साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महादेवीको उर्दी

“आयो निदुली अब तेरो काल । ईन्जिनियरिङमा विद्यावारिधि गरेको फुईं डाक्टर ! यो स्ट्याण्ड तेरो हातबाट जोडिएन भने यो खबर तेरो ससुराली लगायत धेरै टाढासम्म फैलिन्छ ।” “हिम्मत गर ।

Nepal Telecom ad

डा. नवराज खतिवडा :

त्यसदिन ज्यानमा अर्कै फुर्ती थियो । म विहानैदेखि कल्पना गर्दै थिएँ-आज विहानको स्वल्पाहार अर्थात ब्रेक फास्टमा के के परिकार खाने भनेर । कल्पनाको लहरो दिवा भोजको विस्कुनमा अन्तिममा राखिने कुखुरा र खसीका व्यञ्जनसम्म पुग्यो । पुल्चोक र झम्सीखेलको साँधमा रहेको होटेल स्क्वायरमा हाम्रो एक हप्ते तालिमको आयोजना गरिएको थियो । क्यावात ! एक हप्तासम्म विहानको खाजा र दिउँसोको खाना होटलको चमेना गृहमा !

म पूर्वान्हका नित्य कर्ममा एकाग्र भएर लागेको थिएँ । एकाएक महादेवीको स्वर सुनियो- आज साउनको सोमवार, सबैले शाकाहारी मात्र सेवन गर्ने ।

लौजा ! मेरो सपनाको महल चकनाचूर भयो । महादेवीको उर्दी सुनिसकेपछि शाकाहारीको सीमा तोड्ने कुरो भएन ।
होटेलको चमेना गृहमा पुगेर परिकार रोज्ने क्रममा एक प्रसंग सिर्जना भयो ।

“सर ! आज हजुरलाई हिजो अस्तिको भन्दा स्वादिष्ट आईटम बनाउँछु ।” अम्लेट स्टेशनको वेटरले भन्यो ।
“वेमौसमको बाजा नबजाउ ल ! आज मलाई सेवा दिन तिम्रो भाग्यमा लेखेको छैन भाइ !” सगैँ उभिएका एक मित्रले सोधे ।
“तपाईं शाकाहारी हो र ?”
“आज साउनको सोमबार । महादेवीको उर्दी छ ।”
उर्दीका पनि विभिन्न रुप हुन्छन् । कुनै निषेधात्मक हुन्छन भने कुनै आदेशात्मक । म लगायत धेरै सज्जनहरु यी दुवैको शिकार भएका छन् भन्ने मेरो मान्यता रहेको छ ।

एक पटक म भाडाको सवारी साधनमा कतै जाँदै थिएँ । मैले मेरा सदाबहार गुरु प्रा.डा. माधवप्रसाद पोखरेललाई फोन सम्पर्क गरेँ ।
“के छ खबर नवराजजी ?”
“महादेवीद्वारा खटाइएको कार्य सम्पन्न गर्न जाँदैछु ।”
“लु राम्रो । तपाईंलाई शिवदुती भनेको थाहै होला ।”
“थाहा भएन त गुरुदेव !”
शास्त्रीय कथा प्रसँगमा मेरो रुचि छ । एक दशक भयो नौरथामा चण्डीपाठ गर्न थालेको छु । कण्ठ पारेका श्लाेक लय हालेर वाचन गर्नुको आनन्द अर्कै छ ।

“शास्त्रका अनुसार अहिलेसम्म पतिलाई खटाएर पठाइएको सबैभन्दा ठूलो मानिने कार्य शिवजीले गरेका छन् । शुम्भ निशुम्भसँग लडाईं गर्नु अघि देवीले आफ्नै पति महादेवलाई दूत बनाएर खटाएकी थिइन् । यसैले देवीलाई शिवदूती पनि भनिन्छ ।”
माधव गुरुले अर्थ्याउनु भयो । मैले प्रश्न राखेँ ।
“देवीले शिवजीलाई के कार्य गर्न खटाएकी थिइन् त गुरुदेव ?”

