
फुईँ डाक्टर साहेबको टेको
फुडलिङकी होटेल साहुनीलाई मख्ख पारेर छुट लिए जस्तो फुडा साहेबका अनेक विशेषता र आनीबानी छन् । उनी उस्तै परे तिललाई पहाड बनाउन सक्छन् । फर्सीको बोटमा फिलुङ्गे फलाउन सक्छन् । पलाँसको बोटमा गुराँसको फूल देखाइदिन सक्छन् ।

डा. नवराज खतिवडा :
फुईँ डाक्टर अर्थात फुडा साहेबलाई मोवाईलमा वाईफाई जोड्नु थियो । उनी ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारको एउटा होटलमा बास बसेका थिए । उनले कोठाको भित्तामा खोजेको वाईफाईको सूचना मात्र पाएनन् एक अर्को बेजोडको गफ गर्ने मसला पनि पाए। भित्तामा लेखिएको थियो- “वाईफ नेम: मेवाखोला ३” । अँग्रेजी शब्द वाईफाईको अन्तिम अक्षर “आई” लाई “ई” ले विस्थापन गरेको थियो । अर्थात कहाँको निरस शब्द “वाईफाई” ! कहाँको रसिलो शब्द “वाईफ” अर्थात श्रीमति ।
फुडा साहेबले मोवाईलको क्यामेरा “वाईफ नेम” लेखिएको ठाउँतिर सोझ्याए । एकै झट्कामा त्यो जानकारी करोडौँ मूल्य पर्न सक्ने तस्विरमा रुपान्तरण भयो । यस्ता मसला मिसाएर कुराको कुराउनी पकाउने कलामा उनी पोख्त छन् । भुराभुरी हुन कि चौरासी गरेका स्वर्गतिर हानिन ठिक परेका बाजे बज्यै हुन वा कुरकुरे वैँसमा पाइला हालेका युवा युवती हुन् या भूतपूर्व नौजवान हुन, फुडा साहेबले आफ्ना श्रोता बनाई हाल्छन् । केही न केही सुनाई हाल्छन् ।
रकम भुक्तानी गर्ने क्रममा फुडा साहेबले होटलकी साहुनीलाई भने- “तपाईँहरुले त कोठा कोठामा अनौठो जिनिस राखिदिनु भएको रहेछ।” अग्लो कद । छरितो ज्यान । मँगोलियन मूल । साहुनीको हुलिया यही थियो । उनले आश्चर्य भावमा सोधिन- के होला त हजुर त्यस्तो अनौठो जिनिस ।
“मेवा खोला ३ नाम गरेकी कसैकी श्रीमति ।” अब उनी अलमल्लमा परिन् । फुडा साहेबले मोवाईलको तस्विर देखाए । साहुनीको गाम्भीर्य र आश्चर्यमा रुमलिएको अनुहारमा एकाएक परिवर्तन आयो। उनी खित्का छोडेर हाँसिन् । “लौ सर हजुरले त हाम्रो होटल भित्रको रोचक विषयवस्तु पो उधिनेर निकाल्नु भएछ ।”
“म त अनुसन्धानकर्ता हुँ । मेरो कामै यस्तै हो । तर तपाईँले यो काम गरे वापत मलाई विशेष छुट दिनु पर्छ ।” “खुशी रोपे खुशी नै फल्छ” भन्ने सिद्धान्त भुईँमा ओर्ल्यो । फुडा साहेबको माग सम्बोधन भयो । साहुनीले राम्रै छुट दिइन् ।
वाईफाईको टाउकोमा रहेको “आई” को “आ” हराएर “ई” मात्र बाँकी रहेका अन्य दृष्टान्तहरु पनि छन् । सामाजिक सन्जालमा एक चुटकिला लोकप्रिय छ । एक सज्जनले आफ्नो छिमेकीबाट यस्तो सन्देश पाएछन् ।
“मलाई यो कुरा तपाईँलाई भन्दा ग्लानीबोध भएको छ । मैले तपाईँ नभएको बेला तपाईँको वाईफलाई महिनौदेखि रातदिन प्रयोग गरेको छु । शायद तपाईँले भन्दा पनि बढी । आज मलाई पछुतो भै रहेको छ । तपाईँले मलाई पक्कै माफी दिनुहुन्छ होला भन्ने मेरो कामना छ। अब आइन्दा तिम्रो वाईफलाई म प्रयोग गर्ने छैन ।”
