साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्यालको सौन्दर्यशास्त्र

मान्छे-मान्छेबीचको खाडल सौन्दर्यहरूबीचको खाडल आशाहरूबीचको खाडल । भर्खरै खै कुन पो आन्दोलनमा थुप्रै झ्यालहरू फोडिएका छन्, चर्किएका छन् अचेल ती झ्यालहरू देखिन्छन्- ठ्याक्कै यो देशको निधारजस्तै।

Nepal Telecom ad

अविनाश भट्टराई :

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ वटा कवितालाई पछि पार्दै प्रथम पुरस्कार प्राप्त कविता ।

रङ्गीन टेलिभिजनको जीवन्त पर्दा बनेर बस्छ
घरको झ्याल
यसैले सुनाउँछ रसातलदेखि क्षितिजसम्मको कथा

यसले देखाउँछ
घुर्यानका अर्ग्यानिक सागपातहरू
फार्ममा विष ओकलिरहेका तरकारीहरू
जीर्ण झुपडी
आलिसान महल
छाप्रोको छानामा टाँगिएका थोत्रा कपडा
महलको छतमा नाचिरहेका रङ्गीन कपडा

झ्यालबाट देखिन्छ-
कौसीको घाम
घामको मसाजमा मस्त
नवजात शिशु
चौर र गल्लीमा खेलिरहेका
बालबालिका
लठ्ठी टेक्दै सुस्तसुस्त हिँडिरहेका
जेष्ठ नागरिकहरू
अरूको काँधमा आरामले
यात्रा गरिरहेको लास

झ्यालबाटै देखिन्छ-
चर्को घाममा श्रम बगाईरहेका मजदूरहरू
श्रमिक कजाउने मालिक
श्रमिक-मालिकबीचको भनाभन र झगडा

कहिले देखिन्छ –
स्वास्नी कुटिरहेको जड्याहा लोग्ने
डाको छोडेर रोइरहेका बालबच्चाहरू
हात हल्लाउँदै परदेश लागेको छोरो
बिदाईमा भक्कानो फुटेर रोएका परिवारजन

झ्यालबाटै देखिन्छ-
खम्बामा टाँसिएका दलका पर्चाहरू
पर्चामा उगिँरहेका मार्क्स र माओ,
बी.पी. र भूपू राजा
अग्रगमनकारीहरूको सभा
प्रतिगमनकारीहरूको भाँडभैलो

रङ्गीन टेलिभिजनको जीवन्त पर्दा बनेर बस्छ
घरको झ्याल
यसैले देखाउँछ
रसातलदेखि क्षितिजसम्मको व्यथा

झ्यालबाट छिर्छ-
एक अङ्गालो चिसो बतास
एक कोठा न्यानो घाम
एक ढिक्का रात
एक टुक्रा जून

झ्याल त उघ्रिदो रहेछ आँखा भएर
र हेर्दो रहेछ-
यो जीवन
यो सृष्टी
झ्याल त बस्दो रहेछ-
चित्रकारको क्यानभास बनेर
र आकार दिँदो रहेछ-
विचारलाई
सौन्दर्यलाई
आकारबिहिन आकारलाई

जब म झ्यालबाट हेर्छु-
देख्छु विभिन्न खाडलका आकारहरू
मान्छे-मान्छेबीचको खाडल
सौन्दर्यहरूबीचको खाडल
आशाहरूबीचको खाडल

भर्खरै खै कुन पो आन्दोलनमा
थुप्रै झ्यालहरू फोडिएका छन्,
चर्किएका छन्
अचेल ती झ्यालहरू देखिन्छन्-
ठ्याक्कै यो देशको निधारजस्तै।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिकता

नागरिकता

अविनाश भट्टराई
छुटिजानेहरूको नाममा

छुटिजानेहरूको नाममा

अविनाश भट्टराई
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x