डा. नवराज खतिवडादवाई सुन्दरी, जुत्ता र ज्योतिषी
ज्योतिषी महोदयले उनीहरुले बोकेर ल्याएका यस्ता तनाव सिर्जना गर्ने तरल कच्चा पदार्थलाई सरल दाममा किन्दा रहेछन् ।
डा. नवराज खतिवडा :
विनोदी शैलीमा संस्मरणात्मक निबन्ध लेख्ने नेपाली साहित्यका महारथी धनुषचन्द्र गोतामेलाई आज एक पटक पुनः संझिन पुगेँ ।
थापाथलीको नर्भिक अस्पतालको औषधी विक्रि-कक्षमा घटेको एक प्रसंगले मलाई पुन: एकपटक उनलाई संझिने गरायो । उनले आफ्नो जीवन दर्शनका केही महत्वपूर्ण सिद्धान्तलाई मिहिन तरिकाले लिपिबद्ध गरेका छन् । त्यसमध्ये मेरो मन छोएको र मैले धैरैलाई सुनाएको मन्त्रकै रुपधारण गरेको एक अभिव्यक्ति यस्तो छ ।
“भैपरि आएको परिस्थितिलाई अस्विकार नगर्ने।“
कोटको खल्तीमा रातो कलम बोक्ने अधिकार प्राप्त फुईँ डाक्टर भएकोले यस्ता सुत्रवाक्यलाई थपथाप पार्न सकिएन भने उपाधी फुस्केला भन्ने त्रास बोकेर हिँडेको २७ वर्ष भएछ । यसैले यस्ता त्रासलाई धुलोपिठो पार्ने उपक्रम सोच्नु भनेको फुडाको कार्यसूचिको पहिलो बुँदा बनेको छ ।
परिस्कृत धच उवाच अर्थात ‘परिस्थिति व्यवस्थापन’को फुडा मन्त्र भने यस्तो छ ।
“भै-परि आएको परिस्थितिलाई भर्याङ बनाउने र त्यसमा पाउ राखेर दुई तला उक्लने ।”
नर्भिक अस्पतालको औषधी संकलन गर्ने कक्षमा ३ जना दवाई सुन्दरी थिए । ती मध्ये हँसिलो अनुहार गरेकी बाटुलो चेहरा भएकी सुन्दरीले मेरी महादेवीकाे नाम उच्चारण गर्दै बोलाइन् । म झ्याल नजिकै गएँ । उनले तोकिएका औषधीको नाम खरर भनिन् ।
“हजुरको विल दिनुहोस् ।”
“ए बा ! मेरो बिल नै नहेरी औषधीको नाम खरर भन्नुभयो त ?”
“कम्प्युटरबाट आइहाल्छ नि त !”
फुडाले कुरो नबुझेको त होइन तर भै-परिआएको परिस्थितिको फाइदा लिँदै कहिलेकहीँ कुरो गर्ने मेसो पनि मिलाउनु पर्ने हुन्छ । आखिर चेलो कस्को ? “धच” को !
दवाई सुन्दरीले मेरो औषधीको पोको तयार गर्न थालिन् । मलाई हतार थिएन । मैले फरक विषयमा उनको ध्यानाकर्षण गर्दै भने-
“गजब भयो नि पैसा तिर्ने काउन्टरमा ।“
“के गजब भयो त हजुर त्यस्तो ?”
“मैले मनमा औषधी थपेँ तर एकजनाले शरिरमा बिराम थप्यो।”
“कसरी भयो हजुर त्यस्तो ?”
