
मात्र बोलिदिनुस् बुढापाकासँग
समाजका हर कुनामा रहेका वृद्धवृद्धाप्रतिको चोखो सद्भावयुक्त बोली वचनले तिनमा रहेका मानसिक हतास, छटपटी, पीडा र न्यास्रोपन पचास प्रतिशत वा अझ त्यसभन्दा पनि बढी नै कम हुन्छ ।

वासुदेव गुरागाईं :
सडकमा हिँड्दा एउटा कुरा याद गर्नुभएको छ ? छ भने राम्रै भयो, छैन भने अब याद गर्नुस् ।
सडकमा हिँड्नेको आआफ्नै धुन हुन्छ । तपाईं केटाकेटी लिएर हिँड्नुस् तिनका आँखा सडकमा हिँड्ने उनकै उमेर समूहका केटाकेटीमा परिरहेको हुन्छ । अलिक किशोरको किशोरावस्थाकै व्यक्तिमा र युवावस्थाका मानिसको युवावस्थाकै मानिसमा आँखा परिरहेको हुन्छ । प्रौढावस्थाका मानिसको प्रौढावस्थाकै मानिसमा आँखा सोझिइरहेको हुन्छ भने वृद्धावस्थाका मानिसको सोही अवस्थाका मानिसमा आँखा गुडिरहेको हुन्छ । कपाल फुलेका बुढीहरू विनाकुनै आशक्ति कपाल फुलेकै बुढाहरूका अनुहार नियालिरहेका हुन्छन् भने श्वेत केशधारी बुढाहरू पनि उनीहरूका सम्मुख यसै गरिरहेका हुन्छन् । यो वय मिलाइप्रतिको रुचि हो । समूहगत आशक्ति हो, व्यक्तिगत होइन । प्रसङ्गवश यहाँ उल्लेख गरिएको यस सन्दर्भलाई अन्यथा रूपमा नलिइयोस् ।
अलिकति आँट, अलिकति सामथ्र्य र अलिकति हात गोडा आफ्ना पक्षमा हुनेहरू दायाँबायाँ पनि थोरै वास्ता गर्छन् तर कसैले वास्ता नगरे पनि तिनका चित्त खासै त्यत्तिविधि दुख्दैनन् । वा, यस्ता कुरामा खासै चासो राख्दैनन् । तर, बुढ्यौली वयका मानिसमा कसैको आँखा परेन, कसैले कुनै किसिमको वास्ता गरेन र बोलिदिएन भने तिनको चित्त दुख्छ । बुढ्यौली तन त एक्लिएको छ-छ, यस्तो अवस्थामा तिनको मन पनि एक्लिन्छ । कुँडिन्छ । पाक्छ । छटपटिन्छ । त्यस्तो अनुभूति नजिकबाट ननियाल्ने प्रवृत्तिका अरुले गर्न सक्तैनन्, स्वयं तिनै वृद्धवृद्धाले मात्र गरिरहेका हुन्छन् । यो मानवीयताका पक्षमा अनिकाल परेको अवस्था हो । मानवीयता खिइँदै गएको दृष्टान्त हो । सामाजिक विचलनको यो एउटा डरलाग्दो अवस्था हो ।
सडकमा यत्रतत्र हिँडिरहेका बुढाबुढी दायाँबायाँ यताउति कोही बोलिदिन्छन् कि ? कसैले चिनेर सम्मानजनक शब्द ओकलिदिन्छन् कि ? कसैले उनीहरूका विषयका जानकारी लिएर मन हलुका पारिदिन्छन् कि ? भनेर अवसर खोजिरहेका पनि हुनसक्छन् । तिनका मन विगतका आफ्नै कर्मका कारण, आफ्नै घरायसी वा अन्य सामाजिक व्यवहारका कारण, आपसी शत्रुता वा वैरताका कारण, बढी महत्वाकाङ्क्षा र अप्राप्तिका कारण त्यसैत्यसै अमिलिइरहेको पनि हुनसक्छ । यस्ता कारणले उनीहरू चिनिएकाबाट टाढा भइरहेका वा अपहेलित भइरहेका पनि हुनसक्छन् । यस्तो अवस्थामा नयाँ नयाँ व्यक्तिसँग चिनाजानी गरेर आफूलाई हलुङ्ग्याउन खोजिरहेका पनि हुनसक्छन् । वृद्धवृद्धाको यस्तो मनोभाव उसको विगत हेरेर हैन, वर्तमान अवस्थालाई दृष्टिगत गरेर अरूले बुझिदिनुपर्छ । उनीहरूका समस्यालाई समाधान गर्न नसके पनि उनीहरूसँग बोलिदिँदा मात्र पनि उनीहरू आफ्नो समस्यामाथि सम्बोधन भएको ठान्न सक्छन् ।
