साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीझोले महापुराण

हे लोकतन्त्रदेव ! हामीलाई दल रोज्ने अधिकार दिनुहोस्, तर विवेक नबेच्ने बुद्धि पनि दिनुहोस्। नेताको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्न सक्ने साहस दिनुहोस्।

Nepal Telecom ad

डा. गोपाल पौड्याल ‘मण्डने’ :

प्रथम स्कन्ध : झोलोत्पत्ति तथा झोलेमाहात्म्य
ॐ नमो झोलाधीशाय नमः।
ॐ नमो नेतृचरणकमलाय नमः।
ॐ नमो विवेकविहीनभक्ताय नमः।
नैमिषारण्यमा जम्मा भएका बेरोजगार, अवसरवादी र नियुक्तिकाङ्क्षी ऋषिहरूले सूतजीलाई सोधे-
“हे सूतजी! कलियुगमा आफ्नै बुद्धि थन्क्याएर अर्काको झोला बोक्ने, नेताले कालोलाई सेतो भने सेतै मान्ने र नेताको गुदद्वारलाई समेत हरिद्वार सम्झेर तीर्थ गर्ने अद्भुत प्राणीहरू देखिन्छन्। तिनको उत्पत्ति कसरी भयो? तिनले के खान्छन्? के पाउँछन्? अनि समाजमा तिनको महिमा किन यति व्यापक भयो? हामीलाई विस्तारपूर्वक बताइदिनुहोस्।”
सूतजीले मुस्कुराउँदै भने-
“हे अवसरपिपासु ऋषिगण! तिमीहरूले अत्यन्त गोप्य तथा परम लाभकारी प्रश्न सोध्यौ। जुन कथा सुन्नाले टिकट नपाएको मानिसले आश्वासन पाउँछ, योग्यता नभएको व्यक्तिले नियुक्तिको सपना देख्छ र खाली खल्ती भएको भक्तले नेतासँग फोटो खिचाएर आफूलाई शक्तिशाली सम्झन्छ—त्यही पवित्र ‘श्रीझोले महापुराण’ अब म तिमीहरूलाई सुनाउँछु।”

प्रथम अध्याय : झोलोत्पत्तिको कथा
सत्ययुगमा सत्य थियो, त्रेतायुगमा त्याग थियो, द्वापरमा धर्म र अधर्मबीच युद्ध थियो। तर कलियुग आएपछि सिद्धान्तभन्दा स्वार्थ ठूलो भयो, विचारभन्दा प्रचार ठूलो भयो र योग्यताभन्दा नेतासँगको फोटो शक्तिशाली बन्यो।
त्यसै समयमा अवसरदेव र चाकरीदेवीको संयोगबाट एउटा विचित्र प्राणी उत्पन्न भयो। जन्मँदै उसको काँधमा झोला, हातमा मोबाइल, मुखमा नेताको जयजयकार र मस्तिष्कमा स्थायी ताल्चा थियो।
ब्रह्माजीले उसको नाम राखिदिए-“झोले”।
झोले जन्मनेबित्तिकै बोलेन; पहिले आफ्नो नेताको सामाजिक सञ्जाल हेर्‍यो। नेताले “शुभ प्रभात” लेखेका रहेछन्। उसले तुरुन्तै लेख्यो-
“दूरदर्शी, विकासप्रेमी, युगपुरुष तथा समृद्धिका महानायकज्यूको अत्यन्त ऐतिहासिक शुभ प्रभात !”
अरूले सामान्य चिया खाइरहेका बेला झोलेले उक्त शुभप्रभातलाई देशको राजनीतिक इतिहासमै अभूतपूर्व उपलब्धि घोषणा गरिदियो।
त्यसपछि आकाशवाणी भयो-
“हे झोले ! आजदेखि तेरो आफ्नो कुनै विचार हुनेछैन। नेताले जे बोल्छन्, त्यही सत्य; नेताले जे बिर्सन्छन्, त्यो असत्य; नेताले जे गर्छन्, त्यो क्रान्ति; र विपक्षीले त्यही काम गरेमा त्यो राष्ट्रघात हुनेछ।”
झोलेले दुवै हात जोडेर भन्यो-
“हजुरको आज्ञा शिरोपर !”
यसरी पृथ्वीमा झोले सम्प्रदायको जन्म भयो।

