वासुदेव गुरागाईंनमरी स्वर्ग देखिन्न
तब न म मेरा बा हजुरबा, आमा हजुरआमा, ठुला बा ठुली आमाले भनेका ‘नमरी स्वर्ग देखिन्न’ भन्ने उही पुराना कुरा सम्झिन थालेँ बिच सडकमै ठिङ्ग उभिएर ।
वासुदेव गुरागाईं
सानो उमेरमा नजिक भएका बेलामा बा हजुरबा, आमा हजुरआमा, ठुला बा ठुली आमा आदि राम्रैसँग उमेर पाकेका मानिसले कुरा गरेको ध्यान दिएर सुन्थेँ । बेलाबेलामा निकै चाख लाग्दा कुरा गर्नुहुन्थ्यो उहाँहरू । त्यही भएर उहाँहरूका कुरा सुन्न म मजा मान्थेँ । यही सिलसिलामा विभिन्न प्रसङ्गमा उहाँहरू भन्नुहुन्थ्यो– ‘नमरी स्वर्ग देखिन्न बाबै !’
कुरो त बुझेको थिइनँ तर उहाँहरूका यी कुरा मेरा मनमा बेलाबखत नाचिरहन्थ्यो । मेरो मनको मझेरीमा छुस्स–छुस्स यही कुरा आइरहन्थ्यो– ‘नमरी स्वर्ग देखिन्न ।’ मरेपछि फेरि बाँच्न पाइन्न भन्ने मलाई के थाहा ! अनि मलाई पनि कताकता स्वर्ग हेर्ने रहर जाग्थ्यो मनमनै । एक पटक मरेर स्वर्ग हेर्न पाए पनि हुने ! उहाँहरूले कुरैकुराका प्रसङ्गमा बेलाबेलामा भनिरहनुहुने स्वर्ग कस्तो होला ? कहाँ होला ? कताबाट जाने होला ? कसरी जाने होला ? जाने बाटो कस्तो होला ? जङ्गलैजङ्गल होला कि खेतैखेत ? खोलैखोला होला कि पाखा बारी नै बारी ? आदि इत्यादि ।
यतिखेर बुद्धि नभए पनि म उमेरका हिसाबले सत्तरीको ढोका छेउछाउ छु । पाको भएको अनुभव गर्दै छु । युवावस्थाका जो कोही केटाकेटीले ‘बुढो’ भनेर पटकपटक सम्बोधन गर्ने अवस्थामा छु । मलाई किन बुढो भनिस् ? भनेर उनीहरूसँग प्रतिवाद गर्न नसुहाउने अवस्थामा छु । आफू बुढो भएपछि बुढाकै कुरा गर्न मन लाग्दो रहेछ । बुढाकै कुरा सुन्न मन लाग्दो रहेछ । त्यसैले यतिखेर मलाई बुढापाकाका कुरा सुन्न खुब मन पर्छ । बुढापाकाको कुरा गर्न खुब चाख लाग्छ । तर त्यो रमाइलो लागेर होइन, बुढ्यौलीको आन्द्राभुँडी कस्तो हुँदो रहेछ भन्ने चाल पाउन मात्र । बुढ्यौलीको वास्तविक धरातल कस्तो हुँदो रहेछ भनेर निफननाफन गर्नका लागि मात्र ।
दुई चार दिनअघि साढे नौ दशक उमेरका एक जना बुढासँग सडकमा हिँड्दै गरेको अवस्थामा भेट भयो । लौरो टेकेर हिँडिरहेका उनी बेलाबखत यताउति चियाउँदै पनि थिए । मलाई देख्नेबित्तिकै स्वस्थानी कथामा वर्णित शिव शर्माले शिव भट्ट ब्राह्मणको अनुहार हेरेजस्तै ट्वाल्ल परेर हेरिरहे । मैले सम्मानपूर्वक नमस्कार गरेँ । सतही चिनापरिचय गरे । बाटोमा हिँड्दै गर्दा कसैले वास्ता नगर्ने उनको अनुहार मेरो नमस्कारले वसन्त ऋतुको बिहानी झुल्के घामजस्तो एकाएक उज्यालो भयो । उनीसँगको कुराको उठानमै मैले सोधेको थिएँ– ‘चिनेचिने जस्तो लागेर हेर्नुभएको ? कि, म जस्तै अर्को बुढो को रहेछ भनेर हेर्नुभएको ?
मेरा कुराले बुढा दङ्ग परे । उनले भने– खोइ ! कतै देखेजस्तो पनि लाग्यो, तर याद भएन । घर कता पर्यो ? के गर्नुहुन्छ ?
