साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पितृलाेकबाट पुत्रलाई पत्र

बाँकी कुरा मेराे वार्षिकीपछि गराैंला । यहाँ वार्षिकी सकिएपछि मात्रै माेबाइल चलाउने अनुमति पाइदाे रहेछ । के गर्ने ? नियम मान्ने पर्याे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

प्याराे छाेरा
शुभ आशीर्वाद ।

प्याराे छाेरा ! मेराे मुटुकाे टुक्रा तिमीलाई आरामै हाेला । मेराे राजालाई सधै हाँसी , खुसी रहेकाे देख्न पाऊँ । सधै प्रगतिकाे बाटाेमा लम्किरहेकाे हेर्न पाऊँ । संसारले तिम्राे तारिफ गरेकाे सुन्न पाऊँ । बस् यत्ति भए यता पितृलाेकमा पनि सन्ताेषकाे सास फेर्न सक्थें भन्ने अभिलाषा राखेकाे छु ।

छाेरा ! मैले बाँचुञ्जेल कति दुःख दिएँ हगि तिमीलाई । खाली करकर मात्रै गरिरहें । तिम्राे विवाह भएकाे छ महिना पनि बितेकै थिएन । राम्राेसँग मधुमास मनाउन पनि पाएका थिएनाै । तिम्री प्रियाकाे देश देशान्तर घुम्ने धाेकाे पूरा भएकै थिएन । मैले तीर्थ लैजान आग्रह गरें । के गर्ने तिम्री आमाकाे रहरलाई टार्न सकिनँ । म पनि राेगी मान्छे एक्लै आट्न सकिनँ। अहिले सम्झिन्छु त्याे मेराे भुल थियाे ।

छाेरा ! त्यहाँ रहुञ्जेल तिम्राे र हाम्राे कहिल्यै विचार मिल्न सकेन । हामी पुरातनवादी ,तिमी नुतन । तिम्री आमा र मलाई “कैलाशमा शिवजी ” गाउनु पर्ने तिमीलाई “पिउँदिन भन्दाभन्दै पिलायाे साथीले” गाउनु पर्ने । हामीलाई देवालय धाउनुपर्ने तिमीलाई डिस्काे बार । हाे छाेरा ! हाम्राे न बार मिल्याे न कुनै कुराकाे सार मिल्याे !

छाेरा ! एउटै धुरीभित्र रहेर पनि नियतीले हामीमाथि सधै कुरीकुरी मात्रै गर्याे । चुलाे एउटै भएर पनि हाम्रो भान्सा कहिल्यै मिलेन । छाेरा ! सत्रथरी राेगकाे कारण तिम्री आमा र मलाई जेते खान नमिल्ने । बुहारीले मासु बिना गासै ननिल्ने । बुहारीलाई भान्सा मिलाउन गाह्राे । तिमीलाई कुरा मिलाउन गाह्राे । मलाई थाहा छ छाेरा ! तिमी हाम्रा कारण चपेटामा थियाै । तिमी बुहारीकाे लपेटामा थियाै ।

छाेरा ! हाम्रा कारण तिमीले दुई पैसा जाेगाउन सकेनाै । तिम्राे कमाइजति हामीले सिध्यायाैं । हाम्राे उपचारकाे खर्चका कारण बुहारीका रहरहरू बन्धकीमा परे। उनलाई मेला पर्वका बेला दमालीहरूका अगाडि दाँजिन सकस थियाे रे ! वास्तवमा छाेरा ! हामी तिमीहरूकाे स्वतन्त्रता , खुसी र प्रगतिका लागि बाधक बनेका थियाैं ।

छाेरा ! तिम्री आमाले बाँचेर पनि सुख दिइनन् । मरेर पनि सुख दिइनन् हगि ? तिम्री आमा बित्दा त्यति दुःख गरेर पालेकाे तिम्राे दाह्री र कपाल फाल्नु पर्याै । लङ्गाैटी बेरेर तेह्र दिनसम्म एक छाक निस्ताे भातमा दिन टाल्नु पर्याे । तेह्राै दिनसम्मकाे काम सिध्याउँदा टिकाटालामा ब्यर्थैकाे खर्च भयाे । तिमीले पाएकाे दुःख देख्दा ज्यान पनि सिरिङ्ग हुन्छ । छाेरा ! मासुबिना खाना खाना नसक्ने बुहारी र तिमी । कसरी खट्याै हाेला आमाकाे तेह्र दिनकाे किरिया ? तिमीले पाएकाे दुःख देख्दा मलाई लागेकाे थियाे मेराे किरिया तिमीले नगर्नु । गर्नेै पर्ने परिस्थिति आए भाडाकाे मान्छे खाेज्नू । त्यसबेला साे कुरा भन्न पनि सकिनँ । किनकि म मेरी अर्धाङ्गिनी बितेकाे शाेकमा थिएँ । तिमी मर्नेवालाकाे कारण बिजनेस बिग्रिने झाेंकमा थियाै । आशा छ छाेरा ! तिम्री आमा बितेर तिम्राे बाेझ आधा घटेकाे थियाे हाेला ।

