साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य र जाँड

हाम्रो समाजमा जाँडको शक्ति मुलुकको विद्युत्शक्तिभन्दा कैयौं मेघावाट बढी छ । मुलुकको प्रजातन्त्र जाँडमा छ । यो जाँडको प्रजातन्त्र हो कि प्रजातन्त्रको जाँड हो खुट्‌याउन मुस्किल छ ।

Nepal Telecom ad

रूद्र खरेल :

तपाईंलाई लाग्ला-साहित्यको जाँडसँग गोरु बेचेको साइनो छैन । साहित्य जस्तो शुद्ध र परमपवित्र जिनिसमा कताबाट जाँड मिसिन आयो ? यस्तो जिज्ञासा उठ्नु स्वाभाविक हो । मलाई भन्नुहुन्छ भने त्यस्तो पटक्कै लाग्दैन । जाँड भनेको सार्वभौमिक चीज हो । यो चीज हाम्रो देशमा जनतामा सार्वभौमिकता आउनु अघिदेखि नै थियो । मौलिक हकलाई धर्म, वर्ण र लिङ्गनिरपेक्ष बनाउनमा समेत जाँडको ठूलो हात थियो । संविधानका यी उच्च आदर्शहरू जाँडबाटै लिइएका थिए । प्रजातन्त्र, मानवहक र कानूनको राजको कल्पना शून्यमा उभिएर गरिदैन, जाँडमा उभिएर गरिन्छ । जाँडमा कानून र कानूनमा जाँड भए जस्तै साहित्यमा जाँड र जाँडमा साहित्य हुन्छ । दुवैले लोकलाई आनन्दित तुल्याउँछन् । दुवैको उद्देश्य एउटै हो, दुवै अविनाशी र शाश्वत छन् । झूटो नरदेह जस्ता बिनावित्थाका कुरा यी होइनन् । यी त ब्रम्हाजत्तिकै सत्य छन् । अझ भन्ने हो भने ‘ब्रम्हानन्द स्वाद-सहोदर’ हुन् ।

एउटै भगवान्‌का अनेकौं औतारी नाम भएझै सर्वव्यापी जाँडका पनि अनेक नाम छन् । नरसिङ ट्वाक, जङ्गबहादुर जस्ता यसका थुप्रै नामहरूले अब जनमानसबाट बिदा लिइसके । अचेल कतै यसलाई बिजुलीपानी भनिन्छ त कतै चिसो चिया । सिरकले बाहिरबाट तताउने तर यसले चाहिं भित्रैदेखि तताउने भएकाले यसलाई ‘उल्टो सिरक’ भनेर न्वारान गरेको पनि पाइन्छ । दुरुपानी, खोयाबिर्के, झम्केझोल वाहुनपोको र टिन्चु जस्ता यसका अनेक प्रान्तीय स्तरका नाम छन् । कतै अल्लाह, कतै गड र कतै ईश्वर भनेझै यस सर्वव्यापी पदार्थका अनेक नामहरू छन् । नामको विविधताले केही फरक पार्दैन । यसले धर्म, वर्ण, लिङ्ग, जातजाति र आस्थाका आधारमा भेदभाव नगरी मानव मात्रलाई ‘सुमति’ दिएको छ । महात्मा गान्धी ठिक भन्छन :
ईश्वर अल्लाह एक ही नाम सवको सुमति दे भगवान् ।

