्यस्तै चिजवस्तुको अवस्था जस्तै स्वाभाविक हो । पुरानो भएपछि एकपछि अर्को गरी ढल्छ, ओइलिन्छ, कुहिन्छ, भत्किन्छ, मर्छ, कीरा लाग्छ । यो सृष्टिको स्वाभाविक प्रक्रिया हो । यस्तो अवस्थामा यसो भयो उसो भयो भनेर बढी चिन्ता गर्नुको कुनै तुक छैन ।

अब म आम रूपमा अरूका कुरा छाडेर आप्‌mनै कुरा गर्छु । आफ्ना कुरा गर्दा अरूसँग अनावश्यक बहसमा उत्रिनु पर्दैन । ‘तँ तँ’ र ‘म म’ को वकालत गरिरहनु पर्दैन । मेरा कुरा गर्दा अरूले पनि यसले मेरै कुरा गर्‍यो भन्ने ठान्छ भने त्यो चाहिँ त्यतिखेर सुखद संयोगको कुरा हो । यस आलेखको अभीष्ट पूरा हुन सकेको अवस्था हो । किनकि म, म, म र अरू थप महरूले नै यो समाज बनेको छ । बहु ‘म’ बाट बनेको यो समाज हाम्रो हो । महरूको संयुक्त रूप हामी हौँ । यसर्थ यहाँ मेरो चर्चा गर्दा मजस्तै अरूको पनि चर्चा भइरहेको हुन्छ । यो त्यतिविधि अस्वाभाविक कुरा होइन ।

चिनेजानेका मानिसहरू मलाई भेट्दा सबभन्दा पहिला सोध्ने गर्छन्‌– सञ्चै हुनुहुन्छ ? घरका अरूका विषयमा पनि चासो राख्नेले सोध्छन् … लाई पनि सञ्चै छ नि ? उनीहरूको यो सोधाइ र चासो आपसी आत्मीयताको परिचायक अवस्था हो । आपसी माया/पे्रमको पुष्ट्याइँ हो । यसलाई म कहिल्यै पनि अन्यथा लिन्नँ, र लिएको पनि छैन ।

पछिल्लो समय यी प्रश्नको बनिबनाउ उत्तर बनाएको छु मैले । त्यो हो– ‘उमेर अनुसारको स्वास्थ्य स्थिति ठिक छ । अथवा, उमेर अनुसार सञ्चै छु ।’

पहिलो पटक मेरो उत्तर सुन्नेहरू हाँस्छन् । मैले रमाइलो गरेको ठान्छन् । तर म रमाइलो गरिरहेको हुन्न । बदलामा यथार्थ कुरो पस्किरहेको हुन्छु प्रश्नकर्ताका सामु । नेपालको प्रचलित कानुन अनुसार कुरा गर्ने हो भने साठी नाघेका मानिस बुढा कहलिन्छन् । म त्यही वर्गमा पर्छु । बुढा भनेको कसैले मन पराए पनि र मन नपराए पनि कानुनले हामी जस्ता सबैलाई ढुक्कसँग बुढाकै वर्गमा वर्गीकरण गरेको छ । कसैले कसैलाई बुढा भन्यो भनेर अन्यथा मान्नुपर्ने र चित्त दुखाउनुपर्ने अवस्था छैन । बुढालाई बुढो भन्दा रिसाउनु वा असन्तुष्टि जनाउनु कदापि शोभनीय विषय होइन, मेरा दृष्टिमा । कतिपय मानिसहरू बुढो शब्द अशक्तताको परिचायक हो, केही गर्न नसक्ने अवस्थाको हो भन्ने ठानेर आफूलाई त्यसो भन्दा चित्त दुखाउँछन् । असन्तोष व्यक्त गर्छन् । यो पनि त्यति अस्वाभाविक विषय चाहिँ होइन । तथापि, आप्‌mनो अवस्था जति नै सक्षम भए पनि आम रूपमा बुढालाई बुढो भन्दा चित्त दुखाइहाल्नु चाहिँ पर्दैन ।

मेरो उत्तर सुन्नेहरूको जिज्ञासा हुन्छ– ‘उमेर अनुसारको स्वास्थ्य स्थिति ठिक छ । अथवा, उमेर अनुसार सञ्चै छु ।’ के भनेको त्यो !?

प्रत्युत्तरमा म भन्छु– मानिसको यो बुढ्यौली उमेर भनेको ‘सञ्चै छु’ भन्दा पनि साँचो कुरा नबताएजस्तो हुने र ‘सञ्चो छैन’ भन्दा पनि ढाँटेजस्तो हुने अवस्था हो । किनकि, ‘सञ्चै छु’ भन्दा पनि स्वाभाविक रूपमा उमेरगत केही न केही रोग बोकिएकै हुन्छ । ‘सञ्चो छैन’ भन्दा पनि के भयो ? भनेर प्रश्नकर्ताले थप जिज्ञासा राख्दा आत्तिएर वर्णन गर्नै पर्ने वर्णनयोग्य केही रोग आफूसँग हुँदैन । उमेरगत हिसाबले स्वाभाविक रूपमा जन्मिएको रोगलाई लिएर सञ्चो छैन भन्नुको कुनै तुक देख्दिनँ म । किनकि, वृद्धावस्थामा युवावस्थाको जस्तो स्वास्थ्यस्थिति न खोजेर पाइन्छ, न रोजेर पाइन्छ ।

