साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदि, इत्यादि र लगायत

अनिकालको बास। आयातितको रजगज। वैयक्तिक विवरणको सजधज। भोकका हत्याराहरूको वनबास। लेख्न छैन केही खास।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

के लेख्नु नि ! आफ्नो नाम, ठेगाना, आमा र बुवाको नाम अनि बाजेको नाम पनि। यो हो मानिस प्रजातिमा पर्ने आदि, इत्यादि र लगायतको सङ्क्षिप्त परिचय। योग्यता र ओहदा विहीन परिचय। आदि इत्यादिबाट बाहिर निस्कने खालको योग्यता चाहिन्छ, वैयक्तिक विवरणका लागि। शिक्षालयमा प्रवेश गरेको छ ? महाविद्यालयको द्वार देखेको छ ? आर्जन गरेको हो शिक्षा ? भएको हो दीक्षित ? पहिरिएको हो दीक्षित हुँदाको गाउन? गाउन नै नलगाएर लाउन (पुरी) बाँडेको आधारमा के को वैयक्तिक विवरण? शैक्षिक सत्र मिल्ने, छ पाक शिक्षाको प्रमाणपत्र ? वैयक्तिक विवरणमा पर्नलाई विशेष खालको योग्यता र अनुभव खै ?

खेतिपातीको अम्मलले वैयक्तिक विवरणको कम्बल ओडन पाइँदैन। पाइने भए प्रमाणपत्रको चाङ आङमा टाँसेर बस्नु पर्दैनथ्यो। कृषिकर्म गरेर योग्यतम् मानिसलाई चारो उपलब्ध गराउनु लत हो। लतलाई मत पनि भन्न मिल्दैन। मत पाएको भए त ओहदामा दर्ज भै हाल्थ्यो नि। आदि, इत्यादि, लगायतमा बस्नु पर्दैनथ्यो।

गाई, भैँसी, पाठाबाख्रा, र भेडाभेडी पाल्नु, भकारो सोहर्नु, घाँस काट्नु काम हो। काम गरेर मामको व्यवस्था गर्नु किमार्थ योग्यता होइन। बहर दायर गोरु बनाइ जोत्नदेखि घर आँगन पोत्ने पनि काम मात्रको अर्को नमुना हो।कसैले हात्तीको माउते भएर आफ्नो बसमा पार्दैमा काम भनि हाल्न मिलेन। हात्तीलाई साथी बनाएको भन्न मिल्छ। साथी बनाउनु सम्बन्ध हो, योग्यता होइन। सम्बन्धका आधारमा कसैले वेतन दियो यो उसको ज्याला सम्म हुनसक्छ। ज्यालाको भिक्षालाई प्रमाणित दीक्षामा समावेश गर्न पाइएन। मानिस कजाउने कागजी इजाजतपत्र चाहियो।

सीपले दीप जलाउँदैमा वैयक्तिक विवरणमा सजाएर भजाउन मिल्दैन। लजाउन चाहिँ पाइन्छ। नियमित कर्म गरेर भ्रमको दुनियाँबाट अलगभै गरिने अभ्यासलाई वैयक्तिक विवरणमा कसरी लेख्नु। । रोटी पोलेर पेटको भोकको गति बन्द गर्ने कार्यको समीक्षाले दीक्षाको दियो बाल्यो भन्न मिलेन। अन्नको भकारीले भोको पेटको उपचार गरी गडम्म डकार्नुलाई लिखितरूपमा कसरी राख्नु! उपभोगको लागि सामल भन्नसम्म पाइयो। उन्नत कार्यको रुपमा वैयक्तिक विवरणमा हाल्न मिल्दैन। लेखेर अधिकारीतिर धकेल्ने हुँदैन। लिखितम गरेर मापनयोग्य बनाउन सकिन्न। बकितम् र लिखितमको अन्तर हो- यो।

कृषि पेशाको शान र मानका लागि औकात भएकाहरूले गाउँदेखि भरेर पदसोपानको लिस्नो चढ्न जारी भएको उर्दीको पूर्ति गर्न सकिन्न । उर्दी अनुसार भर्ती हुन गाउँ भेलाले सङ्कलन गरेको नाउँमा खाऊ शब्दको उच्चारण नगरी लगत लिखतमा भने परिने देखियो। लिखतमा नाम, थर, उमेर पछिको दस्तखत महलमा हातले कलमको मलम लगाउँन नजान्नेलाई औँठाछाप दान गर्न अग्रसर हुन अनिवार्य हुन्छ। भौतिक श्रमको दानले हस्तरेखाको निशानको अवसान हुनु स्वभाविकै हो। दुवैको पूर्ति गर्न सहजकर्ताले दस्तखत पनि अनुदानमा नै गर्ने सहमति हुनुलाई अन्यथा मान्न मिलेन।

