लीला उदासीविष्णु नवीन
हास्यव्यङ्ग्यकाे सट्टामा धेरैका धर खेत उडाउने राजीनामा लेखेर अलमल्याउँदै लीन सकेको भए या करोडपति बाबुको छोरा भए विष्णु नवीन भोकै मर्ने थिएन/नाङ्गै डुल्ने थिएन ।
लीला उदासी :
एउटा मान्छे
गफ गर्न जान्ने-तर ढाँट्न नजानेर
नेता हुन सकेन
कुरा बुझाउन जान्ने
तर आफै कुरा नबुझेर
स्मगलर हुन सकेन
जिन्दगी भरि आँसु पियो/अभाव खायो
मागेर भए पनि अलिकति रक्सी चढायो
कठै ! ऊ गयो ।
मलाई र मजस्तालाई इलामले
अलिकति शून्यता थपेको छ
मेरो स्मृतिको आकाश भरि नरमाइलो कुहिरो
ढाकिएको छ
दश रुपियाँको लागि हात थाप्ने ऊ हुँदैन अब त्यहाँ
नयाँ मान्छे भेटे मात्र छाक टार्न ऊ छैन अब त्यहाँ
रक्सी र ऊ जसले एक अर्कोले आलोपालो गरी खाए
दुइटाले एक अर्कोलाई खाने क्रिया हुँदैन अब त्यहाँ
खूब ढाँटेर नेता हुन सकेको भए
लालचमा पौड्दै स्मगलर भएको भए
हास्यव्यङ्ग्यकाे सट्टामा धेरैका धर खेत उडाउने राजीनामा लेखेर
अलमल्याउँदै लीन सकेको भए
या करोडपति बाबुको छोरा भए
विष्णु नवीन भोकै मर्ने थिएन/नाङ्गै डुल्ने थिएन
आँखाभरि विषाद र व्यङ्ग्य बोकेर
दश रुपैयाँ दिने मान्छे खोजेर हिँड्ने थिएन ।
०००
चन्द्रगडी, झापा
आज भालेलाई बास्न निषेध छ ! (२०४८)
Subscribe
Login
0 Comments
Oldest






































