देवीप्रसाद चापागाईंकालको विधान
काललाई सात दिन थुन्दा जेजति रुटिनको फलो भएन तिनीहरु मृत्युमा परिणत हुन सकेनन् रे। यमलोकमा एउटा अन्तरिम देव सम्मेलनकै आयोजना गर्नुपरेछ। त्रिदिवसीय बहस पश्चात अन्तरिम विधान पारित गरिएछ ।

देवीप्रसाद चापागाइँ :
रोग निधानका कैयौँ उपचार पद्धति वा औषधि आविष्कार भए तर काल र बिर्सने रोगको ओखती पत्ता लागेको पत्तो छैन। मृत्युलाई थोरै वा अलि टाढासम्म पुऱ्याउने सम्मका अभ्यासहरू सफल भएका छन्। त्यो पनि हाम्रो मनको लड्डु हो, आधार प्रमाण केही पनि छैन। ठ्याक्कै निको नै हुनेगरी पत्ता लागेन अध्यापी। कवि सिरोमणिहको ‘आयो टप्प टिपेर लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’। यो काव्यांशले आत्मविश्वास गुमाइरहेको छ। मृत्यु रोक्न सक्ने आशावादिता जगाएको पटक्कै पाइँदैन। कोही मर्ने कोही बाँच्ने अवस्थाको सिर्जना नभइदिँदा पो यस्तो अवस्था आयो कि दैब जानुन् ।कुरा खस्रा मिठा।
दोष मान्छेले दिन नजानेको कहाँ छ र? ब्रम्हाजीले सुन ,चाँदी र फलामको बनाइदिँदा ऊ एकचोटी पनि अँ, ऊँ नबोलेर गजक्क पऱ्यो। चाँदी र फलामरुपी मानवले पनि त्यही प्रवृति अंगालिदिँदा ब्रम्हाजी निराश भई कुखुरेसुली र खरानी मुछमाछ गर्न पुगेछन्। हतास र निराश भई अनायासै बिना पूर्वतयारी सिरानमा एउटा डल्लो,बीचमा अर्को डल्लो थिचेर र पुच्छरमा बाङ्गोटिङ्गो फट्याङ्ग्रोको जस्तो खुट्टो हानी बेवास्था जस्तो गरी ए ! मनुष्य ! भन्दा हत्त न पत्त बोलेछ प्रभो! यो जाबो अनपत्यार गरिएको आकृति पो बोल्यो । झोकमा ‘मरेस’ भन्ने शब्द उनको मुखबाट फुत्किएछ । उनी मान्छे जन्मिँदै दिक्क भएका थिए। कन्याउँदा बुरुर्र खरानी उड्ने अनि कोट्याउँदा ठुस्स गन्हाउने। मरेस भनिहाले, पछि उनीलाई पो पछुतो लाग्यो।
काल पूर्व निर्धारित कुरो हो शास्त्रादी बोल्छ। सृष्टिकै बेलामा ब्रम्हाजीको श्राप परेपछि के लाग्यो।यो कथा लेख्ने मोरो मजाले झुकिएछ ब्रह्माजीले मान्छेलाई मात्र मरेस भनि श्राप दिएका थिए। अन्य प्राणीको पनि शरीरको बनोट र प्रकृति उही हो। अन्य प्राणीको शरीर पनि त्यस्तै छ त ? भन्दा उत्तरको साटो ट्वाँ। सर्पको काँचुली फेरेझै सधैँ एउटै खोल किन ओढून् ? भन्दै विधाताले यस्तो चक्रको कल्पना गरेका होलान्। त्यही सोच्दा सोच्दै कालको जन्म भएको भनिदिएका भए उत्तर कति टिकाउपूर्ण हुन्थ्यो नि ?
अजर हुन पाउने हो भने मान्छेले कालको ओखती खोज्थ्यो होला। अमर मात्र हुने त्यो झन्झटिलो र बेस्वादिलो अमरत्व किन चाहिन्थ्यो र ? बाल्यावस्था, युवावास्था, किशोरावस्था र प्रौढावस्थामा पुगेर विकासात्मक चरण रोकिने भइदिएको भए अमर पनि ठिकै हुन्थ्यो। वृद्धावस्था भालुको कन्पारो पो हुने भयो। छोडौँ आफैँलाई सिध्याउने नछोडौँ समाइ रहन नसकिने। गौतम बुद्धले बुढ्याई, रोग्याईका कारण खोजे तर छेउटुप्पो पत्ता नलाग्दा यही मरणशील शरीरका झ्याल ढोकाका खापा फेरेर मन बुझाउनु पऱ्यो। अमरत्वसँग अजरत्व प्राप्तिमा उनै सर्वव्यापी ईश्वर बिना अरुको पित्ताम कसरी चल्थ्यो र ?
