शिवप्रसाद जैशीअज्ञानताको विज्ञान
अज्ञानताले घाँटी निमोठ्नुलाई सदर गर्न आसीनहरूको अभ्युदयले उपासकहरूलाई अट्टहास हाँसोले स्वागत गर्ने नै भयो। मस्तिष्क नियन्त्रित युद्धको गोल चक्करमा उपवासकहरू रमाउनुलाई बोधगम्य ठानिन्छ।

शिवप्रसाद जैशी :
यथार्थताको धरातलमा कुनै पनि चिजवस्तुका बारेमा जानकारी राख्नु ज्ञान होला। त्यस्ता चिजवस्तुका बारेमा प्राप्त जानकारीलाई तथ्यका आधारमा पुष्टि गर्न निश्चित विधि प्रयोग गरी खोतल्नु वा नयाँ कुराको खोजी गर्नु विज्ञान होला कि भन्ने लाग्छ। ज्ञान र विज्ञान सधैँ नविन रुपमा प्रयोग हुने भएकोले यसलाई भूत, वर्तमान, र भविष्य त्रिकाल भन्दा सुहाउँछ। प्रश्नको बिउ रोपेर अनुसन्धानको खेती मार्फत भ्रम निवारण, जिज्ञासाको निदान र नवीनताको खोजीको निरन्तर अभ्यास अर्थात ज्ञानको विज्ञान।
यसको विपरित अज्ञानताको विज्ञान भने के हो र कसले पढ्न, लेख्न, र बुझ्न चाहन्छ होला? पक्कै पनि कोही पनि चाहन्नन् भन्ने अर्थ लागाउनु व्यर्थ हुन सक्छ। नचाहेर हुन्छ र? यो बिना जिन्दगीको आङमा शीतलताको थोप्लो नखस्ने भएपछि नसिकेर धर पाइन्छ? के यो कुनै पाठ्यक्रमरुपी सिक्रीमा बाँधिएको डिग्री हो वा निस्फिक्री आत्मउद्गमको ब्रह्मज्ञान? डिग्री सिग्री वा स्वआर्जन ज्ञानको फन्दा विहीन रन्दा चलाएर ब्रह्मज्ञान प्राप्तिको आत्मउद्भव चाहिँ पक्का भनेर हिक्काठोक भन्न सकिन्छ—एकपटक बोलेपछि फर्कन नमिल्ने गरी। साधना विहीन स्वघोषित आत्म अनुशरण वा पर प्रभावबाट उत्पन्न भै ज्ञानको भान पार्ने मस्तिष्क भागमा देखा परेको भ्वाङ भने पक्का हो। अज्ञानताको विज्ञान समयअनुसार रङ्ग फेर्छ। आवश्यकताको सिद्धान्त ओढ्छ। आवर्तन र परावर्तनका धुवाँ उडाएर मथिङ्गल दिग्भ्रमित बनाउँछ। बेसारलाई नुन र नुनलाई सुनमा प्रमाणित गर्दै अन्ततः मानिसलाई भक्तिगानमा लिप्त गराउँछ। त्यसैले यो हतियार मात्र होइन, हतियार चलाउने मतियार पनि हो।