जाँडमा साहित्यको र साहित्यमा जाँडको अविच्छिन्न चर्चा छ । महामा मध्यम वर्गीय वद्धिजीवीहरूका साहित्य सम्बन्धी साँझपख भट्टीचर्चा यसै परम्पराकाे कड़ी हो । जाँडले साहित्य जन्माएको उदाहरण छ्यासछ्यास्ती छन । त्यति मात्र हाइन, कहिले कहिले साहित्यले पनि जाँड जन्माउँछ । यसलाई हामी सरल भाषामा भन्दा ‘जाँड जन्माउन’ नभनेर ‘जाँड पार्न’ भन्दछौं । यस्ता जाँड खाेयाविर्केभन्दा पनि नसालु हुन्छ । वास्तवमा यो जाँड बिमारीको माड जस्तो गुनिलाे नभएर गलाको गाँड जस्तो समाजको भाँड बन्छ । आफू उभिएको ठाउँ र उद्देश्यको हेक्का नराखी अनुप्रास शब्दको साथै पुङ न पुच्छरका उपमाका भरमा साहित्यकारले विरोधाभास र अन्याेलका मर्चा हालेर बनाएको जाँड निम्नकोटिको साहित्यिक जाँड हो ।

चाहे जाँडको साहित्य होस्, चाहे साहित्यको जाँड होस्, दुवैको चर्चा वेद र पुराणदेखि छ, बाइबल र कुरानदेखि छ । आजसम्म आइपुग्दा जाँडले कति साहित्य जन्मायो र साहित्यले कति जाँड जन्मायो खोजको विषय छ । कुन-कुन रचना जाँडले टिल्ल पर्दा कविले लेखेका हुन् ? तिनलाई सुँघेर पत्तो लगाउने काम घ्राणशक्ति तीव्र भएका विश्वविद्यालयका डाक्टर-पण्डितहरूको हो । ‘साहित्यकला-सृजनमा खोयाबिर्केको भूमिका’ जस्तो गहन विषय पी.एच.डी. को निम्ति अति उपयोगी छ । यस्ता विषयमा डाक्टरी लिने लाठेले हाम्रो समाजको वौद्धिक जमातलाई एक-दुई दशक होइन, पाँच दशक हाँक्छ ।

‘मृत्युले सबैलाई बराबरी पार्छ’ भन्ने शीर्षकको अंग्रेजी कविता पाठ्यपुस्तकमा पढेको थिएँ । आज म भन्छु- जाँडले सबैलाई बराबरी पार्छ । के नेता, के कार्यकर्ता, के राजा, के काजी-बडाकाजी, के कवि, के कलाकार, के महन्त, के पुरोहित, जाँडका अघि बराबर छन् । बाहिर बाहिर बडेमाका सिद्धान्त र आदर्श बझाएर हिंडने बुद्धिजीवीहरू धेरैजसो जाँडजीवी छन्, दुइटै पक्षले साँझपख एकै टेविलमा बसेर मितेरी भाव र हार्दिकताका साथ खोयाबिर्के चढाउँछन् । लाग्छ, सबै वर्गका मनुष्यका लागि ईश्वरले बनाएको जिउनार हो यो । मेरो आधुनिकताका प्रहरी मित्रहरू मतर्फ लाठी तेर्स्याउँदै भन्छन् :
हेर् घिउलाटा, आधुनिक जाँडको र उत्तर-आधुनिकतावादी साहित्यको गुण-स्तर हुन्छ तर वर्ग हुँदैन ।

उपभोक्ताको हक-हितसम्बन्धी कानून बनाएर साहित्य र जांडको गुणस्तर नियन्त्रण गर्न सकिन्छ । उनीहरू मलाई भन्छन्- जोसुकैले साहित्य लेखोस्, जोसु‌कैले जाँड बनाओस् भन्ने चाहना हाम्रो होइन । हाम्रो इच्छा हो ठूल्ठूला विद्वान्हरूद्वारा साहित्य लेखियोस्, मुलुकका दुईचार जना धनाढ्य गरीवमाराहरूलाई जाँड बनाउने एकलौटी ठेक्का दिइयोस् । बाँकी जनताको काम जाँड पार्ने होइन, जाँड खाने हो । तँ पनि चाया परेका गाला र कचेरे आँखालाई रातो पार्छस् भने हामफालिहाल भैंसीको सितन र खोयाबिर्केमा । दुःखबाट मुक्ति दिने आधुनिक जगको इसामसीह यही हो । यही हो कृष्ण, रासलीला र रसलीला पनि यही हो। यो वाइवल, वेद र कुरानको निश्वर झोल हो । यो गौतम युद्धले भनेको महानिर्वाण हाे ।

