रमेश समर्थनविजयी उम्मेदवारका नाममा पत्र
घरको अन्डरग्राउन्ड पैसाले भर्ने, जनतालाई शरणार्थी बनाएरै भए पनि विदेश पठाउने, अरू पनि यस्ता महत्त्वपूर्ण कामहरू छन् जसको महत्त्व जनतारूपी मूर्खहरूले बुझेका छैनन् । तर मैले बुझेको छु ।

रमेश समर्थन :
दाजैज्यू !
मेरो चाहना त के थियो भने यसमा भन्न खोजिएका सबै कुरा म तपाईंलाई नै भेटेर भनूँ तर यति वेला त तपाईं तिनीहरूबाट घेरिनुभएको होला जसले तपाईंलाई भोटै दिएनन् । जसले भोट दिँदैनन् नि, तिनै बधाई दिन पहिले पुग्छन् । जसले तपाईंको घाँटीमा पहिलो माला हाल्छ, बुझ्नुहोला त्यही तपाईंको पहिलो शत्रु हो । बाटामा हिँड्दा जसले बढी नमस्ते पाउँछ त्यसले प्रायः चुनाव हार्छ । मैले तपाईंलाई भोट दिएको थिएँ, त्यसैले बधाई दिन आइनँ ।
दाजैज्यू, मैले तपाईंलाई भोट त दिएँ तर तपाईंले जितेकामा भने पछुतो छ । अब तपाईंले सोध्नुहोला, यस्तो किन ? पछुतो हुने गरी भोट किन दिएको त ? अनि भोट दिइसकेपछि किन पछुतो मानेको ? कुरो के हो भने नि, मलाई तपाईंमाथि दया लागेर मात्र तपाईंलाई भोट दिएको हुँ । चुनावको वेलामा तपाईं जनताका दुःखको चर्चा गर्दै रुँदै हुुनुहुन्थ्यो अनि म तपाईं रोएको देखेर रुँदै थिएँ । अनि मेरो देखासिकी गरेर जनता पनि रुन थालेका थिए । त्यति वेला याचक र दाता दुवैका आँखामा आँसु थिए । तपाईं आफ्नो खस्किँदो लोकप्रियतामा रुँदै हुनुहुन्थ्यो तर जनतालाई भने तपाईं उनीहरूको दीनतामा रुँदै हुनुहुन्छ भन्ने लागेको थियो । त्यस्तै तपाईंलाई लाग्दै थियो, जनता आफ्नो समस्याका लागि रोइरहेका छन् तर जनता भने तपाईंले जित्नुभएन भने तपाईंको अवस्था के होला भनेर रोइरहेका थिए । यसरी दुवैतिरका आँसुले यस्तो भ्रम सिर्जना गरिदिए जसका कारण तपाईंले जित्नुभयो ।
यसबाट तपाईंलाई जनताले तपाईंलाई माया गर्दा रहेछन् भन्ने मिथ्या भ्रम भयो जबकि उनीहरू तपाईंलाई घृणा मात्र गर्छन् । अन्तर के मात्र हो भने जनता दयालु छन् र दया गरेका हुन्, माया हैन । यता जनता पनि तपाईं उनीहरूका शुभचिन्तक हुनुहुन्छ भन्ने भ्रममा छन् जबकि तपाईं आफ्नो मात्र शुभचिन्तक हुनुहुन्छ । यो भ्रमात्मक प्रसन्नतामा नेता त फस्टाउँछ तर जनता टाक्सिएका टाक्सियै हुन्छन् ।
दाजैज्यू, अब केही दिन त तपाईंको चुनावमा प्रयोग भएका टेन्ट, फर्निचर, प्रेस, लाउडस्पिकर, गाडी, खाजाखाना, डिजलपेट्रोल आदिको भुक्तानीको ताकेताको डरले तपाईंलाई सताउने छ र तपाईं बाहिर निस्कनुहुने छैन । अबिर र माला किन्ने पैसा त तपाईंले समर्थकहरूलाई पहिले नै दिइसक्नुभएको थियो होला । अबदेखि त्यसो नगर्नुहोला । यदि तपाईंले हार्नुभएको भए ती साइँदुवाहरूले त्यही अबिर र माला जित्ने उम्मेदवारलाई लगाइदिन्थे र त्यहाँ पनि उनीहरू नै अगाडि हुन्थे । यसरी जब दुईचार दिनसम्म तिर्नुपर्ने पैसाको डरले तपाईं भित्रै बसिरहनुहुनेछ, त्यो तपाईंको बानी बन्नेछ जसले गर्दा अरू पाँच वर्ष तपाईं जनताबाट यसै गरी लुकेर बस्नुहुनेछ । पाँच वर्षपछि जब चुनावको कालो बादल देखिन थाल्नेछ अनि तपाईं पनि भ्यागुताझैँ फुत्रुक्क बाहिर निस्केर ट्यार्र ट्यार्र गर्न थाल्नुहुनेछ । त्यसो त म नेताको तुलना भ्यागुतासित गर्न चाहन्नँ तर जब नेताको भाषण सुन्छु नि, अनि पहिलो वर्षापछि माटोभित्रबाट निस्केर घाँटी फुलाउँदै कराउने भ्यागुतो एक्कासि स्मृतिमा आउँछ त म के गरूँ ?
