साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको कुरो

सपनामा नेपाल वासीलाई उनी‌ले भनिछन्-हेर देशवासी हो यस अधि तिमीहरुले जुन-जुन गल्ती गऱ्यौ त्यसलाई शिलामा लेखी मेरा थान वरपर राखिदेउ । म ती पापहरू पखालिदिन्छु । आइन्दा कुनै कुकर्म गऱ्यौ भने त्यो मौका दिइने छैन ।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

सर्वसाधारणभन्दा अग्लो शहीद‌भन्दा होचो, यताउता दसै दिशा आफ्नो कब्जामा भएको भ्रम पाल्ने, सतलाई असत् असत्लाई सत् बनाउन सक्ने केही थान चुपीचण्डाललाई नेताको भाष्य खडा गरेर हामीले नै नेतानेतृलाई शकुनीको उपमा भिराएका छौं। जनताको परिभाषा पनि त्यस्तैउस्तै छ। त्यही कोटिको उही ड्‌याङको र त्यस्तै ब्याडकाे दिएका छौं । परिभाषाको जग नै अपरिपक्व अदूरदर्शी, गैह्रेशास्त्रीय बनाइएपछि परिणाम कस्तो आउँछ त ? जनताको परिभाषा पनि त्यस्तै उट्पट्याङ, अवौद्धिक र आधारहिन भएपछि परिणाम पनि त्यस्तै हातलागी हुने न हो। पिंडालु रोपेर आलु खोज्नु मूर्खता नभए के त ? जा न त भन्दा गइहाल्ने, आऊ न त भन्दा मात्र आउने । एउटा हातले आऊ र अर्को हातले जाऊ भन्दा पुनः अर्को आदेशको अपेक्षा गर्दै ट्वाल्ल पर्ने व्यक्ति जनताको प्रतिनिधि पात्र हो भन्दै एउटा चुरुम्फेले ब्लाक कफी पिउने क्रममा दिएको व्याख्यान नै झण्डै उचित ठान्यो यो हरिलठ्‌ठकले ।

थुतु‌नो कति बजार्नु । अनेक दर्शन, सिद्धान्त र मूल्यमान्यताले कठालो समातिएका हामी जीवात्मा हौँ। आफ्नो मर्जीअनुसार जीवनरथ चलाउन पाइन्न । प्रारब्धवादी, परम्परावादी, भौतिकवादीका किल्लाहरुमा उपस्थिति जनाउनै पर्दछ। वादसाद छोडेर अरण्य यात्रा पो रोजौँ झौँ लाग्दछ कुनै क्षण त । अगाडि जे-जे आउँछ सामना गर्दै गयो खेलै खत्तम। त्यसो गर्ने हुति हामीसँग कहाँ छ र ? दर्शन, सिद्धान्त र मूल्यमान्यता सँगै पौँठेजोरी खेल्दै जठराग्नीको ओखती खोजेर हैरान हुन्छौँ । भौतिकवादको कुरै छोडौं । आइन्स्टाइनको सापेक्षतावाद‌लाई मार्क्सवाद‌को धरातल खडा गरेर पासोमा आफैँ हाजिर भएका छौं। दोषचाहिँ अरुको मात्र देख्छौँ जहिले नि । प्रतिपंक्ष बिचको एकत्व र संघर्षको नियमको फ्रेम भित्र टुसुक्क र टुक्रुक्क बसेर जीवनदर्शन खोज्छौं ।

राष्ट्रको परिभाषा पनि एकमतमा आउँदैन । राजा महेन्द्र र वि.पी.कै पनि मतान्तर थियो अरे। जनता नै राष्ट्र हुन् भन्ने वि.पी. भूगोल पो राष्ट्र भन्थे रे महेन्द्र । अब जनतालाई फसाद निम्तिएन त ? यत्रो गहिरो कुरामा लागेर पेटको आगो कसले निभाउने ? अझ उल्टो जस्तो जनता त्यस्तै नेता भन्दा पनि ट्वाल्ल पर्दछौं। दोषको भागिदार हुनु अनाहकमा पर्दा सुसाइट नोटको तयारीमा पो जुटौँ झैँ हुन्छ कहिले त । आफू कपाल काट्न नगएर हजामको पेशा खोसेको तर्क दिने हास्यपात्र बनिएला कि भन्ने त्रास पनि उब्जन्छ पुनः।

शरीरको आवश्यकता अधिक मन र मष्तिस्कको प्रयोगमा न्युनता जनता हुनुको परिभाषा दिने परिभाषाकार भेट्दाचाहिँ अन द स्पट मा नै घुस्सा चखाउन उठ्छ लवटो। अंग्रेजी पिपुल’ले पनि भीड र जनतालाई उस्तैउस्तै पो ठानिदि‌यो। जनतालाई भीड नेतालाई भिडभन्दा माथिको जीव बनाएर नेताप्रति पोजिटिभ दृष्टि दिएको देख्दा किचन‌मा नै गई लाप्पा खेल्ने झोंक पो उठ्छ म बबुरोलाई। अब म पिपुल कि जनता अड्‌कल काट्‌नुहोस् । नभए एक गिलास चिसो पानी पिएर थच्चिनुहोस् । व्यथा न टनटन । अधकल्चोलाई बढी रिस उठ्छ भन्छन् । आफू अधकल्चो नै परेर त्यसो भएको पो हो कि ?

