रामप्रसाद अर्याल ‘अविराम’जता मल्कु त्यतै ढल्कु
नरुचाए पछि चित्त नबुझे पछि श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान बदल्ने जमाना हो यो। दल बदल्नु त कुन ठूलो कुरा भयो र ?

रामप्रसाद अर्याल :
मिठो चिज धेरैलाई मन पर्दछ । भनूँ सबैलाई मन पर्दछ। तर समाजमा कोहीकोही बिखड्याहा प्रकृतिका हुन्छन् । धेरैले मन पर्यो, मैले रुचाएँ भने भने उनीहरुले मलाई मन परेन। मैले पटक्कै रुचाइन भनेर आफ्नो मत जाहेर गर्दछन् । यस्तालाई व्याकरणको भाषामा अपवाद भन्ने गरिन्छ । अपवादमा पर्न रुचाउनेहरुले काम भने गर्न फिटिक्कै रुचाउँदैनन् । यो उनीहरुको विशेषता नै हो। उनीहरुको तर्क हुन्छ काम नगरेरै खान पाइन्छ भने कसले पो दुःख गर्ला ?
गफ गरेरै आधा जीवन बाँचिराखिएको छ भने अव पनि गुजारा चल्छ नै । यिनीहरु “जता मल्कु त्यतै ढल्कु“ भन्ने र बन्ने उखानका विरोधी हुन् । यो याम भनेको हावाको गति हेरेर त्यतैतिर जाम भन्नेहरूको हो। खोला, नदीको बहाब हेरेर त्यतैतिर लागियो भने पार तरिन्छ । होइन भने बिच परिन्छ । उल्टो दिशातर्फ हिंडेर गन्तव्यमा पुग्नु भनेको सरकारले महंगी रोक्नु जस्तै हो । अहिले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि बजारको मुल्यभाउमा भएको बढोत्तरीलाई विकास भएको, उन्नति, प्रगतितिर देशलाई लगेको देख्ने आँखाहरुलाई धन्य भन्नै पर्दछ ।
मनुवाहरुको एउटा मुख हुन्छ तर दुईवटा भाका हुन्छ । आँखा चाहिं साह्रै चनाखा हुन्छन् । र त विपक्षीका भुसुना, माखा पनि देख्दछन् । आफ्नो पक्षको परे ठुला माछा पनि देख्दैनन् । देखिहाले भने पनि ढाकछोप गरेर कुरा मिलाउँछन् । लुकाउँछन् । पछि मिलेर वा एक्लै भए पनि लुकाउँछन् ।
पुराना जति सबै खराब हुन् । उनीहरूले आफूले मात्र खाए, भ्याए, देशलाई सखाप पारे भनेर, नयाँ बनेर चुनिएकाहरूले पनि उही पुरानै बाटो समाए र रमाए भने के को नयाँ भइन्छ र ? उही विचार उही सिद्धान्त । उनै अभिशाप बनेका पुराना नेताहरुका स्वार्थी, भाँतीभाँतीका छोरा, नाति, पनाति । नयाँ भनिएकाहरुका पनि नयाँनयाँ बर्कत अनुसारका हर्कत फ्री टिकट देख्न र सुल पाइएकै छ । आँखा चिम्म गरेर उतैतिर लाइएकै छ । त्यतातिर नलागे बस्न र खान पो कहाँ पाइएला र ?