कतिपय वृद्धवृद्धा जिउ दुख्यो/पोल्यो, हातपाखुरा दुख्यो, गोडा दुख्यो, घुँडा दुख्यो, ग्यास्ट्रिकले सतायो, टाउको दुख्यो, आँखा धमिलो भयो, पढ्न सक्तिनँ, लेख्न सक्तिनँ, खाएको पचेन, चिन्ताले सतायो, पहिलाको जस्तो रुचि हुँदैन, बढी पिसाब लाग्छ, बेलामा दिसा हुँदैन आदि कुरा भनेर आफू हुनसम्मको रोगी भएजस्तो व्यवहार प्रदर्शन गरिरहेका हुन्छन् । यसो भनिरहँदा वा आप्‌mनो पीडा पोखिरहँदा उनलाई क्षणिक सन्तुष्टि त होला तर यसो भनिरहनु भनेको चिन्ताको मात्रालाई बढाउनु हो । कसैलाई भनेर आफुनो रोग निको हुने होइन । भनिएका व्यक्तिसँग आफुनो रोग बाँडिने पनि होइन । यसर्थ उमेर अनुसार प्राप्त हुने रोग भनुँ वा शारीरिक असक्षमतालाई रोगका रूपमा लिएर गुनासो गर्नुको कुनै तुक छैन । बरु यसका बदलामा आफूलाई हरहमेसा अलमल्याउने काम गर्नुस् । जस्तो अवस्था अनुसार तपाईं साक्षर हुनुहुन्छ भने पढ्ने/लेख्ने गर्नुस्, कुनै पनि धार्मिक पुस्तकहरूको अध्ययन र त्यसको चर्चा परिचर्चा गर्नुस् । साँझ बिहान शरीरले धाने जति समय एकाध घण्टा उपलब्ध भएसम्म स्वस्थ हावामा यताउति घुमेर विचरण गर्नुस् । प्रकृतिलाई माया गरेर गमलाकै सही माटोसँग खेल्नुस् । साँझ बिहान देव पूजामा प्रयोग हुने बत्ती कातेर बस्नुस् । दुना टपरी गाँस्नुस् । पाएसम्म केटाकेटीसँग रमाउनुस् । नकारात्मक रूपमा एकले अर्काको कुरा काट्ने र रमाउने ठाउँबाट टाढा हुनुस् र आफू पनि त्यस्तो क्रियाकलापमा संलग्न नहुनुस् । निरन्तर रूपमा कसैप्रति कुनै गुनासो नगर्नुस् । हल्का पथ्य खानेकुरा मात्र खानुस् । कसैका लहैलहैमा लागेर गरिष्ट र शरीरलाई आवश्यक नपर्ने कुरा नखानुस् ।

सुरुमा बानी नपरे पनि बिस्तारै तपाईं यस्ता कुरामा अलमलिन सक्नुहुन्छ । अभ्यस्त हँदै जान थाल्नुहुन्छ । यसले तपाईंमा सकारात्मक ऊर्जा उत्पन्न गराउँछ । यसरी उत्पन्न सकारात्मक ऊर्जाबाट तपाईंले हरहमेसा मनमा बोकेर व्यक्त गरिरहनु भएका अधिकांश रोग स्वतः तपाईंका दिमागबाट टाढिन थाल्छन् । नित्य निरन्तर जसलाई जतिखेर जहाँ भेटे पनि कहिरहने चर्चाका विषय बन्दैनन् । यो स्थिति भनेको वृद्धवृद्धाको आनन्दको स्थिति हो । मन बुझाइको एउटा पाटो हो । यसो गर्न सकियो भने तपाईं आफू पनि सुखी रहन सक्नुहुन्छ र अरूलाई पनि त्यत्तिकै सुख दिन सक्नुहुन्छ । यहाँ चर्चा गरिएका यी यावत् विषय सहज जीवनयापनका लागि सामान्य र सहज बाटो देखाइका सूत्र मात्र हुन् । सुझाव गरिए अनुसारको सूत्र अवलम्बन गर्ने/नगर्ने वा प्रस्तावित बाटो अँगाल्ने/नअँगाल्ने निर्णय भने तपाईंमै निहित हुनेछ, अरूमा होइन । किनकि, यो कुनै करकापको विषय नभएर आत्मीय सुझाव मात्र हो । सबैलाई चेतना भया ।

०००
२०८३/३/१८
काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
गोविन्द आचर्य
गोविन्द आचर्य
7 days ago

सरसर्ती पढियो, सामान्य ढङ्गले वृद्धावस्थाको गम्भीर प्रस्तुति गरिएको यो लेख राम्रै लाग्यो ।🙏

Januka Guragain
Januka Guragain
6 days ago

जीवन उपयोगी ऊर्जाशील आलेख ।

Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
2
0
Would love your thoughts, please comment.x
()
x