रामप्रसाद अर्याल ‘अविराम’मलाई मनपर्ने दलको दाल
आफूले अरुलाई डाँटे पनि आफैले आफैलाई डाँट्न सकिँदैन । म विश्वासघाती हूँ। एउटाको घरको गास अर्कोको घरमा बास । बाहिरको खान पत्किएपछि घरको नमिठो भएकै हो ।

रामप्रसाद अर्याल :
मलाई दल नामको दाल असाध्यै मन पर्दछ । हैन यो दल र दालको के नातो पर्दछ भन्ने प्रश्न उठ्ला ? यसमा म के मात्र भन्द्छु भने जुन नातो जाँतोको हाँतोसंग हुन्छ सोही नातो दलसंग दालको रहेको हुन्छ । यसलाई अलि फराकिलो पारौँ जुन नातो माटो र ढुङ्गाको, केराको बोट र बुङ्गाको र आँखा र आँसुको, फूललाई मालीको र भाषणमा तालीको हुन्छ सोही सम्बन्ध दल र दालको छ।
भान्सालाई परिपूर्ण गराउने चिज भनेको दाल हो । त्यस्तै मान्छेलाई भरिपूर्ण पार्ने बस्तु दल हो । दाल दिनै पिच्छे बदल्न सकिन्छ । यो बदलेपछि भान्सा मिठो हुन्छ। मिठो चिज भेटाएपछि जिभ्रो रमाउँछ। जिभ्रो स्वादे हुन्छ । यो फड्कारिन्छ ट्वाक्क ट्वाक्क । मिठो बस्तुको दुनो सानो भयो भने रुनु न हाँस्नुमा परिन्छ। त्यै दुनो ठुलो भयो भने आँत भरिन्छ ।
आँत भरिलो भएकाको छाँट अर्कै हुन्छ । सर्वसाधारण मानिससँग काँट मिल्दैन । काँट नमिल्नुको अर्थ डाँट हुनु हो । ढाँटहरुको फाँट फराकिलो हुन्छ । फॉट फराकिलो भएपछि दौलत थुपार्ने आँट आउँछ । भनाइ नै छ नि “कि खान्छ आँटले कि खान्छ ढाँटले । हामीकहाँ यी दुबै थरी आँटी र ढाँटीले मस्त संग खाइरहेका छन् कहाँकहाँ के के खाएकाछन् ? मैले भन्नु पर्दैन । तपाईं आफै जानकार हुनुहुन्छ। ज्ञानी मान्छेले जुँगा चलेपछि कुरा बुझी हाल्दछन् ।
मैले पहिले नै भनि पनि सकेको छु कि दल र दाल भन्नु उस्तै उस्तै हो। हात्ती र हात्तीछाँप चप्पाल जस्तै बलियो । हातीलाई बलियो भने पनि माने पनि एउटा सानो अंकुशले वशमा पारेको हुन्छ । त्यस अर्थमा अंकुश निरङ्कुश हुन्छ । बरु कुश उदारमना हुन्छ । अपवित्र भएका जति सबैलाई पवित्र बनाउँछ । एउटा साशक निरङ्कुमा भए सारा दुनियाँलाई तह लगाउँछ । हत्या गर्दछ, दुःख पुर्याउँछ । तर कुशने दुःख परेका, आशौचमा बसेकालाई चोख्याउँछ ।
हो दलले पति रिट्ठो नविराइकन ठ्याक्कै त्यही काम गर्दछ । चोर, डाका हत्यारा, बलात्कारी, घुस्याहा, मुल्माहा, हुल्याहा र फटाहालाई आफ्नो दलमा सामेल गर्दछ । चुनाव जित्नु न पर्यो। चुनाउमा चाहे विद्वान होस् चाहे मूर्ख भोट बराबर हुन्छ । सर्त के छ भने दुर्जनले अबैध तरिकाबाट कमाएको र ल्याएको पैसा दललाई चन्दा स्वरूप तिर्नु पर्दछ । अनि त टिकट, पद, मान र सम्मान पक्का । अचेल पद पनि क्रय विक्रयको बस्तु बनेको सुन्न, देख्न, अनुभव गर्न सहजै सकिन्छ ।
