लीला उदासीउहाँ
अहिले त उहाँको ढिकुटीको प्रतीक भएको छ उहाँको व्यक्तित्व । ती नहुनेहरूको आड, बल र रहरमा हराभरा भएको छ। यस्तै हराभराको माझबाट उहाँ धरहरा बन्नुभएको छ ।

लीला उदासी :
उहाँको नाम भन्ने हिम्मत मसँग छैन। किनभने म कायर हुँ। कायहरूले भोग्नुपर्ने जुनसुकै सजाय भोग्न म तयार छु । उहाँको नाम, गाम, ठाम भने म बताउन पटक्कै सक्दिनँ । त्यसो त यो उहाँको विशेषता पनि हो। म जत्तिका मान्छे उहाँको प्रशस्ति र स्वस्ति खुलेर लेख्न लक्छौं । घन्टौँ भाषण गर्न सक्छौं । यसो गर्ने तागत उहाँसँग छ र नै आज उहाँ, उहाँ हुनुभएको छ । उहाँले जे गर्नुहुन्छ त्यसको प्रशंसा हुनुपर्छ । उहाँले जे भन्नुहुन्छ त्यसको अनुसरण हुनुपर्छ । अनि त उहाँ जहाँ पुग्नुहुन्छ नमस्ते र कुर्नेसहरूले पुरिनुहुन्छ । उहाँको कद जस्तै विचार व्यवहार पनि होचो भएर के गर्नु ? नमस्ते र कुर्नेसहरूले उहाँ असलियतहरू छल्न सफल हुनुभएको छ । अनि त म सम्झन्छु- धन्य उहाँ ।
उहाँको व्यक्तित्वको राष्ट्रभरि चमक छ । उहाँलाई पचहत्तरै जिल्लामा सबैले चिन्छन् । उहाँ राजधानीमा बस्दा पनि पटक-पटक ठुलै भएको मान्छे…। उहाँ मात्रै धरहरा र सधै हराभरा । उहाँले जे छोयो त्यो क्षण भरमा उम्रन्छ र फल्छ । उहाँले मुठीमा समातेको बालुवामा पनि फल्छ र त्यहाँबाट सुन झन्छ। आरिस गर्नेले त जुलुस पनि निकाल्छन् र मुर्दावाद पनि भन्छन् तर उहाँका ओठभरि मुस्कान छरिन्छ । उहाँ उहाँ नै हो। उहाँलाई न त जुलुसले गलाउँछ न मुर्दावादले झुकाउँछ ।
उहाँ बलेको वत्ती झ्याप्पै निभाउने गरी र निभेको वत्ती धपक्कै बाल्ने गरी भाषण गर्न सक्ने हैसियत राख्नुहुन्छ । अनि त मान्छेहरू भन्छन्-उहाँको डुँडुलो पनि चल्छ, थुतुनो पनि चल्छ। कहाँ थुतुनो मात्रै हो र त्योबाहेक अन्य जे चल्दा बूढापाकाहरू अनिष्ट हुन्छ भन्छन्, उहाँको त्यो पनि चल्छ। तर कहिल्यै अनिष्ट भने भएको छैन । बरु शिष्टे शिष्टको खत लागेको छ । केही गरे पनि उहाँलाई बात पनि तागेको छैन, लात पनि लागेको छैन । उहाँ आफै भन्नुहुन्छ- उहाँको भाग्य नै बलियो – घातप्रतिघात अरूलाई सुनौला सुनौला रात उहाँलाई……।
अनि डुँडुलोको कुरा बाँकी नै छ । उहाँ जे पनि लेख्न जान्नुहुन्छ । स्कुल छँदा प्रेमपत्र लेखिहिंड्ने उहाँको पेसा नै थियो। पहिलो जोसुकैलाई आफै लेख्तै हिंड्नुहुन्थ्यो । दुई-चारपटक प्रेमपत्र लेखकलाई थापेको एम्बुसमा परेपछि त्यो काम अलिक घटेको थियो तर के गर्नु र ? इलम जानेपछि पनि मान्छेले दुःख पाउँदो रहेछ- एकान्त पारेर अलिक ठुला दादा र दिदैहरू मिलेर प्रेमपत्र लेख्न विर्सनुहुन्छ कि भनेर ताजगी तालिम दिन्थे उहाँलाई । उहाँ पनि