सत्य, त्रेता, द्वापरयुगमा काल फटाफट हिँडेर आएको देखिन्थ्यो अरे। कली लागेपछि पनि त्यही रीति चलेछ। एक समयमा काल एउटा गाउँमा पुगेछ। त्यहाँ भोजको तयारी हुँदै रहेछ। भोजको अध्यक्षता गर्ने व्यक्तिको लैजानुपर्ने पालो त्यही दिन रहेछ। सबैले थाहा पाइहाले। ऊ भिडको बीचमा थियो। काललाई ऊ बसेको ठाउँमा पुग्न हम्मेहम्मे परेछ। एक दुई जना आफन्तले बठ्याइँ गरेछन् कालमाथि। त्यही भोजमा मिठो मसिनो र सर्बत खुवाएर एउटा गज्जबको घरभित्र लगेर थुनिदिने मतो गरेछन् एक दुई जनाले। अब अर्काकै लागि मात्रै भए किन सोच्थे होलान्। आफ्नो खड्गो काटिने सम्भावनाको अड्कलबाजी थियो उनीहरूको।
काललाई सुरुमा मनभोग, अपुङ्गो खाएजति दिइएछ। पानीमा मिश्री, नरिवल, सुकुमेल अलैँची, दालचिनी, ल्वाङ र सक्दो गाँजा हालेर खान दिइएछ काललाई। त्यो दिन कालले भालेको डाँकसँगै खट्नु परेको रहेछ। भोजनको राम्रो व्यवस्था नभएको र थकाइले गर्दा केही खाउँ भन्ने लागेछ। बिहानदेखिको अति खटाइले झर्को पनि लागिरहेको थियो। जुन व्यक्ति लिन ऊ त्यहाँ आएको थियो त्यो व्यक्ति अन्तिम नै थियो। मध्यान्ह मात्र भएको थियो। रातको ११: ५९ सम्म लैजान मिल्थ्यो त्यो दिन। अझै चार घण्टा बाँकी नै थियो। भोज सिध्याएर लैजाने सोच्यो उसले तर काल सर्वत पानी पिउँदा पिउँदै त्यही निदाएछ एउटा कुर्सीमा। पाइपबाट अझै पिलाई दिएछन् अझै धेरै। भोज समाप्त भएपछि पनि काल जागेको थिएन। त्यहाँ भेला भएका सबैले सल्लाह गरेछन् ‘नरहे बाँस नबजे बाँसुरी’ भनेझै एउटा फलामै फलाम वाइरिङ गरिएको घरमा रिमोटबाट भित्र ढोका र झ्याल खोल्ने घरमा लगेर थुनिदिएछन्। त्यो दिनबाट मान्छे वा अन्य जीवको मृत्यु नै हुन छोडेछ। उमेर पुगेका बुढाबुढी हा…. काल भन्दै रुन कराउन पो थालेछन्।
यमराजले त्यो कुरा पत्तो पाएछन् र तत्कालै देवादिदेव महादेवलाई यथार्थताको बिन्ती चढाएछन्। महादेव सोझै काल थुनेको स्थानमा पुगेछन् र काललाई छुटाएछन्। कालले तत्कालै त्यागपत्र लेखेछ। महादेवले भोक प्यास नलाग्ने र अदृश्यको वरदान दिएपछि काल हच्किएछ र एक दिनको लागि पूनार्विचारको समय मागेछ। महादेवले उसको त्यो माग पनि सुनिदिए। २४ घण्टापछि काल महादेवको कैलाशमा गई पूर्ववर्ती कर्म पूरा गर्ने वचनबद्धता गरेछ।
काललाई सात दिनसम्म थुनेर राख्दा जति जनालाई लैजान पाइएन ती मानिसहरूकाे मृत्यु भएन। तर वृद्ध हुनबाट भने रोकिएन। यताउति हिँडडुल गर्न नसक्ने भएपछि मृत्यु खोजे मृत्यु आएन। छोरा, नाति, पनाति पनातिनीहरूको मृत्यु हुँदा पनि मर्न नसक्दा र पालनपोषण गर्नेको अभावमा छट्पटिन थाले। काललाई सात दिन थुन्दा जेजति रुटिनको फलो भएन तिनीहरु मृत्युमा परिणत हुन सकेनन् रे। यमलोकमा एउटा अन्तरिम देव सम्मेलनकै आयोजना गर्नुपरेछ। त्रिदिवसीय बहस पश्चात अन्तरिम विधान पारित गरिएछ । त्यसलाई अन्तरिम यमपुरी मुड्के विधान नाम दिइएछ। जिरे कागजको लार्ज साइजमा लेखी यमपुरीको मूलढोकामा टाँसिएछ। त्यस विधानको कार्यवयन सो दिनबाट लागू हुने र नौ हजार मेट्रिक टन सुन र हिरा क्षतिपूर्ति काललाई उपलब्ध गराउने सहमति गरिएछ।
