साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा सम्पन्न

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

Nepal Telecom ad

​दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि घनश्याम अस्तित्वको नवीनतम् कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

परिषद्को नियमित १९९ औँ शृङ्खला अन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका निर्देशक डा. टीकाराम उदासी रहनुभएको थियो ।

​समीक्षाका क्रममा समीक्षकद्वय यज्ञबहादुर डाँगी प्रमोद धितालले वि.सं. २०८० मा प्रकाशित यस सङ्ग्रहभित्रका ६६ वटा कविताहरूमाथि गम्भीर चिरफार गर्नुभयो। उहाँहरूले अस्तित्वका कविताहरू वैचारिक र कलात्मक दुवै दृष्टिले अब्बल रहेको बताउनुभयो।

समीक्षकहरूका अनुसार सङ्ग्रहले वर्तमान समयको स्वार्थी प्रवृत्ति र सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई सशक्त ढङ्गले मुखरित गरेको छ। सरल भाषाशैली, मार्मिक बिम्ब विधान र नवीन शिल्पका कारण ६६ वटै कविताहरूले पाठकलाई गम्भीर आत्मचिन्तन गराउन सफल भएको टिप्पणी उहाँहरूले गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्य अतिथि पुरुषोत्तम खनाल, विशिष्ट अतिथि डा. टीकाराम उदासी र विभिन्न साहित्यिक संस्थाहरूको तर्फबाट राप्ती साहित्य परिषद्का सल्लाहकार एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ ले नेपाली साहित्यको श्रीवृद्धिमा यस कृतिले महत्वपूर्ण इँटा थपेको चर्चा गर्नुभयो। वक्ताहरूले कविको लेखनमा रहेको इमानदारिता र समाजप्रतिको जिम्मेवारीबोधको प्रशंसा गर्नुभएको थियो।

उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
​परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक बहसले सर्जकलाई थप निखारिन र नेपाली साहित्य परम्परालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

०००
सुरेशकुमार पाण्डेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x