चन्द्रमासम्म विज्ञानले पुर्याायो भन्ने कुरा कसले सुनेको छैन? विज्ञानले नै मङ्गल लगायतका कैयौँ ग्रह र उपग्रहको भेद खोतल्दै छ। ढिलो चाँडो सत्य बाहिर ल्याउनेछ। पहिले पृथ्वी चेप्टो भनेर पढकै हो। अहिले त्यही पृथ्वी गोलो भनेर पढिँदै छ। इतिहासले कहिलेकाहीँ सत्यलाई सजाय दिन्छ भने असत्यलाई पुरस्कृत गरेका प्रमाणित सत्यताहरू पनि त जिउँदै छन्। सत्य बोल्दा सुकरात मारिए। तथ्य बङ्ग्याएर भीम मल्ल सेरिए। मराउने र सेराउनेले ग्रहण गरेको पुरस्कारले इतिहासको गर्दन छिनालेको छैन र? मात्र प्रतिनिधि घट्नाका छुरा रोपेका चुरा कुरा। हिसाबमा नराखेर तमासामा हराएका बेखवरी त कतिकति – अगणनीय।
ज्ञानको विज्ञानले बुद्धिको बिउ राखे झैँ अज्ञानको विज्ञानले बुद्धुको पारो घुमाएर तारो झारेपछि मात्र देख्नेले देख्छ। विज्ञानले गरेको चमत्कारमा अज्ञानताको खोले पकाएर भुसको झोल पिएपछि पिउनेको सिउने मेशिनमा खियालाग्छ। सिउन नपाएको कपडा लपेटलापेट पार्दा अङ्ग प्रदर्शनको रोइलो चलाउँछ यो ज्ञानगुनको अर्ती। अज्ञानताको आत्मविश्वासले विज्ञानको दर्शनलाई सामाजिक सञ्जालको घाममा सुकाउँछ। गुन्द्रुकको तिलछोपे अचारको प्रदर्शनी मङ्गल ग्रहमा गरेर संसार जितेको विजय उत्सव मनाउनु नै सार्थक हो- अज्ञानताको विज्ञानको। सातु खाएर धातु ओकल्छ। पृथ्वीमै बसेर चन्द्रमाभन्दा माथि शयर गरेको हर्क बढाइ गजाले दाइनो, बाउँ र ट्याम्को बजाएर गर्छ। नरसिङ्गो र सहनाईको धुनमा, हुड्केउलीको तालमा छमकछमक नाचेको अभिनयमा मजा लिँदा कम्ति आनन्द हुँदो हो? बिनासङ्कोच ढुक्कका साथ आत्मग्लानि नहुने गरी ब्रह्माण्ड भ्रमण गरेको तुजुकलाई अज्ञानताको विज्ञानले रत्यौली खेल्दैन त अनि !
विज्ञानलाई प्रयोगशाला, अनुसन्धान र प्रमाण चाहिन्छ। अज्ञानताको विज्ञानलाई विज्ञानद्वारा निर्मित इलेक्ट्रोनिक डिभाइसको माध्यमद्वारा मस्तिष्क नियन्त्रित भावनाहरू अकाट्यरुपमा प्रसारित गरिनु पनि कहाँको अन्याय भयो र? अज्ञानताको आत्मविश्वासका पुर्जा संयोजन गरेर सामाजिक सञ्जालमा उपस्थित गराइ मस्तिष्कमा बुर्का लगाएको थाहै हुन्न। विज्ञानले प्रश्न सोध्न सिकाउँदा, अज्ञानताको विज्ञानले प्रश्न सोध्नेलाई शङ्कास्पद मनुवा घोषणा गरेर कतैकतै आत्मदाहमा पुर्यादउन बेर लगाउँदैन। निर्दोषलाई डिजिटल्ली रुइन गर्न तुइनको बहाना बनाउन सक्ने तागत छ नि यसमा। खोला बगरे होस् कि खहरे खवर त तुइनको हो नि !