छाेरा ! आमा बितेकाे पीर भुलाउन जति गाह्राे थियाे, त्याेभन्दा बढी गाह्राे साे अबधिमा साथीहरूसँग छुट्नु परेका पलहरू झनै गाह्रा थिए । त्यसैले त दुःखद पलहरूलाई यादगार बनाउन तिमी आतुर थियाै । तिमीलाई तेह्र दिनका कष्टकर समय तेह्र वर्षजस्तै भएका थिए । र त तेह्राैं दिनकाे पुण्य तिथिमा घरमै साथीहरूसँग कक्टेल हान्दै थियाै । सपेटा तान्दै थियाै । त्यस बेला तिम्राे पार्टीले उत्कर्षता लिदै थियाे । अचानक म हलुवामा बालुवा बन्न पुगें । तिम्रा पाहुनका नजर ममाथि पर्न गए । के गर्नू छाेरा ? मेराे बुढ्याैलीले पखला थेग्न सकेन । मेरै कारण माहोल दुर्गन्धित भयाे । तिम्राे पार्टी बिग्रियाे । साथीहरूका सामु तिम्राे नुर गिर्याे । तिम्राे आत्मसम्मानमा चाेट लाग्याे ।

छाेरा ! तिम्री आमा गएपछि मेरा आँखा रातभर झिमिक्क हुन मानेनन् । म तिम्री आमाकाे तस्वीर हेरेर घन्टाैं कुरा गर्दाै रहेछु । मेरा कारण तिमीहरू सुत्न सक्दा रहेनछाै । तिमीहरूलाई निद्रा पर्दा मलाई रातभर खाेकी लाग्थ्यो । मेराे खाेकीले तिमीहरूकाे निद्रा भङ्ग हुन्थ्यो । त्यसमाथि मलाई रातभर चार/ छ पटक पिसाब फेर्न हिडिरहनु पर्ने । मेराे रातभरकाे हिडाइले तिम्राे प्याराे राजुलाई पनि डिस्टर्ब हुन्थ्यो । राजुकाे भुकाइले उसलाई मात्रै हाेइन तिमीहरूलाई पनि डिस्टर्ब हुन्थ्यो ।

छाेरा ! रातकाे समयमा जब म बिस्तारामा हुन्थें । मलाई पिसाबले च्याप्न थाल्थ्याे । म बिस्तारै राजुले समेत चाल नपाउने गरी शाैचालय पुग्ने काेशिस गर्थें । र मलाई लाग्थ्यो मैले शाैचालयमै पिसाब फेरेकाे हुन्थें । तर छाेरा ! जाग्दा बिस्तारा भिजेकाे हुन्थ्याे । मलाई कतिपटक सपनाले धाेका दियाे। त्यसकाे हिसाबै रहेन। काेठा गन्हाएर पस्नै नसक्ने हुन्थ्यो। काेठा मात्रै किन ? मेरा कारण घर नै दुर्गन्धित थियाे ।

छाेरा ! जुन दिन तिमीले मलाई तीर्थ जाने नाममा वृद्धाश्रममा छाेडेर हिड्याै , त्याे दिन त कहाँ भुल्न सक्थें र ? मबाट मेराे मुटु टुक्रिएकाे दिन । छाेरा ! तिमी जन्मिएपछि तिमीलाई हुर्काएका पल अहिले आँखामा नाँच्दैछन् । तिमी बिरामी हुँदा हाम्रा आँखा झिमिक्क हुँदैनथे । कसैले मिठाे चाेखाे खाना दिंदा निलिदैनथ्याे । मिठाइँ पाएकाे बेला त सुटुक्क पाइन्टकाे गाेजीमा हाल्थें , छाेराले रूचाउँछ भनेर ।