गएको चुनावमा पनि तपाईंले नै जित्नुभएको हो । त्यसपछि पाँच वर्षसम्म यस क्षेत्रका जनताले तपाईंको शुभ दर्शन गर्ने शुभावसर पाएनन् । भगवान्ले बरु दर्शन देलान् तर तपाईं भगवान्जस्ता बेकम्मा हुनुहुन्छ र जसलाई चाह्यो दर्शन दिनलाई ? तर मूर्ख मानिसहरू कुरै बुझ्दैनन् । अरू नेता त केही काम नगरे पनि निर्लज्ज भएर आउँछन् तर हाम्रा दाज्यैलाई काम नगरिकन जनताका सामु जान लाज पो लाग्छ । उहिले भोट माग्न तपाईंसित म पनि गएको थिएँ नि ! हो, त्यसैले उनीहरू मसँग खै त हाम्रा नेता भनेर सोध्छन् तर चिन्ता नलिनुस् । मैले उहाँ त राजधानीमा बसेर जनताको नाममा आँसु बगाएको बगायै हुनुहुन्थ्यो भनेर भनिदिएको छु ।
दाजैज्यू, मेरो भनाइको प्रभाव पनि पर्यो । त्यसैले यसपालि पनि जब चुनावमा तपाईं प्रकट हुनुभयो नि उनीहरूले पनि ‘भए प्रकट कृपालु दीनदयालु’को अनुभव गरे । उनीहरूले समवेत स्वरमा भने, ‘जनताका सच्चा सेवक पधार्नुभएको छ । पाँच वर्षसम्म हाम्रा लागि रुँदारुँदा उहाँका आँखाको ज्योति नै कमजोर भएका कारणले उहाँले हामीलाई नचिन्नुभएको हो । तपाईंले पनि जनताको भावनाको कतिसम्म कदर गर्नुभयो भने एकजनासित त दश वर्षपहिले मरिसकेका बाबुलाई सन्चै त हुनुहुन्छ भनेर सोध्नुभएछ । निकै भावुक भएको थियो त्यो मान्छे तर के गरोस् कसैले स्वर्ग वा नर्कबाट उसका बाबु त्यहाँ सन्चै छन् कि के छन् भनेर खबर दिएको रहेनछ र त केही भन्न सकेन । उसले भनेको थियो, ‘खै, तपाईं जानुभएछ भने खबर पठाउनुहोला ।’ तपाईं हेँहेँ गर्दै हाँस्नुभएछ । हो, चुनावको बेलामा कसैले आमाचकारी गाली नै गरे पनि त्यसै गरी हाँस्नुपर्छ । नत्र हारिन्छ ।
जब दीनदयालु प्रकट हुनुभयो नि, अनि ती दीनहरूले दीनताका कथाव्यथा सुनाउन थाले । एउटो गाउँका मान्छेले भने, ‘हामीलाई रोजगारी चाहियो ।’ तपाईंले भन्नुभयो, ‘हुन्छ, एउटा अर्को भ्यु टावर बनाऔँला । त्यसमा धेरैले रोजगारी पाउनेछन् ।’ एउटा गाउँमा बाटाको समस्या देखाए, तपाईंले गाउँको शिखरमा एयरपोर्ट बनाइदिने वाचा गर्नुभयो । कतै बजारभाउ बढेको कुरा गरे । तपाईंले तपाईंलाई त्यो थाहै नभएको बताउनुभयो । गुइँठा बालेर खाना पकाइरहेकी महिलानिर गएर छ महिनामा ग्यासपाइप प्रत्येक छाप्रामा पुर्याइदिने भन्नुभयो । एक ठाउँँमा त जनताले केही भन्नै परेन । तपाईंले नै यहाँको मौसम त ठिक छ नि ? नभए म ठिक गरिदिन्छु भन्नुभयो । जनताले ताली बजाए । अनि तपाईंलाई पहिल्यै सय किलो मालाले पुरिदिए । प्रकृतिलाई पनि अनुकूल बनाउन सक्ने तपाईंजस्तो नेता उनीहरूले अर्को को पो पाउँथे र ?