अचेलका नेतालाई सम्वोधन गर्ने केही उपमा यहाँहरु माझ राखिदिँदा बम्किनु हुन्न नि ? तपाईं बम्किए पनि, फन्किए पनि, झन्किए पनि म मेरो कुरा नभनी छाड्‌दै छाड्दिन । जति मर्यादा राखे पनि तपाईंले मलाई कुन दिन राम्रो मान्नुभयो त ? शक्ति र ताकतको परिभाषा मात्र बुझ्ने लठ्ठुकका अगाडि किन निउरीमन्टी ? के के नापिन्छ नापियोस् बरु। अचेल जनता र नेता बिच नै आरोप-प्रत्यारोप, पेचापेच, घोचाघोचको जुहारी चलेको छ। आफू जब प्रतिनिधि भएकाले त्यही जनताको स्वभाव आनिवानी आफूमा हस्तान्तर हुन गएको दावी, जिकिर त्यही बवुरो जनतामाथि थोपरेको छ । आफू आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्ष‌को नेतृत्व गर्ने पुर्जा मात्र भएकोले ती सबैको आधार जनता हुन् भन्ने तर्क सुन्दा मुड्‌की नकस्सिए के कस्सिन्छ त ? यहाँको चाहिँ केही भूमिका हुन्न र ?

अन्यत्र शिक्षक, डाक्टर, वकिल, दार्शनिक, अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री धार्मिक गुरूहरूलाई एम्पायर वा निर्णायक बनाएर आफू राजनीतिक खेलाडी बन्छन् । ती देशका इतिहास जाज्वल्वय बन्दै गएको छ। प्रगति र उन्नतिका सिंढीहरू थपिंदै गएका छन् । उनीहरू कुनै न कुनै एक विधामा स्थापित हुन्छन् । जनताले पनि उसको योग्यता र क्ष‌मताको कदर गरेको हुन्छ। हाम्रा बगैंचामा अनेक रुप र ढङ्गका नेता फले फुलेका छन् । तिनीहरूका स्वभाव र प्रवृत्तिलाई नियाल्दा वर्गीकरण नगरी सुखै पाइन्न । भूकुवा नेता (Barking Leader) वल्मिक नेता, कुकुरपुछ्रे नेता । यी सोझासिधा ग्रामीण वा अर्थसहरी परिवेशले धेरैजसो सम्वोधित नेता वा नेतृ हुन् । आफ्‌नै बारीका पाटामा उब्जिएका र अल्पवुद्धि मिसमास गरी गरिएकाे वर्गीकरण हो भन्न सकिन्छ ।

होटल, पसलका, सानातिना जमघटमा डाँको ठूलो पार्ने नेता भुकुवा नेता (Barking Leader), गफको एजेण्डा नचाहिने अरुका राम्रा कर्मको पनि आलोचना गर्ने अर्थात कुकुरको पुच्छर बाङ्‌गो हुँदा त्यो प्राकृति गुण नठानी आलोचना गर्ने, कसैका श्रीमान श्रीमती मिलेर काम गरेको देख्दा पनि आलोचना गर्ने नेता कुकुरपुच्छ्रे नेता। वाह्य परिवेशको अध्ययन नगरी एकोहोरो दर्शन पढेको भरमा नेता हुन खोज्ने । व्यवहार चाहिँ शुन्य भएको वल्मिक नेता। घरबाट बाहिर निस्कँदा आफ्‌नो देशको आवश्यकता भविष्य भन्दा पनि विदेशमा भएका घटनालाई आँखा चिम्लेर व्याख्यान दिने। आँखा खोलेर हेर्दा होटेलवाला वाहेक अरु सबै जऱ्याकजुरुक हिंडेको थाहा नपाउने नेतालाई पनि वाल्मिक नेताकै क्याटागोराइज न्यायसङ्‌‌गत हुन सक्छ ।

घरबाट प्राय: बाहिर ननिस्किने कार्यकर्ता आए स्वर्लोकदेखि तपलोकसम्म, अतलदेखि रसातलसम्म जम्बुद्विपदेखि पुष्करद्विप, सुमेरुदेखि त्रिकुट पर्वतसम्मको गुड्‌डी हाँक्ने नेतालाई कोठे नेताको भाष्य खडा गरे विचराहरूले। अलिकति पुस्तक खार्न भ्याएका भए सिद्दान्तनिष्ट नेता व्यावहारिक नेता, वरिष्ठ नेता, कनिष्ठ नेता, लोकप्रिय नेता, अलोकप्रिय नेता, बोक्रे नेता, जनजाति नेता, जनाइजाति नेता, राष्ट्रिय नेता, अन्तर्राष्ट्रिय नेता, सर्वहारा नेता, पूँजीवादी नेता, समाजवादी नेता, दलित नेता, वोलक्कड नेता, पियक्कड नेता, घुमक्कड नेता, बुझक्कड नेता, अर्धज्ञानी, अल्पज्ञानी, अधुरो आदि वर्गीकरण पक्कै जोड्‌थे होलान् ।