शिवजीले एक सन्देश लिएर आएका थिए रे। देवीको सन्देशमा भनिएको थियो रे, “अब स्वर्गमा इन्द्रले राज्य गर्छन्। असुरहरुको थलो पाताल हो । तिमीहरु त्यहीँ गएर बस।“
“मेरो काम त सजिलो छ । शिवजीलाई अराएको जस्तो कठिन त छैन ।“
“महादेवीको उर्दी पालना गर्नु पूर्व शिवदूतीलाई सम्झनु । काम फत्ते हुन्छ ।“

गुरुदेवको आज्ञा शिरोपर गरेँ र आजसम्म पनि गर्दैछु । यसैले उर्दी पालना गर्न असहज लाग्दैन् ।
आदेशादात्मक उर्दीका साना, मझौला र ठूला रुप हुन्छन् । केही दिन अघिको एक प्रसँग पनि रोचक छ । म आजभोलि कोटेश्वरको पेरिसडाँडा चोकमा रहेको एक निजी विद्यालय परिसरको फुटसलमा योग साधना गर्छु । विहान ६:३० योग सकेर आउँदै गर्दा पसलहरुमा चहलपहल शुरु भैसकेको हुन्छ । एउटा तरकारी पसलमा राखिएको डौँठे निगुरोले मेरो ध्यानाकर्षण गर्यो ।
पसलको छेउमा उभिएर महादेवीसँग फोन सम्पर्क गरेँ । महादेवीवाट आधा के.जी. डौँठे ल्याउने आदेश जारी भयो । मैले पसलमा उपस्थित दुई पुरुष र एक महिलाको ध्यानाकर्षण गरेँ ।
“हाम्रा घरका मान्छे कडा छन् । आदेश नभई काम गर्न मिल्दैन ।”

तरकारी मिलाउँदै गरेकी अधवैँशे महिलाले मुस्कुराउँदै पुलुक्क मतिर हेरिन् । सानाे दारकी गोरी चट्ट परेको ज्यान भएकी हँसिली पात्र थिइन् तिनी ।
“ल मलाई आधा किलो डौँठे दिनुहोस् त ?”
पसलको पश्चभागमा उभिएका पुरुष पात्र अघि सरे । उनले सामान जोखे । मैले मौकाको फाइदा लिएँ ।
“कता पर्यो त यहाँहरुको पुरानो घर ?”
“काभ्रे।“
“काभ्रे कुन ठाउँ ?”
“भकुन्डेवेँसी ।”
“के थरी हुनु भो ?”
“हुँमागाईँ ।”
महिलाले फेरि मेरो अनुहारमा पुलुक्क हेरिन् । मैले संवाद जारी राखेँ ।
“हजुरहरु एउटै परिवार हो ?”
“हो त ।”
पुरुषले नै जवाफ दिए ।

एउटै उमेर समूहका अपरिचित महिला र पुरुषलाई तपाईंहरुको नाता “लोग्ने स्वास्नीको हो ?” भनेर सोध्ने काम सहज हुँदैन । आफू परियो लेख्नलाई विषयवस्तू खोजेर हिँड्ने फुईं डाक्टर । यति जाबो काम पनि गर्न सकिएन भने के फुडाको उपसर्ग झुण्ड्याएर हिँड्नु ? मेरो फुईं मनोविज्ञान रङ्गमन्चमा ओर्लियो ।
“तपाईंहरु दम्पती नै हो त ?”
मैले शङ्काको लाभ लिएँ । उनीहरुले सम्मती जनाए ।
“हजुरको माइती चैँ के थरी ?”
“पराजुली ।”

पुरुषलाई ससुराली सोध्नु भन्दा सँगै उभिएकी महिलालाई “माइती” सोध्नुको अर्थ फरक हुन सक्छ । आरोप लगाउनेले “यसलाई महिलासँग बोल्ने रहर लागेछ” भन्न सक्छ । तर त्यसको पनि फुडासँग गजबको जवाफ छ-अहिले लैङ्गिक समानताको जमाना छ, सोधेपछि दुवैलाई सोध्नु पर्यो नि !

त्यस पछि मैले दुवैको मावली सोधेँ । साहुजीको मावली “अधिकारी” रहेछ भने महिलाको “सापकोटा” । मैले “थर” मा भर्याङ् लगाउने मौका पाएँ ।
“मेरा ससुराली अधिकारी हुन्र । नाता त जोडियो त ।”
उनीहरु दुवै मुस्कुराए ।