दल मन पर्नुका पनि धेरै कारणहरु छन् । बर्षामा च्याउ र धेरै नहिडेको बाटामा ल्याउ उम्रे मmैं चुनाउताका उम्रिएका हुन्छन् दलहरु । खोजीखोजी, रोजीरोजी, छानीछानी लिन र छोड्न सकिने । हेर्न छाम्न, खाम्म पाइने । चित्त नबुझे छाडेर हिड्न सकिने । चोखो, सिद्धान्ततिष्ठ, इमानको खेतीगर्ने, समाजसेवी दल भेटाउन भने आजको जमानामा सज्जन मान्छे भेटाउन जत्तिकै गाह्रो छ। कलंकको टिका बोक्न सक्ने नकाम गरेर सकाम गरेको छु भनेर खोक्न सक्ने हुनाले लोकप्रियता बढ्दो छ दलको । कर्तव्य र निष्ठाको भारी बोक्न गाह्रो हुन्छ । भारी बोकेर चर्चाको शिखर चढ्न सकिंदैन । पसिना आउँछ। खुट्टा काम्दछन् । थकाइ लाग्दछ । त्यसैले ओरालो यात्रा सजिलो । लडे पनि, गुल्टिए पनि ऊँधो सलल ।
दल पनि क्षेत्रीय, स्थानीय, भेगीय, जातीय, धार्मिक र साम्प्रदायिक हुन्छन् । त्यसो त राष्ट्रिय, अन्तर्राष्ट्रिय र अराष्ट्रिय समेत हुन्छन् । अराष्ट्रिय भए पनि नाम चाहिँ राष्ट्रिय नै राखेका हुन्छन् । उनीहरुको मूल मन्त्र देश र जनता, राष्ट्र र राष्ट्रियता रहेको हुन्छ । भलै कामको नाममा सिन्को भाँच्न नपरोस् । पत्रकारहरुले तपाईंको दलले घोषणापत्र अनुसार काम किन गरेन ? भनेर प्रश्न गरे भने बनिबनाउ उत्तर आउँछ “विपक्षीको विरोधले गर्न सकिएन“।
दल नामका दालहरु तपाई हाम्रै खेत खोरिया, भेग एरियामा हुन्छन्। फुल्छन्, फल्छन् । यी राता, काला, सेता, हरिया छिर्केमिके देखिन्छन् । एक दलीय दुई दलीय र बहुदलीय प्रकृतिका हुन्छ दालहरु। यी लहरेबालीका रूपमा लहलहाउँछन् । झेक्रा र थाँक्रा बिना यिनको गतिमत रहँदैन । हिमाल, पहाड, तराई जहाँसुकै जस्तो सुकै माटो, हावा र पानी भए पनि कोसा फल्ने, ठोसा चिमोट्न, निमोठ्न सकिने अत्यन्त प्रोटिन युक्त हुन्छन् ।
दलमा लागे पछि वा दलको दाल खान पल्किएपछि भुइँमान्छेको पनि फुइँ बढेको देखिन्छ । अथवा यसो भनूँ– अदुवा, मरहट्टी, लसुन, टिमुर, ज्वानोमा जुन बेसार हालेर, पानीमा रालेर छाक टार्ने, भान्सा उतार्नेसंग उनीहरुको छाँटकाँट मिल्दैन । धर्तीपुत्रका लागि गुन्दुकको झोल अनमोल हुन्छ । उनीहरूले दालभात खान सराद्दे तिथि, मेलो पर्व, अथवा पाहुना घरमा आउनु पर्छ ।
दल र दाल जुन रङको भए पनि मिल्ने भातसित हो। र जाने हातमा, पातमा र पुग्ने पेटमा हो । यी चिजका रङ अनुसार स्वाद फरक फरक हुन सक्छन । तर आम मानिसले दल र दालको गुण, धर्म, सिद्धान्त, विधि, व्यवहारमा फरक छुट्याउन सक्तैनन् । तापनि देख्दा फरक फरक हुन्छन् ।
साना,मसिना, ठुला मोटा देखिए पनि मौसम र सिजन अनुसार दृष्टि र भिजन अनुसार ठूला सानामा, साना ठुलामा परिणत हुन्छन् । थ्रेसहोल्ड कटाउन नसके दलको दालले राष्ट्रिय मान्यता पाउँदैनन् । राष्ट्रिय मान्यता नपाएपछि सुक्रीबिक्री बन्द हुन्छ । उसको खेती खुम्चिन्छ। यो याम दल र दालको चर्चा हुने याम हो । सानो भनेर, तुच्छ गनेर कसैले पनि हेप्न चेप्न पाउँदैनन । कुनैकुनै दाल देख्दा साना दानाका भए पनि गुणकारी, हितकारी हुन्छन् । मुङ, मास, मसुरोको माग व्यापक छ ।