यस्ताे सन्देश पढेपछि ती सज्जनको पारो नतात्ने कुरो भएन । उनकी श्रीमती बाहिर कतै गएकी रहिछन् । श्रीमती घर आएपछि उनले मोवाईलको मेसेज देखाउँदै भनेछन्- “के पारा हो यो तिम्रो ?” श्रीमती आश्चर्यमा परिछिन् । यो अनियमित आकस्मिकताले ती दुईको बीचमा घम्साघम्सी पर्ने छाँट देखिएछ । तर ईश्वरको अनुकम्पा भएछ । आगो ओकल्ने सन्देश पठाउने छिमेकीले अर्को सन्देश पनि पठाएका रहेछन् । “मलाई माफ गरिदेउ । हिज्जे सच्याउने अटो करेक्ट संयन्त्रले वाईफाईलाई वाईफ बनाएछ ।”
फुडलिङकी होटेल साहुनीलाई मख्ख पारेर छुट लिए जस्तो फुडा साहेबका अनेक विशेषता र आनीबानी छन् । उनी उस्तै परे तिललाई पहाड बनाउन सक्छन् । फर्सीको बोटमा फिलुङ्गे फलाउन सक्छन् । पलाँसको बोटमा गुराँसको फूल देखाइदिन सक्छन् । कुनै आडलाग्ने सतह भेट्यो कि “टेको” लगाई हाल्छन् । उनले संवाद गर्ने जो कोही पनि उनले गरेका कुराको टेको देखेर मन्त्रमुग्ध हुन्छन् ।
काठमान्डौको कोटेश्वरमा उनको घर छ । घर वरिपरीका सेवाप्रदायकहरु माझ पनि फुडा साहेब लोकप्रिय छन् । केही समयअघि उनी विशेष आफ्नो घर नजिकैको तरकारी पसलमा पुगे । साहेबकी महादेवीले उनलाई तरकारी किन्न खटाएकी थिइन् । मकवानपुर स्थायी बसोबास भएका दुई दाजुभाइ मिलेर त्यो पसल चलाएका थिए । भाइ साहुजी बडो फरासिला थिए ।
“लौ ! यो सिमी एक किलो जोख्नुहोस् त !”
“डाक्टर साहेब ! आज किन हजुरले सिमी रोज्नु भो ! यो तरकारी त हजुरलाई धेरै महँगो पो पर्छ त !”
भाइ साहुजी र फुडा साहेबका बीच वार्तालाप शुरु भयो ।
“किलोको ५० भनेको हैन, किन महँगो पर्ला र !”
“अरुलाई पो ५० हो त, हजुरलाई त धेरै महँगो पर्छ ।”
साहेबले पसलेको आशय नबुझ्ने कुरो थिएन । तर उनले साहुजीलाई कुरोको चुरो भनाएरै छोडे- दिदीलाई सिमी मन पर्दैन । मलाई यो कुरा धेरै अघिदेखि थाहा छ । फुडा साहेब महादेवीका साथमा त्यो पसलमा बाक्लै गएका थिए । साहुजीका दाजुभाइ दुवैले उनीहरुलाई नचिन्ने कुरो भएन । उनले ‘दिदी’ भनेकी व्यक्ति साहेबकी महादेवी थिइन् ।
“तपाईँ कुरै बुझ्नुहुन्न, सिमी लगेपछि सबै ध्यान यसैमा आकर्षित हुन्छ । दशा जति सबै यही सिमीमाथि खनिन्छन् । अनि अरु तरकारी सबै होलसेलमा जाँचपास हुन्छ ।”
“माने हजुर । त्यसै डाक्टर उपाधि पाइने रहेनछ । हामी जस्ता उल्टो बुद्धि भएकाले हजुरका त्यस्ता गहिरा कुरा कसरी बुझ्नु ? ”
भाइ साहुजीले आफूलाई “उल्टो बुद्धि” को विशेषण जोडे पनि उनी पनि गफमा रङ भर्न सिपालु थिए ।
एक पटक फुडा साहेबले तरकारी पसलको अग्रभागमा रहेको खम्बामा एक अनौठो विज्ञापन देखे । “विवाहको लागि योग्य उम्मेवार हामी खोजीदिन्छौँ । उम्मेदवार खोज्नुका साथै लगनगाँठो बाँध्ने कार्यक्रमको लागि पनि हामीलाई सम्झन सक्नुहुन्छ ।”
विज्ञापनले प्रभावित भएको डाक्टर साहेबले भाइ साहुजीलाई केही सुझाए । “लौ ! मैले भनेको काम तपाईँले गर्न सक्नु भयो भने म तपाईँलाई उस्ताद मान्छु ।”
“त्यस्तो मैले गर्न नसक्ने के काम होला सर ?”
