साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ४७६ औँ शृङ्खलामा पुस्तक लोकार्पण एवम् कविगोष्ठी

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा पूर्वराजदूत एवम् राजनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं । बुढानीलकण्ठ नगरपालिकासँगको संयुक्त आयोजनामा नगरपालिकाकै सभाकक्ष, हात्तीगौँडामा साहित्य सन्ध्याको नियमित मासिक ४७६ औँ विशेष शृङ्खलामा ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ विषयमा विशद चर्चा गरिनुका साथै दुई कृतिको लोकार्पण एवम् कविगोष्ठीको आयोजना गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा पूर्वराजदूत एवम् राजनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको उपस्थिति रहेको थियो ।

अतिथिहरूमा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख एवम् सशक्त कवि अनिता लामा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् प्रखर समालोचक प्रा.डा.यादवप्रकाश लामिछाने, साहित्य सन्ध्याका सल्लाहकारद्वय प्रा.डा.जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्राज्ञ नर्मदेश्वरी सत्याल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी तथा वर्तमान उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी.न्यौपाने, वरिष्ठ साहित्यकार रामबहादुर पहारी, डा.गोविन्दप्रसाद आचार्य, डा.कृष्ण सुवेदी, लक्ष्मण तिमिल्सिना, कणाद महर्षि, कृष्ण बाउसे, कात्यायन, महेशराज खरेल, विन्दु अधिकारी ढकाल, खेमराज निरौला, ओमप्रसाद कोइराला, डा.पुरुषोत्तम सेढाईँ, साहित्यकार बालिका गिरीलगायतको भव्य उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि पूर्वराजदूत एवम् राजनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठले ‘नेपालको भूराजनीतिक विशेषता र ध्यानदिनुपर्ने विषय’ विषयमा विशद चर्चा गर्नुुहुँदै यो संसारमा कोही कुनै मुलुकले पनि भूगोल र छिमेकी परिवर्तन गर्नसक्तैन । हाम्रो मुलुक दुई ठुला मुलुकका बिचमा रहेको छ र स्वाधीन मुलुक भएकाले डाइनामिक ब्रिजको काम गरेको छ तर अहिले बफर स्ेटेट भनेर भ्रम छर्ने प्रयत्न गरिएको पाइए पनि हाम्रो मुलुक बफर स्ेटेट हुँदै होइन । एमसिसी आएपछि तीन ठुला मुलुकबिचको तरुलको अवस्था हुने भने देखिँदै छ । अहिलेको हाम्रो संसद्मा प्रोअमेरिकन सांसदहरू पुगेका छन् ।

नेपाल नरम छ तर यो कोमल तरुलको अस्तित्व भने ठुला मुलुकले स्वीकार गर्नु आवश्यक छ । हाम्रो मुलुकलाई सोध्दा पनि नसोधी हाम्रो भूमि प्रयोग गरेर भारत र चीनले कैलाश मानरोवरसम्म जाने बाटो निर्माण गर्नु बद्नियत हो । अहिले संसारमा वातावरणीय प्रदूषण ठुला मुलुकका कारणले भएको छ तर हाम्रो हिमाल नाङ्गियो भने भने वा हिउँरहित भयो भने कथित ठुला भनाउँदा मुलुकलाई पनि ठुलो असर पर्छ । हिमालको अन्तगर्भमा रहेका प्लेटहरूको घर्षणले भूकम्पीय जोखिम बढिरहेको तथ्य विज्ञानले नै पुष्टि गरिरहेको छ र यो भनेको पातालको द्वन्द्व हो । सन १९५१ मा भारतले चिनियाँ सीमामा आक्रमण गर्यो र १८ ठाउँमा सेनाको टुकडी राख्यो तर सन १९६२ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले आपत्ति जनाएपछि १७ ठाउँका सेना फिर्ता भए तर कालापानीका सेना फिर्ता भएनन् ।

लेपुलेकमै चीनविरोधी खम्पा विद्रोहीलाई नेपाली सेनाले समाप्त पारिदिएको र चिनियाँ सेनाले खम्पा ठानी नेपाली सेनामाथि आक्रमण गरी एकजना सैनिकको मृत्यु हुँदा नेपालले आपत्ति जनाएपछि चिनियाँ पक्षले नेपालको इतिहासमै लिखित क्षमयाचना गरेको छ । यति गम्भीर भूराजनीतिक अवस्था नबुझेको वर्तमानको हाम्रो नेतृत्व नागरिककै तहमा सन्त्रास फैलाउन उद्दत रहेको देखिन्छ ! अहिले देखिएको शपथग्रहणकै दिनको धर्मसापेक्ष गतिविधि संविधानको मर्मविपरीत देखिन्छ । शासकको मैमत्त, भुइँफुट्टा र सर्वज्ञ शैली नेपालको भूराजनीतिसँग मेल नखाने खालको देखिएको छ । विधिको शासन भएन भने लोकतन्त्रको मर्ममा प्रहार हुन्छ । युक्रेनका जेलिन्स्कीको जस्तो छिमेकी चिढ्याउने काम उपयुक्त हुन्न । नेपालको भूमिमा विदेशी सेना परेड खेल्न दिइनु हुन्न, हुँदैन ।