पुराना, दुलादानाका दाल खाँदाखाँदा हैरान भएको मुखले, दुख झेलेको पेटले सानासाना मुरागुरी जस्ता लपक्क पाक्ने, दालका दाना आश गरेको हुन्छ । दाल सत्ताको भातसँग लपक्क जोडिन चाहन्छ । बेला न कुनेला ठाउँ न ठहर जोडिने रहरमा हुन्छ ।
दाल द्विदलीय बनाए पनि एकदलीय भनाए पनि यो मूलतः बहुदलीय प्रकृतिको र प्रवृत्तिको हुन्छ । दाल भिजाएर, तारेर, भुटेर बिरस्ता बताएर सिरम्लासंग खाए पनि हुने । विभिन्न बास्नादार बस्तुले झानेर , फ्राइ गरेर मसालेदार बनाएर खाए पनि हुने । परान धान्न घिउले झान्न पाए समाएर तनतनी पिउन सकिन्छ ।
दल र दाल पनि स्थानीय तह देखि लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका हुन्छन् । अन्तर्राष्ट्रिय हुन अन्तर्राष्ट्रिय सहयोग र समर्थन चाहिन्छ । स्वदेशी दाल बिदेशी कसरी हुन सक्छ भन्ने प्रश्न उठला ? त्यो सजिलै हुन सक्तछ । विदेशीले भन्दिए पनि हुन्छ । मान्एि पनि हुन्छ ।
तन यहाँको मन उहाँको हुन सक्तछ । ज्यान स्वदेशी भए पनि विचार सिद्धान्त, र हित विदेशीको गर्न सकिन्छ । अनि बल्ल ब्राण्ड बनिन्छ । धेरै स्वदेशी दालहरु विदेशमा गएर शिक्षित दीक्षित भएर गुणस्तर प्राप्त गरेर नेपालीका भातभान्सामा आएका र आसन जमाएका हुन्छन् । कच्चा पदार्थ, सस्तोमा विदेशमा निर्यात गरेर महंगा बस्तु आयात गरे जस्तो। लेवर पठाउने इन्जिनियर झिकाउने । हामी कम्ता का बाठा छौं र ? आफूले आफ्नै माटोमा उत्पादन गरेको दाललाई कौन पुछे खेसरीका दाल भनेर हियाउँछौं। जात हाल्नु गहतको झोलमा भनेर खिसी पाछौँ । उसो त “नजिकको जोगी भातमारा टाडााको जेोगी सिद्ध“ भनेर पुज्दछौँ । यो हाम्रो विशेषता नै हो ।
पुरानो दल र दाल दुवैमा घुन पुत्ला लाग्न सक्छ । पकाउँदा राम्ररी पाक्दैन । नयाँको जस्तो मिठो चोपिलो स्वाद पनि हुँदैन । त्यसले मानिसको जिब्रैोको स्वाद जित्दैन । बाद्य भएर किन्नु खानु, गुजारा चलाउनु एउटा कुरा । खुशीका साथ तृप्त हुनेगरी खानु अर्को कुरा । फेरि नयाँले नयाँ चिज, नयाँनयाँ स्वाद नै जिब्रोले रुचाउँछ, रुचाइन्छ । त्यो आफ्नो स्वतन्त्रताको कुरा हो ।
पुरानो दालको तत्व उडिसकेको हुन्छ । नयाँ देखाउन पालिस दल्नु भनेको । रोगी जीर्ण ज्यानमा मालिस गरे जस्तो मात्र हो । पोलिस गरेको अखाद्य तत्व खाएपछि रोगले माया लाएपछि छिट्टै पुरानो, बुढो, हुन पाइने । बुडोलाई घरको अर्गानिक खाना चाहिने । तर आजका नयाँ पुस्तालाई होटलको । तर यो मात्र कहाँ हो र ? बडाहरुलाई पनि नयाँ युगचेतको चाहना हुन्छ । नयाँ चिजप्रति आकर्षित हुन्छन् ।