यस्ता वृद्धवृद्धा बाटामा भेटिएका अरू जो कोही वा अलिक वृद्धावस्थाका मानिसलाई आशाका साथ नियालिरहेका हुन्छन् । हुन त यस्ता अवस्थाका कतिपय वृद्धवृद्धा विगतको आफ्नो बडप्पनलाई हिङ नभए पनि हिङ पोको पारेको टालो छ जस्तो गरी अर्कातिर बटारिएर कायम राखिरहेको अवस्थामा पनि नभेटिने हैनन् । अरूका त के कुरा कतिपय बुझेका भनिएका साहित्यकार र आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउनेहरू नै पनि अरूप्रति यस्तो व्यवहार प्रदर्शन गर्दै सम्मानको अभिलाषा प्रकट गरिरहेका हुन्छन् । त्यसमाथि कसैले बिनामूल्यको वरिष्ठ वा अन्य यस्तै उपाधि उनीहरूका नाम अगाडि झुन्ड्याएर सम्बोधन गरिदिएको छ भने त तिनका बडप्पनले हिँडेर हैन, उडेरै सगरमाथा पार गरिदिन्छ । यो तपाईं हामी जो कोहीले अनुभूत गरेको परीक्षित् प्रमाण हो ।
यस्ता वृद्धवृद्धालाई चाहेर पनि कसरी सम्बोधन गर्नु र कसरी बोल्नु भन्ने जिज्ञासा पनि जो कोहीका मनमा उब्जिन सक्छ । यस्तो अवस्थामा भेटघाट र देखादेखको परिवेश विचार गरी विविध उपाय अवलम्बन गर्न सकिन्छ । यस किसिमको आधारको अवलम्बनताले आपसी कुराकानीका लागि परिस्थिति सकारात्मक बन्छ । यति भनिसकेपछि कुराकानीलाई अगाडि बढाउन चाहने व्यक्तिका मनमा यस्ता उपाय के के हुन सक्छन् भन्ने जिज्ञासा पनि उठ्न सक्छन् । यस्तो अवस्थामा म भए दोहोरो देखादेख भएपछि यसो भन्थेँ- ‘हैन, मैले तपाईंलाई चिने चिने जस्तो लाग्छ । यसअघि कहीँ कतै देखेदेखे जस्तो पनि लाग्छ । कहाँ होला ?’ ‘हैन, म तपाईंलाई सधैँ यसरी नै यताउति फाट्टफुट्ट हिँडिरहेको देख्छु, कहाँ बस्नुहुन्छ र ?’ ‘हैन, मेरा एक जना … मान्छे हुनुहुन्छ, ठ्याक्कै तपाईं जस्तै । कस्तो काटीकुटी मिलेको ! कहिलेकाहीँ कस्तो मीठो संयोग पनि मिल्छ हकि ?’ ‘टाढैको यात्रा हो ? कहाँ हो हजुरको घर ? पुख्र्यौली घर नै त्यहीँ हो ? यस्तो जिज्ञासामा आफूले जानकारी राखेको ठाउँको प्रसङ्ग आयो भने कहाँनिर ?, कुन गाउँ वा टोल के ?’ भनेर सोद्धा पनि चिनाइ प्रभावकारी हुन्छ ।
‘कुनै कार्यालय वा त्यस्तै जनसम्पर्क हुने स्थान वा आफ्नो सुपरिचित स्थानका मानिस भेटिएमा … … (फलाना) लाई चिन्नुहुन्छ ? जस्ता विषयबाट कुराको प्रसङ्ग निकाल्नुपर्छ । पढाइका सन्दर्भ र विद्यालय/महाविद्यालयका प्रसङ्ग आए त्यसैका सेरोफेरोबाट कुरा अघि बढाउँदा आपसी चिनजान र सम्बन्ध प्रभावकारी हुन्छ । यस्तो प्रसङ्ग भूगोल वा अन्य देश विदेशको भए त्यस्ता प्रसङग पनि प्रभावकारी हुनसक्छन् । कुराकानी गर्न खोजिएको मानिस फरकभाषी रहेछ भने र आफूलाई आउँछ भने उसकै भाषामा र नभए पनि फाट्टफुट्ट उसका भाषाका शब्द पनि बीच बीचमा घुसाएर कुरा गर्न सकियो भने त्यो अझै छिटो नजिकिने उपाय हुनसक्छ त्यस्ता अपरिचितसँग ।
