रमेश समर्थनवरदान
"हेर, त्यहाँ पनि तिमीहरूका लागि भाेजनकाे समस्या त छ । स्वर्गमा जानेहरूले अन्न खाँदैनन् र त्याे नखाएपछि तिमीहरूको भाेजनकाे म्यान्युफ्याक्चरिङ पनि हुँदैन । अनि के खाएर बस्छाै त्यहाँ ?"

रमेश समर्थन :
कुराे अहिलेकाे त हुँदै हाेइन, पहिलेकाे पनि हाेइन । कुराे हाे खुइलेकाे उहिलेभन्दा पनि पहिलेकाे । जहिले यस धराधाममा आधाआधी मानव र पशुकाे नृसिंह भन्ने अवतार भएको पनि थिएन । अर्थात् बराह भनिने महावतारकाे समयकाे कुराे हाे जसलाई पुराकथा भने पनि हुन्छ र नभने पनि हुन्छ ।
तीनजना बराह त्रिमहाशक्तिहरूले आफ्नाे शक्तिबर्द्धन गर्ने महान् अभिलाषा मनविषे राखेर ब्रह्मा, विष्णु र महादेवकाे दिव्य बाह्र हजार वर्षसम्म मलखादकाे भक्षण नगरी निराहार रहेर घाेर तपस्से गरेछन् । त्याे तपस्से राउन्ने, कुम्भकर्ण र विभीषणकाे भन्दा पनि कडा रहेछ ।
उनीहरूकाे तपस्सेबाट चतुर्बाहु विष्णु सुतेकाे क्षीरसागरमा सुनामी आएछ र उनकाे नागशय्या डाेलायमान भएछ । शय्या डाेलेपछि शय्यामाथि शयन गरेका विष्णुकाे अर्ध शयनमुद्रामा पनि डाेलन भएछ । उनी डाेलेपछि “ढुङ्गा काप फाेरेर पनि उम्रिन्छ पिपल” भनेझैं उनकाे नाइटाेकाे काप फाेरेर उम्रेकाे कमलिनी नडाेल्ने कुरै भएन । कमलिनी पनि डाेल्याे, कमल डाेल्याे र डाेले चतुर्मुखी ब्रह्मा पनि ।
उता क्षीरसागरबाट धेरै टाढा गजधुम्म परेर बसेकाे कैलास पर्वतमाथि हिउँकाे चिसाेबा वचन ज्यानमा चिहानकाे खरानी घसेका र भाङ धतुराेले ज्यान तताएका भुतनाथ देवताका पनि देवता महादेवलाई पनि लागेछ कतै केही त असहज भएकाे छ र उनी पनि भाले याकमा चढेर खै कुन्नि कुन मार्ग हुँदै विष्णु र ब्रह्मा भएनिर पुगेछन् ।
तपस्से गर्नेहरूलेे धेरै पल्ट ब्रह्मा र महादेवलाई झुक्याएर वरदान लिने गरेकाे र त्यसले अप्ठ्यारो पारेपछि विष्णुले विभिन्न अवतार लिनुपरेकाे नजिरलाई ध्यानमा राखेर यस पल्ट त्रिदेवले आपसी परामर्श र त्यसकाे परिणामबारे पूर्वविचार गरेर मात्र वरदान दिने साेच बनाएछन् र विष्णुले भनेछन्, “ब्रह्माजी बुढाे पनि हुनुभएकाले उहाँले भविष्य साेच्नुहुन्न अनि आशुतोष महादेव पनि फुर्किहाल्ने भएकाले परिणामका बारेमा साेच्नुहुुन्न । त्यसैले यस पालि यहाँहरू केही नबाेल्नुहाेला । उनीहरूसँग डिलिङ गर्ने जिम्मा मलाई दिनुहाेला । यहाँहरूलाई थाहै छ माेहनी रूप लिएर महादेवलाई पनि बचाएकै हुँ र ब्रह्माजीले दिने वरदानका कारण पनि मैले धेरै रूप लिएकाे छु ।”
तीनै देवले गठबन्धनकाे सम्झाैतामा हस्ताक्षर गरे र तपस्से गरिरहेका त्रिबराह महाशक्तिका सामु उपस्थित भए । सधैं कि ब्रह्मा कि शिवलाई मात्र रिझाएर वरदान फुस्काएकाे नजिर देखेका उनीहरू विष्णुलाई पनि सँगै देखेर अलिकति हिस्रिक्क भए । कुन कुराकाे चाराे फालेर हामीलाई त्यसैमा भुलाएर छल्ने वा ठग्ने हाे भन्ने आशङ्का व्याप्त भयाे ।
“हामी त्रिदेव तिमीहरूको तपस्याबाट प्रसन्न भएका छाैँ । हामी तिमीहरूलाई यहीँबाट यसै रूपमा स्वर्ग पठाउन चाहन्छाैँ । भन, जान्छाै स्वर्ग ?” विष्णुले आफ्नाे सातिर दिमागले प्रस्ताव राखेपछि एउटाले भन्याे, “के त्यहाँ हामीलाई हाम्राे भाेजनकाे त कमी हुन्न ? यहाँ त मान्छेले घरभित्रै सेफ्टी ट्वायलेट बनाउन थालेकाले हामीलाई भाेजनकाे अभाव हुँदै छ ।”
“हेर, त्यहाँ पनि तिमीहरूका लागि भाेजनकाे समस्या त छ । स्वर्गमा जानेहरूले अन्न खाँदैनन् र त्याे नखाएपछि तिमीहरूको भाेजनकाे म्यान्युफ्याक्चरिङ पनि हुँदैन । अनि के खाएर बस्छाै त्यहाँ ?” विष्णुले सातिर दिमाग चलाए ।
याे सुन्नासाथ उनीहरू फनक्क फर्केर मानवबस्तीतिर दगुरे । उता विष्णुले पनि झिमिक्क आँखा झिम्क्याएर सहकर्मीलाई सङ्केत गरे, “देख्नुभयाे ? जाे जस्ताे छ त्यसले त्यस्तै खाेज्छ । त्याेभन्दा अर्काे जति राम्रो भए पनि त्यसलाई मन पर्दैन ।”
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest







































