साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै मलामी जाँदा

तुसारोसँगै हिउँको पनि त मृत्यु भयो। बचेखुचेको उकालोतिर बसाइँ सर्दै मर्दै छ। दुब्लाइ दुब्लाइ मर्न लागेको हो।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

आफ्नै मलामी जाँदा, कस्तो अनौठो कुरा! असम्भव! हुन नसक्ने कुराको बखान गरेर पखान फोर्न खोज्नु पटमूर्खले पानीको सहयोगले आगो बाले जस्तै हो। मुर्ख्याइँले धुर्त्याइँको क्यानभासमा महामाईको तथास्तुको चित्र कोर्नु बाहेक केही हुन सक्दैन भन्ने पनि हुन सक्छ। यस्तो विषयमा फार्से (श्रीमानले श्रीमतीको इच्छा विपरित एकतर्फी लिखित रुपमा दिएको समाजद्वारा मान्यता प्राप्त सम्बन्ध बिच्छेदको कागज) मा परियो भने पनि सहनु पर्छ होला। हाँगोमा बसेर फेदकाटी मर्नेहरूका पनि मलामी हुन्छन्। आफै मुर्दा आफै मलामीको कल्पना गर्ने, बिबिन्नो (उल्टो) बुद्धि भर्ने, कुन चाहिँ तान्त्रिकको माङ्गलिक कार्य होला भन्ने पनि होला। मनको सल्लाहले, सामूहिक मतीमा, खतीको तीर चलाई, अचम्मको डल्ला फोरेको बात खतमा पानी खसानमा परियो भने पनि परियो। मित्रतामा धृष्टतामात्रको झिल्कोले मिल्कन पनि सकिन्छ। लेखाइ दोष मुक्त नहुन सक्छ। वास्तवमा देखेको लख्ने र लेखेर देखाउने दुवै सत्य हो। लेखाइलाई निन्दामात्र गर्न सकिन्छ, अरुथोक त के बकिन्छ भन्नेलाई असान्दर्भिक पटक्क भनिने छैन। कलमको टुप्पो उल्टो चलाएर पुल्ठो बाल्ने कार्यको बात लाग्नु किमार्थ अन्यथा हुने छैन।

पढेकै कुरा हो, शाब्दिक अर्थमा मुर्दाको सद्गतिको लागि तीथसम्म मुर्दा लिएर जाने मानिसलाई मलामी भनिन्छ। मानिसको चोलालाई अन्तिम बिदाइ गर्न जानु हो-मलामी। अन्जान त को पो छ र? मृत्यु शाश्वत सत्य। मलामी स्वैच्छिक। यो ऐच्छिकमा प्रेरणा दिन “सय काठको एक काठ” अर्थात सय जनाको मलामी जाँदा मात्र एक काठ प्राप्त हुन्छ, आफ्नो बिदाइमा, भन्ने भनाइ छ। कुरा जुगको होइन तर होला र पुरा। जमाना फेरियो। उखान, बखान, कहानी, परम्परा, संस्कार, श्रद्धाले क्षितिजपारि बसाइँ सरेको बेला यस्ता नाथे अर्तीमा भर्ती हुन कसलाई मन होला? हुन त मलामी आएको नआएको कुरा मुर्दालाई के थाहा? साझा पृथ्वीको गर्भबाट उब्जेर पृथ्वीमै बिलिन हुने सत्यबाट अनभिज्ञ भने कोही छैन।

मलामीलाई केको डर! डर भनेको मर्नको हो नि! किनकि मरेको र मारिएको पत्तो पाइदैन। मुर्दा हुनु पनि डर होइन, तर मुर्दा बनाइनु महाडर हो नि! अझ मुर्दा बनाउन खेलिएका नालीबेलीको अत्तोपत्तो नहुनु भने अचम्मैको हुन्छ। साझा पृथ्वीलाई पोल्टामा पारी, पानीका मुहानमा सिमेन्टले बारी, प्लास्टिक पाइप घुसारी, पानी कैद गरी, आफ्ना आफ्ना घर भरी सुखसयलमा भोज गरी, मोजमा सुस्ताउने को हो ? एक टबल्को (थोपा) र अलिकति कचिलो (ओसिलो) अंश नछोडी मूल मुन्तिरको भ्यागुता, माछा, गण्ठी, छेउछाउका माउसुली, छेपारोको सामूहिक चिहान बनाइ वंश नास गर्दा तिनका शाखासन्तान मलामी जान पाउँछन् र !

