साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनैतिक भ्रष्टाचार

यसरी दश मिनेटको भाषणमा चम्मु नेताले खैनी माडेर पहेंलो झोल मात्र निलेन, त्यसको जोडदार विरोध गर्न र पिच्च थुक्न पनि भ्यायो । भाषणको तुर्याउनीमा नेताले फेरि बम्बे डाइलग छाँट्यो, राजनैतिक भ्रष्टाचारसँग जुध्न सजिलो छैन ।

Nepal Telecom ad

रूद्र खरेल :

एकचोटि एकजना नेतालाई भाषण दन्काउन निम्त्याइयो । भाषणको आयोजना ‘खैनीसुर्ती त्यागौं’ नाराका साथ ‘अँगाला अँगालामा’ नाउँको टुप्पाबाट पलाएको वर्गका तरुनीतन्नेरीहरूको बहुचर्चित क्लबले गरेको थियो । नेता खैनी र कमिसन भनेपछि हुरुक्कै हुन्थ्यो । अर्थात् यसो भनौं, कमिसन वा कोसेली जिउनार भनेको उसका लागि खैनी जिउनार सरह थियो । ऊ जसरी पनि खान्थ्यो खाएरै छाड्थ्यो । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान उसका हकमा ठ्याम्मै मिल्थ्यो । ऊ परिवर्तनको मर्म बुझ्न कुशल थियो । परम्परावादी-जडसूत्रवादी खवाइको ऊ एक नम्बर विरोधी थियो । उसले आफू हुर्किएको समाजको आफ्‌नोपना र आँतभेउ राम्रोसँग ठम्याएको थियो । त्यसैअनुसार उसले आफ्‌नो खवाइशैलीलाई आधुनिकीकरण र प्रगतिशीलकरण गरेको थियो । खवाइको यो उन्नत र नवीनतम शैलीप्रति उसको अखण्ड पत्यार थियो । यसो भनौं, ऊ खवाइको विरोधी थिएन । ऊ त परम्परावादी यान्त्रिक खवाइशैलीको विरोधी थियो ।

अँ, म भन्दै थिएँ खैनी भनेपछि नेताले ज्यानै छाड्थ्यो । अरू पाड्दुरे नेतालाई भाषण गर्दा पानी चाहिन्थ्यो भने उसलाई चाहिन्थ्यो चौबे कम्पनीको कडा मडुवा खैनी । उसका हत्केला र नङहरू खैनी मडाइले गर्दा कमलपित्तको रोगीको जस्तो पहेंला भएका थिए भने दाँतका गिजा चुनले काटेर चुरे पहाड जस्तो खाल्टा खुल्टी परेका थिए । एक मिटर टाडासम्म उसको सास सिनो जस्तो ह्वास्स गनाउँथ्यो । हरेक पछिल्ली श्रीमतीले कर गरेर होला ऊ सँधै दुर्गन्ध निरोधक अरबी अत्तर छर्केर वाहिर निस्कन्थ्यो । उसको राजनीति गर्ने शैली चाहिं कानफुकुवा थियो, औधी परम्परावादी । यसर्थ, उसका कार्यकर्ताहरू कुहिएको सासको दुस्ट हस्कोबाट औधी पीडित थिए । अझ कुहिएको हस्को र अत्तरको हरकको संयुक्त मोर्चाले छेउमा पर्नासाथ उपद्रो मच्चाउन थालिहाल्थ्यो । तर, त्यही कुहिएको साससँग घोलिएर पोखिएका शब्दको जादु देखेर दुनियाले जिब्रो टोक्थ्यो आश्चर्य मानेर ।

त्यस दिन आफ्‌नो पालो आउनासाथ ‘अँगाला अँगालामा’ क्लबका पदाधिकारीलाई स्यावासी दिँदै नेताले भाषण पस्क्यो ‘हेर्नोस्, स्कन्द पुराणमा सुर्तीखैनीको कत्रो खेदो गरिएको छ ? ‘तमाल पत्रम्’ अर्थात् सुर्तीखैनी खाने मानिस वैतरणी नदीमा डुबेर मर्छ, त्यसका हजुरबाबुका हजुरबाबुहरू पनि नर्कमा पर्छन भनेर लेखिएको छ जुन सही कुरा हो । हेर्नोस्, सुर्तीखैनी भनेको अनैतिक कुरा हो । यसले मानिसको सदाचारलाई भ्रष्ट गर्छ, किचिपिचि पार्छ । तपाईंहरूलाई थाहा छ, म यसको ठूलो विरोधी हुँ । तर, दुःखको कुरा आजको परिस्थिति यसको ठिक विप्ल्याँटो छ । म एउटा सुन्दर संस्कृत सिलोकमा आजको यथार्थको शब्दचित्र उतार्छु, सुन्नुहोस्,