अर्को कुरा पनि त छ । अधिकांश मानिस शक्तिको भक्तितिर लाग्ने गरेको इतिहास साक्षी छ । शक्तिको भक्ति गरे ज्यान जोगिन्छ । होइन गलत कुराको डटेर सामना गर्दछु । असत्यको पछि लाग्दिन , डराएर भाग्दिन भनेर सहिको घोँचो समाएर बस्ने हो भने पेट पाल्न सकिँदैन । अर्काको पद, पैसा खोसेर, घरमा आगो झोँसेर बन्ल आफ्नो पेटको ज्वाला शान्त गर्न सकिन्छ भन्ने मान्यता धेरैमा रहेको हुन्छ । एकातिर खाल्डो पार्ने र अर्कोतिर चुल्याउने खेति सनातन देखि चलिआएको हो।
भार धान्ने खुट्टाले, स्वाद लिने जिब्राले त हो । भुपडीमा बस्नेहरुको घर भत्काउने, जलाउने , महलमा बस्ने हरुले हो। शक्ति उनीहरुसँगै, भक्ति उनीहरुसङ्गै । नियम, बेनियम बनाउने, व्याख्या गर्ने, उनीहरुले नै हो। तर गाँठी कुरा के छ भने आफूले बनाएको नियम आफूले मान्न, पालन गर्न पर्दैन। जसरी चुनाउ अधिसम्म शिर निहुराइन्छ, हात जोरिन्छ, चुनाउ जिते पछि उनकै काँध चढिन्छ ।
एकान्तमा बसेर शान्त मनले प्रकृतिको अनुपम छटा देखेर म पलक्तित हुन्छ । हिमाल टलक्क टल्केको हुन्छ । जोवन ढलक्क ढल्केको हुन्छ । त्यसोत ढाकाटोपी शिरैमा ढल्क्कै ढल्केको देखिन्छ । उचित मल, जल, गोडमेल पाए भने विरुवाहरु मलक्क मल्किन्छन् र हलक्क हल्किन्छन् । हो मानिसहरु, पनि अवसरको खोजिमा भौतारिँदै हिनेका हुन्छन् । त्यो बेला अलिकति गाँसको आस पाए भने लामो सास फेर्दै बास बस्न आइपुग्दछन् ।“जता मल्को त्यतै ढल्को“ त्यस्तै सूर्यमुखी फुल सूर्य जताजता लाग्दछन् त्यतै त्यतैतिर ढल्किन्छ ।
बनेको होइन । भनेको होइन । भनाइनेै छ “मौसम अनुसार चल्नु पर्दछ । सिजनको फलफूल, तरकारी, चिजबिज सुस्वादु हुन्छ। हितकारी हुन्छ । छेपारो मौसम अनुसार चल्दछ । कलर बदल्दछ । हरिया तरकारीमा हरिमा किरा लाग्दछन् । मूलघर छाडेर अन्यत्र जानेहरु ले धेरै उन्नति गरेका हुन्छन् । मूलघर त्यागेर नयाँघर बसाइँ सर्नेहरु ठुलै पदमा आसीन भएको देख्दा घरमूलीहरु भने उदासीन हुन पुगेका हुन्छन्। नदी निरन्तर बगिरहन्छ, बगिरहन्छ । र त कञ्चन हुन्छ, सफा हुन्छ, पवित्र मानिन्छ । ठाउँ छाडेर गए राज गर्न पाइन्छ । पहाडका बापति मधेशका सभापति भन्ने त चलनै छ ।
दिन परिवर्तन हुन्छ । वार परिवर्तन हुन्छ । ऋतु परिवर्तन हुन्छ । मान्छेहरु पनि परिवर्तन हुन्छन् । व्यवस्था पनि परिवर्तन हुन्छ । आन्दोलन हुन्छ। हुन्छ। विद्रोह हुन्छ । कसैलाई धपाइन्छ । कसैलाई हपाइन्छ र कसैलाई थपाइन्छ । सत्यजुगमा सत्येकै जित हुन्छ । असत्ये युगमा असत्यकै जित हुन्छ। कसैले मेरो गल्ती छैन । म अन्यायमा परें न्याय पाउँ भनेर हुँदैन । आफैले पालेको गाईजस्तो सुथो प्राणीले त भनेको बेलामा दुध दिंदैन, लात्तीले हान्छ ।भनेको बेलामा श्रीमतीले समेत खाना दिदिनन् भने मलाई भोट देउ, बहुमत देउ , सत्ता देउ भनेर पाईंदैन । पाएको बेलामा जन अपेक्षा अनुसार कार्य सम्पादन गर्न सक्नु पर्दछ ।