अहिले हामी नयाँ युग चेतनाले प्रभावित छौँ। । त्यसबाट जेन्जीहरु मात्र होइन पुराना बुढाबुढी भनिनेहरु समेत अछुतो रहेनन् । उनीहरु मुखले नयाँ दलको दाल खानमात्र होइन दिमागले समेत नयाँनयाँ शव्दजालको प्रभावमा परिसकेका छन् । उनीहरुको दिमागमा “ डिपस्टेट, डार्क पि.आर, अल्गोरिदम र इकोचेम्बरले राम्रैसंग घरजम गरेर बसेको छ । त्यसबाट दुईकोस दूर नगएसम्म सत्य र तथ्य कुरा बुझिने पनि छैन ।
म गोज्याङ्ग्रे यो दल राम्रो, यो दाल मिठो, यस्ले भनेको पनि हो झैं उसले भने पनि हो झै मान्दछु । आफ्नो पन हराएको धेरै भयो। आकाश पाताल गरेर खोज्दा पनि भेटिंदैन । पुराना ज्योतिष र नयाँ ब्ष् ले पनि बताउँदैन । आफ्नो आँखा अगाडिको बस्तु, घटनाको सत्य र तथ्य बुभ्mन, अनुभव गर्न छुट्याउन नसक्ने म । सात समुद्र पारिको सञ्चार माध्यमले के भन्छ भनेर ठनास्ने म । मेरो दलले के भन्छन् ? मेरोदलका नेताले के भन्दछन् । त्यसमा पनि आफ्नो लवी, गुटका नेताले के भन्दन भनेर पर्खिने म । आलोचनात्मक, विश्लेषणात्मक चेत विचेत भएको म । तैपनि आफूलाई कम्ताको ठान्दिन ।
पुरानो दलकी सत्ता सुन्दरीको मोह पासमा लट्ठिएको बहुलट्ठी म। इमान र नैतिकता बेचेर मर्यादाको पाठ पठाउने म। एक दलको भलो चिताएर बहुदलको गीत गाउँने म । पुरानीसंग जीवन विताएर नयाँको नखरामा लहसिने म ।
अहिले म नयाँ दलको बाक्लो, मिठो, रसिलो दालखान लागेको छु। तापनि पुरानीको नम्रता, व्यवहार, संघर्ष, इमान, सहनशीलता, कर्तव्य निष्ठता भने भुल्ल सक्तिन । उनैले त हो मलाई यक्तिको लेख्न र बोल्न सक्ने बनाएको ।
मानिसले भन्ने गर्दछन्– आफूले अरुलाई डाँटे पनि आफैले आफैलाई डाँट्न सकिँदैन । म विश्वासघाती हूँ। एउटाको घरको गास अर्कोको घरमा बास । बाहिरको खान पत्किएपछि घरको नमिठो भएकै हो । अहिले हाम्रो भान्सामा विभिन्न दलबर्गका भाँडाबाट उछिट्टिएका कश्चकरा, ठिमाहा दाल बसालिएको छ । पाक्छ या पाक्दैन ? खान सकिन्छ या सकिंदैन ? भन्न सकिंदैन । हुन त हामी नेपालीलाई जमानादेखि नै क्वाँटी (सात थरीका गेडागुडी) खाने बानी परेको छ । यो हाम्रो संस्कृति नै हो । संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य नै हो ।
भोको पेट लखतरान भएको जिउ, दाल झानिएको घिउ। पेटले सहला कि उपर्तली लाग्ला ? जेत पर्ला सोही सोही टर्ला भनेर यो नयाँ सालमा नयाँ धरको नयाँ सत्ता सुन्दरीले पकाएको नयाँ दलको नयाँ दाल गमर्क्याइ गमर्क्याइ मैले खान थालें। मन परेको चिज नखाएर कसले छोड्छ र ?
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest






