सहजकर्ताको अविरल वाणीको वर्षाले भेलाको मेला गुञ्जयमान भैरहन्छ। गाउँले समूहबाट उठेका किसान जिल्लामा जुट्छन्। जिल्लामा उठेका राष्ट्रमा पुग्छन्। राष्ट्र-राष्ट्रका किसानको अन्तर्राष्ट्रिय किसान जालो निर्माण गर्ने प्रकृया हुन्छ। बाउ अन्तर्राष्ट्रिय महा-महासङ्घले बाह्रमासे सिजन र उपयुक्त बिउ बिजनको उपलब्धताको भिजन पेश गर्नेछ भन्ने अवधारणा घोषणा गरिन्छ। रैथाने बालिमा नपुंसकताको मन्दविष फिजाउन सिजनको प्रलोभनको बिउद्वारा दीक्षित गरिन्छ। “न हत्या न आत्महत्या सबैले पत्या” याने कि सर्वजनहितायःको मङ्गल धुन बजाएर श्रवण गराइन्छ। दौरा, सुरुवाल, कोट, पाइन्ट र टाईमा गमले रोपाइँ शुरु हुन्छ। तालीको असिना बर्सन्छ। खुला सत्रको अवसानको घोषणा हुन्छ।

पालो बन्दसत्रको। राष्ट्रिय किसान महासङ्घ प्रतियोगितामा भाग लिने प्रतिनिधि छनौट प्रतिस्पर्धा शुरु हुन्छ। मङ्गल ध्वनिले वैयक्तिक विवरणको आह्वान गर्छ। कागजमा लेखाङ्कित वैयक्तिक विवरण बुझाउन लाम लाग्छन्। गाउँबाट उठेर जुटेकाहरू रनभुल्ल पर्छन्। सवाल जवाफ चल्छ। धानको सिजन जान्ने, बिउ कहिले राख्ने, बिउ राखेको कति दिनमा रोपाइँ गर्ने, रोप्ने बेला पानी नपरे के गर्ने, गोडमेल कति समयमा गर्ने, धान भित्र्याउने समयको किटान गर्न सक्ने, अर्को वर्षको लागि बिउको प्रबन्ध कसरी मिलाउने सबै कुरा थाहा भएको कुराले प्रवेश पाउँछ। घरपालुवा जनावरहरूको गर्भाधान देखि लालनपालन सहितको जीवन चक्रको ज्ञान वैयक्तिक विवरणमा समावेश गर्न ध्वनिमार्फत दर्शकदीर्घाबाट माग पेश हुन्छ।

मौखिक ज्ञान मापन योग्य नभएकोले अस्वीकृत हुन्छ। वाचकदिर्घाबाट प्रमाणित लिखितम् योग्यताको कुरा विशेष रुपमा उठ्छ। श्रवण गरेर भ्रमण हुँदैन। “साग खाएर सागको जडो (जरो) नचिने” पनि लिखितम चाहियो बकितमले चल्दैन। स्पष्टिकरण सहितको आदेशात्मक स्वर कानमा ठोकिन्छ। दर्शकदीर्घा मुकदर्शक बन्छ। वैयक्तिक विवरणमा लेख्न योग्य मानिस छनौटमा पर्छन्।ध्वनि मत पराजय हुन्छ।

भोक मारेको आवाज पनि उठ्छ। अनायास मार्ने कुराले झस्काउँछ। मार्नु त हुँदैन। मार्ने कुरा अपराध हो। भोक मार्नुभन्दा भोकलाई जिउँदै राखेर बाच्ने कुराको पहल गर्ने बारे छलफल चल्छ। “भोक अन्नदाता हो। भोक भएर नै सभा सम्मेलनको सुन्दरता झल्किएको छ। भोकै मर्योन भने सभा सम्मेलनहरुको औचित्य समाप्त हुन्छ। आयोजकहरू निकम्मा हुन्छन्। भोक जोगाउन सकियो भने नीति निर्माण देखि वैयक्तिक भ्रमण सम्मको कामले निरन्तरता पाउँछ भन्ने प्रस्ताव पास हुन्छ। भोककै लागि काम गर्ने हो, भोकै मर्यो भने बेरोजगारीमा परिन्छ भन्ने मतले” बहुमत प्राप्त गर्छ।भोकका दुष्मनहरु अन्यौलमा पर्छन्।