मैले अझैसम्म पनि नबुझेको कुरा के छ भने जनताले भोट दिएर जिताए भने जनता जनार्दन हुने अन्यत्रै भोट दिएर आफूलाई हराए भने जनता पनि भेंडै रहेछन् भन्न पाइने । एउटै नेता बदली बदली पार्टी फेर्न सक्दछन् । धर्मभिरुहरू धर्म फेर्न सक्दछन् भने मतदाताले व्यबस्था, नेता फेर्न किन नसक्ने । नेताले नीति, सिद्धान्त र खासकुरात व्यवहार बदले मतदाताले चिन्ह बदले। पार्टी बदले। त कौन सा ठुलो काम गरे ? मान्छेले श्रीमती बदल्दछन् । घर–हाडेरी जायश्रेधा बदल्दछन् । अन्तमा देशै पनि बदल्दछन् र आफ्नो चोला पनि बदल्दछन् ।
मान्छेको मन पनि कति छिटो बदलिने रहेछ । छिनमा मासा छिनमा तोला भए जस्तो । इतिहासकै कुरा गरौँ न । २०१७ साल पौष एक गते सेतो भनौ कि कालो काण्ड घट्न भन्दा दुई दिन अधि तत्कालीन प्रधानमन्त्री वी. पी. लाई पुरस्कार थमाए । त्यसको लगत्तैपछि भाषण गर्दागर्दै सेनाले चरपै समाए।
अनि त के चाहियो ? प्रधानमन्त्री सहित मन्त्रीगण सुन्दरीजलको मामाघारको जेलमा छिरे। बहुमत सभासदहरुले निर्दलीय पञ्चायती व्यवस्था नरामको नयाँजामा भिरे। अपवाद, एकाध सत्ताको स्वाद नरुचाउनेहरू पार्टीको बिउ जोगाउन बनारसतिरै फिरे । त्यसैले त्यतिखेरै जता मल्को त्यतै दन्को “ भन्ने लोकप्रिय उरखान चरितार्थ भएको हो ।
अहिले बसन्तऋतु चलिरहेको छ । ज्यामी माहुरीहरू, रसदार पुष्पवृक्षहरुमा गुनगुनाइरहेका हुन्छन् । भ्रमराहरु फुलेका फूलहरूमा भुन्भुनाइरहेका हुन्छन् । चराहरुलाई सिख्रोरुख मन पर्दैन । फिरन्ते चराहरु सिमसारक्षेत्र खोज्दै हाम्रै तालतलैयामा आएका र रमाएका हुन्छन् । किसानले पनौटेखेत खोज्दछन् । ज्यामी खेतालाले राम्रो ज्याला, मिठो नास्ता दिने मालिक रोज्दछन् । माघीपर्व आउन पर्छ वर्षवर्ष दिनमा हली अलगुवाहरूले जिमीदार फेर्दछन् । नरुचाए पछि चित्त नबुझे पछि श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान बदल्ने जमाना हो यो। दल बदल्नु त कुन ठूलो कुरा भयो र ?
उनै जनता, उनै मतदाता एकताका सबै नेपाली पञ्च, सबै पञ्च नेपाली“ को नारा लाएकै हो। उनै निर्दल, उनै बहुदल भएकै हो। फेरि हुनै गणतन्त्रबादी, उनै समाजवादी । उनै कांग्रेस उनै कम्युनिष्ठ । सत्तामा छउन्जेल ’दुईतिहाई रहुन्जेल “तेरै रैछ पालो तैलैइ उठा भुर्तालो“ भने झैं गरे। जनताले मन र मत बदल्न सक्तछन् भन्ने भेउ समेत भएन । अहिले पछुताएर पो के गर्ने ?
अहिले रास्पाको भान्सामा मल्कु पाकेको छ । धेरैको मन त्यतैतिर ढल्कु भैसकेको छ। तपाई पुरानै दलको घोंचो समाएर बस्नु हुन्छ कि के गर्नु हुन्छ ? तपाइँको विचार ।
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest






































