साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रम्हनालबाट प्रत्यक्ष प्रसारण

साथीले बिउँझाए पछि पो थाहा भयो सपना रै'छ धन्न बचिएछ । एफएम ट्युन गरेको त नारायण गोपालको गीत पो आइ रहेको रहेछ 'आजै र राती के देखें सपना मै मरि गएको'।

Nepal Telecom ad

डा. सुमनराज ताम्राकार :

म अहिले ब्रम्हनालमा लम्पसार छु । मलाई कात्रो र राम राम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एक पछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ अर्थात् हुँदैछ । हाम्रो त्यस्तो चलन छ क्या मरेको मान्छेले मुख खोल्दैन भन्ने थाहा हुँदाहुँदै पनि खाए खा नखाए घिचको स्टाइलले पानी ख्वाउने क्रम जारी छ । पानी ख्वाउन आउने थुप्रै थिए लाम त लामै रहेछ । लामै भन्या सिमकार्डको लाइन कोरिया जाने लाइन मन्त्री बन्नेहरुको लाइन जत्तिकै क्या मलाई पानी ख्वाउनहरु मध्ये सबैको त व्याख्या गर्न भ्याउँदिन केही नमूना भने प्रस्तुत गर्दछु ।

यस्तैमा मेरा साथी आए एकदम मिल्ने । साह्रै शोकमा थिए नहुन पनि कसरी सम्भवतः लँगाैटिया यार भन्छ क्यार त्यसपछि एक नौंटकी आए रोएको नाटक गरेर भित्रभित्रै त खुब हाँसिरहेका होला मोरो । मसँग मोटै रकम सापटी लिएको कुरा उ र म बीच मात्र सीमित थियो । उसको सात पुस्तालाई नभएनि एक दुई पुस्तालाई भने अवश्य पुग्ने मात्राको थियो ।

त्यहि लाइनमा एक विकास बैंकका कर्मचारी पनि देखें मैले । त्यो बैंक कर्मचारी भक्कानो छोडेर रोइ कराई म तिर आइरहेका थिए । यल्लाई चाहिँ म मरेकोमा साह्रै चिन्ता लागेको देखिन्थ्यो । अझ म मरेकोमा भन्दा क्षतिपूर्ति स्वरुप दिनुपर्ने बीमा रकमको चिन्ताको रेखी चाहिँ उसको निधारमा प्रष्टै देखिन्थ्यो ।

डाक्टर साब पनि थिए त्यो लाइनमा । यसैले त हो नी मलाई गलत उपचार दिएर मिति नपुग्दै डाँडा कटाएको । भनिन्छ नि कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा । त्यसपछि एकजना महाशय आए मलाई त पानी चढाई लालसलाम पारामा मुट्ठी कसेर हात उठाएर पो गए त । हाँस उठेर कस्तो मरेको मान्छे हाँस्नु पनि भएन

ओहो ऽऽ पुरुषको लाइनमा महिला शायद क्रमभङ्ग होला नत्र यस्तो अन्तिम समयमा पानी ख्वाउन कोही महिला आउनु हुँदैन हाम्रो चलनमा । ए ऽऽ यी त मेरो गोप्रे रहिछ अर्थात् गोप्य प्रेमिका । डाँको छाडेर रोएर गइन् । पानी ख्वाउने बहानामा मेरो लाशैसँग सहि अन्तिम पटक अँगालो पनि मारेर गइन् । अरु मलामीहरु त हेर्याहेर्यै ।

हलुवामा बालुवा भने झैं त्यस्ती सुन्दरी गोप्रे पछि यो यो मुर्दार पो आएछ । आखिरी समयमा अर्थात् मिति पुग्न पुग्न लाग्दा अस्पताल सम्म जानुपर्यो गाडी एकछिन चाहियो भनेर यो मुर्दारलाई फोन गर्दा आनाकानी गरेको कहिल्यै बिर्सन्न ल । अहिले चाहिँ हेर न पानी माथिको ओभानो बनेर सुँक्क सुँक्क गर्दै अँजुली भरि पानी बोकेर आइरहेको छ ।

यो त झन् नामीको व्यापारी । कात्रो र पिताम्बरमा पनि डेढी नाफा खाएर बेच्ने रहेछ अहिले हेर न ठिक्क पारेर टोपी सोपी नै फुकालेर आइरहेको छ । नक्कली जोगीले बढी खरानी घस्छु भने झैं । त्यो पछि आउने मान्छे रमाइलो छ शायद मक्खनचुस भन्छ क्यारे यस्तो मानिसलाई एक पटक उसले चिया खाँदै गर्दा उसको चियामा झिँगा खस्याथ्यो । अलिकति भएपनि चिया किन खेर फाल्ने भनेर चियामा खसेको झिँगा टपक्क टिपेर चुसेर फ्याँकी बाँकी चिया घटघटी पिएका थिए । अजब गजबका हुँदा रै छन् दुनियाँमा ।

यो साहुजी चाहिँ दङ्ग परे होला मलाई ब्रम्हनालमा लम्पसार देखेर र त्यो पनि यो हालतमा । उसलाई लाग्दो हो जहिले पनि मोलमोलाई गरी बार्गेनिङ्ग गरी वाक्क पार्ने एउटा ग्राहकको दिन पुगेको देखेर । त्यसपछि एक कप चियाको भरमा घण्टौं गफ छाट्ने गरेको चिया पसलका साहुजी पनि आएका रहेछ ।

एकजना सहकारीकर्मी पनि आएका रहेछ । बिचराको अनुहार कागती निचारेको झैं देखिन्थ्यो । शायद लगानी पानीमा डुब्यो भन्थान्यो आशयले भएपनि पानी ख्वाएर गए । तर त्यति विघ्न चाहिँ ऋण लिएको थिएन त्यो सँग ।

यस्तायस्तै नमूनाहरुको हरकत हेर्दाहेर्दै जोरीपारीको के हविगत होला भन्ने चिन्ता गर्दा गर्दै म त चिसिँदै पो गएँ त । अब पो आभाष भयो भात खान पुगेको सास फेर्न बिर्सेकाे  ।

थाहा छैन मलाई स्वर्ग पठाउँछन् कि नर्क यमदूत तथा चित्रगुप्तले बरु दोबाटोमै राखिदिए त दुबैतिरको ग्राहक आउँथ्यो नि । यहाँ पनि गरि खान हुन्थ्यो नि । ब्रम्हनालमा लम्पसार परेर नै आपुूमा चेतना आए देखिको जीवनयात्रा रि गरेर प्ले गरें । आपुूले खाए भोगे गरेका राम्रा नराम्रा कार्यहरु सब सम्झें ।

‘ए उठ् उठ् भन्या के निद्रामा बर्बराइरहेको भात खान पनि बिर्सिस् भात खान पुग्यो कि क्या हो ?’ डेरामा सँगै बस्ने साथीले बिउँझाए पछि पो थाहा भयो सपना रै’छ धन्न बचिएछ । एफएम ट्युन गरेको त नारायण गोपालको गीत पो आइ रहेको रहेछ ‘आजै र राती के देखें सपना मै मरि गएको’।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
अदालत

अदालत

आर.सी. रिजाल
विद्यार्थी जीवन

विद्यार्थी जीवन

अनुश्री आचार्य
सहरिया

सहरिया

सीताराम नेपाल
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x