देवीप्रसाद चापागाईंअपवाद
जतिसुकै मारमुङ्ग्रीको शैली अप्नाए पनि अपवाद ऐन मौकामा हाजिर भएर सयौं वर्षदेखि राज गरेको वादको सातोपुत्लो उडाएर गजबकै ज्वारभाटा भित्र्याइदिन्छ ।

देवीप्रसाद चापागाइँ :
वादबाट एक्लिएको, सिद्धान्तबाट बेग्लिएकोन, प्रचलनबाट नेप्टिएको, भीडबाट भकुण्डिएको, परम्परा बाट चेप्टिएकोा दृष्टान्त अपवाद हो भन्दा तपाईंको साढुभाइकोक के जान्छ त ? गए उसैको जाला। उसैको बाबुको जाला। तपाईँलाई के को खसखस र टनटन नि ? फेरि बम्किन तपाईंलाई कसले सिकाउनु पर्छ र ? आफैं चल्तापूर्जा मान्छे । मन्त्रीको सालो, सम्पादकको ज्वाईँ, सेनापतिको मीत छोरो, ठूलो दलको कार्जेकर्ता, द्वन्दकालको चल्तापूर्जा नफन्किएर म जस्तो अनुहारले पिन्चे, शरीरले पुड्को, कमाइले जसोतसो बोलाइले कसोकसो, नाता कुटुम्वमाझ यसो न उसो भएको मान्छेले रन्किन, फन्किन र झन्किन मिल्ला त ? अँ साँच्ची विषयवस्तु अर्कै पो थियो त । अपवादको नालीबेली उतार्न खोज्दा आफ्नै पो बेलिबिस्तार फोएछु । वाद वा प्रचलन, चालचलन वा परम्पराको उल्टो गति वा भिन्न मति अपवाद भन्ने वा अभिव्यक्तिनेको मुख कसले पो थुन्ने? बहुमत उत्तरवाहिनी हुँदा एक्लै वा थोरै दक्षिणवाहिनी हुनु, साँझ पख घरतर्फ लाग्नुपर्ने वनतर्फ हिँड्नु, लालीगुराँस माघमा फुल्नु अपवाद नभए के त ? धेरै तपाईँ सोच्नुहोस् । थोरै भरथेग अर्थात पकेट खर्चको जोहो म पनि गरौंला ।
उहिले उहिले अपवाद्ले टाउको नदेखाओस् भनी अधिक पात्रहरू सचेत हुन्थे रे। नियमको उल्टी गङ्गामा शयर गर्नुपर्दा सबैको मनमा आशङ्का रोपिन्थ्यो । बोल्थे- परमेश्वर अपवादको वीजारोपण हुँदै नहोस् । कदापि जन्मिए पनि अल्पायुको र विकलाङ्ग होस् । सब लाङ्ग बन्न असमर्थ होस् । तर के गर्नु । कामना लाखौंको छ । ती स्वरहरुलाई कक्रक्क पारेर झुल्किन्छ एउटा अपवाद । विश्वसम्राटको उपाधि हासिल गरेर बिदा हुन्छ। अनि अपवादलाई धारे हात लगाउने पात्रहरु मरिचझैँ चाउरिन्छन् र कुपोषणले आक्रमण गरेका झैँ भई दाउरिन्छन । आलोचक, उपदेशक, दीक्षक, समीक्षक जजसले तर्कका कत्ना-कत्ना क्षेप्यास्त्र छाडे पनि आफ्नो कार्य सम्पन्न गरी कृष्णद्वेपायन झैँ सालनाल बोकेर बाटो तताउँछ । ववुराहरु हेऱ्याहेऱ्यै।
तपाईं हामी घोत्लियों। अपवाद नवीन वादको जननी हो कि ऐजेरु ? भीडको नजरलाई वेवास्था गरौँ जिविकामा धक्का । एक्लै उभियौँ एक्ले बादर होइने त्रास । जेजे नापियोस् म त भीडकै पक्षमा उभिन्छु भन्ने अधिकार पनि छ । मर्दाको मलामी ज्युँदाको जन्ती हुने हाम्रो असली परम्परा किन छोड्ने ? हदै होला इतिहासमा नाम नलेखिएलाय । एक माने भाँडोको खाँचो त भित्रिँदैन। आकार, प्रकार, दरकार आदि ‘कार’ को उत्तर खोजेर अपवादको कित्तामा उभिनुभयो भने बहुजनको समर्थन कदापि हुन्न नि। अब हामीलाई तपाईंकै दुर्वुद्धिसँग सती जानुपर्दछ भन्ने छ र ? पानीकै आकारमा