मुड्के विधान भाग ५, धारा १५४, उपधारा ९ भित्र गरिएको व्यवस्था:
१. मुड्के भाग-१, धारा १०१, र उपधारा ३ अनुसार भोजनको दिनमा लैजानुपर्ने व्यक्तिलाई ३ चड्कन, ९ लात्ती र ५ घुस्सा दिई झ्यालबाट खसालेर सुङ्गुरमाथि उल्टो पट्टिबाट बाँधी फलामको मुंग्रोले पिट्दै ल्याउने ।
२. मुड्के भाग-२ ,धारा १०२, उपधारा २ अनुसार भोलिपल्टसम्म आयु भएकालाई पुष्पक विमानको भुइँतलामा राखी इच्छा भोजन गराई ल्याउने।
३. मुड्के भाग-३, धारा १०३, उपधारा ३ अनुसार यदि महिला भए पुष्पक विमानको तेस्रो तल्ला र पुरुषलाई दोस्रो तलामा राखी मिक्स जुस पिलाउँदै हाजिर गराउने।
४. मुड्के भाग-४, धारा १०९, उपधारा ७ अनुसार रजस्वला भएकी नारीलाई चार दिनको हदम्याद राखी पूर्व सूचना दिने ।
५. मुड्के अन्तरिम विधान भाग-५ को धारा १५४ उपधारा ९ मा काललाई अदृश्य रुपमा हिँड्दा सहयोगको आवश्यकता बोध भएमा चड्कन अन्तरिम देव सम्मेलन आकस्मिक रुपमा आयोजना गरी थप निर्णय लिने।
काममा व्यस्त अवस्थामा रहेको व्यक्तिलाई अनिवार्य ल्याउनुपर्ने भन्ने बाध्यात्मक व्यवस्थालाई संशोधन गर्न उसले यमपुरीको मूल दैलोको बाहिरपट्टि उजुरी दर्ता गऱ्यो। बच्चा पाउँदा पाउँदै, भोकले आकुल व्याकुल भई पहिलो गाँस हातमा लिएको अवस्थामा पनि छोड्न नमिल्ने भन्ने व्यवस्था उपर थोर बहुत संशोधनको प्रस्ताव मुड्के अन्तरिम विधान भाग ५ को उपधारा १५४ मा टेकी परिस्थितिको अध्ययन गरी केही दिन वा घण्टाको तल माथि वा हेरफेर गर्न पाए अधिकार प्राप्त भएमा आफ्नो पूर्व निर्धारित जिम्मेवारी बहन गर्ने अन्यथा माफी मागी विभागीय जिम्मेवारीबाट हटाइदिन गरिएको आग्रहलाई अस्वीकार गरी विधान संशोधनको उद्देश्य पूरा गर्न पूर्ण देव सम्मेलन जुटेछ।
अन्तरिम विधानको थप व्यवस्था:
क) मुड्के भाग-६ को धारा १३५ को उपधारा १ अनुसार निद्रावस्था, रजस्वलावस्थाको अध्ययन गरी कालले स्वयं निर्णय लिन सक्ने।
ख) मुड्के भाग-६ को धारा १४५ को उपधारा ३ अनुसार सप्ताहवाचक पण्डित, शिक्षणरत शिक्षक, मेजर अप्रेसनरत चिकित्सकको आवश्यकता हेरी १८ घण्टासम्मकाले हदम्याद आफै तोक्न सक्ने।
ग) मुड्के भाग-६ को धारा १४७, उपधारा ९(क) अनुसार कुनै परीक्षामा सफल उम्मेदवारको नियुक्ति पश्चात मात्र लैजाने व्यवस्था गर्न सक्ने ।
घ) मुड्के ७ को धारा १४२ उपधारा ५ अनुसार किरियापुत्रीलाई कम्तीमा १५ दिन पर्खन सकिने।
ङ) मुड्के भाग-६ को धारा १४८ को उपधारा ८ अनुसार आफूबाट थपिएको म्यादको व्यक्तिलाई सिधै मर्त्यलोकबाट नै पूर्वजन्मको चक्र चलाइदिन पाइने।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