अब देश अथवा आफ्नै परिवेशको गाँठा फुकाऊँ । घुमाएर गफ छाँट्‌ने, गुमाएर इज्जत खोज्ने तपाईं जस्तो यताउति खालेको कुरो कसले सुन्ला त ? वडो भलाद‌मी जनता छन् हामीकहाँ । अरुको बारेमा बढी सोच्ने र पढ्ने । समाजका अग्रणी मनुवाहरु अर्थात धार्मिक चित्तधारीहरु अझै भन्छन्, तिमी अरुका बारेमा सोच । तिम्रो बारेमा उनीहरु‌‌ले सोचिदिन्छन् । यो त रामराज्यको कुरा भइहाल्याे नि । दाम राज्य हाम राज्य र मामराज्यको समयमा त रामराज्यको गफ गरेर हुन्छ ? आदर्श राज्य स्थापना गर्न रामज‌स्तै पात्र छनोट गर्न जान्नुपऱ्यो नि। आफू हराम कि राम स्वयंले अक्मकाउनेलाई यस्तो प्रश्न हनु‌मानले द्रोणाचल बोकेको सन्दर्भलाई लोककथा भन्नेसँग वार्गेनिङ गर्नु समयको वर्वादी मात्र। कि कसो ?

जति हातको डोरी बाटे पनि गाँठो एउटै जति भुँडी साटे पनि खाँचो उस्तै भनेझैं आखिर नेतृत्व त चाहियो नै । सानो परिवार चलाउन त घरमुली चाहिन्छ । अब देश नै चलाउन नेता नै चाहियो। गल्ती खोज्दै जाँदा वा योग्यता निर्धारण गर्न खोज्दा न नेता न जनताको अवस्थामा हामी पुग्न के बेर ? एक कहावत सुनेको थिएँ एक वतुरो पण्डितका मुखारविन्द‌बाट कुनै दिन । नेता र जनताको योग्यता निर्धारण आफैंले नगरी ब्रम्हाजीलाई सृष्टिको अनुमति दिएको दह्रो आत्मसमीक्षा गरेछन् एक दिन । महादेवले अघिल्लो दिनको गाँजाले छोडेको र त्यो दिनको गाँजा बनाउन पार्वतीले हुक्का चिलिम र नली बोकी गङ्गा स्नान गर्न गएको समयमा दिमाग ठण्डा हुन पुगेछ । पार्वती गङ्‌गा स्नानगरी फर्किसकेकी थिइन् त्यस‌वेला। महोदव ट्वाल्ल परेको भान भएछ उनीलाई । प्रभु ! हजुरको गाथमा केही ? निन्याउरो अनुहार लगाएर महादेव बोलेछन्- पार्वती सृष्टिमा केही त्रुटी हुन गयो । सृष्टिका क्रममा नेता र जनताको क्याटागोराइज वा योग्यता निर्धारण नगरेको दोषारोपण स्वयंमाथी गरे उनले । धर्मपत्नीको कर्म भनेको आफ्ना स्वामीको सङ्कट निवारण गर्नु हो ।

पार्वतीले आफूलाई एउटा जिम्मेवारी सुम्पन आग्रह गरिन । अधिक समस्या भएकोर देश कुन हो आफूलाई बताउन अनुरोध गरिन् । आफ्नै‌ सिङ राखिएको र किराँतेश्वर शिवलिङ्‌ग भएको देश । पार्वतीले बुझिहालिन् । देवादिदेव महादेवको चिन्ता दूर गर्ने अठोट गरिन् उनीले । गौरीघाट नजिक आइ प्रायश्चितेश्र्वरी देवीको रुपमा रहन थालिन् अरे। नेपाल खाल्डोमा प्रायश्चितेश्वरी देवीको रुपमा विराजमान भई रहिन् अरे । सपनामा नेपाल वासीलाई उनी‌ले भनिछन्-हेर देशवासी हो यस अधि तिमीहरुले जुन-जुन गल्ती गऱ्यौ त्यसलाई शिलामा लेखी मेरा थान वरपर राखिदेउ । म ती पापहरू पखालिदिन्छु । आइन्दा कुनै कुकर्म गऱ्यौ भने त्यो मौका दिइने छैन ।

यस्ताे उर्दी सुनेका देशवासीहरूले आफ्ना विगत‌का गल्ती शिलामा लेखी त्यस मन्दिरमा चढाएको भोलिपल्टबाट सत्वुद्धि पलाउन थालेछ । अधिक मानिसले चढाए‌‌को वा अर्पण गरेको ढुङ्‌गाको थुप्रोले पार्वती देवीको मन्दिर नै पुरिएको किंवदन्ती अद्यापी छ। मन्दिर पुरिएको दिनबाट उनी गुप्तेश्वरी देवीको नामले चिनिन पुगिछन् ।

०००
काठमाडाैं
२०८२/०१/०३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x