शिवप्रसाद जैशीगणित पुराण
गणित पुराणमा हुँदा खाने र हुँदाखाँदाको बीचको औसतको मिथ्याङ्क प्रस्तुत गरेर आँखामा कृर्तिम फुलो पारिन्छ। अजिर्णले मुसुण्डिएका र भोकले चाउरिएका पेटको जोखनाले तुलो बराबर भएको अर्तिको भर्तिले घोक्रो सुकाइन्छ।

शिवप्रसाद जैशी :
पुराण भन्नेबित्तिकै सृष्टिको उत्पत्ति, परम्परादेखि चलिआएका मनुष्य, देवीदेवताहरू र दानवका कथा, ऋषिमुनि, राजाहरू, धर्म, नैतिक शिक्षा, तीर्थव्रत, संस्कार, तथा जीवन दर्शनका विषयहरू वर्णन गरिएका हिन्दु धर्मका वेदपछिका प्राचीन धार्मिक ग्रन्थ हुन भन्ने अर्थमा सबैले बुझेकै होलान्। पाठ गरेर होस् वा पाठकको आवाज श्रवण गरेर होस् वा बातचितका बखत जानकारले पुराण विज्ञताको टुक्काटाक्की फर्माइस गरेका आधारमा नै किन नहोस्- कुनै न कुनै रुपमा बुझेकै हुन्छन्।
पुराणलाई संस्कृतमा “पुरा अपि नवं” भनियो। यसको अर्थ हुन्छ पुरानो भए पनि सधैं नयाँ ज्ञान दिने कुरा। अर्थात पुराण पुरानो हुँदैन। त्यसैले सदियौं देखि श्रवण गरेर पुरानोबाट नयाँ ज्ञान आर्जनमा कुनै कन्जुसाईँ गरेको देखिँदैन। धर्मशास्त्र अनुसारका अठार पुराण मध्ये शिव पुराण, भागवत पुराण, विष्णु पुराण, गरुड पुराण, स्कन्ध पुराण भने धेरै सुनिएका चल्तिका पुराण हुन्। अब भन्नु होला यतिका अठार पुराण भित्र कतै नामो निशान नभएको यो गणित पुराण कहाँ र कताबाट आयो। हो, कतै छ कि भनेर खोज्दा भेटिएन।
कृत्रिम बौद्धिकतालाई सोधेको उसको उत्तर जस्ताको तस्तै यस्तो छः “गणित पुराण” भन्ने नामको कुनै प्रसिद्ध हिन्दु महापुराण वा उपपुराण परम्परागत रूपमा मानिँदैन। तर तपाईंले केही फरक सन्दर्भमा सुन्नुभएको हुन सक्छ: १. ठट्टा वा व्यंग्यमाः धेरै गाह्रो हिसाब, जटिल गणना वा लामो व्याख्या हुँदा मानिसहरूले मजाकमा “यो त गणित पुराण भयो!” भन्ने गर्छन्। २. गणितसम्बन्धी पुस्तक वा सामग्रीः कतिपय लेखक, शिक्षक वा कोचिङहरूले आकर्षक नामका रूपमा “गणित पुराण” शीर्षक प्रयोग गरेका हुन सक्छन्। ३. “गणित” र “पुराण” शब्दको मिश्रणः पुराणजस्तै लामो कथा वा व्याख्या भएको गणितीय सामग्रीलाई अनौपचारिक रूपमा त्यसरी भनिएको हुन सक्छ। परम्परागत हिन्दु धर्मका १८ महापुराणमा भने “गणित पुराण” पर्दैन।
आजको प्रविधिको युगको पुराण लेखन र वाचनमा कृर्तिमानि कायम गरेको कृत्रिम बौद्धिकताले नै छैन भनेपछि नभएको चिज लेख्न सान्दर्भिक देखियो र नाम पनि गणित पुराण नै राख्ने गरी न्वारन गर्ने निधो गरियो। खासमा यो गणित पुराण के होला भन्दा जहाँ सास हुँदैन केवल अङ्कको आसमात्र भरिएको लामो लम्बेतानको जनजनका मनमनमा पठाउन अनिवार्य गरिएको सरकारी दस्तावेज नै हो। यो अरु १८ पुराणहरू जस्तो एकपटक लेखिएपछि सधैं काम लाग्ने अकाट्य भने हुँदैन। यो प्रायः वार्षिक रुपमा फेरबदल हुन्छ। यसका प्रकारमा १ वर्ष, ३ वर्षे, ५ वर्षे र कहिलेकाहीँ अक्करपर्दा आधा वर्षे पनि हुनसक्छ।