शैक्षिक मापदण्ड पुरा गरी विज्ञानको ज्ञान बाँड्ने विद्यालय, महाविद्यालय, र विश्वविद्यालय खोल्ने चलन सदियौँ देखि निरन्तर चलिरहेको छ। ज्ञान र विज्ञानका बारेमा लेख्नेहरु कहाँ थाकेका छन् र? निरन्तर लेखिँदैछन्। अरबौँ मानिसले जानेको बुझेको कुरालाई कोट्याउनु भनेको ब्रह्माण्ड शब्द सुनेर ब्रह्माण्डको ज्ञाता भएँ भनेर माउका अगाडि भाउ खोज्नु हुन्छ। अज्ञानको विज्ञानमा भने त्यो छुट छ।
अज्ञानता अनि विज्ञान! हुनै सक्दैन। अहँ, हुन्न। अज्ञानता पढ्ने र पढाउने विश्वविद्यालय हुनै सक्दैन। छ कहीँ अज्ञानताको विज्ञान विश्वविद्यालय? अज्ञानता विज्ञान विश्वविद्यालय सर्वत्र छ। ओठओठबाट निस्केर चोट लाउँछ। यसको प्रयोगशालमा दैनिक, हप्तौँ, महिनौँ, वर्षौ विद्यार्थी बसेर अनुसन्धान गर्न पर्दैन। स्तरीय जर्नलमा लेख प्रकाशनको झन्झटबाट मुक्त। हातहातमा गोजी गोजीमा प्रयोगशाला। यिनका पेजपेज जर्नल। मुखमुखबाट नतिजा। जाबो एउटा चोर औँलाको खेलबाट अनुसन्धानका भेल निकालेर क्षणभरमै प्रकाशन प्रसारण गर्न सकिन्छ। अफवाह विज्ञान विभाग, अर्धसत्य अनुसन्धान केन्द्र, अविद्या परिषद्, निराङ्गिक, वियगिक र असामुदायिक क्याम्पसहरू, सामाजिक सञ्जाल प्रमाणिकरण प्रयोगशाला र प्रमाण विहीन निष्कर्ष अध्ययन सङ्काय अज्ञानता विज्ञान विश्वविद्यालयका विभिन्न अङ्गहरू हुन्। अङ्गहरूबाट ज्ञान भङ्ग गरेर एस इ इ देखेर, प्लस टु जोडेर, बि ए बिना अध्ययन, एम फिल मलाई फिल भयो, पिएच डी पहिलेकै डाक्टर उपाधिले विभूषित गरी स्वआयोजित प्लेटफर्ममा दीक्षित गरिन्छ। लाइभ, भाइरल, र ट्रेण्डिङले विज्ञता स्थापित र कार्यान्वयन हुन्छ सामूहिक रुपमा एल्गोरिदमको नेतृत्वमा। टिक्टकेश्वर महादेव, इन्स्टाग्रमेश्वर महादेव, फेसबुकेश्वर महादेवको रुपमा प्रकट गराइन्छ। दर्शनार्थीहरूको अदृश्य भेटीले सामाजिकेश्वर पुजारीको मौद्रिक थैली बलियो बनाइन्छ।
भ्रमको श्रम गरेर दिग्भ्रमित उब्जनीको पासोमा लट्किएर हाँसोमा रमाउने ज्ञान प्रतिपादन हुन्छ। प्रविधिको आरनमा मस्तिष्कमा अफवाहको धार लगाएर आफ्नै चिताको साक्षी बस्न सक्ने जन पुँजी निर्माण गर्नु अज्ञानताको विज्ञानको मूल ध्येय हुन्छ। निजत्व भगाएर अघाएको सात्विक भोजनार्थीको अभिनयमा सिनो हसुरेको आभास पनि नपाउन खोलिएका विश्वविद्यालय नै वास्तवमा अज्ञानता विज्ञान विश्वविद्यालय हुन्। परतन्त्रताको पासोमा स्वतन्त्रताको हाँसो निकाल्ने सदबुद्धिको दिव्य ज्ञान यस्ता प्रयोगशालाबाट उत्पादन गरेर बाँडिन्छ।
