साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सापटीले पार्छ आपत्ति

सापटी त फिर्ता आउँदैन यसले तपाईँलाई दुःख भोगाउँछ। हैरानी दिन्छ। समस्या थपिदिन्छ। यो आपत्तिको राजमार्ग हो।

Nepal Telecom ad

भलादमी भाेला :

फुर्सदमा थिएँ। कोठाको दराजमा रहेको शब्दकोशमा आँखा ठोकियो । दराज खोलेर किताब उचालेँ हातबाट फुत्किएर फ्यात्त भुँइमा झर्यो। किताब उत्तानो परेर छाती फर्काएर पल्टिएको थियो। मलाई लाग्यो यो किन निडर भएर छाती थापिरहेछ । यसले भनिरहेको होला तैँले मलाई पढेर कहिले सक्छस् ? देख्दै आँतेस लाग्ने यो किताब पढेर सक्नु चानचुने कुरा होइन। फुर्सद पनि त चाहियो । एकै बसाइमा पढिसकिने यो कविता पनि होइन, कथा पनि होइन, न त यो नाटक हो। यसलाई त क्रमैसँगले पढ्नुपर्छ आवश्यकता अनुसार । यसलाई सुमसुम्यायो भने मात्र मस्तिष्कमा झङ्कार छोड्छ भनेर मैले त्यसलाई नियालेर हेरेँ ।

पल्टिएको पातो स वर्णको थियो ।आँखा त्यही पुग्यो जसले मेरो मुटुमा चिमोटी रहन्थ्यो हरबखत । पाना पल्टाउँदै जाँदा सापटी शब्द टुप्लुक्क भेटिन पुग्यो । मामा घर हिँडेको भान्जोले मामा बाटैमा भेट्टाए जसरी । शब्दकोशमा सापटी शब्दको अर्थमा घोरिएँ धेरै बेर । अर्थ रहेछ पछि फिर्ता हुने गरी दिएको वस्तु भनेर लेखिएको । यो अर्थ देख्ने बित्तिकै मलाई विद्वानको कन्सिरी तानिदिउँ जस्तो लाग्यो । अर्थ लेखिदिनेले यति दिनभित्र फिर्ता गर्ने भनेर दिन तोकिदिएको भए तिनीहरूको के जान्थ्यो ? कमसेकम सापटी फिर्ता हुन्थ्यो। घरव्यवहार चल्थ्यो। समाजमा शान्ति कायम हुन्थ्यो। द्वन्द बढ्दैनथ्यो। नाता सम्बन्ध सुमधुर हुन्थ्यो। यति विचार गरेर लेखिदिएको भए मान्छे जिउँदै आगो लगाएर मर्नु पर्दैनथ्यो।

सायद तिनीहरूले अरुलाई सापटी दिँदैनन् क्यारे! उनीहरू स्वावलम्बी, पौरखी र कर्मवीर होलान् । सबै उनीहरू जस्तै हुँदैनन् । नत्र यस्तो अर्थ नलगाउनुपर्ने हो । उनीहरूको यो अर्थका कारण सापटी लानेहरू भोलिका भोलि भनेर हैरान पार्छन् । चप्पलको लोती छिनेर जुत्ताको तलुवा च्यातिएर खुट्टामा काँडा बिझ्दा पनि सापटी लगेको पैसा फिर्ता हुँदैन। पैँचो भन्नु ,सापटी भन्नु, ऋण भन्नु यी फिर्ता हुन गाह्रो हुनेमा पर्छन् ।

यो त ठ्याक्कै अदालतको फैसला जस्तो अनिश्चित, अनिर्णित।हातले दियो खुट्टालाई सास्ती भन्ने उखान यसै बेलादेखि चलेको होला। विद्वानको बौद्धिकतालाई चुनौती दिएर हैरान पार्ने शब्द बनेको छ सापटी। मलाई लाग्छ यही शब्दका कारण विद्वानहरूलाई पनि आपत्ति नै परेको होला। अब उनीहरूले अर्थ परिमार्जन गर्न सक्लान् या अर्थकै जालोमा जेलिएर पासो लाग्न पुग्छ तिनीहरूको बौद्धिकता । त्यो भविष्यले देखाउला ।