एकाकार हुनु नै मज्जा छ। जस्तो भाँडोमा हाल्यो आकार उस्तै। त्यस्तै वा उस्तो उभिण्डो, खोरण्डो र उखुण्डो तर्क पेश गरेर तपाईँ कहाँ पुग्नुहोला र ? आकार हिनता नै उसको आकार भनिदिन तपाईँलाई केले छेक्यो त ? म एकोहोरिन्छु घोत्लिन्छ । नियमको उल्टो अपवाद होइन बरु सम्भावनालाई बाँध्न पो नसकिएको हो कि? अझै तपाईं अलमलिएको हो ? हुन त जसले जे-जे गरे पनि राम! राम ! भन्दै पच्छ्याउनेसँग उजुर गर्नु व्यर्थ छ।
बरु अलिकति प्रसङ्गलाई Discovery बाट Geographical history मा अपग्रेड गरौं। अपवाद र वादको अस्तित्व, उपस्थिति र रस्साकस्सीको बेलिविस्तार। एक्लिएर पनि अस्तित्व जोगाउन सक्ने अपवाद र सर्वसम्मत वा बहुमत जुटाएर मात्र जोगिने वाद तुलनीय हुन सक्ला त ? एक्लिएर फुल्न, फल्न र फक्रन सक्ने अपवाद महान हो या भिड समूह र जमातको अडेसोबाट अस्तित्व जोगाउने बाद महान ? मथिङ्गल खियाउनुहोस् । आलस्य आए पेटभरि खानुहोस् अनि भोजन ग्रहणकै ठाउँमा घुर्न थाल्नुहोस् । किन लम्बेतान व्याख्यान चाहियो त ? फेरि अपवाद बन्न खोजेर मात्र नहोला। हिम्मत र आँट बिना अपवादको टीका लाग्न साह्रो गाह्रो नै छ। अब स्वविवेकी, आत्मनिर्भर, स्वाभिमानीपन नझेली अपवादको स्वाद चाख्न कसरी सकिन्छ त ?
अपवादको कुरा गर्नुहुन्छ भने असहयोग, आलोचना, हेलांहिचो, नव्यहोरी यसको स्वाद पाउन नै सकिन्न। अधिक मानव अपवादविरोधी नै हुन्छन्। जब अपवादले बेग्लै परिणाम दिएर हल्लिखल्ली मच्याउँछ। त्यसलाई नपक्री ‘स्व’ को अस्तित्व जोगिन्न। त्यसबेला अपवादले वादको स्थान लिएर वादलाई निमोठनामठ पार्न आँटेपछि अनि मानव अपवादकै पूजा गर्न अग्रसर हुन्छ। अपवादका दृष्टान्तमा प्राय: साहित्यकार, कलाकार, नेतानेतृ, वैज्ञानिक, दार्शनिक, धार्मिक एवं शैक्षिक जमात लपेटिन्छन् तर आफ्नो हैसियत कर्म र त्यागको लेखाजोखा गर्न नजान्ने म जस्ता लठ्ठुकहरू न वाद न अपवाद बोध गर्दछन् । आफ्नै लिंडेढिपीमा पारिवारिक गाँडी हाँकेर वाद र अपवादको कुरा दोचार्ने माथि खिसीट्युरी को बर्साउन पुग्छन् । अपवादको जन्म हुनुपूर्व अपवादका पारखीले वादलाई केलाईकुलाई नगरी धरै पाइँदैन। किनकी वादकै छेउकुना उध्रिएको सिलाएर मात्र अपवाद उत्पति हुने हो नत्र अपवाद जन्माउँछु भन्नेले यमलोक कै टिकट पहिले नै वुकिङ गरेको जाती।
उदाहरण ठूलैको नदिए फेरि अपवादको झटारोले आफैंलाई हान्न के वेर ? सानातिना अपवादको पछि किन लागौं ? ठूलाको सट्टा साना उदाहरणको बिस्कून लगाउनेको अपवादको झटारो आफ्नै पुर्पुरोमा बज्रिदैन भन्ने के छ र ? देवकोटा, रिमाल, श्याम प्रसाद, मेक्सिम गोर्की, टाल्सटाय, आइन्स्टाइन, लिङ्कन, झमक, हेलेनकिलर, पारिजात, आदि पात्रहरु पनि अपवादकै शिकार भए कयौं पटक । नेपाली भाषाको सतित्वलाई गिज्याउनेमाथि भिउसिने लौरो देखाएर जाइलाग्ने देवकोटा अपवादका विद्रोही नै बने। त्यही