उस्तै पर्दा पूरक पुराणको रुपमा पनि यो ल्याइन्छ। समय समयमा समीक्षा गरेर फेरबदल गर्दा पाप र श्राप नलाग्ने गरी बनाइएको हुन्छ। संस्कृतमा भनिएजस्तै नभएपनि रङ्गरोगन गरेर नयाँ भनि प्रस्तुत गरिने ज्ञान हो यो। यो लेखन र वाचनका लागि जनताद्वारा मताधिकार मार्फत अधिकार सुम्पिएकाहरूका मनमस्तिष्कको उपज पनि हो। जस्ता जन उस्तै मन उस्तै राख्यो धनको सूत्र प्रयोग हुन्छ-यो पुराण तयार गर्दा। यो स्थिर भन्दा पनि उदार पुराण हो। यो आगामी वर्षको गणितीय जोखना भएकोले गणित पुराण महोत्सव विना चालु वर्ष डेग चल्न सक्दैन। गणितीय चक्र गतिशील बनाइ मानव जीवन वर्ष भरी चलायमान बनाउन यो पुराण लगाउन कानुनीरुपमा बाध्यात्मक छ। यो पुराण अरु अठार पुराण जस्तो वाचन र श्रवणमा स्वैच्छिक होइन-अनिवार्य हो।
यो आम मानिसमा छलफलको विषय बन्दैन। यसमा छल गरेर फल प्राप्त पनि गर्न सकिन्छ। यो पुराण वाचनपछि हुने गालिगलोज माथापच्चिसको कुनै अर्थ हुँदैन अर्थात पाप र श्रापको गुन्जायस न भएकोले पुराण लेखकले आफ्नो र आफ्ना पक्षको पोल्टामा अङ्क खसाल्ने र अरुको खोस्ने गरी बनाउँदा हुन्छ। भूगोललाई पक्षपात गरेर वाचनगर्दा भूश्रापको पनि कुनै अर्थ रहँदैन। यो अङ्कै अङ्कको खेलले भेल सृजना गर्न सक्ने पुराण भएकोले यसलाई गणित पुराण भन्न खोजिएको हो।
अर्थ पुराण पनि भन्न नमिल्ने होइन तर त्यसको अर्थ व्यर्थमा जाला अंग्रेजीको माने लगाएजस्तो होला भनेर नै गणित पुराण राखियो। गुणको कुरा नगरेर गणित अर्थात अंकको मापनमा मानिसको सास, आस, भरोसा, विश्वास, र त्रास सबै अङ्कमै बोल्ने भएकोले यसलाई गणित पुराण भनिएको हो। जनकोपछि सङ्ख्या जोडेर जनसङ्ख्या हुने भएकोले जन कल्याणकारी पुराणमान्दा पनि नहुने चाहिँ होइन। वित्तको माध्यमबाट कसैको चित्त खुम्च्याउने र कसैको चित्त फुलाउने क्षमता यो पुराणमा भएकोले यसलाई वित्तसँग चित्त मिलाएर वित्त पुराण पनि भन्न मिल्छ।
जे जस्तो नामकरण गरे पनि अङ्क बिना यो पुराणको पङ्खा घुम्दैन। अङ्कको बही राख्ने गर्ने शास्त्र भएकोले यसको नाम गणित पुराण नै उपयुक्त हुने देखियो। अङ्कशास्त्र भन्दा नहुने त होइन तर जोड, घटाउ, गुणा, भागा गरेर खेल र झेल सबै गर्नु पर्ने भएकोले यसको नामको प्रतिनिधित्व अङ्कलेमात्र गर्न सक्दैन र गणितशास्त्र नै भन्न उपयुक्त देखियो र गणित पुराण नै लेखियो। आयव्ययको रुपमा प्रस्तुत हुने यो पुराण खाएपेय विवरणमा परिणत होलाकि भन्ने यत्रतत्र सर्वत्र चासोको विषय बन्दछ। बेलाबेला खाएपेय विवरणमा परिणत भएका समाचार पनि भट्टी देखि टट्टी सम्म चर्चा चल्छ।