माथि उल्लेख गरिएजस्ता आत्मीयजनित कुराकानीबाट चिनापरिचय गर्न सकियो भने त्यो मानिस सधैँ तपाईंको भेटघाटमा बोल्ने सडक साथी हुनसक्छ । प्रातः वा सन्ध्या हिँडाइको खोजीको विम्ब हुनसक्छ । यसबाट तपाईंलाई पनि फाइदा हुन्छ, उसलाई पनि फाइदा हुन्छ । लिनुदिनु केही नभए पनि दोहोरो सम्बन्ध कायम हुन्छ आपसी कुराकानीका लागि । यसले एकातिर आपसी सम्पर्क र मित्रता बढाउँछ भने अर्कातिर आआफ्ना मनका बह पोख्ने ठाउँ सिर्जना हुन्छ दुवैका लागि ।
म यतिखेर यहाँ आफ्नो अनुभवको एउटा प्रसङ्ग पनि प्रस्तुत गर्न चाहन्छु । एक पटक एउटा मन्दिरमा एक जना मानिस भेटिए । उनलाई तीसौँ वर्षअघिदेखि देखेको हुँ । दोकानदारी गर्थे । एक दुई पटक उनका पसलमा मैले पनि केही सामान खरिद गरेको थिएँ । त्यही पसलमा मेरो विद्यालय पढाइका समयको जातीय हिसाबमा उनकै जातको एउटा साथी पनि बेलाबेला बसिरहेका हुन्थे । उनले मलाई दुई पटकसम्म पुलुक्क हेरे । अनि मैले मेरो स्वभावअनुसार उनीसँग परिचय गर्ने सोच बनाएँ र तत्कालै सोधेँ- तपाईंको फलानो ठाउँमा पसल थियो हकि पहिला ? अहिले त त्यहाँ सडक छ । अनि, तपाईं चाहिँ कहाँ बस्नुहुन्छ ?
उनले मैले भनेका ठाउँमा उनको पसल भएको र त्यहाँ मेरो साथी बसिरहने कुरालाई स्वीकार गरे । अनि, मेरा विषयमा त्यति याद नभएको कुरा पनि असजिलो नमानीकन बताए । अनि त्यतिखेरको मसँगको कुराकानीले उनी यति खुशी भए कि पाँच/छ मिनेट जतिको कुराकानीका अबधिभर मलाई उनले खुशी भएर चार पाँच पटक जति नमस्कार गरे । त्यो उनीसँग बोलाएरै गरिएको कुराकानीप्रतिको कृतज्ञताको प्रतीक थियो । त्यसपछिका दिनमा उनीसँगको भेटमा मैले देखिन भने पनि उनी मलाई बोलाएरै नमस्कार गर्छन् र कुराकानी अघि बढाउँछन् । उनले सम्भवतः यस कुरालाई प्रायः जो कसैले वास्ता नगरिरहेको कुराप्रतिको सम्मान ठाने वा के ठाने उनी नै जानुन् ।
यस्ता सकारात्मक प्रसङ्ग मसँग धेरै छन् । यस्ता भेटघाट र कुराकानीमा सबै राम्रै मानिस भेटिन्छन् भन्ने पनि छैन । कोही कोही अलिक रिसाहा स्वभावका, अघिल्लो साँझको झोलिलो करामत बाँकी रहेकाजस्ता, विगतको आफ्नो मान, सम्मान र सान सौकत सम्झने र त्यही अनुसार सम्मान खोज्ने पनि भेटिन्छन् । यस्ता पात्र अपवाद हुन् । त्यसैले यस्ता कुरा बेलैमा ख्याल गर्नुपर्छ र त्यस्तालाई त्यही रछ्यानमा छाडिदिनुपर्छ- जहाँ उनीहरू पौडिरहेका छन्, रमाइरहेका छन् । यस किसिमका अव्यावहारिक पात्रका पछि लागेर समय खेर फाल्नुको कुनै अर्थ पनि छैन । न त यस लेखको आशय नै त्यस्तो होस् ।
यस किसिमको सद्भावको खोजी वृद्धवृद्धाप्रतिको निःशुल्क सम्मान हो । चिनजानमा नरहेकासँग सम्पर्क बढाउने र सुशान्तिको सामाजिक मार्ग निर्माण गर्ने सूत्र हो । यस्तो सूत्रको कार्यान्वयनले सामाजिक सद्भाव र चोखो मानवीयताको प्रदर्शन गर्छ । अस्ताउँदो सूर्यझैँ डाँडामाथिको घाम हुने अवस्थामा पुगेका वृद्धवृद्धाका मनमा प्रशन्नता झल्काउने अवसर हो यस्तो उपाय ।