कुरो सापटीको छ। नलुकाई भन्दा पल्लो घरमा लगेको चार माना चामल चार महिना बितिसक्दा पनि फिर्ता आउँदैन। तल्ला घर लगेको एक गिलास नुन कहिले फिर्ता आउला? त्यसको पनि पत्तै छैन। अस्ति गाईलाई हाल्न एक मुठो घाँस भोलि ल्याइदिउँला भनेर लगेकी गोफ्लेकी छोरीले घाँस लिएर अहिलेसम्म आइन । यी सबै सापटीहरू उठाउन कति दिन लाग्ने हो । माग्ने पनि कसरी हो । तोलाको बोली खोलामा गयो भने के भन्ने । फिर्ता माग्न पनि असजिलो हुनेगरी मान्छेले सापट लान पनि के के जान्दछन् जान्दछन् । एक चम्चा घिउ, दुई ढिँडी खोर्सानी, एक मुठो साग, घरमा पाहुनालाई ओछ्याउने तन्ना, सिरानी, सिरक, खुवा पकाउन एक ढुंग्रो दुध यी सबै सापटीका परम्परित उदाहरणहरू हुन् ।

सापटी नदिउँ भन्यो, कोही खान पाइन भनेर आँसु झार्दै एका बिहानै धर्ना कस्न आइपुग्छ। कोही चाडपर्व टारी दिनुपर्यो भनेर अनुहार अँध्यारो पारेर रुन खोज्छ । सबैका समस्या सुन्दा सुन्दै आफ्ना समस्याहरू कता लाग्छन् थाहा हुँदैन। अरुको मुख टाल्दा टाल्दै आफ्नै घरको भाँडो बज्न थालिसक्यो । जब हातबाट पैसा फुत्किन्छ। उनीहरूको आँसु आफूले झार्दै कहिल्यै रिसाउँदै कहिले फन्किँदै, कहिले झर्किँदै, कहिले बम्किँदै उनीहरुकै पछि समय काटिरहनु पर्दा मलाई पनि लाग्छ यो सापटीले आपत्ति पार्ने नै रहेछ।

मैले यति धेरै कुरा गरिसकेपछि तपाईँ अहिले पुर्पुरोमा हात लगाएर सपना देख्न थाल्नुभयो कि । तपाईँको पुरानो घाउ बल्झेर चस्स कतै दुख्यो कि ? तपाईँलाई पनि मेरै रोग त सरेको छैन । कञ्चटबाट झरेको पसिनाले छाती छिचोलेको पत्तो छ कि छैन ? हातमा बहिखाता बोकेर सापटी लानेलाई पाता फर्काउने सोच छ कि छैन । गते, मिति , बार अनि दस्तखत केलाउनु भएको होला नै । सापटी लागेको पैसा भाका नाघेर पाखा लागिसक्यो। बहि खातामा सहि हेर्न धमिराले ओडार बनाइसक्यो के गर्ने ? उपाय नास्ती भएपछि हातले दिँदा खुट्टालाई सास्ती भएझैँ भएको छ। सापटी लानेले तिर्न बिर्सेर टोलुङमा फिर्के लगाइसक्यो होला। तपाईँ सम्झेर मोलुङ खोला तर्दै हुनुहुन्छ अहिले पनि लौरो टेकेर । कति साह्रो आपत कस्तो तनाव।

सापटी त हप्ता दिनभित्र फिर्ता दिन्छु भनेर लैजाने त हो । फिर्ता त न समय हुन्छ न बगेको पानी । लैजाने बेला छोरा छोरीको कसम खान पनि सकिने आफूलाई भस्म गराउन पनि सकिने । फिर्ता गर्ने बेला मोबाइलको सिम कार्ड फेर्दा पनि भो स्विच अफ गर्न पनि पाइयो । भेटेको बेला मुन्टो बटार्न पाइयो। जाँड खाएर थर्काउन पनि पाइयो। अहिले निसाफ हुँदैन कसैको। न्याय मरेपछि स्वाभिमान पनि ओइलाउँदो रहेछ। यसो तपाईं विचार गर्नुस् त। पर्सि दिन्छु भनेर तपाईंको गोजीबाट पैसा फुत्काउनेले आज पनि पैसा ल्यायो त। सापटी त फिर्ता आउँदैन यसले तपाईँलाई दुःख भोगाउँछ। हैरानी दिन्छ। समस्या थपिदिन्छ। यो आपत्तिको राजमार्ग हो।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x