वास्तवमा नेपाल शान्तिको क्षेत्र हुनुपर्छ । शान्तिको क्षेत्र बनाउनु भनेको सन १९५० को असमान सन्धिको विरोध पनि हो । राजदूत भनेका राष्ट्रका दूत हुन् र तिनीहरूको नियक्ति गर्दा विषयविज्ञको चयन गरिनुपर्छ । देशलाई आपत पर्दा देशका निम्ति लड्न तयार हुनेगरी युवालाई सैनिक तालिम दिइनु आवश्यक छ ।

‘आफ्नो देशको रक्षा आफ्नै जनताबाट’ भन्ने नारा नै तय गरिनु उपयुक्त हुन्छ । हाम्रै देशमा पत्ता लागेको ग्यास उत्खनन गरी आयात प्रतिस्थापन गर्ने र कुनै मुलुकविशेषसँगको परनिर्भरता हटाउने काम गरिनु आवश्यक छ । युवालाई मुलुकको समृद्धिको पुल मानेर द्वन्द्वग्रस्त मुलुकमा नेपाली युवा पठाउने परम्परा बन्द गरिनुपर्दछ र जलेको मुलुकको पुननिर्माणमा युवालाई लगाएर स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्दछ । आइटीको क्षेत्रले पनि युवालाई रोजगारी सिर्जना हुनसक्तछ । त्यसैले राज्यका शासकहरू हाम्रो मुुलुकको सम्वेदनशीलतालाई विचार गरेर अत्यन्त गम्भीर हुनु आवश्यक छ भन्नेसमेतका विभिन्न तथ्यहरू, दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा साहित्यकार लक्ष्मण तिमिल्सिनाद्वारा लिखित ‘पुष्पाञ्जली’ खण्डकाव्य र ‘युगसन्देश’ कवितासङ्ग्रहको प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो र लोकार्पित ‘युगसन्देश’ कवितासङ्ग्रहमाथि डा.गोविन्दप्रसाद आचार्यले समीक्षा गर्नुहुँदै कवि लक्ष्मण तिमिल्सिना खारिएका र शास्त्रीय छन्दलाई आफ्नो नियन्त्रणमा राखेर सिर्जना गर्ने कुशल शिल्पी हुनुभएको; सङ्ग्रहका कवितामा छन्द, अलङ्कार, विम्ब, प्रतीकको सुन्दर प्रयोग गरिएको देखिन्छ । कविको सिर्जनामा कलात्मक वैचारिकताको पनि प्रयोग होस् र पछिल्ला कृतिमा सांस्कृतिक सुधार गर्नुपर्ने पक्ष पनि देखाइदिनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी लोकार्पित ‘पुष्पाञ्जली’ खण्डकाव्यको समीक्षा गर्नुहुँदै डा.कृष्ण सुवेदीले वि.सं.२०१६ सालमा जन्मिएर ३० वर्षसम्म शिक्षण पेसामा रहेका र अवकाशपछिको जीवन साहित्यसिर्जनामा लगाएका लक्ष्मणको यो खण्डकाव्यमा छोरीको जन्मदेखि विवाहसम्मका सामाजिक सन्दर्भका पक्षलाई उजागर गरिएको छ । २४ अध्यायमा विभक्त यो खण्डकाव्य काव्यमय आख्यानका रूपमा आएको छ भन्नेसमेतको धारणा राख्नुभयो । कृतिकार लक्ष्मण तिमिल्सिनाले आफ्ना कृति लोकार्पणको अवसर जुटाइदिने साहित्य सन्ध्या, लोकार्पण गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरू अनि समीक्षा गरिदिने दुबैजना विशेषज्ञ व्यक्तित्वप्रति हार्दिक धन्यवाद दिनुभएको थियो ।