अरुको हिस्सामा परेको निस्सालाई आफ्नो बनाउन हिस्सेदारको सामूहिक चिहान बनाउन तिर चलाउँदा उनका सन्तान मलामी जानलाई बाँच्छन्? आफ्नै मलामी आफै गएका होइनन् ? रुखको चरो, लम्किने हात्ती, बम्किने मृग, उफ्रिने बाघको तिर्खामा पिर्का बिछाएर, ऐयासी आसन ग्रहण गरी, अत्यासमा मृत्युको साक्षी बस्ने लाछी को होला? प्राणीको त्राण खोसिएको देखेको छैन र ? पृथ्वीमाथिको कब्जा पानीमा मात्र सीमित रहेन ? वृहत उत्पादन मार्फत संसारलाई आफै खुवाउने दौडमा गोरुको सामूहिक अन्त्येष्टी गरी फलामे दाह्राले खेतमा आरा चलाएपछि जैविक खान पाइयो त! हल मारेर मल खोज्नुको परिणाम होला न; बिखको बेलो रोपेर काँचै खाने काँक्रो खोज्नु। त्यसमाथि मलामी जोगाउने नाटक रचेर सापटी, ऋण र सहयोगको ढोक्से थापी, भरियाको रुपमा प्रकृतिवादको आवरणमा, फोक्सो फुलाएर सर्वसाधारण भुलाउने जुक्ति कस्तो गजब ? वातावरणलाई ऐँचो पैँचोको साधन बनाएर हरियापत्ताको व्यापारको जात्राको मात्रा त थपिएको थपिएइ छ। यस्ता मेलामा भागलिने पृथ्वीरुपी माताका अरु कुनै सन्तान संलग्न छन्? प्राणी लापत्ता गरी सत्ता स्थापना गर्दाको अन्तिम मलामी को होला? वास्तवमा साझा पृथ्वीलाई बाझो बनाउने विधिले थिति बसालेपछि समाज बाहुरिएर मानिस लाहुरिएको हो नि !

भनिरहनु पर्दैन ! पृथ्वी प्राणी जगतको साझा घर हो। यसको गर्भबाट उत्पत्ति भएका सबैलाई समान माया गर्छ। मातृत्व भनेकै विभेदरहित लालनपालन हो। हरेकलाई बराबर माना, छाना, र नाना दिएको छ। मानिसकी आमाले बरु नानीको बानी अनुसार विभेद गर्न सक्छिन्। अहँ धर्तीले गरेको छैन। नानीको बानीमा अङ्कुश लगाउन पृथ्वी सक्षम भएको भए खानीको आशक्तिले हिस्साको किस्सा चल्थेन कि! मैमत्ता हात्तीले झै लम्किएर, कित्तामा बिर्ता खोजेर, शोषण गरी, पोषणमा रमाउने थिएनन्- सायद। बिर्ता बनाउछन्। खजानामा कब्जा जमाउँछन्। धर्तीकै गर्भका अंशहरूको प्रयोगबाट वंश नास गर्न अजैविक र जैविक हतियारहरू तयार गर्छन्। हतियार बर्साएर क्रूरता प्रदर्शन गरी मानवता लिलाम गरेको पटकथालाई पनि होइन भन्नु परेको छ नि! हैन र? कुरो मुर्दा र मलामीमामात्र सीमित छैन। सलामी कुरो पनि आउँछ। मलामी र सलामीमा भेद छ नि। मलामी जानेले सलामी खाएको थाहा छैन। सलामी मरेको मुर्दाले पनि कहिल्यै खाँदैन। वास्तवमा सलामी ओहदाले खाने हो, शवले होइन।

ओहदा अनुसारका फरकफरक तहका सलामी हुन्छन्। मुर्दा बनाउन अहम् भूमिकामा रहेकाहरूले सलामी खाएमा अन्यथा मान्नु पर्दैन। ओहदाले मिचेर कर्म र कुकर्मको मर्म बिनै दिने सलामीले मानवताको बेलो कति फैलिन्छ खै ! जगतको भलोका लागि पृथ्वीलाई गरेको मायाका हिसाबमा सलामी दिएको भए के हुन्थ्यो कुन्नी! जे होस् तीथमा पुगेका मानिसको मन दुखेर आँखाबाट मौनरुपमा बगेका अश्रुधारा नै वास्तविक सलामी हो नि। यो सलामी आदी, इत्यादि, लगायत सबै ओहदा विहीनहरूले पनि पाउँछन्। अश्रुधारा बगे वा दन्त मुस्कान सहितको अट्टहास हाँसो निस्क्यो मरेकालाई के थाहा ?