तमाल पत्रम् परम् पवित्रम्
च सदगुणीनाम तुलसी समानम्
ये-ये नखादन्ति तमाल पत्रम्
ते विष्णुपूजा कथमाचरन्ति ।

मलाई लाग्छ, मेरो यस सिलोकले अहिलेका मानिसहरूको सुर्तीखैनी सम्बन्धी गलत सोचाइलाई राम्ररी चित्रण गरिसकेको छ । तुलसीपत्रको ठाउँ तमालपत्रले लिएको सही हो । सुर्तीले हज्जारौँ मानिसहरूको ज्यान लिइरहेको छ । यो मृत्युको कालो छायाँसँग पौठेजोरी खेल्ने संकल्प बोकेर तपाई ‘अँगाला अँगालामा’ क्लबका साथीहरू अघि बढिरहनु भएको छ । गाँठी कुरो, अरूलाई सुर्ती छोड् भनेर उपदेश बाँडेर केही हुनेवाला छैन, मैले जस्तो आफैले छोडेर आदर्श प्रस्तुत गर्नु जाती हुन्छ ।” नेताजीको भाषणमा विद्धता, व्यङ्ग्यात्मकता, उपदेशात्मकता र तर्कशीलता देखेर दङ्ग पर्दै ‘अँगालो अँगालामा’ क्लबको सदस्य र निम्तालुहरूले उफ्री उफ्री थपडी लाए ।

दुर्भाग्यवश नेताका आँखा सभाकक्षका कुनातिर पुगेर टक्क अडिए । हरियाणामा बनेको डिब्बे खैनी वैसालु गिजामा कोच्दै एक जोडी तरुनी तन्नेरी सदस्य अँगाला अँगालामा बाँधिएर रोमान्स गरिरहेका थिए । यो देख्नासाथ नेताले घुटुक्क थुक निल्यो । खपि नसक्नु भएर उसको मुख सर्सरायो । कागका फूल चोर्न सक्ने नेताले खैनी खाने उपाय तुरुन्तै निकालिहाल्यो । उसले विषयप्रसङ्गलाई अर्कातिर मोड्दै कृत्रिम वासना र ‘झाँस’ (हरक) मिसाएको जोडदार भाषण पस्क्यो- ‘अँगालो अँगालामा क्लबका साथीहरू, उपस्थित जनसमुदायहरू, आज म यस प्रवचन कार्यक्रममा मौका छोपेर हाम्रो देशको समसामयिक जटिल समस्यातिर तपाईंहरूको ध्यान आकर्षित गर्न चाहन्छु । हाम्रो देशका विभिन्न समयमा सत्तामा बसेका राजनैतिक दलका नेताहरूले राज्यको ढिकुटीबाट करोडौं रकम यसरी बाहिर लगिरहेका छन्, मानौ त्यो उनीहरूको आफ्‌नै कोटको खल्तीको सामान हो र उनीहरू यसरी झिकिरहेका छन् ।’

नेताले निरन्तर हात हल्लाएर अभिनेताले जस्तो अभिनय पनि गर्यो । उसले मुखमुद्रालाई बदल्दै गयो, कम्मर मर्कायो, घरिघरि कुम पनि उचाल्दै गयो । तिलस्मी अभिनयको मुहनी र भाषणका विजुली डाइलगमा ‘अँगाला अँगालामा’ क्लवका उरन्ठेउले तरुनी तन्नेरी र हुस्सु लाटा दर्शकहरू गाँजाको नसाले झैं नराम्ररी लठ्ठिए । ‘यसरी झिकिरहेका छन्’ भन्नासाथ तिनीहरूले गाँजाको नेताले खल्तीबाट खैनी झिकेको
अडकल काट्नै सकेनन् । तिनले त्यसलाई पनि नेताको तिलस्मी भाषणसँग मिसिएको बेजोड अभिनय मात्र ठाने ।