छाेरा ! तिमी स्यानाे छँदा तिमीलाई काँधेकुरी राखेर गाउँतिर डुल्न निस्कन्थें । डुल्दै गर्दा तिमीले काँधैभरि आका गरिदिन्थ्याै । तिम्राे आका जीउभरि लाग्दा घिन कहिल्यै लागेन । बरू तिम्राे आका मलाई चन्दन जस्तै लाग्थ्यो । कहिले दुई हातले उठाएर तिमीलाई माsssथि उठाउँदा मुखमै सुसु झारिदिन्थ्याै । तिम्राे सुसुले कहिल्यै मन अघाएन । हाे छाेरा ! मैले तिम्राे सुसुमा अमृतकाे स्वाद पाउथें ।

छाेरा! तिमी तातेताते गरेर हिड्दा लड्याै भने घाउ तिमीलाई लाग्थ्याे । पीडा हामीलाई हुन्थ्यो । भाे भैगाे छाेडाैं यी सब फाल्तु कुरा । माथिल्लो गराकाे पानी पाे सजिलै तल्लाे गरामा जान्छ । तल्ला गराकाे पानी माेटर वा लिफ्टिङ्बिना कहाँ माथि जान्छ र ?

छाेरा ! मलाई वृद्धाश्रम छाेडेपछि सपरिवार विदेश गएछाै । मेराे यता प्राण गएपछि तिमीलाई आउने फुर्सद सम्म भएनछ । छाेराकाे कर्तव्य ठानेर मृत्युु अघि र पछिकाे खर्च पठाएछाै । संस्थाले मेराे अन्तिम संस्कार गरिदियाे । म सन्तुष्ट भएँ । वर्षदिनकाे पिण्ड पनि त्यसैगरी चलाइदिनु है । यता तिम्री आमा पनि पिण्ड नपाउदा भाेकै रहिछन् ।

स्याबास् छाेरा ! छाेरा हुनु त तिमीजस्ताे । तिमीले ए. आइ. प्रयाेग गरेर सामाजिक सञ्जालमा राखेकाे कन्टेन्ट यता पितृलाेकमा खुब भाइरल भएकाे रहेछ । साथीहरूले मलाई पनि देखाइदिए । तिम्राे पाेष्ट नहेर्ने यहाँ काेही छैनन् । कति भावुक भिडियाे तिम्राे ! यहाँ नरूने काेही छैन । कुशे ओैंसी लक्षित बाप्रति समर्पित तिम्रा मर्मस्पर्शी शब्द रचनाहरू । छाेरा ! तिमीले पितृलाेकमा पनि मलाई भावुक बनाएर छाेड्याै हैन ? यहाँ पनि रूवाएर छाड्याै हैन ?

छाेरा ! म त तिम्राे पिता हूँ तिम्राे भलाे चाहन्छु । मातातीर्थ ओैंशी, कुशे ओैंशी, श्राद्ध र साेह्र श्राद्धहरूमा यसैगरी पितृभक्ति प्रदर्शन गर्दै जानू । डिस्कर्ड, भ्लग,रिल्स, टिक्टक , फेसबुक, इन्स्टाग्राम लगायत सबैखाले सामाजिक सञ्जालमा पाेष्टाउँदै जानू । छाेरा ! भावुक र भ्रामक कुरा छिटै बिक्छन् । मनिटाइज गरेकै हाेला । यता फलाेअर्स बढाइदिने जिम्मा हाम्राे भयाे । तिमीले प्रविधिकाे उच्चतम प्रयाेग गर्नू । ताकि तिम्राे पितृभक्ति देखेर यता देवता र पितृहरू पनि दङ्ग परून् ।

छाेरा ! अहिले यतिमै सिमित हुन पुगें । बाँकी कुरा मेराे वार्षिकीपछि गराैंला । यहाँ वार्षिकी सकिएपछि मात्रै माेबाइल चलाउने अनुमति पाइदाे रहेछ । के गर्ने ? नियम मान्ने पर्याे । त्यहाँ त बच्चा पनि जन्मनासाथ भिडियो गेम खल्न थाल्छन् । देश अनुसारको भेष र टाउको अनुसारको केश भनेकाे त्यसै रहेनछ । लाै त छाेरा ! अहिलेलाई यति नै ।

तिमीलाई माया गर्ने तिम्राे बाबु
पितृलाेक ।
मिति २०८३ भाद्र २४

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x