“यो विज्ञापनवालालाई फोन गर्ने र मलाई उम्मेदवार चाहियो भन्ने ।” नभन्दै भाइ साहुजीले मोवाईल निकाले र फोन सम्पर्क गरे । उस्ताद न परे- उनले फोनवार्ता लाउड स्पीकरमा राखेर डाक्टर साहेब लगायत वरीपरीका सबैलाई सुनाए ।
“के सेवा गर्न सक्छु हजुर ?” जोडी बाँधिदिने विज्ञापन गरेका सेवाप्रदायकको बोली सुनियो ।
“मलाई विवाह गर्ने एक उम्मेदवार चाहियो ।”
“भै-हाल्छ नि हजुर । हामीसँग एक से एक उम्मेदवार छन् ।”
“तर, मेरो त उम्मेदवार खोज्नु अघि एउटा अर्को जरुरी काम गर्नु छ ।“
भाइ-साहुजीले नयाँ विषय निकालेर फोनवार्तामा चमक थपे ।
“त्यस्तो के होला त हजुर ?”
“घरवालीसँग पारपाचुके गर्ने । तपाईँहरुकहाँ यो सेवा पनि त होला ?”
“माफ गर्नु होला सर । हामी घर जोड्ने काम गर्छौँ, भत्काउने होइन।”
फोनवार्ताको नेपथ्यमा जे भए पनि भाइ साहुजीले रङ्गमन्चमा गजबकै रङ्ग थपे । डाक्टरसाहेबले उनलाई दाहिने हात र देब्रे हात दुवैले अलग अलग पाँच औँले बधाई अर्थात हाईफाई दिए ।
फुईँ डाक्टर साहेब सामाजिक सन्जाल चलाउन पनि खप्पिस छन् । प्राज्ञिक डाक्टर न परे अँग्रेजीमा पढेका बाङ्गाटिङ्गा विषयवस्तुलाई रोचक बनाएर प्रस्तुत गर्छन् । श्रोताको हुल भेट्यो कि हात उठाइहाल्छन् । केही समयअघि उनले तलको चुटकिला एक योग साधना केन्द्रमा सुनाए ।
एक रमाईला दम्पतीका पति कार्यालयमा काम गर्दा रहेछन् । पत्नी भने गृह मन्त्रालयको सन्चालिका । कार्यालय समय सकिन १ घण्टा अघि पतिको मोवाईलमा घरबाट सन्देश आएछ । “अड्डाबाट फर्कंदा तरकारी बजार पस्नु । सँगिताले तिम्रो सम्झना गरेकी छ ।”
अब पति-पत्नीका मोवाईलमा मेसेजको लर्को लागेछ ।
“को सँगिता ?”
“कोही होइन । मैले यत्तिकै भन्देकी । नभए तिमीले मेसेज पढिन भनेर बहाना बनाउँछौ ।”
पति पनि वकिल रहेछन् । उनी घम्साघम्सीमा कम हुने कुरै भएन र उनले तुरुन्तै जवाफ लेखेछन् । “म त हाम्रो छिमेकी सँगितासँगै छु त । तिमीले कुन सँगिताको कुरा गरेको ?” “पख तिमीलाई । कहाँ छौ तिमी ?”
“तरकारी बजार नजिकैको हिमालयन जाभामा ।”
“त्यहीँ बसि राख । म तुरुन्त आउँछु ।”
पन्ध्र मिनट पछि फेरि पतिको मोवाईलमा सन्देश आयो । “म त तिमीले भनेको जाभामा आई पुगेँ । खै कहाँ छौ तिमी ?”