एउटा फरक प्रसङ्गलाई यहाँ जोडेर हेरूँ न । जस्तो लैनु गाईभैँसीलाई सम्बन्धित कृषकले जसरी स्याहारसुसार र हर कुरामा चासो राख्छन्, त्यस किसिमको स्याहारसुसार र चासो बुढो/बकेर्नु भएपछि तिनले पाउँदैनन् । किनकि, हाम्रो समाज हर कुरामा स्वार्थी छ । बढी प्रतिफल खोज्छ । हर कुरामा नाफा र घाटाको हिसाबले व्यवहार गर्छ । त्यही भएर गाईभैँसीलाई गरेजस्तै व्यवहार गरी वृद्धवृद्धाबाट केही पाउनु छैन भन्ने आशयले तिनलाई परिवार, समाज र राष्ट्र जो कसैले पनि बकेर्नु गाईभैँसीका रूपमा हेर्छन् । वृद्धवृद्धालाई यसरी हेर्नेहरूले एउटा कुरा के बिर्सनु हुँदैन भने बकेर्नु र त्यसमाथि पनि बुढो भएका गाईभैँसीले दिने कुरा खासै केही हुँदैन । तर बुढा भएका मानिसले अरूलाई दिने कुरा धेरै हुन्छन् । उनीहरूले यसरी दिन सक्ने कुरा पनि उनीहरूसँगैको यस्तै आकस्मिक कुराकानी र चिनापरिचयबाट प्राप्त गर्न सकिन्छ । यसबाट परिचयकर्ता स्वयं लाभान्वित हुनसक्ने स्थिति प्रबल रहन्छ ।
यस किसिमका प्रताडनाका कुरा गर्दा वृद्धवृद्धाले सबैभन्दा बढी प्रताडना आफ्नै घर परिवारबाट पाइरहेका हुन्छन् । समाजका अगाडि श्रवणकुमार जस्ता देखिने छोराबुहारी वा साथका जो कोही अरूको अनुपस्थितिमा राक्षस बन्ने गरेका उदाहरण हाम्रा समाजमा यत्रतत्र छरपस्ट छन् । यो कुनै मनगढन्ते कुरा होइन, आँखाअघिको तीतो यथार्थ हो । यही भएर पनि यसरी भुङ्ग्रामा परेका वृद्धवृद्धालाई बाटोमा भेटिए बाटोमै, चौतारीमा भेटिए चौतारीमै, मन्दिरमा भेटिए मन्दिरमै, आँगनमा भेटिए आँगनमै, पिँढीमा भेटिए पिँढीमै मीठा वचन र व्यवहार पस्केर आदर सम्मान गर्न सिकौँ । कुराकानी गर्न सिकौँ । उनीहरूसँग बोलिदिनाले मात्र पनि उनको मन रमाउँछ । हौसिन्छ । जसरी एउटा डाक्टरले विरामीसँग मीठो बोली वचन गरिदिँदा त्यसको मनोवैज्ञानिक प्रभावका कारण विरामीको पचास प्रतिशत रोग निको हुन्छ भनिन्छ, त्यस्तै समाजका हर कुनामा रहेका वृद्धवृद्धाप्रतिको चोखो सद्भावयुक्त बोली वचनले तिनमा रहेका मानसिक हतास, छटपटी, पीडा र न्यास्रोपन पचास प्रतिशत वा अझ त्यसभन्दा पनि बढी नै कम हुन्छ । यसमा कुनै सन्देह छैन । यस किसिमको बोली वचनले तपाईंलाई भौतिक वा मानसिक रूपमा केही हानि नोक्सानी पनि पुर्याउँदैन । बरू तपाईंको सामाजिक प्रतिष्ठामा थप उँचाइ प्रदान गर्न यसले अवश्य नै सकारात्मक भूमिका खेल्नसक्छ । यसमा कुनै सन्देह छैन ।
०००
नुवाकोट, हाल काठमाडौं
बहुत चित्तबुझ्दो कुरा शुभ पल।
लेख समसामयिक र उत्कष्ट लाग्यो । यथार्थ अवस्थाको धरातलमा गरिएको मनोवैज्ञानिक विश्लेषण सटिक छ । हामी पाठकले यस्तै यस्ता प्रासङ्गिक लेखहरु निरन्तर पढ्न पाउँ ।