त्यसमा खुब हौसिने, त्यो व्यापार पनि उहाँको खुब चल्यो । काइदाको फाइदा हुन थाल्यो । कतिका दादाहरूलाई एम्बुसमा चिप्ल्याएर दिदैहरूसँग आफै पो पत्राचार गर्नुहुन्थ्यो। त्यही बेला त हो, उहाँले प्रणय विरहका गीत लेख्न थालेको । त्यसपछि कविता अनि कया। उपन्यास पनि लेखेको हल्ला छ देखिएइको चाहिँ छैन। यसरी हात र मुख दुबैले साथ दिएर त उहाँलाई कहिले राजनेता, कहिले पत्रकार, फेरि समाजसेवा, फेरि पत्रकार…. फेरि पत्रकार फेरि समाजसेवा । “म रातभरि एक थोक दिउँसो अर्कै थोक हुनसक्छु” उहाँ आफै भन्नुहुन्छ । जेहोस्, रात वेरात उहाँका हातले उहाँलाई खुबै साथ दिएको छ। उहाँ लेखक, कवि पनि, नेता पनि। गायक पनि नायक पनि ।
उहाँ कसरी वामपन्थी राजनीतितर्फ तानिनु भएछ त ? उहाँलाई नबुझ्नेहरू बेला-बेलामा यस्तो जिज्ञासा आफूभित्र पैदा गर्छन् । उहाँको सम्पन्नता र वामपन्थी राजनीतिमा लागेपछि झन् फक्रेको त्यो सम्पन्नताका बारेमा केही मान्छेहरू त उहँलाई नै प्रश्न पनि गर्छन् । तिनलाई उहाँ पलभर हेर्नुहुन्छ अनि उहाँका आखाँहरूले भनिरहेका हुन्छन्- बिचरा तिमीहरू । तर शब्द त यसरी आउँदैनन् । उहाँ भन्नुहुन्छ- “आमाको गर्भमै छँदा म वामपन्थी रहेछु र त्यसरी नै जन्मे, अब सम्पन्नताका बारेमा सुन्नुहोस्- हाम्रो पैतृक सम्पत्ति गाउँभरि थियो अरूले पनि लिएर हामीलाई घोर अन्याय गरेका छन् । अब म राजनीतिमा लागेपछि बढेको जे देखिन्छ त्यो त व्याज हो । पदमा छँदाको आर्जन त देखाउनै भएन नि ! अब सम्पन्नता र वामपन्थी एकै साथ कसरी ? त्यो प्रश्न मसँग नगर्नू । रहर भए कार्ल मार्क्ससँग गर्नु, लेनिनसँग गर्नू । होइन भने अहिलेका ज्योति बसुसँग गर्नु । त्यसो पनि भएन भने काठमाडौं गएर केशव स्थापितसँग सोध्न् ।” यसरी त्यस्तो प्रश्न गर्नेलाई पश्चात्तापमा पारिदिने सिप उहाँसँग प्रचूर छ ।
उहाँलाई अलिक धेरै बुझ्नेहरूले त भन्छन्- उहाँ हाइस्कुलतिर पढ्दै गर्दा पारिवारिक सभाले उहाँलाई वामपन्थतर्फ अग्रसर हुनुपर्ने निर्णय गरेको हो। किनभने उहाँको परिवारमा पञ्चको खेती थियो, काङ्ग्रेसको ढेरी थियो, त्यो बेलासम्ममा उहाँको परिवारमा वामपन्थीको विरुवा नै थिएन । वामपन्थको खेती गामभरि हराभरा हुनु उहाँका घरमा विउ नै नहुनुको पारिवारिक पीडाले उहाँले त्यतातिर जानै पर्ने कुराको पारिवारिक सभाले फैसला गर्यो र वामपन्थ यात्रा उहाँलाई निकै सुगम महसुस भयो । ‘जिम्दारका छोरा कामरेड’ भन्दै उहाँसँग हात मिलाउन पाउँदा गामका हली, गोठाला, खेलाता अधियार सबै खोजेको मुक्ति पाएको महसुस गर्थे । त्यति मात्र हैन, उहाँकै अधियारसँग परिवारको वारवार झडप पर्थ्यो । उहाँ वामपन्थी भएपछि त त्यस्तो झडप अलिक सजिलै टर्न थाल्यो धेरै त उहाँले भनेपछि जे पनि मान्थे । कोहीकोही मान्दैनथे । जो मान्दैन थे तिनलाई उहाँ सी. आई.डी. भन्नुहुन्थ्यो र पक्राउनुहुन्थ्यो । थुनाउनुहुन्थ्यो ।