बन्दसत्र खुला चरणमा प्रवेश गर्छ। पुरस्कार थाप्नेहरू मञ्चतिर प्रवेश गर्छन्। भैँसी दोखडो (नदोएर) राखेर जिल्ला हेडक्वार्टरमै भेट भएका भोकका हत्याराहरू भने समारोहको रौनकमा हराउँछन्। अकस्मात भैँसीको प्रेमिल आवाज कानमा गुन्जिँदा पुरस्कृत भएको अनुभव गर्छन्। हतारहतार घरतिर लतारिन्छन्। छटपटिएका भैँसीहरू स्वागत गर्छन्। दोखडा रहेर गानिएका थुनबाट दूध निस्किएपछि कल्चौडो खाली भएर हलुको भएको महसुस गर्छन्। निकालिएको दूध, किसान राष्ट्रिय महासङ्घका लागि छानिएका प्रतिनिधिहरूको पोषणका लागि स्वयंसेवक मार्फत पठाइन्छ। वैयक्तिक विवरण बुझाउन अयोग्य, सम्मेलनमा सहभागी हुनबाट बन्चित, भोकका हत्याराहरू किसानी कर्ममा तल्लिन हुन्छन्।

समाचार प्रसारण हुन्छ “आधुनिक कृषि प्रणालीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सक्ने विदेशका नामी विश्वविद्यालयमा दीक्षित काविल उत्कृष्ट वैयक्तिक विवरण भएका विज्ञहरूको समूह राष्ट्रिय महासङ्घमा प्रवेश”। रेडियोको यो समाचारले गाउँका किसानहरूको अनुहारमा चमक देखिन्छ। मन्द मुस्कान फुस्किन्छ। सर्वसाधारण किसानको समुन्नतिको बाजा बज्नथाल्छ। शुभकामना आदान प्रदान हुन्छ। दोसल्ला र प्रशंसापत्रको वर्षा शरु हुन्छ।

मनुष्यको भोक मार्ने ओखतीको उत्पादक सङ्घको पनि कुरा पारित हुन्छ। तर वैयक्तिक विवरण बिना सङ्गठनका मालिक हर्ताकर्ता भइँदैन। मालिक नभै सालिक बन्ने कुरा भएन। कृषिप्रणाली विश्वस्तरको बनाए बापत सालिक बनाउने अन्तिम इच्छाका लागि भरमग्दुर प्रयास जारी रहन्छ। दोसल्लाको भागिदारीका लागि उत्कृष्ट नम्बर सहितको अङ्क चाहिन्छ। धानको बाला र मकैको गेडा छुट्याउने ज्ञान अङ्क प्राप्तिका लागि सहायक हुन्छ-प्रमुख हुँदैन। जिब्रोको स्वाद र पेटको भकारी भर्दा हुने कुरामा स्वीकारोक्ती जनाइन्छ! गमलामा रोपेर होस् कि, बिउ काटेर छाती छोपेर होस्, वा गुप्ताङ्ग पोतेर। गालाको मालामा रमाउन किन जानुपर्योो असारे पन्ध्रमा, घरमै पुर्यााउने प्रबन्ध गर्दा हुन्न र काइदा? उता ट्रोल यता ब्रान्डेड झोल। नौलो अत्याधुनिकताको बेग्लै मोल। सबका अनुहार गोलगोल। “जय पृथ्वी! जय किसान! जय प्रकृति!” को ब्यानर सबैतिर भाइरल।

रैथानेको अवसान, आयातितको शान र मान। जुर्योस वैज्ञानिक नाम। पुरातनपन्थी किसानको छैन नामोनिशान। खेतको बाँझो। बस्तुभाउ राँजो। अनिकालको बास। आयातितको रजगज। वैयक्तिक विवरणको सजधज। भोकका हत्याराहरूको वनबास। लेख्न छैन केही खास। पशु, बिउ र खेतले समेत योग्यताको प्रमाणपत्र पूर्व निर्धारित समयमै बुझाउने व्यवस्था भएमा आधुनिक समाजमा रोजगारी सृजना हुन सक्ने र अध्ययन अनुसन्धानमा थप बाटो खुल्ने प्रवल सम्भावनाको नीति पारित।

०००
कैलाली, हाल – थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
0
Would love your thoughts, please comment.x
()
x