देवीप्रसाद चापागाईंटाउकेहरूको देवाली
कुभिन्डे टाउकेलाई दलाएर दिक्क पर्दथ्यो। भुँडी जोड्ने बेलामा सबैको भुँडीको मुख माथिल्तिर फर्किए पनि कुभिण्डे टाउकेको घैटे भुँडीको मुख भुलबस उँधोतिर फर्कन गएकोले जति कमाए पनि रित्तिदै जान्थ्यो।

देवीप्रसाद चापागाइँ :
भन्ने चलन छ, टाउको ठूलो हुनेलाई टाउके । वडाको शोभा धीर शरीरको शोभा शिर । शरीरलाई इज्जतको श्रीपेच भिर्न शिरको खाँचो पर्दछ । जतिसुकै पीर परे पनि शिरको महिमा ओरालिंदैन । मानिसका आत्माआत्मामा टाउकाकै महिमाले आसन जमाएको छ र भाषण थमाएको छ। हाम्रा पूर्खाहरू भन्थे र जति गिदी उति गुदी। गुदीको महिमा जान्नेहरूभन्दा नजान्नेहरूले कम तनाव बेहोर्छन् । प्रतिभा, खुति, ह्याउ, खुबी, फुर्तिफार्ति, चलाख, चनाखो, चुरुम्फे इमान, बेइमान यी सबैको मापदण्डको मापदण्डक सायद गिदी नै होला । गिदी छोप्ने ओढार हो टाउको ।
पेन्सन बुत्याउने कर्मचारीदेखि टेन्सन भियभयाउने गृहस्थीसम्मका औकातअनुरूपका टाउकाहरू छन् । टाउकाहरूको संरचना हेर्दा कोही फर्सी टाउके, कोही कुभिन्डे टाउके, कोही भुइँकटहर टाउके र कोही भोकटे टाउके । जस्तो टाउकोको रूप उस्तैउस्तै बुद्धिको स्वरूप । फलमध्येको मीठो फर्सी मान्छेमाको फरासिलो फर्सी टाउके। उसको लवाइ, खवाइ, सोचाइ, घोचाइ अरूको भन्दा भिन्नभिन्न हुन्छ। उसका सामु कोही टक्रिन आए निलौंलाजस्तै गर्दछ। चुपचाप उसका कुरा सुनिदिने हो भने आफूसँग जे छ त्यो दिन पनि पछि हट्दैन । उसका वरिपरि भयाम्मिने हो भने दुईचार सयको खनखाँचो त्यति परिहाल्दैन । तर बाधा व्यवधान ल्याइदिने हो भने पचाउन हम्मेसी सक्दैन । कुभिन्डे टाउके अलि विरसिलो हुन्छ । छुटेको बोलीमा मिठासपनको राँटो कम हुन्छ । उसका अधिपछि लाग्नेहरू एकदमै कम हुन्छन् । आलोचना बढी र समर्थन कम पाउँछ यसले । सधैं सत्य बोल्नु तर समर्थन कसैको नपाउनुले निराशाले पनि यसलाई सताएको हुन्छ । गाउँको भाले बन्न पनि नपाएको र कसैले साले भनेको पनि नसहने स्वभावले जीवनको अन्तिम मोडमा अलपत्र हुन पनि बेर मान्दैन ।
भुइँकटहर टाउके बेग्लै हुन्छ । अरुको बढी लिनु आफ्नो सकेसम्म कम दिनु यसको विशेषता हो । रसिलो, रवाफिलो र मिलनसार सबै खालको उपाधि पाउँछ यसले । नुन, जीरोमो काँचो वा पाकेकोमा पनि ठीक्क । जताततै सर्वव्यापी प्रशंसाको वाइवाइमा यसले आफूलाई उभ्याउँछ । फुस्ल्याउँदै ठुल्याउँदै कल्चौंडो दुहुनु यसको मूल प्रवृत्ति हो । ढिंडो, रोटी र भात जेसँग पनि सुहाउने भुइँकटहरको स्वभाव यसले ग्रहण गरेको हुन्छ । भुइँकटहर टाउकेको आफ्नो बेग्लै प्रकृतिको विशिष्ट पहिचान हुँदैन । आफू अनुकूल अरूलाई बदल्नुभन्दा ऊ अरू अनुकूल आफूलाई बदल्न चाहन्छ । व्यवहारवादी यसको मूल विशेषताभन्दा फरक नपर्ला । म अवसरवादीलाई सम्मानसूचक शब्द व्यवहारवादी भन्न रुचाउँछु ।
भोकटे टाउकेहरू पनि यत्रतत्र सर्वत्र छन् । खाल्टाखुल्टी नपरेको सुलुत्त मिलेको टाउको हुनाले भादगाउँले कालो टोपी पूर्वेली र पाल्पाली ढाकाटोपी, कटराइजको क्याप आदि सबैमा यसको फुर्तिलोपन सार्वजानिक हुन्छ । जस्तो लगाए पनि सुहाउने भोकटे टाउकेलाई सबै समान लाग्दछन् । गुण-दोषको छ्यानविचार राख्नुपर्दा यसलाई बेपत्तैसँगै टाउको दुख्छ । आलोचना र आत्मालोचनादेखि खुबै टाढिन्छ । बाह्य हाउभाउ, हँसिलो मुखमुद्रा र चेपारे प्रवृत्तिलाई उत्कृष्ट मानवीय स्वभावको रूपमा ल्याप्चे ठोक्दछ ।