महादेवीहरुका उर्दीहरुको एक प्रतिनिधिमुलक हँस्यौली मेरा अनन्य मित्र स्व: सूर्यमान शाक्यले सुनाएका थिए । उनको ससुराली पाटनको मंगलबजारमा थियो । पाटनका रैथानेहरु मध्ये धेरैले मूर्तीकला र ढलौट व्यवसायको काम सम्हालेका हुन्छन् । उनीहरुलाई औपचारिक पोशाकमा सजिने अवसर आक्कलझुक्कल मात्र प्राप्त हुन्छ । यस्तै पृष्टभूमि भएका एक सज्जनले गोरखा दक्षिण बाहुको पदक पाएछन् । उनी पदक लिन राजदरबार जानु पर्ने चटारोमा थिए रे । दौरा सुरुवालमा सजिएर जानु पर्ने, दरबारका औपचारिकताको सीमा भित्र उभिनु पर्ने, राजाबाट पदक लिनु पर्ने आदि कामले उनको मष्तिष्क रन्थनिएको थियो रे ।
घरबाट निस्कने क्रममा घाम तापेर स्वीटर बुनिरहेकी उनकी महादेवीले सोधिछिन् ।
“कतातिरको सवारी हो त ?”
“मैले तिमीलाई भनेको थिएँ त । आज गोरखा दक्षिण बाहुको पदक लिन जानु छ ।”
“कहाँ जाने हो ?”
“नारायणहिटी राजदरबार ।”
“यो कहाँ पर्छ ?”
“अस्ती हामी दरबारमार्ग गएका थियौँ नि । हो त्यसकै छेउमा ।”
“हुन्छ, दरबारमार्गको नाङ्लो रेष्टुरेन्टमा राम्रो पाउरोटी पाइन्छ । आउँदा एक पाकेट लिएर आउनु ।”

मंगलबजारका सज्जनलाई परे जस्तो मलाई पनि एक पटक त्यस्तै भयो । राष्ट्रिय सभागृहमा नेपाल विकास अनुसन्धानको वार्षिकोत्सव समारोह थियो । सार्क मुलुकका राजदूतहरुको उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको मूल प्रवचन थियो । आयोजकका हिसाबले म जिम्मेवारीले थिचिएको थिएँ ।
घरबाट कार्यक्रममा हिँड्ने बेलामा महादेवीले सोधिन् :
“कहाँ छ कार्यक्रम आज ?”
“भृकुटीमण्डपको राष्ट्रिय सभागृहमा ।”
“उसो भए फर्किदाँ कालिमाटीमा पसेर होलसेलको भाउमा तरकारी लिएर आउनु ।”
हुन्न, भ्याउँदिन, अर्को दिन गर्छु, “गाई छोडी कुकुरको पुच्छर” जस्ता भावना मनभित्र पलाए पनि महादेवीका अघि त्यो केही व्यक्त गर्ने कुरा भएन ।

जतिसुकै प्रतिकुल या अनिच्छित परिस्थितिमा पनि बर्दीधारीको उर्दी उलङ्घन गर्नु भन्दा आफ्नो अपानवायु दबाएर शान्त र सामान्य भै बस्नुको विकल्प हुँदैन । यसका दुई प्रमुख कारण छन्। पहिलो, बर्दीधारीको भनेको आदेशको शतप्रतिशत पालना गर्ने पात्र हो, यसैले विकल्पविहिन हुन्छ । भनाई पनि छ-त्यो व्यक्तिसँग तर्क नगर जसको हातमा बन्दुक छ ।
दोस्रो, आदेश पालकसँग तर्क वितर्क गर्ने समय हुँदैन र उ मूल कर्मको साईतमा किनाराका मुद्धामा अल्झिन चाहँदैन ।

एकपटक एक मित्रसँग “उर्दी उलङ्घन” विषयमा चर्चा चल्यो ।
“उर्दी उलङ्घन भए के हुन्छ ?”
“कर्फ्यु आदेश जारी हुन्छ ।“
“त्यो पनि तोड्ने प्रयास भए के हुन्छ ?”
“अश्रु ग्यास वा पानीको फोहोरा छोडिन्छ ?”
“त्यसले पनि काम गरेन भने नि ?”
“धरपकड हुन्छ । त्यो पनि निस्प्रभावी भए गोली चल्न सक्छ।”
यसकारण म जस्ता आज्ञा शिरोपर गर्ने बानी लागेका पात्रले उर्दी अवज्ञाको कित्तामा जाने त कुरै हुँदैन ।