समारोहमा ओमप्रसाद कोइराला, कणाद महर्षि, वासुदेव अधिकारी पाँचथर, विश्वनाथ तामाङ, अनिता लामा, बलराम विष्ट, कात्यायन, खेमराज निरौला, महेशशराज खरेल, विन्दु अधिकारी ढकाल, कुमार नेपाल, गङ्गा कर्माचार्य पौडेल, राधिका सापकोटा, कृष्ण बाउसे, वासुदेव अधिकारी, पारसनाथ आचार्य, नित्यराज आचार्य, गङ्गा खड्का, यशोदा अधिकारी, नर्मदेश्वरी सत्याल, राजन आचार्य, बालिका गिरी, गणेशकुमार मिश्र, धनबहादुर मगर, महेन्द्रप्रकाश सिलवाल र अच्युत घिमिरेले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि नगरप्रमुख मिठाराम अधिकारीले लामो इतिहास निर्माण गरेको साहित्य सन्ध्या र यहाँ उपस्थित सबै साहित्यकार तथा साहित्यानुरागीलाई हाम्रो नगरपालिकामा स्वागत गर्दछु । यो नगरपालिका यहाँ बसोवास गर्ने सबै नागरिक मिलेर निर्माण गरिएको हो । मुलुकको रक्षाका निम्ति कलम चलाउने र कलमको शक्ति देखाइदिनुहुने स्रष्टाहरूलाई आज हामीले स्वागत गर्ने अवसर मिलेको छ । साहित्य, कला, संस्कृतिको जगेर्ना आवश्यक छ भन्ने हामीले बोध गरेका छौँ र सोहीअनुसार सहकार्यका हात बढाएका छौँ, बढाइरहने छौँ तापनि हाम्रो नेतृत्वपछि समेत यसले निरन्तरता आओस् भन्ने चाहना रेहको छ भन्ने धारणा राख्नुभयो । उपप्रमुख एवम सशक्त कवि अनिता लामाले चार दशकको इतिहास बोकेको साहित्य सन्ध्या मेरो आफ्नै संस्था हो । केही वर्षअघि यो संस्थाले मलाई पुरस्कृतसमेत गरेको सम्झना मेरो मनमा ताजा नै छ । यो सहकार्य अलि पहिले नै गर्न मन थियो तापनि आज यो अवसर परेको छ र मलाई अत्यन्त खुसी पनि लागेको छ । त्यसैले म सम्पूर्ण स्रष्टा एवम् साहित्यानुरागीलाई स्वागत गर्दछु भन्नुभयो ।

वाचित रचनामाथि समीक्षा गर्नुहुँदै समालोचक प्रा.डा.यादवप्रकाश लामिछानेले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । आज वाचित कवितामा राष्ट्रप्रेम, राष्ट्रियता, सुधार तथा रूपान्रणको अपेक्षा गरिएको छ । अहिले राजनीतिक परिस्थितिले कोल्टे फेरेको र स्रष्टाले सचेत हुनुपर्ने सन्देश कविताले सम्प्रेषण गरेका छन् । व्यङ्ग्यात्मकता र प्रतीकात्मकता सुन्दर ढङ्गले अभिव्यक्त भएको पाइन्छ । अहिलेको सत्ताको त्रूmरता, अँध्यारो र आतङ्कको सन्दर्भ कवितामा उजागर भएको पाइन्छ । छिमेकीको हस्तक्षेपकारी नृशंसता उजागर गर्ने र ग्रेटर नेपालका पक्षमा कविताले बोलेका छन् ।

वर्तमानमा अनेक खालका सकस भए पनि निष्ठापूर्वक गन्तव्य तय गर्नुपर्ने सन्देशात्मक वैचारिकता पनि कवितामा अभिव्यक्त गरिएको छ । आदेश शिरोपर गर्ने होइन अस्तित्व रक्षाका लागि निडर हुनुपर्ने र विध्ंवसका विरुद्धमा उभिनुपर्ने सन्देश कविताले दिएको पाइन्छ । कोलाहल र आतङ्कले मुलुक बन्ने होइन भन्ने सशक्त सन्देश कविता दिइएको छ । बुढानीलकण्ठको पहिचान तथा परिचय पनि कवितामा आएको छ । राज्यसत्ताले निम्नवर्गका प्रति सहानुभुति पो राख्नुपर्नेमा आतङ्क फैलाइएकोप्रति आक्रोश व्यक्त गरिएको छ ।