द्वितीय अध्याय : झोलेका प्रमुख लक्षण
हे ऋषिगण ! झोलेलाई चिन्न धेरै कठिन छैन। उसका केही दिव्य लक्षण हुन्छन्।
पहिलो— उसले नेताको झोला काँधमा बोक्छ, तर आफ्नो विवेक खाल्डोमा फाल्छ।
दोस्रो- नेताले “घाम पश्चिमबाट उदाउँछ” भने झोलेले तुरुन्तै पोस्ट लेख्छ-
“विज्ञानले बल्ल प्रमाणित गर्न बाँकी रहेको कुरा हाम्रा श्रद्धेय नेताज्यूले वर्षौँअघि देखिसक्नुभएको थियो।”
तेस्रो- नेताको बोली भुइँमा खस्न नपाउँदै झोलेले त्यसलाई टिपेर, धोइपखाली, सुनको जलप लगाएर सामाजिक सञ्जालमा टाँसिदिन्छ।
नेताले “बाटो बनाउँछु” मात्र भनेका हुन्छन्, झोले लेख्छ—
“सम्माननीय नेताज्यूको अथक प्रयासबाट विश्वकै नमुना राजमार्ग निर्माण सम्पन्न !”
बाटो कहाँ छ भनेर कसैले सोध्यो भने ऊ भन्छ-
“विकासविरोधीहरूले देख्न चाहेनन् भने हाम्रो के लाग्छ ?”
चौथो- नेता हाँसे भने देशमा समृद्धि आएको ठान्छ। नेता खोके भने अन्तर्राष्ट्रिय षड्यन्त्र भएको घोषणा गर्छ। नेता चिप्लेर लडे भने “जनताको माटोलाई ढोग्नुभएको” भनेर व्याख्या गर्छ।
पाँचौँ- झोलेको शब्दकोशमा नेताको गल्ती भन्ने शब्द हुँदैन। गल्ती देखियो भने कर्मचारीको दोष, विपक्षीको षड्यन्त्र, विदेशीको चलखेल अथवा पुरानो सरकारको विरासत हुन्छ।
छैटौँ- उसलाई नेताको गुदद्वार पनि हरिद्वारभन्दा कम पवित्र लाग्दैन। त्यहाँबाट निस्केको दुर्गन्धलाई समेत ऊ “राष्ट्रवादी सुगन्ध” भनेर प्रचार गर्छ।
सातौँ- सत्यभन्दा उसलाई screenshot प्रिय हुन्छ; प्रमाणभन्दा हल्ला प्रिय हुन्छ; देशभन्दा दल प्रिय हुन्छ; र दलभन्दा पनि नेताको आशीर्वाद प्रिय हुन्छ।

तृतीय अध्याय : सामाजिक सञ्जाल रङ्ग्याउने विधि
बिहान आँखा खुल्नासाथ झोलेले भगवान् सम्झँदैन। पहिले नेताको प्रोफाइल खोल्छ।
नेताले राति बाह्र बजे पुरानो फोटो राखेका रहेछन् भने झोलेले बिहान पाँच बजे नै लेख्छ-
“देश र जनताका लागि रातदिन नभनी खटिरहनुभएका जननायकप्रति उच्च सम्मान!”
त्यसपछि उसले एउटै पोस्ट बीसवटा समूहमा हाल्छ। पाँचवटा नक्कली खाताबाट आफैँलाई समर्थन गर्छ। एउटाबाट लेख्छ-“सही कुरा !” अर्कोबाट—“देशले खोजेको नेता!” तेस्रोबाट-“विरोधीहरूको सातो गएको छ!” चौथोबाट-“अबको प्रधानमन्त्री !” र पाँचौँबाट-“विश्वले मानेको राजनेता!”
कसैले तथ्य राखेर प्रश्न गर्‍यो भने झोले उत्तर दिँदैन; उसको थर, जात, जिल्ला, परिवार र सात पुस्ताको राजनीतिक निष्ठा खोज्न थाल्छ।
कसैले “नेताज्यूले गरेको वाचा पूरा भएन नि” भन्यो भने ऊ तुरुन्तै लेख्छ-
“तपाईंले देशका लागि के गर्नुभयो ?”
प्रश्नको उत्तर अर्को प्रश्नले दिनु झोले दर्शनको सर्वोच्च सिद्धान्त हो।
झोलेका लागि सामाजिक सञ्जाल बहस गर्ने ठाउँ होइन; नेताको आरती गर्ने मन्दिर हो। त्यहाँ तर्क निषेध हुन्छ, तथ्यलाई प्रवेश शुल्क लाग्छ र चाकरीलाई विशेष पास उपलब्ध हुन्छ।

चतुर्थ अध्याय : झोलेका चार वर्ण
समयक्रममा झोलेहरू पनि चार वर्णमा विभाजित भए।
१. सामान्य झोले
यसले सभा भर्छ, ताली बजाउँछ, मोटरसाइकल र्‍यालीमा पेट्रोल आफैँ हाल्छ र मासुभात पाएपछि क्रान्ति सफल भएको ठान्छ।

२. डिजिटल झोले
यसको मुख्य अस्त्र मोबाइल र मुख्य शास्त्र Facebook हो। यसले फोटो काट्छ, भिडियो जोड्छ, झूटलाई आकर्षक शीर्षक दिन्छ र अफवाहलाई “भर्खरै प्राप्त समाचार” भनेर फैलाउँछ।