एक-दुई दृष्टान्तले उनको मातृभाषा प्रेम अर्थात् मोहले कत्रो शक्ति दियो त । हो कि होइन ? ‘कुरा खस्रा मीठा’ यहाँले नै बुझ्नुहुन्छ। उद्घोषकले कवितावाचन गर्न मञ्च उपलब्ध नगराउँदा रिमाल विना अनुमति कविता सुनाउन पुगे । जहाँ उनको नाम पढिएको थिएन । श्रोताको गडगडाहट तालीले अपवादले वादको स्थान जमाउन सफल भएको थियो। पैसाको लागि लेख्नेलाई काट्न खुकुरी भिरेको हुँ भन्ने रिमालका अर्को उदाहरणले अपवाद कति शक्तिशाली हुन्छ अन्दाज काट्न सक्नुहुन्छ । वादलाई निहुरीमुन्टी पार्ने ह्याउ एउटै अपवादले जुरुक्क बोकिदिन सक्छ ।
वाद र अपवाद विचार, दर्शन, र सिद्धान्तको हकमा लागू हुन्छ क्या भन्नेहरु अहिले त एकल व्यक्तिका आनीबानी अनि आचरणरुपि अपवादलाई पनि भूकम्प ल्याउने अस्त्र ठान्छन् । जाबो एउटा व्यक्ति हो भन्ने मन कदापि व्यक्त हुँदैन । गाउँ वा सहरमा बाघ वा चितुवा पसे झैँ घर-घरबाट लाठा र खुकुरी भिरेर जाइलागेझैंको मुद्रामा सबै रहेको पाउँछौं। तर जतिसुकै मारमुङ्ग्रीको शैली अप्नाए पनि अपवाद ऐन मौकामा हाजिर भएर सयौं वर्षदेखि राज गरेको वादको सातोपुत्लो उडाएर गजबकै ज्वारभाटा भित्र्याइदिन्छ । अनि वादका पारखीको नाडी नशा धिमा गतिमा हिंड्दै अन्त्य मा हर्टअट्याक व्यहोरेर पूर्वावस्थामा आकाश-जमिनको फेरबदल ल्याउँछ ।
हुन त अपवाद भनेकै बेग्लै वा अलग्गै प्रदर्शन गर्नुको नाम हो। एउटै घरमा पनि चर्मवर्ण पृथक-पृथक भेटिन्छ। गोरो, गहुँगोरो, धुम्र, पित, वर्ण भेटिए झैँ बादका अनेक रूप र तिनका विरुद्धका अपवाद नउब्जियोस् भन्नु नै प्रगतिको बाधक मान्न सकिन्छ। परोपकारी, दुराचारी, भ्रष्टाचारी, व्यविचारी, सत्यवादी, आदि रूप र ढङ्ग पनि अपवादकै पाठ पढेर आएको पृथकता हुन सक्दछ। समझदार, इमान्दार, वफादार, तालुकदार, मुलुकदार आदि योग्यता उरण्ठेउलो पागल, बदमास, घुस्याहा जड्याहा, घुसखोरी, सुदखोरी आदि अलग परिचय पनि अपवादकै पाटामा फलेका कन्दमूल हुन् कि ? अड्कल काट्न, अन्दाज लगाउन र अनुमान बगाउन त पाइयो नि ! केवल राज्य सञ्चालनका दृष्टिले मात्र संसारको व्याख्या पूर्ण नहोला कि ? अब म चनाचटपटे मात्र होइन दहीचिउरे, घ्यूकनिके, दूधखट्टे, छोइले, कचेले मार्काका अलग्गै गफ वा बान्कीलाई पनि अपवाद कै गर्भमा लैजाँदा भिन्नता र विविधता बोकेर दुनियालाई बेगल स्वाद दिलाउन सक्थेँ होला।
अपवादको खेदो खनिरहनेलाई पूर्ण ज्ञान होला त ? नवीनता, प्रवीणता, न्यूनता, अधिकता, व्यग्रता, उग्रता, वक्रता आदिका भिन्नता पस्किएर कतै बिग्रिएला त ? गैंडाको बच्चाले पछाडि वा पृष्ठ भागबाट दूध चुस्दै आमा र आफूलाई बचाएझैँ अपवाद जन्मिँदै चुनौती खप्ने नभई कसरी जन्मिएर हुर्किएला त ? यसैमा घोत्लिनुहोस् कल्याण हन्ड्रेड पर्सेन्ट।
०००
काठमाडाैं
२०८२/०१/०३
Subscribe
Login
0 Comments
Oldest









