“म त अड्डामै छु । अब आफूलाई मन परेको तरकारी किन ।” कथा फेरी मोडियो । वकिलकी धर्मपत्नी न परिन । उनले फेरि मेसेज गरिन् ।
“वर्वाद भयो । रिसको झोँकमा मैले पर्स नै ल्याउन बिर्सेछु । तरकारी किन्न त के ट्याक्सीको भाडा दिन पनि सुको छैन । लौन ! मदत गर प्रिय । आउन प्लिज ।”
“वेवकुफ ! पर्स त बोकेर हिँड्नु पर्छ नि । ठीक छ म आउँदैछु ।”
श्रीमान तरकारी बजार पुगेर मेसेज गरे ।
“खै कहाँ हो तिमी ?”
श्रीमतिको सन्देश आयो- “म त घर मै छु । तरकारी ल्याउने आज तिम्रै पालो हो के ! अहिले र विहानलाई ल्याउ है प्रिय । म तिमीलाई मन पर्ने परिकार बनाउँछु ।”
डाक्टर साहेबका धेरै साथीसँगी छन्। तीमध्ये नेपाल सरकार र अन्तर्राष्ट्रिय नियोगमा पेशाधर्म निर्वाह गरेका एकजना विपश्यना ध्यान भक्त पनि छन्। डाक्टर साहेबको मान्यता छ कि यदि कोही व्यक्ति विद्वान छ, भेट्दा रमाइलो गर्छ, र ठट्यौली गर्ने स्वभाव बोकेर हिँड्छ भने, त्यो व्यक्ति जसको पनि राती गेडीको नानी हुन्छ। जब डाक्टर साहेब र यी पूर्वकर्मचारी सँगै हुन्छन्, तब उनीहरूले जसलाई पनि हँसाउने ल्याकत राख्छन् ।
एक दिन विहानको प्रसङ्ग हो । कोटेश्वर महादेवस्थानमा चिया गफ चलिरहेको थियो । एक मर्सिडिज कार शालिन तरिकाले रोकियो। चालकको सिटवाट एक पुरुष ओर्लिए । एक फन्को घुमेर अर्कोतिर आए। ढोका खोल्दिए। त्यहाँ पुरुषकै उमेरकी युवती रहिछन्। उनी मुस्कुराउँदै कारबाट ओर्लिइन्।
डाक्टरसाहेब र उनका विन्दास मित्रले यो रमिता देखे। उनीहरु दुवैले मुखामुख गरे। “ल ! भन्नुहोस फुईँ डाक्टरसाहेब ! सवारी चलाएर ल्याएका चालकले किन अर्कोतिर गएर युवतीलाई ढोका खोल्दिए ?”
“मनोविज्ञानको हिसाबले तीनवटा सम्भावना हुनु पर्छ ।” संभावना एक : कार नयाँ हुनु पर्छ ।
संभावना दुई : ती युवती पुरुषकी श्रीमति हुनु पर्छ र उनी नयाँ हुनु पर्छ ।
संभाववना तीन : कार पुरुषको हुनु पर्छ र युवती अर्काकी श्रीमति हुनु पर्छ ।
“क्यावात ! डाक्टर साहेब ! हजुरको जय होस् ।”
यो फुडा पुराण पढेपछि तपाईँलाई पनि पक्कै फुईँ डाक्टरसँग मित्रताको हात बढाउने रहर जाग्यो होला । सामाजिक सन्जाल खोल्नु होस् र उहाँको खोजी गर्नु होस् । उहाँकै नाम गरेका रोबोट साथीहरु फेला परे भने दिमाग चलाउनु होस्- राजकुमार जस्तो देखिने व्यक्ति नै फुईँ डाक्टर हो ।
०००
पूर्णिमाको साईत
वैसाख १३, २०८२
फुडा निवास, कोटेश्वर
गज्जब!
आफ्नै कथाकुथुङ्ग्री लेख्न ‘फुडा-उनी’ पात्र खुब मन परो। रमाइलो पाराको, सहज लेखाइ। सहज वाक्य गठन। मज्जा आयो!
गज्जब आयो त फूडा साबको