यसले गणितीय हिसाब औसतमा निकाल्छ। एउटा मानिसको टाउको हिउँले चिसिएको छ र खुट्टा आगोले पोलिरहेको छ भने औसतमा यो पुराणले मानिस आरामले सुतिरहेकोछ भन्छ। सुकोको खोजिमा गोजी टकटकाउने र मुद्राको सयन कक्षमा ऐयासी जीवन बिताउँनेको आय बराबर बनाएर वाचन गरिन्छ – अकाट्टय नियम यानेकि ल अफ एभरेज।
यो पुराणको गजबको विशेषता यसमा प्रयोग भएका अङ्क चिन्ने बाहेक अरुथोक यो पुराण कै भाषामा शतप्रतिशत नभनौं ९९ प्रतिशत मानिसले बुझ्दैनन्। तिन करोडमा १ प्रतिशत अर्थात तिस हजारले मात्र बुझ्ने भए धेरै ठुलो कुरा हो। संसारकै गणना गर्ने हो भने आठ अरबमा मुस्किलले ८ करोडले बुझ्दा हुन् कि! हुन त कुन चाहीँ पुराण सबैले बुझेका छन् र ?
बुझ्नै पर्ने मानिसहरूले न बुझेपनि बुझेजस्तो गर्नै पर्ने बाध्यताले टाउको हल्लाउने अवस्था सृजना हुन्छ- यो पुराणमा। प्रमुख पुराण वाचकको गलाबाट निस्केको स्वरमा आफ्नो स्वर मिलाई जनजनमा पुर्याुउन गरिने अभिनय भने अरु पुराण वाचकका विशेषतासँग मिल्न जान्छ। बोलीमा लोली मिलाउनु पर्ने हुन्छ-यसको वैधताका लागि पनि। सैद्धान्तिक आडमा यो पुराणको शक्ति नैतिकता, दर्शन, आचरण, र जीवन शैली भन्दा पनि बहुमत तालीमा अडेको हुन्छ। यो पुराणका श्रोता भने फरक हुन्छन्। पक्षको दीर्घामा बसेका निर्वाचित छाननीय र समानुपातिक ताननीय श्रोताले नबुझे पनि, मननपरे पनि अग्रभागको टेबलमा हातले ठटाएर समर्थनको स्वीकृति जनाउनु पर्छ भने विपक्षका दुवै थरीले भने मनमा गाँठो पारेर विपक्षमा मत जाहेर गर्नै पर्छ। दुवैथरीले विवेक बन्धनमा अन्धताको अभिनय गर्नु पर्छ।
वैधानिक सभा बाहिरका उप-बुज्रुकहरुले बौद्धिकताकामा खियालागेको लुकाउन कसरत गरेकै हुन्छन्। यो पुराण सुन्नेलाई न फूलको माला हुन्छ न त बुझ्नेलाई नै सुनको माला हुन्छ। बुझ्न खोज्नेलाई भने बहुपक्षीय विश्लेषक पण्डितहरुका बहुअर्थी पक्षीय बिपक्षीय बहसले गिदिमा भाला रोपेर रिङाटा लाग्ने बनाइ कुहिरोभित्रको काग बनाइ दिन्छ। सर्वव्यापी पुराण भएकोले सबै धर्म, संस्कार, र देशमा सुनाउनै पर्छ।
यो अङ्क पुराणको लतमा मानिसहरूले जीवन पुराण बिर्से। धान, कोदो, मकै, जौ, गहुँ, भट्ट, गहत, मास, गाई, भैंसी, पाठा-बाख्रा सबैका सबैलाई पन्छाएर रकम पुराणतिर लागे। रकम पुराणको सपनामा सहरमात्र पसाएन विदेशमा पनि भँसायो। रकमको फन्दामा घर व्यवहारमा रन्दा चलाउदा अन्न फलाउने विपनाका हलगोरुको अवसान भै खेतगराको निशानी हरायो। गणित पुराणले भँड्याएर घरपालुवा जनावरहरू लखेटिए। सन्तुलित आहारमा आरा चल्यो। बेसाहरा बनेका जीवको श्रापले आहारा छुटेको अत्तोपत्तो नपाइ बेपत्ता भएको पत्तै पाइएन।