“अघि उ त्यो काउन्टरमा भुक्तानी गर्दा घटेको घटना हो । मेरो पालोमा धुरा पस्दै एउटा मान्छे आयो । त्यहाँकी बहिनीले उनको पालो म पछि आउने संकेत गरिन । उ पछाडि सर्यो। । तर मैले पैसा हातमा निकालेर तिर्नै लाग्दा फेरि सिँगौरी खेल्दै आयो । मैले पनि तिनै बहिनीले भनेको वाक्य दोहोर्याएँ । उसले बल मिच्याईँ गर्न थाल्यो । मैले मेरो काम विचैमा रोकेर उसलाई अवसर दिएँ ।”
मैले त्यो धुरा पस्ने घुसपेठी महाशयलाई भनेको थिएँ ।
“तपाईँलाई धेरै नै हतार भए जस्तो छ । लौ ! मैले ठाउँ छोडदिएँ।”
उसले मेरो पालो मिच्ने काम गर्यो । मैले उसले गरेको बलजफ्ती सहेँ । यसैले मैले ती दवाई सुन्दरीलाई भनेको आशय थियो ।
“उसले जबरजस्ती गरेर तनाव किन्यो, मैले मेरो पालो दान गरेँ र धैर्यता थपेँ। अर्थात मैले शान्ति बेँचे ।“
उनको बाटुलो अनुहारमा लाम्चो हैन गोलो हाँसो सिर्जना भयो । दुवै ओठले अङ्ग्रेजीको अक्षर “ओ” बनाए । उनको मुद्रा र हाउभाउले कुरोको चुरो बुझेको आभाष भयो ।
अस्पतालको प्रसुती विभागसँग जोडिएको आईसियु कक्षको प्रवेशद्वारमा रहेको विश्राम कक्षमा पनि केही घण्टा विताउनु पर्ने भयो । मैले ल्यापटप लिएर गएको थिएँ । केही समय त्यसैमा विताएँ ।
आगन्तुकले आईसियु कक्षभित्र प्रवेश गर्दा आफूले लगाएर आएको जुत्तालाई ढाक्ने गरी एउटा प्लास्टिकको थैलो लगाउनु पर्ने रहेछ । कतिपयले जुत्ता फुकालेर त्यो थैलो गोडामा लगाए । विश्राम कक्षमा बसेका र अभ्यस्त भएकाले नौला आगन्तुकलाई सिकाए । मैले पनि एका दुईलाई सिकाएँ ।
दुई अधवैँसे महिला रङ्गगमन्चमा आए । उनीहरुले पनि जुत्ता चप्पल फुकालेर थैलो लगाउन थाले ।
“जुत्ता चप्पल नफुकालि लगाउने हो त्यो ।”
मैले उनीहरुको ध्यानाकर्षण गर्दै भने ।
“कस्तो जमाना आयो त खप्टेर जुत्ता लगाउने ।”
मेरो पछिल्लो अभिव्यक्तिको लक्ष्य भने वरिपरी बसेका सज्जनहरुको ध्यानाकर्षण गर्नु थियो ।
“खुट्टा भए जुत्ता हजार ।”
मेरै उमेरका एक सज्जनले भने ।
यो खुट्टा र जुत्ताको बिम्ब मेरा लागि सर्वथा नयाँ र रोचक थियो । याे उखान मैले पहिलो पटक सुनेँ । रोचक नलाग्ने कुरो भएन । पछि थाहा भयो- यो त एक श्रीमतीसँग सम्बन्ध विच्छेद भयो वा कुनै कारणले पारिवारिक सम्बन्ध बिग्रियो भने पुरुषलाई सान्त्वना दिन प्रयोग हुने गरेको रहेछ विगतमा । लैँगिक सँवेदनशिलता र बहुविवाहलाई गैरकानूनी मानिने वर्तमान समयमा यस्ता चर्चाको खासै महत्वको रहेन ।
तर तनाव र जुत्ताका यी प्रसंगले मलाई एउटा ठट्यौली संझायाे ।
उही उमेरका दुई रौसे भूतपूर्व नौजवानहरुको गफगाफ हुँदै रहेछ । पहिलोले भनेछ- तनाव धेरे भयो भन्छन् मलाई त तनाव नै हुँदैन ।
“त्यो कसरी ?”