स्वर्गमा बसेर पनि अमृत खाँदैन भने त्यो के देवता धरतीमा बसेर पनि जाँड खाँदैन भने त्यो के मानिस ? जाँडत्त्व नै मनुष्यत्त्वको पहिचान हो । मित्रहरू सजिलोसँग भन्छन- बाँच्नुको अर्थ जाँड खानु त हो नि। जाँडै खान पाइँदैन भने बाँच्नु पो किन ? भोटेकोसीको किनारमा उभिएर कुनै कवि यही भावनालाई कल्पनामा उतार्दै कलात्मक रूपमा प्रस्तुत गर्दछ,

भोटेकोसीमा पानी हैन, बगून जाँडका लहरहरू
ढुड्डा बनून् मासुको सेकुवा, पूरा हुन् मेरा रहरहरू ।

क्या भव्य कल्पना छ हो कि । तव न कवि । भोटेकोसीको पानीभित्रको विजुलीले चलेको टी. भी. को पर्दा, रेडियो, फोन, ट्रलीबस र भिडियो एक्सरे जस्ता कुरा कविका कल्पनामा आएको भए सायद त्यो कविता नै हुने थिएन उनीहरूको दृष्टिमा । काकाकुल जस्तो आकाशतिर मुख वाएर बसेका उपत्यकाको जलपिपासु टोल र बस्तीमा भोटेकोसी हुर्याउँदाको आह्लादित चित्र कविको मस्तिष्कमा आइदिएको भए, सायद त्यसलाई कल्पना नै मानिने थिएन । यो कल्पना जीवन र सिर्जनाविरोधी छ कविज्यू । प्लेटोले आफ्‌नो आदर्श गणराज्यमा कविलाई ठाउँ छैन भनेर तपाई जस्तालाई नै संकेत गरेको हो कि ।

हो, कति बाठा र धूर्त जँड्याहाका हकमा भन्ने हो भने जाँडले बिर्सिनसक्नु गुन पनि लगाएको छ । यसले कतिलाई मायापिर्ती बसाइदिएको छ त कतिलाई जागिर ख्वाइदिएको छ । कतिले भट्टीबाटै ठेक्का कुम्ल्याएका छन् त कतिले हेमानका ओहदा र मान-पदवी लुँड्याएका छन् । मुलुकको प्रशासन र राजनीतिको पनि अनौपचारिक अड्‌डा भट्टीपसल नै हो। औपचारिक अड्डामा त छाप र लेटरप्याड मात्र हुन्छ, कानूनी रीत र दस्तखत मात्र हुन्छ । लुँड्याउने कामको चाँजोपाँजो र शुभारम्भ भने भट्टीमै हुन्छ । यस सत्यलाई राम्रोसँग बुझ्न नसक्नेहरू केवल देशभित्रको जाँड देख्छन्, जाँडभित्रको देश देख्दैनन् । मेरा विचारमा त जाँडभित्रको देश नै वास्तविक देश हो । मित्रहरू, म आफू देशभित्रको जाँडको अंशियार होइन । जाँडभित्रको देशको नागरिक हुँ । तसर्थ, देश खोज्नुहुन्छ भने खोयाबिर्केमा खोज्नुहोस्, मलाई खोज्नुहुन्छ भने खोयाविर्केभित्रको देशमा खोज्नुहोस् ।