मानिस बस्छ वा बस्दैन त्यो हेर्दैन सङ्ख्यामा घर गनेर रकम असुली गरिन्छ-गणित पुराण अन्तर्गत। बालिनालिको औसत लेखाजाको घान हालेर बाँझो जग्गाको कोलमा गेडा बिहिन तोरी पेली तेल कर उठाउने काम गणित पुराणमा हुन्छ। कहिलेकाहीँ पूर्वसूचनाको असिना पारेर कुनै व्यापारीलाई धनको हिउँ बर्षाउने अवसर पनि यो गणित पुराणले उपलब्ध गराएका थुप्रै उपपुराणहरू सुन्न पाइन्छ।
यो पुराणमा प्रयोग हुने अनुमानले हनुमानको भोको पेटको कल्पना समेत गर्दैन। गणित पुराणको आँकडाले झुपडिको शीत छेक्दैन। अगेनोको आगो बाल्दैन। पेटको मुसा मार्दैन। आङ्को लाज छोप्दैन र चिसो हट्दैन। चेतनाको अक्षर बन्दैन। यसका लागि अनाजको मुरी कपासको डोरी र खरको धुरी चाहिन्छ। गणित पुराणमा हुँदा खाने र हुँदाखाँदाको बीचको औसतको मिथ्याङ्क प्रस्तुत गरेर आँखामा कृर्तिम फुलो पारिन्छ। अजिर्णले मुसुण्डिएका र भोकले चाउरिएका पेटको जोखनाले तुलो बराबर भएको अर्तिको भर्तिले घोक्रो सुकाइन्छ।
अङ्कहरूमा भोकको आर्तनाद घोलेर अपचको नालिबेली वाचकद्वारा ओकलिन्छ। आँकडाले काँकडा फल्दैन। खेत बाँझोको कुरा सुन्नपनि चाहन्न जग्गामा लाग्ने कर असुल्छ। यसकारणले यसलाई कर पुराण पनि भन्न मिल्यो। बाँदर, बँदेल, दुम्सी, खरायोलाई खेतबारी चराएर हराएकाहरूको अव्यवस्थित सहरबाट उठिबास गर्नाले बिरक्तिएका मानिसहरूको मनको घाउमा मलमपट्टी कोशी टप्पुका अर्नाले लगाए जस्तै हो यो गणित पुराण- गरिब र निमुखा किसानका लागि।
घरको थैलो बोकेर सहरको दैलो चाहार्दै रकमको खोजीमा हिँडेकाले गर्ने चाहिँ के होला भन्नेतर्फ पनि यो गणित पुराणको अङ्कको सङ्ख्याले गतिलो गोरेटो दिन नसकेरै परदेशमा लम्किएका हुन् थारो लम्सिङे (अछामतिर देउताको भाषामा भैंसीलाई लम्सिङे भन्छ) लम्के जस्तै। तिनै परदेशीको पसिनाबाट असिना झरेझैं झरेको विप्रेषणको थैलीले गणित पुराणको भैली खेलेर कतिदिन कति वर्ष चल्ने होला भन्न पनि सकिने भए पो पुराण वाचनको अर्थ हुन्थ्यो। भत्केका आली र खियालागेका फलीको हालि मुहाली गरी अन्न अनाजले भकारी भर्न र प्रकृतिको पुनराबृत्ति गरी रकमी जीवनको अन्त र सुखी जीवनको वसन्त भर्ने जोहोको गुण पुराण वाचनको खाका कोरेको भए मानिस सुखी भएर बाँच्न कस्थ्यो कि ?
०००
कैलाली, हाल: थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