३. ठेकेदार झोले
यसले नेताको नाम बेचेर ठेक्का खोज्छ। गुणस्तर सोध्दा शक्ति देखाउँछ, हिसाब माग्दा सम्बन्ध सुनाउँछ र काम अधुरो हुँदा बजेटलाई दोष दिन्छ।

४. महाझोले
यो नेताको शयनकक्षदेखि सिंहदरबारसम्म निर्बाध प्रवेश गर्न सक्ने उच्चकोटिको प्राणी हो। यसले नियुक्ति मिलाउने, सरुवा रोक्ने, व्यापारीलाई धम्क्याउने, बिचौलियागिरी गर्ने र “माथिसम्म मेरो पहुँच छ” भन्दै हप्ता उठाउने दिव्य सामर्थ्य राख्छ।
महाझोलेले कानुन पढेको हुँदैन, तर प्रहरीलाई निर्देशन दिन्छ। अर्थशास्त्र जानेको हुँदैन, तर व्यापारीसँग हिस्सा माग्छ। जनमत पाएको हुँदैन, तर जनतामाथि शासन गर्छ।

पञ्चम अध्याय : झोलेले पाउने वरदान
झोलेले निःस्वार्थ झोला बोक्दैन। उसको भक्तिभित्र फलको ठूलो सूची लुकेको हुन्छ।
कसैले वडा कार्यालयमा सानो जागिर पाउँछ।
कसैले करारमा नियुक्ति पाउँछ।
कसैले बोर्ड, समिति वा प्रतिष्ठानमा आसन पाउँछ।
कसैले ठेक्का पाउँछ।
कसैले सरुवा रोक्ने शक्ति पाउँछ।
कसैले प्रहरीलाई फोन गरेर मान्छे छुटाउने धाक पाउँछ।
कसैले व्यापारीबाट मासिक दक्षिणा उठाउने छुट पाउँछ।
कसैले केही नपाए पनि नेतासँग खिचेको फोटो देखाएर गाउँभरि रवाफ देखाउने अवसर पाउँछ।
तर सबै झोलेले फल पाउँदैनन्। हजारौँ झोलेमध्ये केहीले मात्र जागिर, पैसा र शक्ति पाउँछन्। बाँकीले “यसपालि नभए अर्कोपालि” भन्ने अमृतमय आश्वासन सेवन गर्दै जीवन बिताउँछन्।
नेताले प्रत्येक चुनावअघि भन्छन्-
“तिम्रो योगदान पार्टीले बिर्सेको छैन।”
तर पार्टीको स्मरणशक्ति चुनाव सकिएको भोलिपल्टदेखि कमजोर हुन थाल्छ।
झोले फेरि पनि निराश हुँदैन। किनकि आश्वासन उसका लागि तलब हो, नेतासँगको फोटो परिचयपत्र हो र “हेरौँला” भन्ने वचन नियुक्तिपत्र हो।

षष्ठ अध्याय : व्यापारीपीडन तथा हप्तामाहात्म्य
एक दिन नगरका व्यापारीहरू सूतजीकहाँ आएर विन्ती गरे—
“हे मुनिवर! हामीले कर सरकारलाई तिर्छौँ, चन्दा दललाई दिन्छौँ, सहयोग संस्थालाई गर्छौँ। तर हरेक साताको अन्त्यमा नयाँ झोले आएर ‘कार्यक्रम छ’, ‘नेताज्यू आउँदै हुनुहुन्छ’, ‘युवा परिचालन गर्नुपर्छ’ भन्दै रकम माग्छ। नदिए व्यापार बन्द गराउने, निरीक्षण पठाउने वा सामाजिक सञ्जालमा बदनाम गर्ने धम्की दिन्छ। यसको मुक्ति के हो?”
सूतजीले भने-
“हे व्यापारीगण! त्यो चन्दा होइन, झोले कर हो। त्यसको रसिद हुँदैन, दर निश्चित हुँदैन र हिसाब कहिल्यै सार्वजनिक हुँदैन।”
साधारण झोलेले पाँच सय माग्छ, मध्यम झोलेले पाँच हजार र महाझोलेले व्यापारीको कारोबार हेरेर भक्तिभाव निर्धारण गर्छ।
रकम पाएपछि भन्छ-
“हामी व्यापारीका पक्षमा छौँ।”
रकम नपाएपछि भन्छ-
“यसको सम्पत्ति छानबिन गर्नुपर्छ !”
यसरी झोलेले सिद्धान्तलाई खल्तीअनुसार र न्यायलाई रकमअनुसार परिभाषित गर्छ।