एक घ्याम्पो खोयाविर्क पारेर गरीब परिवारका चेलीबेटीहरूले दुःखजिलो हातमुख जोड्ने मेसो मिलाउन लागे भने के-के न भो भनेर पुलिस आइपुग्छ । उता सानमिगल, टुबोर्ग, आइसवर्ग र कार्ल्सवर्गले चाहिं महिलाहरूको उत्तेजक मुस्कानसँगै जाँडको स्वाद फिटेर दिनहुँ रेडियो-टेलिभिजनमा विज्ञापन पस्कन्छ । रसियाली ब्रान्डको मिर्नोभ भो‌द्का, फ्रान्सेली तथा बेलायती ह्विस्की र रमले नेपाली बजार पाएका छन् । यता गरीवका छोरी भने एक घ्याम्पो जाँड पारेबापत कडा सजायका भागी बनेका छन् । यसो किन ? यसो किन भने यो सवाल जाँडनियन्त्रणको होइन, जाँडको वजार नियन्त्रणको हो । घरैपिच्छे खोयाविर्के पार्ने हो भने देश र विदेशका अरबपति जाँडपतिहरूले आफ्‌नो करोडौ लिटर जाँड कहाँ बेच्ने ? जाँडका जब्बर जराहरू खोतलेर हेर्ने हो भने जाँडभित्रको देशको सरकार र सिङ्गो राज्यसंयन्त्रले कुन वर्गको स्वार्थमा आफ्‌नो उपस्थिति जनाउँदो रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । देशभित्र र बाहिरका धन-कुबेर भट्टीवालाहरू मुलुकका खाँटी संचालक हुन् ।

मुलुकमा राजनीतिक उम्मेद्वारको हारजितको ठेक्कासमेत जाँडले लिन लागेको छ । सरकारको निर्माण र पतनमा जाँडको भूमिगत भूमिका देख्ता तपाईं-हामीले अचम्म मानेर जिब्रो टोक्नु पर्ने स्थिति छ । दलको नेता संसद् भवनलाई जाँडको पैसा बाँड्ने थलो स्वीकार्छ । त्यति मात्र होइन, ऊ जनतासँग मुख फोरेरै ‘जाँडको पैसा पाऊँ’ भनेर माग गर्दछ । नेतादेखि कार्यकर्तासम्म साँझपख टिल्ल हुन्छन् । सत्कार र सरकारी भतेरहरूमा जाँडको खर्च कहालीलाग्दो छ । राज्य-जाँडमा चुर्लुम्म डुबेका छन् । संचालनका ठेकेदार, चोपदार, सुबेदार र हवल्दारसम्म मुलुकमा मोटरकार मात्र होइन, साहित्यकार-पत्रकारसमेत डिजेल र पेट्रोलले चलेका छन् । हाम्रो समाजमा जाँडको शक्ति मुलुकको विद्युत्शक्तिभन्दा कैयौं मेघावाट बढी छ । मुलुकको प्रजातन्त्र जाँडमा छ । यो जाँडको प्रजातन्त्र हो कि प्रजातन्त्रको जाँड हो खुट्‌याउन मुस्किल छ ।

जाँड र पुरुष दुबैको दोहोरो दमनको विरोधमा उर्लेको हाम्रा दिदीवहिनीहरूको जाँड-संघर्ष कतै जाँडपतिहरूले फालिदिएको एक-दुई टुक्रा हाडमा, कतै भोटको महाजाल र धोकामा, कतै साम्प्रदायिकतामा तुर्रिने कुरा पक्कै छ । जाँडविरुद्धको संघर्षलाई हलुकोसँग लिनु भनेको एक किसिमले मुलुकलाई नै नबुझ्‌नु हो । जाँडको कुरा कुनै जोक होइन । विदेशका ठालु साहुहरूलाई समेत ह्विस्की र रम घुड्क्याइदिने हाम्रो देशको खुला बजार चाहिएको छ । यस्तो बजार विस्तार गरिदिने खुला आधुनिक सौन्दर्यशास्त्र चाहिएको छ, खुला अर्थात् नाङ्गो साहित्य चाहिएको छ । यस दृष्टिले हेर्दा जाँडसँग साँच्चि नै जिस्किनु भनेको असली बैरीसँग जिस्किनु र निहुँ खोज्नु हो ।

०००
बिर्सिस्याे कि ?, व्य‌ङ्ग्य निबन्धसंग्रह (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x