कुनैबेला भगवान् ब्रह्माजीले फर्सी टाउकेदेखि भोगटे टाउकेलाई एकदिन एकतृत हुन उर्दी जारी गर्नुभएछ । सृष्टिको उषाकालमा उनले मान्छेको टाउकोमात्रै सृष्टि गरेका रहेछन् । सबै प्राणीहरूको शरीरलाई त्रिखण्डी बनाउने उनको सोच बनेछ । मान्छेलाई पनि त्यसै गरौं । टाउकोको स्वभावअनुसार जीउ र खुट्टा जोडजाड गर्नुपर्ने बाध्यता उनमा आइलाग्यो । अन्ततः उनी टाउकोको स्वभाव मुताविक जीउको खण्ड जोडजाडमा बेपत्तिए । कुन रूपको जीउको संरचना निर्माण गर्ने भन्ने सोचमा डुब्दाडुब्दै ब्रह्माजी एक बाटाघरे कुमालेका पुग्छन् । कुमालेको दलानमा राखिएको घ्याम्पो, गाग्रो, घैटो र सुराही फेला पार्दछन् । कुमालेको मतलब नगरी ती सबैलाई यमानको खाँग्रोमा हालेर बोक्छन् । बोकेर अलिकति के अघि बढेका थिए, खाँग्रोभित्र तँछाड र मछाडको लाप्पा चल्यो । ती सबैको मल्लयुद्धले गर्दा ब्रह्माजी पनि झण्डै खुरमुरिएका थिए भीरतिर । तिनीहरूलाई त्यहीं छोडी उनी टाउकाहरूलाई लिन पुगें । फर्सी टाउकेलाई
घ्याम्पो, कुभिन्डे टाउकेलाई घैटो, भुइँकटहरे टाउकेलाई सुराही र भोकटे टाउकेलाई गाग्रो जोडिदिए । त्यति भइसकेपछि खुट्टा पनि जोडिदिइहालौँ । ब्रह्माजीको आत्मा फुर्न गयो, उनी लागे जङ्गलतर्फ । बाँस निगालो, साज र अग्राग फेला पारे। ती चारैवटालाई ल्याई जोड्दै गए। घ्याम्पोमा अग्राख, गाग्राे, घैँटो र सुराहीमा क्रमशः साज, बाँस र निगालो जोडिदिए। त्यसपछि पूर्ण मानव तयार भयो ।
आफ्नो लागि रीतिस्थिति आफैले बनाउने अख्तियारनामा आफैले पाएपछि फर्सी टाउके, कुभिन्डे टाउके, भुइँकटहर टाउके र भोकटे टाउके सबैलाई एकै ठाउँमा बसाली फर्सी टाउकेले सम्बोधन गयो। हामी उही बाबुका सन्तान भएकाले वंश एउटै पो । खुसी र आनन्दका साथ, संविधान बनाऔं । सबैले उसको प्रस्तावमा जोडदार रूपमा ताली ठोके। सात दिनपछि देवाली सुरु भयो । फर्सी टाउकेले आफूलाई राजा बनायो । भोगटे टाउकेले मन्त्री भुइँकटहर टाउकेलाई कर्मचारी र कुभिण्डे टाउकेलाई परिचर । कुभिन्डे टाउकेले अब आइन्दा कमाएको भुइँकटहर टाउकेलाई बुझाउनुपर्ने भयो ।
कुभिन्डे टाउकेले जतिखेर पनि जोतिइरहनुपर्ने भयो। मुखको रसिलोपनाको अभाव उसको कमजोरी त छँदै छ। भुइँकटहर टाउके बेलाबेलामा ढिम्किएर दुःख दिन्थ्यो । कुभिन्डे टाउकेलाई दलाएर दिक्क पर्दथ्यो। भुँडी जोड्ने बेलामा सबैको भुँडीको मुख माथिल्तिर फर्किए पनि कुभिण्डे टाउकेको घैटे भुँडीको मुख भुलबस उँधोतिर फर्कन गएकोले जति कमाए पनि रित्तिदै जान्थ्यो। जति हाल्यो उत्ति नै खेर जाने पुवामा दूध र बालुवामा पिसाब फेरेकै हुन पुग्यो। सुराही भुँडी हुनेले मीठोमीठो आफूलाई राखेर बाँकी गाग्रे टाउकेलाई सुम्पन्थ्यो गाग्रे अटेको जति अचेटेर नसकेको फर्सी टाउकेलाई हुत्याउँथ्यो। अरू सबैको भुँडीको मुख माथितिर फर्केको तर कुभिन्डेको भुँडीको मुख तलतिर फर्किएको अवस्थामा जति कमाए पनि नअडिने भयो । कुम्हालेकहाँ गएर नसोधी ल्याएको त्रुटिका कारण भुँडीको अधीनमा टाउकाले बाँच्नुपर्ने बाध्यता पनि सिर्जना हुन गयो। त्यस बेलादेखि हालसालै मात्र हो र ?
०००
बुर्कुसी (२०७५)
Subscribe
Login
0 Comments
Oldest








