नेताले फेरि ‘कृत्रिम वासना र झाँस मिसिएको’ र बम्बे डाइलग पस्क्यो- ‘यस अपराधमा हिजाे सत्तामा बसेका आजका विपक्षी दलका नेताहरूको ठूलो हात छ । हिजो टायरका चप्पल लगाएर गल्लीमा हल्लिने भटमासे नेताहरूलाई राजनैतिक भ्रष्टाचारले नै आज दरबारको मालिक र मौजाको जमिनदार बनाइदिएको छ । अर्कातिर नेपाली जनता भोक र अभावले पिल्सिएको छ । अर्काे शब्दमा भन्ने हो भने कसैले नसुनिदिएका कारण जनताले आफ्‌ना आपतविपत र कष्टहरू आफ्‌नै कमकरी खस्रा हत्केलाहरूमा पोखिरहेको छ ।’ यसो भन्दै नाटकीयताका साथ नेताले चुना मिसिएको बलवान् सुर्ती आफ्‌नो हत्केलामा पोख्यो । तर संमोहित श्रोताले त्यसलाई भाषणसँग मिसिने स्वाभाविक अभिनयका रूपमा मात्र लियो र उत्साहका साथ थपडी बजायो । यस पछि नेताको अभिनयको गति तीव्र भयो ।

शब्दोच्चारण, वाक्य बनोट, आँखा र चम्किला दाँतको जादुले श्रोतालाई झनै संमोहित गर्यो । नेताले जादुगरलाई माथ गर्दै भन्यो- “हाम्रो देशका जनता थिचिएका छन्, पिल्सिएका छन्, कुल्चिएका छन्, लेध्निएका छन्, चुसिएका छन्, लुटिएका छन्, हेपिएका छन्, ठगिएका छन्…” नेता भन्दै गयो, सुर्ती पनि माडिदै गयो । त्यसपछि सुर्तीको निकम्मा धुलो उडाउन ताली पड्‌काउँदै नेताले भन्यो- “जनताको यस्तो दुःख देखेर पनि विपक्षी पार्टीका नेताहरू भाषण गर्न र ताली पिट्‌न नै व्यस्त देखिन्छन् । भन्नोस् त यो भन्दा गैरजिम्मेवारी र बेइमानी के हुन सक्छ ?” भाषणलाई निरन्तरता दिदै छट्टु नेताले भन्यो- “हेर्नोस्, राजनीतिक भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो । भ्रष्टाचारीले यसरी कमिसन खाइरहेका छन् (खैनी मुखमा हाल्दै), घुस खाइरहेका छन् ।” खैनीले सर्र जिब्राे रसाएपछि नेताले भाषणलाई आकाश छुने गरी उराल्यो “बुझ्नु भो ? त्यस्ता कमिसनखोर हरामहरूको मुखमा जनताले एक दिन अवश्य पिच्च (अभिनयका साथ खैनीको कोक्याउँदो झोल थुक्दै) थुकिदिनेछ। यसरी दश मिनेटको भाषणमा चम्मु नेताले खैनी माडेर पहेंलो झोल मात्र निलेन, त्यसको जोडदार विरोध गर्न र पिच्च थुक्न पनि भ्यायो ।

भाषणको तुर्याउनीमा नेताले फेरि बम्बे डाइलग छाँट्यो, “राजनैतिक भ्रष्टाचारसँग जुध्न सजिलो छैन । यो हाम्रो अदृश्य शत्रु हो । यसलाई आँखाले देख्न सकिदैन । मेरा विचारमा यसलाई नियन्त्रण गर्ने दुईवटा उपायहरू छन् । पहिलो उपाय हो- संस‌दमा कडा कानून बनाउनु । दोस्रो उपाय चाहिं आत्मशुद्धीकरणको उपाय हो । यसका लागि हाम्रा पार्टीका साथीहरूलाई पुरानो कुरा सम्झाउन निकट भविष्यमा गरुडपुराण लाउने सोच राखेको छु जुन हाम्रो पार्टीका हामी बुढा नेताहरूमध्ये कुनै एक नमरी संभव छैन ।

नेताको भापणको औधी प्रशंसा भयो। श्रोता र ‘अँगाला अँगालामा’ क्लबका मदस्यले भने- “भाषण त यस्तो च्वाँक पो हुनुपर्छ ।”

०००
बिर्सिस्याे कि ? (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x