रमेश समर्थनचार ठाेकान
ख्याल गर, आफ्नो मगजमा किरा नपार लुतो नसल्काऊ, अनि मनमा खटिरा नपार नुनखुर्सानी लाएर खान मिल्दैन यसलाई देश हो यो, देशलाई काँक्रोझै चिरा नपार ।

रमेश समर्थन :
१.
जिन्दगी तार चुँडेको सारङ्गीको धुनजस्तो
कतै भयो नदेखिने यो औंसीको जुनजस्तो
राजधानीलाई यै जिन्दगी हिरामोती सुनचाँदी
यै जिन्दगी कर्णालीलाई सधैं अपुग नुनजस्तो ।
२.
एक एक व्यक्ति दलाल भएको देश हो यो
र दलाल नै मालामाल भएको देश हो यो
सम्पत्ति नहुने त अरू पनि छन् यो दुनियाँमा
सम्पत्ति भएर पनि कङ्गाल भएको देश हो यो ।
३.
रहर आखिर रहर हो तिम्रो पनि मेरो पनि
जहर आखिर जहर हो तिम्रो पनि मेरो पनि
एक दिन भ्यागुताले पनि भन्यो कमललाई
हिलो नै आखिर घर हो तिम्रो पनि मेरो पनि ।’
४.
ख्याल गर, आफ्नो मगजमा किरा नपार
लुतो नसल्काऊ, अनि मनमा खटिरा नपार
नुनखुर्सानी लाएर खान मिल्दैन यसलाई
देश हो यो, देशलाई काँक्रोझै चिरा नपार ।
०००
रूपन्देही
बदनाम आँचल (२०८२)








































मन परेको त दोस्रो मुक्तक नै हो । तर ‘एकएक’ भन्दा ‘सबैलाई’ जनाउँछ कि भन्ने लाग्यो । सबै त कहाँ दलाल होलान् र!
यसमै ‘सम्पत्ति नभएका त अरु पनि होलान् दुनियाँमा’ भन्दा व्यक्ति बुझिराखेको । अन्तिममा चै देशको कुरा पो आयो ।
त्यो शीर्ष मुक्तककै प्रतीक्षा छ ।