मैले सोधेँ– उमेर कति भयो ? लौरोको सहारा छोडेर बुढा ठिङ्ग उभिए । सोझो गरेर मेरा अनुहारमा नियााले र उल्टै मलाई सोधे– कति भएँ होला ? ल अनुमान गर्नुस् त ।
अलिबेर मैले उनको अनुहार नियालेँ । विगत अनुभवले भन्यो– कोही मानिस धेरै उमेर भन्यो भने रिसाउने हुन्छन् । थोरै भन्यो भने हाँस्ने हुन्छन् । फुरुक्किने हुन्छन् । मनमनै अनुमान गरेँ इः बुढा चौरासी पचासी हाराहारीका होलान् । तर अनुमान गरे जस्तो भन्ने आँट आएन । अनि भनेँ– त्यस्तै सतहत्तर/अठहत्तर वर्ष हुनुभयो होला । मेरा कुराले बुढाको अनुहार फेरि अघि चिनापरिचय समयको जस्तै हँसिलो भयो । उनले भने– म अठासी साल माघको हुँ । ल कति वर्ष भएँ ? तपाईं आफैँ भन्नुस् । मैले भनेँ– आउने माघमा पन्चान्नब्बे पुगेर छयान्नब्बे लाग्ने हुनुहुँदो रहेछ । उनले हाँसीहाँसी टाउको हल्लाए । मैले ताजुब मानेँ ।
उनी तीन खुट्टा टेकेर सडकछेउमै उभिइरहे, म दुई खुट्टा टेकेर । उभिएरै कुराकानी गर्यौँ एकछिन । उनी गाउँघरमा राजनीति गर्ने निकै पुराना राजनीतिज्ञ रहेछन् । म नितान्त गैरराजनीतिक व्यक्ति । जीवन भोगाइको विधा फरक पर्यो । तैपनि हाम्रो कुराकानीलाई त्यसले केही असर गरेन । त्यतिखेरको बाटो फरक भए पनि यतिखेरको मार्ग एउटै थियो– बुढ्यौली मार्ग । हामी यही मार्ग पछ्याएर कुराकानीलाई अगाडि बढाउन थाल्यौँ । एकछिनको कुराकानीले कति नै कुरा पैटिन्थ्यो र ? तैपनि हामीबिच बुढ्यौलीजन्य निकै घरताग्दा कुराकानी भए । कुराकानीका क्रममा उनले मलाई अब बाबू भन्न थालिसकेका थिए । नभनुन् पनि किन ! मभन्दा साढे दुई दशकभन्दा अझै बढी समय अगाडि पृथ्वीमा पदार्पण गरेका मान्छे । मैले यसलाई पटक्कै अन्यथा मानिनँ । बरु, उनले बाबू भनिरहँदा म पुलकित हुन थालिसकेको थिएँ । भित्रभित्रै रमाउन थालिसकेको थिएँ । कुनै पूर्व योजनाबिना नै यतिखेर एक्कासि यो अवस्था आएको थियो । हामी दुवै एकनासले रमाइरहेका थियौँ आपसी चिनापरिचय र दोहोरो कुराकानीले ।
बुढा भन्दै थिए– मेरो बुबा छयासी वर्षको उमेरमा जानुभयो । जानुअघि उहाँले मलाई धेरै कुरा बताउनु भएको थियो । म बुबाको उमेरको अनुभव ओकल्ने र ग्रहण गर्न सक्ने अवस्थामा थिइनँ । तैपनि टाउको हल्लाएर सुनिरहन्थेँ । अहिले यतिखेर म बाका त्यतिखेरका कुराकानी झल्झली सम्झिन्छु । बाले त्यतिखेर गरेका कुरा प्रत्येकको छुट्टाछुट्टै तौल रहेछ । तौल पनि खेत खन्ने फलामे कोदालोको जस्तो नभएर औँलामा लगाउने सुनका औँठीको जस्तो । अंशअंशको उत्तिकै गहु्रँगो मूल्य । कणकणको भारी उपयोगिता । बोलीपिच्छे जीवनोपयोगी उपदेश । बोलीपिच्छे व्यवहारजन्य यथार्थता । कत्ति पनि जर्ती नजाने । सबैकासबै उपयोग हुने । उनी भन्दै थिए– कुनै पनि कुरा आफैँले नजिकबाट नभोगीकन थाहा हुँदो रहेनछ । हिजो बाले के भनेका होलान् ? जस्तो लाग्ने कुरा अहिले आफूले भन्दा छोराछोरीले पनि यी बुढाले के भनिरहका होलान् ? भनेर सोच्ने अवस्था आयो । यी कुरा प्रत्येक पिढीमा हुँदो रहेछ । यो कुरा अस्ति थियो, हिजो थियो, आज छ र भोलि पनि हुने छ । यो सदासर्वदा निरन्तरताको विषय रहेछ । माकुराको पिँधको धागो जस्तो कत्ति पनि नचुँडिने, जति अघि बढ्यो उति तन्किइरहने ।
बा भन्नुहुन्थ्यो– घर परिवारका मानिसले जानअन्जान बेलाबखत गर्ने झर्कोफर्कोले मन बिथोलिन्छ । चित्त दुख्छ । वरपरका चिनाजानीका मानिसले सञ्चो बिसञ्चो र हालखबर सोध्नु त कताकता नजिकै आएर पनि उल्टै देखेको नदेख्यै गरेर मुन्टो बटार्दा मन अमिलिन्छ । सोच धमिलिन्छ । कसरी सबैबाट टाढा भइयो ? कस्ताकस्ता दिन आउँदारहेछन् ?