दोस्रोले सोधेछ ।
“तनाव हुन लागेपछि मन्दिरमा जान्छु । गेटबाहिर फुकालेका जुत्ता चप्पललाई छरपस्ट पारिदिन्छु । अलि पर गएर रमिता हेर्छु । दर्शन गरेर फर्किनेहरुको दशा हुन्छ । धुईँपत्ताल लगाएर आफ्नो जुत्ता वा चप्पल खोज्छन् । उनीहरुलाई तनाव हुन्छ । त्यसले मेरो तनाव स्वाट्टै खाइदिन्छ ।”
जुत्ताको प्रसंगले मलाई एक दशक अघिको कालखण्डमा पनि पुर्याउँछ । कलकत्ताको प्रसिद्ध कालिमन्दिर परिसरको नजिकै यो प्रसंग उब्जिएको थियो । सन २०१६ मा म रोटरी क्लब पाटन साउथको अध्यक्ष भएको थिएँ । हामी १६ जना रोटरियनको टोली एक कार्यक्रममा सहभागी हुन भारतको भुवनेश्वर शहरमा गएका थियौँ । हाम्रो यात्रापथ थियो-काठमाडौं-वीरगन्ज-कलकत्ता-भुवनेश्वर। हावडाबाट रेल चढेर भुवनेश्वर जाने योजना थियो । कलकत्तामा हाम्रो टोलीका केही सदस्य मिलेर एकाविहानै प्रसिद्ध काली मन्दिरको दर्शन गर्न गएका थियौँ । कालीमाताको दर्शन गरेर हावडा जाने क्रममा हामी बस पर्खन केही बेर अलमलियौँ । मेरा अनन्य मित्र सूर्यमानले जुत्तामा पालिस लगाउने विचार गरेछन् । सडक किनारामा भेटिएको एक सेवाप्रदायकले उनको ईच्छा पुरा गरिदिएछ ।
तर पालिसको पारिश्रमिक दिने क्रममा सूर्यमानले एक अविस्मरणिय परिस्थिति सिर्जना गरेका थिए । पालिस गरेको शुल्क रहेछ रु १० । सूर्यमानले २० रुपैयाँको नोट दिएछन् ।
“मेरे पास छुट्टा नही है । वैसे भि ये वोहनीका टायम है । इसिलिए २० रुपैया ही दे दिजिए ।”
“पोलिसका रेट १० रुपैयाँ है तो तुम २० कैसे लोगे भाइ । कुछ करो ।”
“दे दिजिए न । बोलरहा हुँ बोहोनीका टायम है ।”
सूर्यमान भै-परि आएको परिस्थितिमा भर्याङ लगाउन औधी सिपालु थिए । यो विषयका मेरा अर्का गुरु उनै हुन् । उनले मलाई बोलाए ।
“खतिवडाजी, १० रुपैया खुद्रा छ त ?
“छैन त ।”
“उसो भए जुत्तामा पालिस गर्नोस् । यहाँ मेरो रु १० जोखिममा परेको छ।”
मैले स्विकारोक्ति जनाएँ । पाउदानीमा जुत्ता राखेँ ।
“नही होगा, ईसका तो बीस रुपैयाँ लगेगा ।”
पालिसवालाले प्रतिवाद गर्यो ।
“कर दे यार कर दे क्या फरक पडेगा ?”
सूर्यमानको आदेश उसले पालना गरेन । अडान जारी राख्यो ।
“दश रुपैयामा नही करेगा न ।”
“नही करेगेँ ।”
“तो एक काम कर भाइ, एक ही जुत्तामे पोलिस कर दे ।”
उनै धच गोतामेले भनेको जस्तो सडक नै थर्काउने हाँसो सिर्जना भयो ।
“कहाँ कहाँ से लोग आते हैँ । सुबहका टाईम है और दिमाग खराब करते हैँ। जिन्दगीमे आज तक एक जुत्ता पे पोलिस नहीँ कियेँ हैँ ।”
उसले सूर्यमानसँग नबेसाएको तनाव किनेको थियो । पाटनको मंगलबजारमा ससुराली भएका सूर्यमान लरतरा साहुजी थिएनन् । लेनदेनको मामिलामा उनी खरो उत्रन सक्थे ।
“चलो एक जुता मे नही करोगे ते एसा करो दोनो जुता पे आधा आधा कर दो ।”
यो वाक्य सुन्दा मलाई लागेको थियो- अब भने विचरा पोलिसवालाले भारतीय रुपैँयामा होईन अमेरिकी डलर खर्चेर नै तनाव किन्यो ।
“हे ! कालीमाता किसको भेजदिया आप ने आज । मेरा सर फुट रहा है।”
म पेट मिचीमिची हाँसे ।
सूर्यमानले ५० प्रतिशत घाटामा उसको तनाव विसर्जन गर्ने नयाँ जुक्ति निकाले । हामी नजिकै उभिएका एक बँगाली महाशयलाई बोलाए र उनको जुत्तामा पोलिस गर्न लगाए । बँगालीले शर्त बमोजिम सूर्यमानलाई ५ रुपैँया दियो ।
कोटेश्वर महादेवस्थान नजिकैको मदन भण्डारी उद्यान नजिकै एक नेपाल थरका ज्योतिषिको दोकान छ । ज्योतिषिको चिना हेर्ने थलोलाई कार्यालय भन्ने कि पसल भन्ने अन्यौल भएकाले मैले दोकान भन्ने शब्द प्रयोग गरेको हूँ । अझ फुडा दिमागले झनै जौडे शब्द जुराएको छ, अर्थात “तनाव किन्ने दोकान” ।
एक दिन म विहानको योग साधना सकेर प्रफुल्ल मुद्रामा थिएँ । उनीसँग भेट भयो । “लौ भन्नुहोस्, मेरो अनुहारमा कति तनाव छ र कति खुसी छ ?