प्रश्नको चितामा उत्तर खोजिन्छ। निर्विकल्प हो अथवा होइन रोजिन्छ। जे रोज्यो त्यही जोतिन्छ। नरोपेरै फल खोजिन्छ। बाँकोलाई पिँडालुको परिकारमा परिणत गरेर बजारीकरण गर्ने कला सिकाइन्छ र सर्वत्र बिकाइन्छ। सामाजिक पुजारीहरू यस्तो कलामा निपुण हुन्छन्। फेक आइडीका माध्यमबाट डिप फेक निर्माण गर्नसम्म पछि पर्दैनन्। अर्ध ज्ञानी वक्ता र प्रवक्ता प्रचारप्रसारमा जुट्छन्। पूजारीहरूको साखुल्ले गर्नमा कुनै कसर बाँकी राख्दैनन्। सामूहिक उन्मादमा होइनलाई होमा प्रमाणित गरी निजत्व लुटेर प्रविधिको कराइमा, आयातित तेलमा, मानसिक गिदी भुटेर मुर्छित बनाउछन्। आत्मबन्धक विवेकको खोल ओडेर भोले बनेका हुन्छन्। हो वालाको प्राविधिक स्वर्ग निर्माण गरेर ऐयासी बिस्तरा तयार गर्छन्।
अज्ञानता र भावनाको मतिले जनाइएको सहमतिले ज्ञानको धोती खुस्केको छेक्न सक्ने वातावरण निर्माण गर्छन्? अल्पज्ञानको पात्रो साक्षी राख्न कृत्रिम बौद्धिकताको सहाराले डिजिटल अभिलेख त बनाउला तर भविष्यवेत्ता सुराकी खुराक पाउन त मानिसले नै खोज्ने होला नि भन्ने विवेकको अपहरण गर्छन्। विगतको आर्काइभको खोला भावी महासागरमा तैराउँन मानव खोजीको जोखना त चाहिएला नि भन्ने सान्दर्भिकताको खिल्ली चुरोटको धुवाँमा उडाए जस्तै उडाउँछन्। हो हो मा मानिस एकोहोरो लाइनमा मिसिन्छन्। स्क्रोल गर्छन्। ट्रोल गर्छन्। जैविक संसारलाई भारको रुपमा ग्रहण गर्छन्। भार पन्छाउ अभियान सञ्चालनमा सरिक हुन्छन्। कर्मको मर्म र धर्ममा बन्चरे घाउ बनाइ अबगाल र गालको धन्दा अभियान चलाएर स्वआक्रोस सेलाउँछन्। कृत्रिम बौद्धिकताले जैविक आवश्यकता पुरा गर्न सक्ला? सक्दो हो त यो मान्छे कति हर्षित हुँदो हो- हेक्का राख्दैनन्। यसका पनि त सीमा छन् मेसिनले अन्न उत्पादनमा सघाएको सत्यताका आधारमा त्यही नै अन्न हो भन्नु जैविक सत्यको उलङ्घन हुँदै हो भन्ने बुझाउन कम सकस परेको हुन्छ ?
तालीको आवाजले प्रश्नको स्वर भासिने अवस्थामा अन्तरीक्षमा पुर्याुउने विज्ञानलाई अज्ञानताको गालीले पृथ्वीमा बजार्नु अस्वभाविक ठान्ने मूर्ख सावित हुन सक्छ। विज्ञानको प्रयोगशालामा जन्मेका प्रश्नहरू अज्ञानताको विज्ञानको प्रयोगशालामा अनुयायी भएर निस्किन्छन्। अज्ञानतालाई विज्ञानको डर हुने कुरो भएन। तथ्य खोज्ने विज्ञानको अनुयायी रोज्ने अज्ञानताले घाँटी निमोठ्नुलाई सदर गर्न आसीनहरूको अभ्युदयले उपासकहरूलाई अट्टहास हाँसोले स्वागत गर्ने नै भयो। मस्तिष्क नियन्त्रित युद्धको गोल चक्करमा उपवासकहरू रमाउनुलाई बोधगम्य ठानिन्छ।
हो, विज्ञानले सहजताका लागि बनाइएका यान्त्रिक उत्पादनसँग खेलौनाको रुपमा खेल्दाखेल्दै आफै खेलौना बनेको सुइको समेत पाउँदैनन्-आम मानिस। अज्ञानताको विज्ञानले मानिसलाई आफ्नै मस्तिष्कबाट निर्वासित गर्छ। अब प्रश्न यति मात्र हो—हामी अप्रशोधित सूचनामा रमाएका छौं कि आफ्नै चेतनामा हराएका ?
०००
कैलाली । हाल : थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