सप्तम अध्याय : झोले र नेताको संवाद
एक दिन झोलेले नेतासँग सोध्यो-
“प्रभु! मैले दश वर्षदेखि हजुरको झोला बोकेँ, भाषणमा ताली बजाएँ, विरोधीलाई गाली गरेँ, नक्कली खाताबाट प्रशंसा गरेँ। अब मेरो पालो कहिले आउँछ ?”
नेताले प्रेमपूर्वक उसको काँधमा हात राखेर भने-
“तिमी पार्टीको अमूल्य सम्पत्ति हौ।”
झोले प्रसन्न भयो। उसले सोच्यो—अब मन्त्रीको सल्लाहकार बनिन्छ।
नेताले फेरि भने-
“अर्को हप्ता ठूलो सभा छ। पाँचवटा बसमा मान्छे ल्याउने जिम्मा तिम्रो।”
झोलेले साहस गरेर सोध्यो-
“मेरो नियुक्तिको कुरा ?”
नेताले गम्भीर हुँदै भने-
“अहिले देश संकटमा छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ।”
झोले बाहिर निस्क्यो। सामाजिक सञ्जाल खोलेर लेख्यो।
“आफ्नो सम्पूर्ण जीवन देशलाई समर्पण गर्नुभएका त्यागी नेताज्यूसँग अत्यन्त गहन तथा उपलब्धिमूलक छलफल भयो।”
घर पुगेपछि श्रीमतीले सोधिन्।
“जागिरको कुरा भयो?”
झोलेले भन्यो-
“देश संकटमा छ, तिमी जागिरको कुरा गर्छ्यौ?”

अष्टम अध्याय : झोलेमोक्षको उपाय
ऋषिहरूले सोधे-
“हे सूतजी! के झोलेले मोक्ष पाउन सक्छ ?”
सूतजीले उत्तर दिए-
“अवश्य सक्छ। तर त्यसका लागि उसले कठिन तपस्या गर्नुपर्छ।”
उसले दिनमा कम्तीमा एकपटक आफ्नै बुद्धिले सोच्नुपर्छ।
नेताको हरेक कुरा सत्य मान्न छोड्नुपर्छ।
दलभन्दा देश ठूलो हो भन्ने स्वीकार गर्नुपर्छ।
गल्ती आफ्नै पक्षबाट भए पनि गल्ती भन्न सक्नुपर्छ।
प्रशंसा गर्नुअघि काम र परिणाम हेर्नुपर्छ।
सामाजिक सञ्जालमा लेख्नुअघि तथ्य जाँच्नुपर्छ।
जागिरका लागि योग्यता र व्यापारका लागि इमानदारीमा विश्वास गर्नुपर्छ।
अनि नेताको झोला बिसाएर नागरिकको जिम्मेवारी उठाउनुपर्छ।
तर यो तपस्या अत्यन्त कठिन छ। किनकि झोला काँधबाट निकाल्न सजिलो हुन्छ, मस्तिष्कबाट निकाल्न कठिन हुन्छ।
जुन दिन झोलेले नेताको गलत कामलाई गलत भन्न सक्छ, त्यस दिन उसको झोलेत्व समाप्त हुन्छ र नागरिकत्व प्रारम्भ हुन्छ।

फलश्रुति
जसले यो श्रीझोले महापुराण पढ्छ, उसले वरिपरिका झोलेहरू सजिलै चिन्न सक्छ।
जसले यसलाई बुझ्छ, ऊ अन्धभक्तिबाट जोगिन्छ।
जसले आफ्नै व्यवहारसँग मिलेको ठानी रिसाउँछ, उसमा अझै झोलेतत्त्व प्रबल छ।
र जसले हाँस्दै आत्मसमीक्षा गर्छ, उसमा सचेत नागरिक बन्ने सम्भावना बाँकी छ।
अन्त्यमा सबैले एक स्वरमा प्रार्थना गरौँ-

“हे लोकतन्त्रदेव ! हामीलाई दल रोज्ने अधिकार दिनुहोस्, तर विवेक नबेच्ने बुद्धि पनि दिनुहोस्। नेताको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्न सक्ने साहस दिनुहोस्। झोला बोक्नै परे आफ्नै श्रमको झोला बोकौँ, कसैको अपराध, भ्रष्टाचार र अहङ्कारको झोला नबोकौँ।”
ॐ विवेकाय नमः।
ॐ नागरिकचेतनाय नमः।
ॐ झोलेत्वविनाशाय नमः।
इति श्रीझोले महापुराणे प्रथम स्कन्धः सम्पूर्णम्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टुल्के पुराण

टुल्के पुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू

हेलिकप्टरबाट जनताको दुःख नियाल्ने...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म !

भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
ठग नेता

ठग नेता

डा. गाेपाल पाैड्याल ‘मण्डने’
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हे झोला

हे झोला

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x