फित्काैली डटकमनेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी सिफारिस
प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले नगरकोटीलाई कुलपति र अभिनाश श्रेष्ठलाई उपकुलपतिका लागि सिफारिस गरेको स्रोतले जनाएको छ ।

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा साहित्यकार कुमार नगरकोटीको नाम सिफारिस गरिएको छ । प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले नगरकोटीलाई कुलपति र अभिनाश श्रेष्ठलाई उपकुलपतिका लागि सिफारिस गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सदस्य सचिवमा साहित्यकार रामलाल जोशीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्राज्ञ सदस्यका रूपमा तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलाषी, प्रतिसरा सायमी र कृष्ण सर्वहारीको नाम पनि सिफारिस गरिएको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार कुलपतिका लागि ब्रजेश खनालको नाम पनि चर्चामा थियो । पछि उहाँलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिका लागि सिफारिस गरिएको जनाइएको छ ।
यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानको नेतृत्वका लागि नयनराज पाण्डे, शिवानी सिंह थारू, वीना थिङ र मञ्चला झाँलगायतको नामसमेत चर्चामा आएको थियो। तर उनीहरूले प्रज्ञा–प्रतिष्ठानमा जान अस्वीकार गरेको स्रोतको दाबी छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको संयोजकत्वमा गठित छनोट समितिमा साहित्यकार नारायण ढकाल र अर्चना थापा सदस्य रहनुभएकाे थियाे ।
स्रोतका अनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका नामबारे अन्तिम निर्णय गर्नेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest







