दाजै, अब त ‘तपाईं पछि को’ भन्ने समस्या पो देखिएको छ त ! कारण के हो भने आफ्नो पालो कुर्दाकुर्दा दोस्रो पुस्ता पनि बुढो भइसक्यो तर तपाईंले पद छोड्नुभएन र तेस्रो पुस्ताले आस मारिसक्यो । अब त मेरो मनमा अर्को प्रश्न जागेको छ । त्यो के भने ‘तपाईंपछि को’ भन्नुभन्दा ‘तपाईंपछि के’ भन्नुपर्ने भयो । किनभने तपाईं हुनुहुन्छ र त लोकतन्त्र छ । तपाईं नै नभएपछि के ? अनि हाम्रो उद्धारकर्ता को हुने र हाम्रो भविष्य के हुने ? त्यसैले कृपया अमर हुनुहोस् । बरु हामी ‘हाम्रा दाज्यै अमर रहून् !’ भन्ने नारा लगाउँछौँ । त्यसैले पहिले त मर्ने कुरै नगर्नुहोला र मर्नैपर्ने भए पनि स्वर्ग वा नर्कमा रहेर पनि हाम्रो प्रतिनिधित्व गर्न पाउने गरी संविधान संशोधन गराउनुहोला । नत्र त तपाईंको भर पर्दा हामी अभरमा पर्नेछौँ ।
दाजै, यहाँका जनताले तपाईंलाई धेरै साधारण काममा अल्झाउने छन् तर तपाईंले असाधारण काम मात्र गर्नुहोला । बाटोघाटो, महङ्गी, औषधिउपचार, रोजगार, गाँसबासजस्ता झ्यासझुसे काममा नअल्मलिनुहोला । जतिसक्दो सुन आयातमा रुचि देखाउनुहोला । सरकारी जमिन बेच्ने, कलकारखानाहरू बन्द गराउने, तस्करहरूलाई संरक्षण गर्ने, बलात्कारी र हत्यारालाई आममाफी दिने, घरको अन्डरग्राउन्ड पैसाले भर्ने, जनतालाई शरणार्थी बनाएरै भए पनि विदेश पठाउने, अरू पनि यस्ता महत्त्वपूर्ण कामहरू छन् जसको महत्त्व जनतारूपी मूर्खहरूले बुझेका छैनन् । तर मैले बुझेको छु । देशहित हुने नै यसैबाट हो । जनतालाई विदेश पठाउने कुरामा भन्नलाई विना ढेउवाके भन्नुहोला तर पछि भने ढ्याउ…हुने गरी ढेउवा ढुवाउनुहोला । जनता त के हुन् र पाँच वर्षपछि सबै कुरा बिर्सिहाल्ने छन् र फेरि तपाईंको अवतरणमा जयजयकार गर्नेछन् ।
यसपालि पनि प्रधानमन्त्री त तपाई नै बन्ने सम्भावना छ र ज्योतिषीले पनि त्यस्तै भनेका छन् । हाम्रो पनि प्रबल इच्छा छ, हाम्रा लागि नभए पनि आफ्नै लागि भए पनि तपाईं प्रधानमन्त्री त बन्नैपर्छ पर्छ ।
हुन त अब तपाईंलाई मेरो के आवश्यकता होला र ? फेरि पनि तपाईका बकम्फुसे गफको पनि सकारात्मक अर्थ निकालेर कसैलाई झुक्याउनुपरेछ भने मलाई सम्झनुहोला । म त्यसमा माहिर पनि छु र सेवामा तत्पर पनि रहनेछु ।
तपाईंको र तपाईकै
अन्धसमर्थक
०००
सृजनागृह, तिनपा- ९, रूपन्देही,
Subscribe
Login
0 Comments
Oldest








