पृथ्वीलाई धर्तीमाता स्वरूपमा पूजा त्यसै गरिएको होइन नि! पूर्वीय दर्शनले पनि पृथ्वीलाई धर्तीमाताको रुपमा सम्मान गरेको छ। साझा भएकोले नै निचोरिन, चिथोरिन र थिचोरिन पुगेको त होइन? अंश खोज्ने, अपनत्व ग्रहण नगर्ने, बहुसन्तानको चपेटामा परेको हुन सक्छ-पृथ्वी। “साझो बाँझो” भन्ने उखान त्यसै कहाँ चल्थ्यो र? साझा खेत बाँझै हुन्छ भनेको त होला नि! अर्को उखानको दोकान पनि छ नि ! “यसै मर्योब उसै मर्यों बल्ल (गोरु) पडेलिको (दुई परिवारले एकएक गोरु पालेर हल बनाइ पालैपालो जोत्ने चलन)” । जोत्ने बेला दुवैले जोत्ने। घाँसपात स्याहार सम्हारमा पन्छिने प्रवृत्तिले खेत त जोतिन्छ। बल्ल चाहिँ मर्छ। बल्लको अवसान। खेतबारी पनि बाँझो। रिथी (मालिक) हरू भोकमरीको चपेटामा लपेटिएर मिति अगाडि नै बैतरणी तर्ने। खुलस्त छ नि कुरो। हुन त मर्नै पर्छ, अरुलाई जोगाएर किन मर्नु।

आफू मरे अर्कै राजा। अरुलाई राजा बनाएको बाजाको आवाज सुन्नु भन्दा सत्यानास गर्नु वेस। आफै मरे कन्डैसित्ति।
भनिन्छ, विष मर्नका लागि थोरै तर बाँच्नका लागि धेरै पिउनु पर्छ! विकासले निकास दिने अवधारणाले अङ्क गणितीय वृद्धिको दौडमा छ – विश्व व्यवस्था। होडबाजियुक्त प्रदर्शनीको शिकार धर्ती भै रहँदा अन्तिम र स्वयंको मलामीको रुपमा उपस्थित हुने अवसर प्राप्त हुन सक्छ। मनुष्यको शिकार धर्तीमाता हुँदा उनका अन्य समान प्रकृतिका सन्तानको अवसान र स्वयंमा मानिसको पनि मट्टी मिलानको भट्टी तयार नहोला भन्न सकिन्न। मट्टी स्वयंको अन्त्येष्टिले केको मिट्टी मिलान। ढिलो वा चाँडो मुकामका लागि तयार भएका अस्थायी प्राणीहरू, स्थायी राजको कल्पनाले धर्तीको मलामी धर्ती नै बन्ने अपशकुन भेटिँदैछन्। सरू ( खेती) भूमिलाई मरुभूमि बनाउने लालसाले अन्तिम मृत्यु भोग्ने प्राणी कुन होला ?

मानिसका आकाङ्क्षा चुलिएर धर्ती भुलेपछि धर्तीलाई झुन्ड्याउन कोसिस गर्छ। धन थुपारी, मनमा अशान्तिको भारी बोकेर शान्तिको खोजी हुँदैछ। भ्रान्ति सिर्जना गरेर गुणस्तर जीवनको कल्पनामा रमाउँदै छन् मान्छेहरू। उता केही भागमा तुसारोको हत्या भइसकेको छ। अलिअलि बसाइँ सरेर माथितिर जाँदै गरेको देखिन्छ। तुसारोसँगै हिउँको पनि त मृत्यु भयो। बचेखुचेको उकालोतिर बसाइँ सर्दै मर्दै छ। दुब्लाइ दुब्लाइ मर्न लागेको हो।

समुद्रले अधिक वान्ता गर्दै सुन्निँदै छ। सुन्न्याइलाई कम गर्न र दुब्लोपनलाई सघाउन रोइलो चलिरहेको छ। रोइलोको बिचमा अनौठो चिजको मृत्यु हुन्छ। मलामीहरू संस्कारको लागि एकआपसमा बाझ्न थाल्छन्। एक समूहले भन्छ यो गाड्नु पर्छ। अनि सँगैको मेसिन दाह्रा देखाउँदै हाँस्छ। अर्को समूहले भन्छ, यो जलाउनु पर्छ। जलाएर स्वर्ग जाने बाटोको रुपमा धुवाँ निकाल्नु पर्छ। दाउरा रुन थाल्छन्। अर्को समूहले यसलाई प्रकृतिमा छोड्नु पर्छ। विवादै बीचमा समुद्र उर्लेर आउँछ। हिमालका रित्ता चट्टानहरूबाट आगो निस्कन्छ। भस्ममा परिणत हुन्छ। सबैको साझा चिहान भएको कसैलाई अत्तोपत्तो हुँदैन।

गर्भ नै भस्म भएपछि गर्भधारणको के आशा! पृथ्वीको मलामी गएर फर्कने लालसामा हिँडेका यी स्थायी सम्झने प्राणीहरू फर्किन्छन्? मानवीय रैंटो (लफडा) मापरि, प्रकृतिको घैंटो फोरेर, पृथ्वीको रुपाउसे (सुन्दर) जोवनमा परेको रौंनो (दुलो) लफो (पातको पाल्तो)ले छोपेर दीर्घ जीवनको नारा ओकल्न खोजेपछि पाइन्छ मलामी ? परेन आफै जान !

०००
कैलाली, हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x