नन्दलाल आचार्यफित्कौली गजल
सिध्याउन मलाई यहाँ, कतिले जाल बुने बरु, तिनकै कुटिल चालमा, जानीजानी परेर आएँ । कुरा के गर्नु स्वार्थीको, पुरानो त्यो कुरुप सोच, दुनियाँको मरेको त्यो, मनै आज मरेर आएँ ।

नन्दलाल आचार्य :
निराशाका पुराना ती, काला पाना नाश गरेर आएँ,
नयाँ ऊर्जा, नयाँ उत्साह, जीवनमा भरेर आएँ ।
बिर्सेर भुइँका कुरा, जो आकाशमा उडेका थिए,
घमण्ड तिनको आज म, फेरि फेदमा झरेर आएँ ।
अँध्यारो गुफाभित्र, लुकेर कति बस्नु सधैं यहाँ ?
म काँडा र हिलोको बाटो, सहजै पार तरेर आएँ ।
सधैं जसले समाजमा, डरको खेती मात्र गर्यो,
सामु उसकै दृढ भई, विना धक्कु डरेर आएँ ।
उदासी र रुवाबासी, कति बाँड्नु यो संसारमा,
जहाँ पुगेँ खुसी अनि, मुस्कान मात्र छरेर आएँ ।
सिध्याउन मलाई यहाँ, कतिले जाल बुने बरु,
तिनकै कुटिल चालमा, जानीजानी परेर आएँ ।
कुरा के गर्नु स्वार्थीको, पुरानो त्यो कुरुप सोच,
दुनियाँको मरेको त्यो, मनै आज मरेर आएँ ।
पन्छाउँदै दुःखका पहाड, उज्यालो क्षितिजतिर,
हिजोका सारा रोदन, क्लेश मनको हरेर आएँ ।
उन्मुक्त आकाशमा चरा झैं, पखेटा फिँजाएर फेरि,
देशको यो माटोमा, सुनौलो भविष्य चरेर आएँ ।
०००
२०८३ जेठ २ गते ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