उनी अगाडि भन्दै थिए– बाले यसरी भट्ट्याइरहँदा के भनेका होलान् हाम्रा बाले ? हामीले के गरेका छौँ र त्यस्तो ? जस्तो लाग्थ्यो । मान्छे बुढो भएपछि बढी बोल्दा रहेछन् । अरूलाई दोष दिने काममा मात्र तल्लिन हुँदा रहेछन् ।
सन्तोष भन्ने कुरा बुढाहरूका मनमा हुँदो रहेनछ जस्तो लाग्थ्यो । तर सबैबाट टाढिएर बाले भोगेजस्तै जीवन जिउनुपर्दा बल्ल मेरा पनि आँखा खुलेका छन् अहिले । यस्तो अवस्थामा मनका कुरा कता गएर कसरी बिसाउँ जस्तो हुँदो रहेछ । कतै बिसाउन पाउँदा मन हलुङ्गो हुँदो रहेछ । अहिले बिनाचिनजानको बाबूसँग भेटेर यत्ति कुरा गर्न पाउँदा पनि मलाई आफन्तै भेटेजस्तो भएको छ । यस कुराकानीले मन नै हलुङ्गो भएको छ ।
उनलाई बिचैमा रोकेर मैले छोराछोरीका विषयमा सोधेँ । एउटै आमाबाट नौ दश जना कति हो छोराछोरी भने । मेरै जिज्ञासामा अहिले काइँलो छोरासँग बसिरहेको कुरा पनि भन्न भ्याए उनले । मैले कसैको साथ सहयोग प्राप्त भइरहेको वा नभइरहेको अवस्थाका बारेमा सोधेँ । अनुहार अलिक बिगारेर उनले मुन्टो बटारे । पाप बोल्नुहुन्न । खान लाउनको त कुनै दुःख छैन । एक गाँस मिठै खाएको छु । एक धरो राम्रै लगाएको छु । यसमा कुनै दुःख मनाउ छैन मलाई । तैपनि मान्छेको मन यतिले मात्र सन्तोष हुँदो रहेनछ । पुराना कुरा झल्झली सम्झिन्छु । खानु लाउनु मात्र ठुलो कुरा होइन रहेछ । आपसी प्रेम, आपसी सद्भाव, आपसी माया, मीठो बोलीवचनका कुराभन्दा ठुलो अरू केही हुँदो रहेनछ ।
अशक्तावस्थाको यस उमेरमा खासैमा भन्नुपर्दा हरपलका मेरा साथी भने पनि, सङ्गाती भने पनि घरमा सदैव नाचिरहने मुसा, साङ्ला र लामखुट्टे मात्र हुन् । अरू सबै कताकता काममा जान्छन् । पढ्न जान्छन् । खेल्न जान्छन् । खान्छन् । बस्छन् । मोबाइलमा झुन्डिन्छन् । आफू हेरेको हेर्यै । अनि मुसा, साङ्ला र लामखुट्टे बाहेक मेरा साथी सङ्गाती को हुनु अरू ? अनि यस्तो अवस्थामा मनभरि पुराना कुरा केलायो, टोलायो । उमेरका बेलामा यसो गरियो, उसो गरियो भन्यो चित्त बुझायो । अहिले आएर यी सबै कुरा सम्झिँदा पो उहिले मेरो सानो उमेरमा बा हजुरबा, आमा हजुरआमा, ठुला बा ठुली आमा आदिले ‘नमरी स्वर्ग देखिन्न’ भनेका कुराको अर्थ खुल्दो रहेछ । त्यसैले यस्ता कुरामा तिमी पनि बेलैमा विचार गर है बाबू ?
उनका पछिल्ला कुरा सुनेपछि मलाई लाग्यो– अहो ! नमरी स्वर्ग नदेखिने कुरा त मेरो मात्र नभएर अरूका बा हजुरबा, आमा हजुरआमा, ठुला बा ठुली आमाले पनि त गरेका हुँदा रहेछन् नि । कस्तो अचम्मको कुरा !
हिँड्दाहिँड्दै सडकमा एक्कासि भेटिएका यी वृद्ध बाका कुराले म एकाएक झसङ्ग भएँ । किनकि, उनले भने जस्तै घटना, परिघटना र अवस्था मेरा छेउछाउ पनि रमाएर नाच्न थालिसकेका थिए । यस्तो अवस्थामा स्वर्ग देख्न पाउने योग्यता मेरो पनि पुग्दै थियो । तब न म मेरा बा हजुरबा, आमा हजुरआमा, ठुला बा ठुली आमाले भनेका ‘नमरी स्वर्ग देखिन्न’ भन्ने उही पुराना कुरा सम्झिन थालेँ बिच सडकमै ठिङ्ग उभिएर ।
०००
२०८३/४/२५
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest


