कवितामा उज्यालोको पक्षधरता र निरङ्कुशताको विरोध गरिएको छ । साथसाथै वातावरण निरङ्कुशतातर्फ मोडिएकोमा चिन्ता व्यक्त गरिएको छ । मानवीय अस्तित्व समाप्त पार्नखोजिएकोप्रति आक्रोश व्यक्त गरिएको छ । मर्यादाहीन नाता आवश्यक हुन्न र ठेस लाग्ने ढुङ्गा पनि आवश्यक हुन्न भन्ने कडा वैचारिकता पनि कवितामा सम्प्रेषण गरिएको छ । कवितामा स्वाभिमानको वकालत गरिएको छ । सहर कहर भइरहेकोमा कवितामा चिन्ता व्यक्त गरिएको छ । मानवीयता रित्याउन खोज्ने प्रवृत्तिको कविताले सशक्त विरोध गरेका छन् । जहिल्यै पनि नेपाली जनताले निरङ्कुशतासँग लड्नुपर्ने नियति उजागर गर्दै माटोप्रति माया गरिनुपर्ने भाव अभिव्यक्त गरिएको छ । वर्तमानमा गरिबले भोगेका भुक्तमानको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत कवितामा दिइएको छ ।

कवितामा आगामी दिन राम्रा हुने सङ्केत नदेखिएको पक्षको चर्चा गर्दै वर्गीय पक्षधरता देखाइएको छ । कवितामा बेथितिमूलक राजनीतिक परिदृश्यको चित्रण गर्दै देखिने डोजरभित्र निरङ्कुशता हाबी भएकोप्रति चिन्तायुक्त आक्रोश व्यक्त गरिएको छ । शान्तिका हिमायती बुद्धको पुनरागमनको अपेक्षा पनि कवितामा गरिएको छ । गरिबको थातवास उठाउने विध्वंस किमार्थ स्विकार्य नभएको आक्रोश पनि कवितामा अभिव्यक्त भएको छ । आजका प्रायः कवितामा समसामयिक परिवेश जीवन्तरूपमा चित्रण गरिएको छ । कवितामा सुन्दर नेपालको परिकल्पना गरिएको छ र गाउँको मानवीकरण गरी युवालाई स्वदेश फर्कन आग्रह पनि गरिएको छ । साथसाथै युवाले नै मुलुक हाँक्नुपर्ने आग्रह पनि गरिएको छ । पीछडिएको तराईको जातिले संस्कृतिको जगेर्ना गरेका थिए, भूमि ऊर्वर बनाएका थिए तापनि उनीहरू नै सुकुमवासी बनाइएको निर्मम पीडा पनि कवितामा उजागर गरिएको छ । नवसामन्तको आगमन चिन्ताग्रस्त रहेको भाव पनि कवितामा अभिव्यक्त भएको पाइन्छ । आजका कवितामा कलात्मक वैचारिकता प्रबल रूपमा आएको छ तापनि हाम्रा सिर्जनामा बोली र व्यवहारको तालमेल मिल्नु आवश्यक हुन्छ । निरपेक्ष स्वतन्त्रताले वर्गीय चेतना समेट्दैन; रूप र अन्तरवस्तुको संयोजन अत्यावश्यक हुन्छ भन्ने हेक्का चाहिँ राख्नै पर्छ । समग्रमा आजको यो विशेष समारोह सार्थक रहेको छ । यस समारोहमा उपस्थित भएर वाचित रचनामाथि टिप्पणी गर्ने अवसरका लागि म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । आजको यो विशेष समारोह भने बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा नगरपालिकाकै सभाकक्षमा आयोजना गर्ने अवसर प्राप्त भएको छ र यो अवसरका लागि नगरपालिकाका प्रमुख मिठाराम अधिकारी तथा सशक्त कवि उपप्रमुख अनिता लामाप्रति हार्दिक आभार पनि प्रकट गर्दछु । आजको यो विशेष समारोहमा पनि पुराना र स्थापित पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । हामी जेजति यहाँ उपस्थित हुनसकेका छौँ गुणस्रीय र भव्य उपस्थिति रहेको छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज उठाउने वा बहसको थालनी गर्ने कार्य गरिरहेका छौँ ।

हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘नेपालको भूराजनीतिक परिवेश र ध्यान दिनुपर्ने विषय’का बारेमा विद्वान व्यक्तित्व पूर्वराजदूत एवम् राजनिितक विश्लेषक हिरण्यलाल श्रेष्ठले विभिन्न तथ्ययुक्त दृष्टान्तसहित विशद चर्चा गरिदिनुभएको छ । विशिष्ट अतिथि नगरप्रमुख मिठाराम अधिकारीले साहित्यका प्रति सकारात्मक धारणा अभिव्यक्त गरिदिनुभएको छ । कविहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको छ र वाचित सिर्जनामाथि समालोचक प्रा.डा.यादवप्रकाश लामिछानेले मसिनोगरी विश्लेषणात्मक समीक्षा गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ ।

वर्तमानमा देखिएको अराजकता, उग्रता, आतङ्कवादी प्रवृत्ति र भ्रम छर्ने प्रवृत्तिका विरोधमा हामी स्रष्टाको कलम चल्नु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु, आभार प्रकट गर्दछु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
रमेश पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x