“खुसी ८० होला र तनाव २० होला ।”
“आफ्नो अनुहार आफैँले देखिँदैन । तपाईंको पनि भन्नु न अनि म अन्दाज लगाउँछु ।”
“मेरो पनि त्यति नै होला ८० र २० ।”
“ज्योतिषिकै बराबरको तनाव भए, त्यो त धुलोपिठो पार्न नसकिने होला ।”
मैले गजबको फुडा शास्त्र उब्जाएको थिएँ ।
अर्को एक दिन पनि उनीसँग भेट भयो । मैले उनको कानमा साउती गर्दै एक प्रश्न सोधेँ ।
“तपाईँ सबैभन्दा धेरै कसको तनाव किन्नु हुन्छ ?”
मेरो आशय थियो-तपाईँकहा कस्ता मान्छे बढि आउँछन् ।
उनीकहाँ धेरै आउने भनेका अकुत धनसम्पती कुम्ल्याएका व्पायारी र कर्मचारी वर्ग पर्दा रहेछन् । लक्ष्मीको कालो रुपले आशिर्वाद पाएका अर्थात अनधिकृत सम्पती कुम्ल्याएका राष्ट्रदोहकहरुको उपस्थिति हुँदो रहेछ ।
“उनीहरु कुन प्रयोजनका लागि तपाईँकहाँ आउँछन् त ?”
“साईत हेराउन ।”
ज्योतिषकहाँ आउने यस्ता तनावप्रसाद र त्रासकुमारहरु डर र असुरक्षाको भावनाको डोको जत्रो पोको बोकेर हिँडेका हुन्छन् रे। उनीहरु कतै यात्रा गर्नु पर्यो भने वा छोराछोरीको भर्ना गर्न जानु पर्यो वा बैँकिङ कारोबार गर्नु पर्यो भने साईतको खोजीमा ज्योतिषी कहाँ आउँदा रहेछन् । ज्योतिषी महोदयले उनीहरुले बोकेर ल्याएका यस्ता तनाव सिर्जना गर्ने तरल कच्चा पदार्थलाई सरल दाममा किन्दा रहेछन् ।
“मसँग भएको २० प्रतिशत तनाव पनि तपाईँले किन्नु पर्यो । म साईत मिलाएर आउनेछु ।”
उनले स्विकारोक्ति जनाए ।
तर समस्या के भने ज्योतिषि महोदयकहाँ जाने साईत आजसम्म जुरेकै छैन ।
०००
१२६ जनकल्याण गल्ली, कोटेश्वर
असार २८, २०८३











































आजदेखी आधा जुत्ता पालिस गर्ने तरक्की सिकियो । राष्ट्रदोहक नफस्नुको कारण ज्योतिषिबाट साइत हेर्नाले र फस्ने कारण साइत नहेर्नाले भन्ने पनि बुझियो। पेट मिचेर हांस्न पछि परिएन याने अलिकती समय बेचेर हाँसो किनियो।
हसखुस सुर्य सरलाई स्वर्गमै भेट्न पाइयोस्।
गजव एकलै पनि फोहोरा नै छुट्ने गरि हासियो
गूरूदेवबाट हामीले कक्षा दशमा २०४० सालमा “बिज्ञान”को ज्ञान पाएका थियौं । जीवनका छदशक यात्रामा पुगि सक्दा पनि यो “ज्ञान” को भांडो किन भरिन्न होला? गूरूदेवको लेखमा ब्यक्त “तनाव” आर्जन र बितरणको धारणाले एक पल्ट फेरि ब्युझायो झसंग भएर ।
Very nice and beautiful but agreessive article. Congrtulations Dr. Khatiwada.
उसले जबरजस्ती गरेर तनाव किन्यो, मैले मेरो पालो दान गरेँ र धैर्यता थपेँ। अर्थात मैले शान्ति बेँचे । Dr. Khatiwada. In lterature,it is deepest sea of Pasific ocean of understanding of present Life.
“भै-परि आएको परिस्थितिलाई भर्याङ बनाउने र त्यसमा पाउ राखेर दुई तला उक्लने ।”
साह्रै राम्रो लेखन , बधाई तथा धन्यवाद सार्वजनिक गर्नुभएकोमा ।