रामदेव पाण्डेकम्युनिस्टको नयाँ पसल !
अब सकेजति सत्तोसराप गर्ने छ नयाँ पसलेले पुरानालाई महा गद्दार घाेषणा गर्ने छ पुराना पसलेले नयाँलाई यो हो निरन्तर सिलसिला या भनौँ यो हो नेपाली वाम लीला !

रामदेव पाण्डे :
बढ्दो छ कम्युनिस्टको फसल
खुल्ने क्रम जारी छ निरन्तर
थरी थरीका नयाँ नयाँ पसल
बरमझियाका पेडा पसल जस्तै
हरेक पसलले भन्ने गर्छ
ऊभन्दा मै असल
सबैभन्दा उत्तम मेरै पसल
नाम पनि उस्तै उस्तै
काम त झन् ठक्रक्कै उस्तै
सुनको सातु बुक्याउने
कोदाको पिठो खाएको भन्दै
जनता र कार्यकर्ता झुक्याउने
बाजेको कम्युनिस्ट पार्टी
ए! होइन होइन पसल
बाजेको कम्युनिस्ट पसल
पुराना बाजेको कम्युनिस्ट पसल
अस्सली बाजेको कम्युनिस्ट पसल
गफाडी बाको कम्युनिस्ट पसल
जङगली बाजेको कम्युनिस्ट पसल
धङधङी बाजेको कम्युनिस्ट पसल
थरथरे बाजेको कम्युनिस्ट पसल
नयाँ बाजेको कम्युनिस्ट पसल
कुण्ठाले गाँजेको कम्युनिस्ट पसल
नयाँ ग्वाँजेको कम्युनिस्ट पसल
सानो पसल ठुलो पसल
सफा पसल धुलो पसल
ऊ त्यो पसलमा हिजो
यसो ठाकठुक परेको थियो रे
नयाँ पसलको बिउ छरेको थियाे रे
त्यसैको पल्तिर अर्को सटरमा आज
सिङ्गारपटार चल्दैछ धमाधम
सुन्दैछु
खुल्दै छ रे अर्को नयाँ पसल
अब सकेजति सत्तोसराप गर्ने छ
नयाँ पसलेले पुरानालाई
महा गद्दार घाेषणा गर्ने छ
पुराना पसलेले नयाँलाई
यो हो निरन्तर सिलसिला
या भनौँ यो हो नेपाली वाम लीला !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