केही दिन पहिलेको अर्को एक प्रसङ्ग पनि यहाँ सान्दर्भिक ठहर्छ । महादेवीको अहिलेको रुचिको विषय भनेको अनलाईन खरिद हो । उनले लुगा धातुले बनेको कपडा राख्ने ठाडो स्ट्याण्ड मगाई छन् । मैले एउटा लगभग एक मान्छे अग्लो लामो आकारको पोको देखेको थिएँ । सोध्यो भने आफैलाई काम आइलाग्छ भन्ने ठानेर केही बोलिनँ ।
सामान आएको तीन दिन जति भएको थियो । महादेवीको कटाक्ष व्यक्त गरिन् ।
“डाक्टर ईन्जिनियरले जोडजाड पार्लान् कि भनेर स्ट्याण्ड ल्याएको । तीन दिन भयो पोको जस्ताको तस्तै छ ।”
चौथो दिन वेलुका मैले महादेवीकै अगाडि पोको खोलेँ । चार खुट्टा, चार हात, तीनवटा वीचमा राख्ने लामा टुक्रा, एउटा मियो र २ वटा खुट्टातिर राख्ने गारा गरी १५ वटा टुक्रा रहेछन् । काँटी र पेच मात्रै चार दर्जन जति । पोकोमा जोड्ने निर्देशनका लागि कुनै कागजात थिएन । म न्वारानदेखिको बल लगाएर ती टुक्रालाई जोड्ने तरिका विचार गर्न लागेँ ।
मेरै अनुहारतिर हेरिरहेकी महादेवीको उद्गार सुनियो ।

“डाक्टर साहेब ! यो काम हजुरबाट पार लाग्दैन । त्यो अगाडि चोकको काठ मिस्त्रीलाई बोलाएर सय रुपैँया दिनु । काम हुन्छ ।”
म घरी महादेवीको अनुहारमा घरी मेरा अघि पसारो परेका टुक्रातिर हेर्न थालेँ ।
“आयो निदुली अब तेरो काल । ईन्जिनियरिङमा विद्यावारिधि गरेको फुईं डाक्टर ! यो स्ट्याण्ड तेरो हातबाट जोडिएन भने यो खबर तेरो ससुराली लगायत धेरै टाढासम्म फैलिन्छ ।”
“हिम्मत गर । शीतनिद्रामा सुतेको छ तेरो ईन्जिनियरिङ् दिमाग । फटाफट उठा ।”
मैले ईन्टरनेटको सहारा लिएँ । एउटा चित्र फेला पर्यो । केही बेरको मिहिनेतले संरचना तयार भयो । मैले आफूले आफूलाई भने-“ईज्जत बचाईस् केटा आज ।“
“पार लाए है बुढाले ।“

महादेवी खुशीले गदगद भइन् । तयार भएको स्ट्याण्डको भिडियो खिचेर छोरा बुहारी र छोरी ज्वाईंलाई समेत पठाइन् ।
मलाई लाग्यो-महादेवले शिवदूतीले अराएको काम सम्पन्न गरेर फर्कदाँ दुर्गादेवी पनि यसरी नै खुशी भएकी थिइन् होला । शास्त्रले त्यसै शिवदुती भनेको होला र ?

०००
शनिवार, असोज २५, २०८२
कोटेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Hira Bahadur Thapa
Hira Bahadur Thapa
6 months ago

Very interesting. Looking forward to seeing more in coming days.
Thank you for sharing and also giving me an opportunity of being the first to comment

Ishwor Pokharel
Ishwor Pokharel
5 months ago

नमस्कार!
‘महादेवीको उर्दी’ पढें- आज । सरल भाषामा रमाइला प्रसङ्ग । मज्जा आयो ।
यसमा पनि माधव पोखरेल सर गाँसिनु भएको रहेछ । दोस्ती दह्रो छ जस्तो लाग्यो ।
हो, वर्णविन्यास भने दाँतमा ढुङ्गा लागे जस्तो हुने ।
यो त फित्कौलीमा प्रकाशित रचना रहेछ । हाम्रा सम्पादकहरू के गर्छन् कुन्नि!
हिउँदका यी चिसा दिन यस्तै रमाइला प्रसङ्ग सम्झिदै बितून् : हार्दिक शुभकामना ।

Nepal Telecom ad
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
मेरो बहर विद्यार्थी

मेरो बहर विद्यार्थी

डा. नवराज खतिवडा
ह्याप्पी ग्रीन डे

ह्याप्पी ग्रीन डे

डा. नवराज खतिवडा
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
2
0
Would love your thoughts, please comment.x
()
x