देवीप्रसाद चापागाईंभकुण्डो र मुखुण्डोको वार्ता
नक्कल धेर नगर अब पुगि गो तँलाई देख्नासाथ व्यक्तित्व कुदि गो आशा लाग्दा अनुहार विदेशतिर उडिगो वर्चस्व र प्रभाव तेरै जुटिगो परस्परमा जुधाउन तँ धेरै बाठो फाइदा र नाफामा अत्यन्त टाठो ।

देवीप्रसाद चापागाईं :
मुखुण्डो भन्छ :
घुच्च दिन्छ तँलाई उत्ताबाट
यसको र उसको खुट्टो साटासाट
एकै छिनमा आउट कि स्टार्ट
सुरु र अन्त्यमा लम्पसार ।
कैलेले हान्ला विचबाट
अग्लो र खैरेले छेउबाट
होचा र पुड्का खोज्दै त्यताबाट
त्यतिबेलै रेफ्रीको सिठ्ठी उताबाट
न तेरो गन्तव्य न सुख सँधै
जसले नि हेप्ने अनि त्यसै त्यसै
शत्रु बन्छन् कोही उसै उसै
कतिका धन खर्च पार्छस् भुसै ।
जावो छालाले मोरेका न हो
भित्र त हावा भरेको न हो
कहिले आउँछ नजिक डल्लो पाराको
कहिले आउँछ चुच्चे आफ्नै धराको
ढङ्ग नमिले फन्दामा परिन्छ
हरुवाको दुई नयन आँसुले भरिन्छ
जित्ने खुसी हुन्छ न दिन्छ माया
केवल चुम्बनको कृतिम छाया ।
हुन्छस् डल्लो भुइँमा नै कुद्ने
यता न उताको फन्दामा पर्ने
पेले रोनाल्डोले आफ्नै नाम लेखे
तँलाई ठूलो न कसैले देखे ।
लौ बुद्धिहिन तँ किन हेपिएको
मान्छेको जातसँगै किन चेपिएको ?
खुट्टाभन्दा माथि तँ कहिल्यै आइनस्
खेल जति उच्च भए नि तँचाहिँ माइनस् ।
भकुण्डो भन्छ :
ए ! मखुण्डो किन लगाँउछस् फुर्ति ?
न बस्न पाँउछस् सोफामा न कुर्सी
बदलिदिन्छु चरित्र भनी नलगा फुर्ति
तेरो त्यो फुर्ति आखिरमा घुर्की ।
सक्कली रुपलाई नक्कली बनाउँछस्
त्यही पो हो कि भनी देख्नेलाई फसाँउछस्
ए ! त्यो पो रहेछ भ्रम पो दिलाउँछस्
अन्त्यमा कृतिम रस मात्रै पिलाउँछस् ।
यताउति हेरी फुकाल्न मिल्ने
बेला न कुबेला मान्छेले भिर्ने
आफ्नै जातको बनाउँछस् तैंले
तेरो ढण्डेसो फुस्काउँछु मैले ।
तैंले मान्छेको व्यक्तित्व बिगारिस्
बोक्रा यता फाली रस निचोरिस्
गाईजात्रामा त तँलाई छुट ‘दे’को
अगिपछि त्यसैलाई बनाउछस् टेको
तेरो कारणले असल मान्छे बिग्रे
माथिल्लो पोष्टमा अल्छी र तिघ्रे
तेरै चरित्र उनीहरुले सिके
अन्त्यमा भौतिक बस्तुसँग बिके ।
नक्कल धेर नगर अब पुगि गो
तँलाई देख्नासाथ व्यक्तित्व कुदि गो
आशा लाग्दा अनुहार विदेशतिर उडिगो
वर्चस्व र प्रभाव तेरै जुटिगो
परस्परमा जुधाउन तँ धेरै बाठो
फाइदा र नाफामा अत्यन्त टाठो
बुझ्नेले भन्छन् तँलाई लाटो
कुलेलाम ठोक लौँ त नाठो ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