एकताका धान वालीका बारेमा निकै विवाद चर्कदै थियो। उहाँ त राजधानीमा विद्यार्थी आन्दोलनमा व्यस्त हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको उहाँ गायक पनि नायक पनि । तैपनि उहाँलाई घरबाट तु बोलावट भयो । आन्दोलनवाट पलायन भएर जिम्दार पिताजीको आदेश तामेल गर्न घर दाखेला हुनुभयो र उहाँजस्ता नायकले सबै कुरा बुझेपछि घरकाहरू सबैलाई फैसला सुनाउनुभयो- “भरे राति सबै कामरेड मेरा कब्जामा हुन्छन् । राति वाह्र बजेभित्रमा सबै धान काटेर भित्र्याउनू !” अर्कै गामबाट अलिक धेरै जनशक्तिको जोहो उहाँका घरमा भयो । साँझ परेपछि उहाँ भने गामको स्कुलमा दाखेला हुनुभयो जहाँ पूर्व योजनाअनुसार गामका सबै कामरेड थिए। उहाँलाई आफू बीच पाएर सबै कामरेड दङ्ग । आजको प्रशिक्षण अलिक लामै हुने र सैद्धान्तिक हुने उहाँले बताउनुभयो । अनि थाल्नुभयो – मार्क्सवाद, लेनिनवादबारे व्याख्या गर्न ।
बाह्न बजेतिर प्रशिक्षण सकेर सबैलाई बिदा गरेपछि उहाँ घर पुग्नुभयो । खेतको सबै धान काटेर भित्रिइसकेको रहेछ । उहाँ ढुक्क भएर सुत्नुभयो । भोलिपल्ट गाउँ तनावमा बदलियो । उहाँले सबैलाई बुझाउनुभयो र भन्नुभयो- “यो पक्कै प्रशासनको करामत हुनुपर्छ । जसमा मेरै परिवारका कसैको पनि संलग्नता हुनसक्छ, तर म यसको भण्डाफोर गरेर छाड्छु। यति भन्दै उहाँले आफ्नै नामबाट एउटा वक्तव्य तयार पार्नुभयो र त्यसलाई छापेर प्रचार प्रसार गर्न कामरेडहरूलाई नै खटाउनुभयो । कामरेडहरू आदेश पालन गर्न हिंडे। उहाँलाई पनि काठमाडौंबाट बोलावट आयो । “यसपल्ट नैतिक रूपमा हामीले जित्यौँ कामरेडहरू” भन्दै उहाँ कामरेडहरूसँग बिदा भएर बाटा लाग्नुभयो । वर्ष भरि पसिना बगाएर खेती गरेका कामरेडहरूको चूलो बलेन, धान उहाँका ढिकुटीमा चुलियो ।
यस्ता प्रसङ्गहरू त बग्रेल्ती आए गए तर सबै प्रसङ्ग यस्तै रहे। उहाँ नहुनेहरूको नेता, ती नहुनेहरूको सधै हुँदैन । वर्षभरिको श्रम, पसिना, रगत सबै सधै उहाँका ढिकुटीमा पस्छ र उनीहरूको चुलो निस्कृय भए पनि मङ्सिरमा ढुकुटी चुलिन्छ र थपक्क बल्छ । अहिले त उहाँको ढिकुटीको प्रतीक भएको छ उहाँको व्यक्तित्व । ती नहुनेहरूको आड, बल र रहरमा हराभरा भएको छ। यस्तै हराभराको माझबाट उहाँ धरहरा बन्नुभएको छ । सबैले भन्छन्- धन्य उहाँ, जय उहाँ ।
०००
त्यो बालक कहिले जन्मन्छ ? (२०६३)
Subscribe
Login
0 Comments
Oldest








































